नेपाली राजनीतिको रङ्गमञ्चमा गगन थापाले विगत तीन दशकदेखि आशा, विद्रोह र रूपान्तरणको एजेन्डालाई निरन्तर जीवित राख्दै आएका छन् । काठमाडौंका सडकमा राजतन्त्रको जग हल्लाउने एक निडर विद्यार्थी नेतादेखि नीतिगत सुधारका लागि संसद् र मन्त्रालयमा पसिना बगाउने परिपक्व राजनीतिज्ञसम्मको उनको यात्रा नेपाली राजनीतिका लागि एउटा प्रेरणादायी दृष्टान्त झैं छ । मध्यमवर्गीय परिवारमा जन्मिएर आफ्नै पौरख र वैचारिक दृढताका आधारमा नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल, नेपाली कांग्रेसको सभापतिसम्म पुग्नु केवल एक व्यक्तिको पदोन्नति मात्र होइन, यो नेपाली राजनीतिमा भएको पुस्तान्तरणको एउटा ठूलो विस्फोट पनि हो । अहिले ४९ वर्षमा हिँडिरहेका उनको उतारचढाव, जेल जीवन र नीतिगत सङ्घर्षले उनलाई जनप्रिय र दूरदर्शी नेताका रूपमा स्थापित गरेको छ। विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चयन भएपछि गगन थापा आजमात्रै पहिलो पटक पार्टी केन्द्रीय कार्यालय पुगे । यससँगे नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ ।
For a better experience, switch to desktop view.
४ साउन २०३३ मा काठमाडौंमा जन्मिएका उनी गगन थापा भनेरै परिचित भए । तर उनको नाममा ‘कुमार’ पनि छ । सोलुखुम्बुको पुर्ख्यौली जरो भएका उनी एक मध्यमवर्गीय परिवारमा जन्मे/हुर्के । उनका हजुरबुबा भीमराज थापा सोलुखुम्बुबाट काठमाडौं बसाई सरेर सङ्घर्ष गरेका व्यक्ति थिए । उनको बुबा महेन्द्र कुमार थापा नेपाल विद्युत् प्राधिकरणमा इन्जिनियर थिए । यसले गर्दा उनले बाल्यकाल राम्रैसँग बित्यो । भनौं, उनले घरबाटै अनुशासन र इमानदारीको पाठ सिके । आमा रामेश्वरी थापाबाट उनले सामाजिक संस्कार र दृढ इच्छाशक्ति सिके । र, मध्यमवर्गीय पृष्ठभूमि भएकै कारण उनले सर्वसाधारणका समस्यालाई नजिकबाट बुझ्ने मौका पाए ।
परिवारको तस्बिर
त्यसबेला उनी १५ वर्षको थिए । र, सिद्धार्थ वनस्थलीमा कक्षा ९ मा पढ्दै थिए । त्यसैबेला देशमा पञ्चायत विरुद्धको संघर्ष चलिरहेको थियो । यो पहिलो जनआन्दोलनको लहरले उनलाई समेत छोयो । पञ्चायती व्यवस्थाविरुद्ध काठमाडौंका सडकमा भएको नागरिक सङ्घर्ष र प्रजातन्त्रका लागि मानिसहरूले दिएको बलिदान देखेकाले उनमा राजनीतिक चेतनाको बीजारोपण भयो । यही समयको राजनीतिक परिवेशले उनलाई समाज परिवर्तनका लागि राजनीति नै मुख्य माध्यम हो भन्ने विश्वास दिलायो ।
युवाकालतिरको गगन
यसबेला पहिलो जनआन्दोलनले देशमा प्रजातन्त्रको पुन:स्थापना गरिसकेको थियो । उनले पनि सिद्धार्थ वनस्थली स्कुलबाट एसएलसी उत्तीर्ण गरेका थिए । विद्यालय जीवनदेखि नै उनी वक्तृत्वकला, वादविवाद र नेतृत्वदायी भूमिकामा निकै सक्रिय थिए । त्यसले उनको प्रखर वक्ता शैलीको आधार तयार पार्यो । पछि उनको प्रदीप गिरीसँग समेत राम्रो सङ्गतमा हुन गयो । वैचारिक रूपमा उनले गिरीलाई आफ्नो मेन्टर सरह समेत मान्ने गर्छन् ।
प्रदीप गिरीसँग गगन
गगन थापा आफैंको इच्छा डाक्टर अथवा इन्जिनियर बन्ने थियो । परिवारले पनि उनी त्यहीँ बनेको हेर्न चाहन्थ्यो । राजनीतितर्फ लागेपछि उनले त्यो सपना छाडिदिए । त्रिचन्द्र क्याम्पसमा विज्ञान सङ्कायमा स्नातकमा भर्ना भए । सोही क्रममा उनी नेपाल विद्यार्थी सङ्घमा आबद्ध भए । यो क्याम्पस नेपालको राजनीतिक आन्दोलनको केन्द्र मानिन्थ्यो । यसै दौरान उनी त्रिचन्द्र स्ववियुको सदस्य, सचिव र अन्ततः वि.सं. २०५५ मा सभापतिमा निर्वाचित भए । सभापति हुँदा उनले शैक्षिक सुधारका साथै राष्ट्रिय राजनीतिमा युवा सहभागिताको वकालत गरेका थिए । पढाइकै कुरा गर्दा उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
त्रिचन्द्र स्ववियुको सभापति निर्वाचनले उनको केन्द्रीय स्तरको नेविसंघ राजनीतिमा संलग्नता बढायो । त्यहीँ सिलसिलामा उनी नेविसंघको केन्द्रीय कमिटी सदस्य र उपाध्यक्ष बने । र, २०५९ सालमा नेविसंघको केन्द्रीय महामन्त्रीमा निर्वाचित भए । यो पदमा उनी २०६१ सालसम्म रहे । नेपाल विद्यार्थी सङ्घको केन्द्रीय महामन्त्रीका रूपमा उनले नेपाली राजनीतिमा एउटा बेग्लै पहिचान बनाए । १८ असोज २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएपछि अधिकांश नेताहरू अन्योलमा रहेका बेला उनले सडकबाट 'गणतन्त्र'को नारा लगाए । यो कदम त्यतिबेला कांग्रेसको आधिकारिक नीति (संवैधानिक राजतन्त्र) भन्दा धेरै अगाडिको, विद्रोही र जोखिमपूर्ण मानिन्थ्यो।
दोस्रो जनआन्दोलनमा ढुङ्गा हान्दै गगन
राजतन्त्र विरोधी आन्दोलन र गणतन्त्रको वकालत गरेका कारण उनलाई राजद्रोहको मुद्दामा पटकपटक जेल हालियो । १३ वैशाख २०६२ मा गिरफ्तार गरिएका उनलाई अमानवीय तवरले हिरासतमा राखिएको थियो । एम्नेस्टी इन्टरनेशनलले उनलाई 'राजबन्दी' घोषणा गरेपछि उनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना भयो र उनी युवा पुस्ताका नायक सरह बने।
चैत २०६४ मा कीर्तिपुरमा भएको एक सभालाई सम्बोधन गर्दै गगन
नेपाली कांग्रेसको महाधिवेशनले गगन थापा जस्ता युवाहरूको वैचारिक दबाबका कारण आफ्नो विधानबाट 'संवैधानिक राजतन्त्र' हटाएर गणतन्त्रको बाटो तय गर्यो । यसलाई गगन थापाको राजनीतिक जीवनको सबैभन्दा ठूलो वैचारिक विजय मानिन्छ, जसले कांग्रेसलाई आधुनिक युगमा प्रवेश गरायो।
संसदमा बोल्दै गगन
दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ बाट प्रत्यक्ष निर्वाचित भए । उनले संसद्को कृषि तथा जलस्रोत समितिको सभापति भएर जलविद्युत् र कृषि नीतिमा महत्त्वपूर्ण नीतिगत हस्तक्षेप र सुधारका प्रयासहरू गरे ।
दोस्रो संविधानसभा निर्वाचन २०७० को घरदैलो कार्यक्रममा निर शाहसँग गगन थापा
उनी नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बने । ९ महिनाको छोटो अवधिमा उनले 'राष्ट्रिय स्वास्थ्य बीमा ऐन' पारित गराउने, सरकारी अस्पतालमा आफ्नै फार्मेसी सेवा सुरु गरी औषधिमा बिरामीको पहुँच बढाउने र कडा रोगको उपचारमा सहुलियत दिने जस्ता दूरगामी र जनमुखी सुधारका कामहरू गरेर एक कुशल प्रशासकको छवि बनाए ।
स्वास्थ्यमन्त्री बनेपछि वीर अस्पतालमा अवलोकन गर्दै थापा
प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ बाट दोस्रो पटक निर्वाचित भए । यो निर्वाचन नेपालको राजनीतिक इतिहासमा अत्यन्त चुनौतीपूर्ण मानिन्छ, किनकि त्यतिबेला नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच 'वाम गठबन्धन' बनेको थियो । देशभर नेपाली कांग्रेसको लहर कमजोर भएको र धेरै दिग्गज नेताहरू पराजित भएको अवस्थामा पनि गगन थापाले २१,५५८ मत ल्याएर एमालेका राजन भट्टराईलाई पराजित गरे ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ जितपछि थापा
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट गगन अत्यधिक मतका साथ पार्टीको कार्यकारी 'महामन्त्री' पदमा निर्वाचित भए । उनले पार्टीलाई प्रविधिमैत्री बनाउने, क्रियाशील सदस्यता पारदर्शी बनाउने र पार्टीमा विचारको पुस्तान्तरण गर्ने मुद्दालाई सशक्त रूपमा अगाडि बढाए ।
महामन्त्रीमा नियुक्तपछि गगन
प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ बाटै लगातार तेस्रो पटक निर्वाचित भए। यस निर्वाचनमा उनले २१,३०२ मत प्राप्त गरी पुनः एमालेका राजन भट्टराईलाई नै पराजित गरेर 'ह्याट्रिक' पूरा गरे। निर्वाचन लगत्तै उनले नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरे। यद्यपि उनी निर्वाचित हुन सकेनन्, तर यो प्रतिस्पर्धाले पार्टीभित्रको पुरानो नेतृत्वलाई चुनौती दिने र पुस्तान्तरणको बहसलाई निर्णायक मोड दिने काम गर्यो। 'काठमाडौं-४ गगनको किल्ला' भन्ने मान्यता यस निर्वाचनले अझ बलियो बनायो।
कांग्रेस महामन्त्री समेत रहेका थापा निर्वाचन जितपछि
परिणाम (२०७० - २०७९)
गगन थापाले तीन चुनावमा प्राप्त गरेको मत परिणाम
नेपालमा भ्रष्टाचार र बेरोजगारी विरुद्ध जेनजी विद्रोह भयो । त्यसक्रममा आक्रोशित भीडले उनको पार्टी कार्यालय, नेताहरू सहित उनको आफ्नै घरमा आगजनी गर्यो। उनले यस घटनालाई व्यक्तिगत क्षतिको रूपमा नभई पुरानो नेतृत्वप्रतिको जनताको जायज आक्रोशको रूपमा व्याख्या गरे । र, पार्टी नेतृत्व परिवर्तन हुनुपर्ने अडानमा दृढ रहे ।
जेनजी विद्रोहको एक झलक, संसद भवनअघि
नेपाली कांग्रेसले आफ्नो नियमित महाधिवेशन गर्न सकेन । यो अवस्थामा विशेष महाधिवेशन भयो । जहाँ गगन ६० प्रतिशतभन्दा बढी प्रतिनिधिको समर्थनमा सर्वसम्मत रूपमा नेपाली कांग्रेसको सभापति निर्वाचित भए । अहिले ३० वर्ष लामो सङ्घर्षपछि उनले नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दलको नेतृत्व गर्ने ऐतिहासिक जिम्मेवारी पाएका छन्, जसलाई नेपालको राजनीतिमा ठूलो पुस्तान्तरणको रूपमा हेरिएको छ । यसका साथै ९ माघमा बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले उनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरेको छ । यसपटक उनले काठमाडौं ४ छाडेर सर्लाही ४ बाट निर्वाचनमा लड्दैछन् ।
दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा चयन भएपछि सम्बोधन गर्दै थापा
© २०२६ ONLINEKHABAR. ALL RIGHTS RESERVED.