Nepali Congress Hero
NC Flag

नेपाली कांग्रेसः १४ महाधिवेशन, ३ फुट

नेपाली कांग्रेसमा टुटफुटको शृङ्खला नौलो घटना होइन । स्थापनादेखि १५औं महाधिवेशनको संघारसम्म आइपुग्दा यो पुरानो लोकतान्त्रिक पार्टी कयौं पटक फुटेको छ, फेरि जोडिएको पनि छ । साढे ७ दशकमा हिँडिरहेको यो पार्टीमा कहिले बिपी कोइरालाले आफैं सभापति घोषणा गरे भने कहिले डिल्लीरमण रेग्मीले पार्टी नै दुई टुक्रा पारिदिए । १ साउन २००४ मा त सुवर्ण शमशेरले सशस्त्र युद्ध गर्नुपर्छ भन्दै पार्टीबाटै अलग भएको घोषणा गरेका थिए । २०५९ असार पहिलो साता तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग कुरा नमिल्दा अहिलेका सभापति शेरबहादुर देउवाले पार्टी फुटाए । नेपाली कांग्रेसबाट अलग भएर कांग्रेस प्रजातान्त्रिक गठन गरेका देउवा २०६४ असोजमा पुन: पुरानै घर फर्किएका थिए । नयाँ नेतृत्व ल्याउन पार्टीमा महाधिवेशन अनिवार्य छ । तर यस पटक नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशन नियमित गर्न सकेन । ५४ प्रतिशत प्रतिनिधिको मागले विशेष महाधिवेशनको बाध्यात्मक अवस्थामा पुगेको कांग्रेस यतिबेला फुटेको छ । हेरौं नेपाली कांग्रेस महाधिवेशनको इतिहास :

पहिलो महाधिवेशन

नेपाली कांग्रेसको पहिलो अधिवेशनलाई बुझ्न ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’लाई बुझ्नुपर्ने हुन्छ । नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्न बनारस हिन्दू विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले ‘नेपाली छात्र संघ’ स्थापना गरेका थिए । तर, १८ असोज २००३ मा भारतको पटनाबाट प्रकाशित हुने ‘द सर्च लाइट’मा लेख लेख्दै बिपी कोइरालाले पार्टी खोल्ने प्रस्ताव गरे । त्यसपछि सोही संघलाई देवीप्रसाद सापकोटा सभापति रहने गरी अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस बनाइएको थियो । जसमा उपसभापतिमा बालचन्द्र शर्मा, महामन्त्रीमा कृष्णप्रसाद भट्टराई, प्रचार मन्त्रीमा गोपालप्रसाद भट्टराई र कार्यसमितिमा बटुकप्रसाद भट्टराई, नारायणप्रसाद भट्टराई र नरेन्द्र रेग्मी थिए ।

NC Founders

काङ्ग्रेसका संस्थापक सदस्यहरू । क्रमश: बायाँमाथिबाट, बिपी कोइराला, गणेशमान सिंह, टंकप्रसाद आचार्य, डा. डिल्लीरमण रेग्मी, सुवर्णसमशेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशिल कोइराला ।

त्यसैबीच नेपालको जेलबाट भागेर भारत पुगेका गणेशमान सिंह र बिपी कोइरालाबीच भेट भयो । त्यसबेला बिपीले भने जसरी पार्टी स्थापना गर्न कलकत्तामा सम्मेलन गर्ने प्रक्रिया अघि बढाइएको थियो । जसमा सहभागी हुन राणा विरुद्धको क्रान्ति सङ्गठित गर्न बनाइएको नेपाल प्रजा परिषदको सदस्यका हैसियतमा सहभागी हुन गणेशमान गइरहेका थिए । त्यसपछि १२ र १३ माघ २००३ मा भारतको कलकत्ता भवानीपुरस्थित खालसा हाइस्कुलमा सम्मेलन भयो । जुन बेला अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस खोलेको तीन महिना पनि भएन । खैर उक्त सम्मेलनले पार्टीको नाम ‘नेपाली राष्ट्रिय कांग्रेस’ राख्ने निर्णय गर्यो । साथै गणेशमान सिंहको दबाबमा टंकप्रसाद आचार्य सभापति बनाइयो । बिपी कोइराला भने कार्यवाहक सभापति बने । त्यसै सम्मेलनलाई नेपाली कांग्रेसको पहिलो अधिवेशन भनिन्छ ।

Dr Dilli Raman Regmi

डा. डिल्लीरमण रेग्मी ।

महाधिवेशनको दुई महिना नबित्दै नेपाली राष्ट्रिय कांग्रेसको आह्वानमा विराटनगरमा मजदुरहरूको संगठित आन्दोलन सुरु भयो । आन्दोलनको नेतृत्व गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले गरेका थिए । बिपी पनि आन्दोलनमा भाग लिन विराटनगर पुगेका थिए । यसै क्रममा चैत १२ गते बिपी, तारिणी, गिरिजा, मनमोहन अधिकारी, गेहेन्द्रहरी शर्मा विकु र युवराज अधिकारी पक्राउ परे । उनीहरूलाई पहाडको बाटो हुँदै २२ दिन हिँडाएर काठमाडौंमा थुनियो । बिपी थुनामा परेपछि मातृकाप्रसाद कोइराला राष्ट्रिय कांग्रेसको कार्यवाहक सभापति भए । उनले उक्त आन्दोलनभर मात्र कार्यवहाक सभापति बन्ने सर्तमा पार्टीको सदस्यता र नेतृत्वमा लिएका थिए । तर, भारत प्रवासमा रहेकै बखत त्यहाँको सरकारले मातृकामाथि मुद्दा चलायो । यसपछि नेपाली राष्ट्रिय कांग्रेसका कार्यवाहक सभापति डा. डिल्लीरमण रेग्मी बने ।

दोस्रो महाधिवेशन

विराटनगरबाट पक्राउ परेका बिपी कोइराला २००४ भदौमा जेलमुक्त भए । तर उनी जेलमा हुँदा र मातृकाप्रसाद कोइरालाले पनि नेतृत्व छाडिसकेको अवस्थामा सभापतिमा नियुक्त डा. डिल्लीरमण रेग्मीले पद छाड्न मानेनन् । यता २८ असोज २००४ मा बिपीले आफूलाई नै कार्यवाहक सभापति भएको घोषणा गरे । डा. रेग्मीले त्योभन्दा एक कदम अगाडि बढेर जेलमा रहेका टंकप्रसाद आचार्यलाई सभापतिबाट बर्खास्त गरे । र, आफैँ सभापति भएको घोषणा गरे । यसले नेपाली राष्ट्रिय कांग्रेसमा फुट आयो । डा. रेग्मीले नेपाली राष्ट्रिय कांग्रेस नाम कायम राखेर नै गतिविधि चलाएका थिए । तर त्यो क्रमश: कमजोर हुँदै गयो । नेपाली राष्ट्रिय कांग्रेसको प्रथम महाधिवेशनपछि पार्टीभित्र आन्तरिक मतभेद बढ्दै गइरहेको थियो । विशेषत: नेपाली राष्ट्रिय कांग्रेसले अहिंसात्मक/शान्तिपूर्ण जनक्रान्ति गर्नुपर्ने कुरा गरिरहेको थियो । तर विशेषत: राणा परिवारसँग सम्बन्धित नेताहरूले भने सशस्त्र संघर्षलाई जोड दिनुपर्ने बताइरहेको थियो । फलस्वरूप १ साउन २००४ मा सुवर्ण शमशेर राणा, महेन्द्रविक्रम शाह तथा महावीर शमशेर जस्ता नेताहरूको सक्रियतामा नेपाली राष्ट्रिय कांग्रेसबाट अलग भएर कलकत्तामा नेपाल प्रजातन्त्र कांग्रेस गठन गरे । पार्टीले सशस्त्र संघर्षलाई मुख्य हतियार बनाउने नीति अपनायो र राणाविरोधी गतिविधिमा सक्रिय रह्यो। यसले हतियार जम्मा पार्ने प्रयास पनि गरेको थियो।

BP Koirala

बिपी कोइराला ।

तर, त्यहीबीच राणाविरोधी संघर्षलाई मजबुत बनाउने उद्देश्य स्वरूप नेपाली राष्ट्रिय कांग्रेसले बनारसमा माघ २००४ मा दोस्रो अधिवेशन गर्यो । जसबाट बिपी कोइराला सभापति निर्वाचित भए ।

तेस्रो महाधिवेशन

काठमाडौंमा नागरिक अधिकार प्राप्तिका लागि युवाहरूले आन्दोलनको थालनी गरेका थिए । आन्दोलनलाई सहयोग गर्न कृष्णप्रसाद भट्टराई र केदारमान व्यथितसँगै बिपी पनि भारतबाट काठमाडौं आए । तर काठमाडौँ आएको केही समयमै बिपी गिरफ्तारीमा परे । यो घटनापछि नयाँ नेतृत्वका लागि भने भारतकै दरभङ्गामा २००५ फागुन १८ देखि २० गतेसम्म तेस्रो महाधिवेशन गरियो । त्यसबेला मातृकाप्रसाद कोइराला सभापति भएका थिए ।

Matrika Prasad Koirala

मातृकाप्रसाद कोइराला ।

उता, नेपाली राष्ट्रिय कांग्रेसबाट अलग भएको नेपाल प्रजातन्त्र कांग्रेसले पनि महेन्द्रविक्रम शाहलाई सभापति बनाएको थियो ।

चौथो महाधिवेशन

राष्ट्रिय र प्रजातन्त्र दुवै कांग्रेसको लक्ष्य, राणाको अन्त्य गरी राजाको नायकत्वमा प्रजातन्त्र स्थापना गर्नु नै थियो । तरिका अलग थियो । तर यी दुई अलग पार्टीले अलग-अलग रूपमा आन्दोलन गर्दा राणा शासनलाई सजिलै दबाउन सकिने अवस्था थियो । यसलाई महसुस गर्दै बिपी कोइराला र सुवर्ण शमशेरबीच पटक-पटक छलफल भयो । दुवै नेताले एकीकृत शक्तिबाट मात्र निर्णायक विजय हासिल गर्न सकिने निष्कर्षमा पुगे । त्यसपछि कलकत्ताको टाइगर हलमा २००६ चैत २६-२९ मा दुवै पार्टीको केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बसे । त्यसले दुई पार्टीबीचको एकीकरणलाई सिद्धान्ततः स्वीकार गरे । पार्टीको नाम, झण्डा जस्ता विषयमा केही बहस भए पनि अन्ततः सहमति गरे । यसपछि नै अहिलेको नेपाली कांग्रेसको औपचारिक स्थापना भएको हो । अनि उक्त अधिवेशनलाई नेपाली कांग्रेसको चौथो महाधिवेशन पनि मानिन्छ ।

Matrika Prasad Koirala 2

मातृकाप्रसाद कोइराला ।

एकीकरणपछि मातृकाप्रसाद कोइरालालाई पहिलो सभापति, महेन्द्रविक्रम शाहलाई महामन्त्री र सुवर्ण शमशेर कोषाध्यक्ष चयन भए । यो एकताले राणा शासनविरुद्धको संघर्षलाई मजबुत बनायो, परिणामस्वरूप २००७ सालको क्रान्ति सफल भई राणा शासन अन्त्य भयो र नेपालमा प्रजातन्त्रको ढोका खुल्यो ।

पाँचौं महाधिवेशन

७ फागुन २००७ मा १०४ वर्षे जहाँनिया राणा शासनको अन्त्य भयो । देशमा बहुदलीय प्रजातन्त्र स्थापना भएपछि २००९ जेठ १०-१३ मा कांग्रेसले आफ्नो पाँचौं महाधिवेशन गर्यो जुन नेपाल भित्र भएको कांग्रेसको पहिलो महाधिवेशन पनि थियो ।

NC Army

कांग्रेसको सशस्त्र सैनिक ।

उक्त महाधिवेशनबाट बिपी सभापतिमा निर्वाचित भए । त्यसपछि पार्टीले ८ साउन २००९ मा मातृकाप्रसाद कोइराला सरकारबाट राजीनामा दिन निर्देशन दियो । तर पार्टीले भनेको नमानेका कारण उनीसहित अन्यलाई पार्टीले कारबाही गर्यो । साउन १० गते मातृकासहित नारदमुनि थुलुङ, महावीर शमशेर र महेन्द्रविक्रम शाहले केन्द्रीय कार्यसमितिबाट राजीनामा दिए ।

BP Koirala 02

बिपी कोइरला ।

त्यसलगत्तै भद्रकाली मिश्रले नयाँ पार्टी ‘जन कांग्रेस’ गठन गरे । बालचन्द्र शर्मा, केदारमान व्यथित र भरतमणि शर्माले ‘नेपाली कांग्रेस वामपन्थी’ गठन गरे । मातृका आफैंले पार्टीबाट कारबाही भोगेको १० महिनापछि २०१० वैशाख १६ मा आफ्नै नेतृत्वमा ‘राष्ट्रिय प्रजा पार्टी’को स्थापना गरे । कांग्रेस फेरि चिराचिरा भयो ।

छैटौं महाधिवेशन

प्रजातन्त्र स्थापना भएको सात वर्ष पुग्दासमेत मुलुकमा निर्वाचन हुन सकिरहेको थिएन । चिरा परेको कांग्रेस आफूलाई सम्हालिरहेको थियो । त्यहीबीच वीरगञ्जमा २०१२ माघ ९ देखि १३ गतेसम्म कांग्रेसले छैटौं महाधिवेशन गर्यो । यो महाधिवेशनबाट सुवर्ण शमशेर सभापतिमा निर्वाचित भए भने गिरिजाप्रसाद कोइराला पहिलो पटक केन्द्रीय कार्यसमितिमा निर्वाचित भए ।

Subarna Samsher

सुवर्णसमशेर राणा ।

यही महाधिवेसनपछि नेपाली कांग्रेसले औपचारिक रूपमा प्रजातान्त्रिक समाजवादी नीति अख्तियार गरेको थियो ।

पहिलो विशेष महाधिवेशन

छैटौं महाधिवेशनपछि बिपी कोइराला, सुवर्ण शमशेरलगायत नेताहरू देश दौडाहामा निस्किए । यसबीचमा तत्कालीन राजा महेन्द्र शाहले आमनिर्वाचनको घोषित मिति सार्ने, नयाँ मन्त्रिमण्डल बनाउने लगायतका तिकडमबाजी गरिरहे । राजालाई चुनावका लागि दबाब दिन कांग्रेसले विभिन्न देशव्यापी अभियान चलाइरह्यो । त्यस्तै सुवर्ण शमशेरले मातृकाप्रसाद कोइरालाको नेपाल प्रजा पार्टीलाई नेपाली कांग्रेससँग एकता गराए । तर एकताबद्ध पार्टीको नेतृत्व बिपीले गर्नुपर्ने भन्दै सुवर्णले सभापति पदबाट राजीनामा दिए । पार्टी सभापतिमा निर्वाचित भएको झन्डै एक वर्षपछि (१४ मंसिर २०१३) सुवर्ण शमशेरले पुरानो कार्यसमिति र संसदीय बोर्ड भङ्ग गरे । उनले ३ पुस २०१३ मा पार्टीका शीर्ष नेताहरूलाई कार्यसमितिमा नराखी दोस्रो पुस्ताका नेताहरू मात्रै समावेश गरेर केन्द्रीय कार्यसमिति गठन गरे ।

BP Koirala 03

बिपी कोइराला ।

सप्तरीको राजविराजमा ८ चैत २०१३ देखि नेपाली कांग्रेसका जिल्ला सभापति र सचिवहरूको दुई दिने सम्मेलन भयो । सम्मेलनको अन्त्यमा सभापति शमशेरले विराटनगरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गराए । जिल्ला सभापति र सचिवहरूको सम्मेलनले पारित गरेको प्रस्तावअनुसार १० जेठ २०१४ मा कांग्रेसको विशेष अधिवेशन विराटनगरमा सुरु भएको थियो । उक्त विशेष महाधिवेशनबाट बिपी कोइराला सभापति भएका थिए । यसपछि कांग्रेसले दुई महिना लामो अवज्ञा आन्दोलन गरेको थियो । जसमा अन्य दलहरू पनि सहभागी थिए । त्यसपछि राजा महेन्द्रबाट संसद्‌को निर्वाचन गराउने घोषणा भयो । ७ फागुन २०१५ बाट सुरु भएको निर्वाचन ४५ दिनमा सकियो । यो निर्वाचनबाट कांग्रेसले दुई तिहाइ बहुमतका साथ सत्ताको नेतृत्व पाएको थियो।

सातौं महाधिवेशन

२०१७ वैशाख २५ देखि ३१ गतेसम्म कांग्रेसले आफ्नो सातौं महाधिवेशन काठमाडौंमा गर्यो । त्यसमा बिपी कोइराला नै सभापतिमा निर्वाचित भए । तर, राजा महेन्द्रले प्रजातन्त्रलाई आफ्नो महत्वाकांक्षाको बाधक ठाने । उनले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, आर्थिक विकासमा ढिलाइ भएको, भारतसँग निकटता बढाएको तथा राष्ट्रिय एकतामा खलल पुगेको आरोप लगाए । १ पुस २०१७ मा राजा महेन्द्रले सेनाको सहयोगमा प्रधानमन्त्री बिपी कोइराला, मन्त्रीहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई (सभामुख) लगायतलाई नेपाल तरुण दलको सम्मेलनस्थलबाटै गिरफ्तार गरे । संसद् विघटन गरी संविधान निलम्बन गरे । राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाए र पञ्चायती व्यवस्था (निर्दलीय एकतन्त्र) सुरु गरे । राजा स्वयंले शासन सञ्चालन गरे ।

BP Koirala 04

बिपी कोइराला कोइराला ।

८ वर्ष लामो जेल जीवन बिताएर बिपी कोइराला रिहा भए । र भारतमा प्रवासी जीवन बिताउन लागे । फेरि उनको नेतृत्वमा कांग्रेसले तेस्रो पटक सशस्त्र क्रान्ति सञ्चालन गर्न कोसिस गरेको थियो । तर यसपटक विफल भयो । पछि राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर १६ पुस २०३३ मा ८ वर्ष लामो भारत प्रवासबाट बिपी स्वदेश फर्किए । यो बीचको लामो अवधिसम्म नेपाली कांग्रेसको महाधिवेशन हुन सकेन ।

आठौं महाधिवेशन

तत्कालीन समयमा बिपीमाथि मृत्युदण्ड माग दाबी गरिएका मुद्दाहरू विचाराधीन थिए । तर पार्टी त चलाउनु थियो । त्यसैले नेता कृष्णप्रसाद भट्टराईलाई कांग्रेसको कार्यवाहक सभापति बनाइयो । २०३४ कात्तिक ५ र ६ गते भएको पटना सम्मेलनबाट भट्टराईलाई उक्त जिम्मा दिइएको थियो । तर, घाँटीको क्यान्सरबाट पीडित नेता बिपी कोइरालाको ६ साउन २०३९ मा निधन भयो । कांग्रेस पार्टी निर्माणको मूल नेतृत्व बिपीको निधनसँगै अन्य नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला शीर्ष भूमिकामा देखिए ।

Krishna Prasad Bhattarai

कृष्णप्रसाद भट्टराई ।

२०४६ सालमा पञ्चायतविरुद्ध जनआन्दोलन भयो । २६ चैत २०४६ मा राजा वीरेन्द्रले शाही घोषणामार्फत मुलुकमा बहुदलीय व्यवस्था र शासन जनताका प्रतिनिधिले गर्ने घोषणा गरे । त्यसपछि कांग्रेस कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई संयुक्त सरकारको प्रधानमन्त्री बने । उक्त सरकारले २०४७ सालको संविधान घोषणाका साथै आमनिर्वाचन सम्पन्न गरायो । त्यसमा पनि नेपाली कांग्रेसले बहुमत प्राप्त गर्यो । र, गिरिजाप्रसाद कोइराला नयाँ प्रधानमन्त्री बने ।

BP

कार्यकर्ताहरूसँग पूर्वतिर घुम्दै बिपी ।

यसरी बल्ल देशमा राजनीतिक माहोल ठिक भएपछि मात्र कांग्रेसले आफ्नो महाधिवेशन गर्ने सुर कस्यो । र, २०४८ फागुन १ देखि ३ गतेसम्म झापामा आठौं महाधिवेशन गर्यो । त्यसमा ३१ वर्ष कार्यवाहक भूमिकामा रहेका भट्टराई सभापति भए ।

नवौं महाधिवेशन

२०५१ सालमा कांग्रेसको आन्तरिक किचलोका कारण संसद् विघटन भयो । देश मध्यावधि निर्वाचनमा गयो । त्यसमा संसद् विघटन गर्ने गिरिजाप्रसाद कोइरालाको निर्णयविरुद्ध गणेशमान सिंह गुटले आपत्ति जनाएका थिए । एक हिसाबले कांग्रेस कमजोर भयो । निर्वाचनमा पराजय पनि बेहोर्यो । त्यसपछि पहिलो पटक नेकपा एमालेको नेतृत्वमा कम्युनिस्ट सरकार बन्यो । तर त्यो सरकार एक वर्ष पनि धेरै टिकेन । २०५२ सालमा शेरबहादुर देउवाको नेतृत्वमा अर्को सरकार बन्यो । त्यसै साल माओवादीले सशस्त्र द्वन्द्व सुरु गर्यो ।

Girija Prasad Koirala

गिरिजाप्रसाद कोइराला ।

यही अवस्थामा कांग्रेसले २०५३ वैशाख २६–२८ मा पार्टीको नवौं महाधिवेशन गर्यो । काठमाडौंमा भएको यो महाधिवेशनका बेला नेपाली कांग्रेसभित्र कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला समूहबीच तीव्र प्रतिस्पर्धा थियो । कोइरालासँग रुष्ट रहेका गणेशमान सिंहले पार्टी छाडिसकेका थिए थिए । यो महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला पार्टी सभापतिमा चुनिए ।

१०

दशौं महाधिवेशन

९ माघ २०५७ मा पोखरामा कांग्रेसको दशौं महाधिवेशन सम्पन्न भयो । यो महाधिवेशनले केन्द्रीय कार्यसमितिका ५० प्रतिशत सदस्य निर्वाचित गर्ने प्रावधान राखेको थियो । जसअनुसार केन्द्रीय कार्यसमितिमा रहने १८ जना सदस्यको पनि निर्वाचन गरिएको थियो । सभापतिमा गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र रामहरि जोशी प्रतिस्पर्धामा थिए । कोइराला र जोशी दोस्रो पटक प्रतिस्पर्धा गर्दै थिए भने देउवा पहिलो पटक उम्मेदवार थिए । त्यो महाधिवेशनबाट दोस्रो पटक गिरिजाप्रसाद कोइराला सभापतिमा चुनिएका थिए ।

Girija Prasad Koirala 2

गिरिजाप्रसाद कोइराला ।

तर, त्यो महाधिवेशन भएको २ वर्ष पनि पुग्न नपाउँदै कांग्रेस टुक्रियो । माओवादी विद्रोह उत्कर्षमा पुगेका बेला २०५९ असार पहिलो साता प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले नयाँ बानेश्वरमा महाधिवेशन प्रतिनिधिहरुको भेला गरे । त्यस भेलाले सभापति कोइरालालाई निष्काशन गर्दै देउवालाई सभापति घोषणा गरेको थियो । त्यसरी शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनेसँगै कांग्रेस अर्को विभाजनमा गएको थियो ।

११

एघारौं महाधिवेशन

काठमाडौंमै २०६२ भदौ १ देखि ४ गतेसम्म कांग्रेसको ११औं महाधिवेशन गरिएको थियो । त्यसमा ‍गिरिजाप्रसाद कोइराला लगातार तेस्रो पटक सभापति भएका थिए ।

Santi Samjhauta

माओवादीका कमान्डर 'प्रचण्ड'सँग शान्ती सम्झौता गर्दै गिरिजाप्रसाद कोइराला ।

त्यसपछि राजतन्त्रको अन्त्य र गणतन्त्र घोषणासमेत भयो । माओवादी पनि शान्तीपूर्ण राजनीतिमा आयो । उता केही वर्षअघि मात्रै फुटेर गएको देउवा नेतृत्वको प्रजातान्त्रिक पार्टी र नेपाली कांग्रेसको २०६४ असोजमा एकीकरण भयो ।

१२

बाह्रौं महाधिवेशन

गणतान्त्रिक नेपालमा प्रवेश गरेको कांग्रेसले आफ्नो बाह्रौं महाधिवेशन २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौंमा गर्यो । त्यस महाधिवेशनबाट सुशील कोइराला सभापतिमा निर्वाचित भएका थिए ।

Sushil Koirala

सुशिल कोइराला ।

तर, कोइराला र देउवा गुटका कारण पार्टीले राम्रो काम र गति लिनै सकेन । यद्यपि, कोइराला प्रधानमन्त्री भएकै बखत ३ असोज २०७२ मा नेपालले नयाँ संविधान पायो । र, मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा भयो ।

१३

तेह्रौं महाधिवेशन

नेपाली कांग्रेसको तेह्रौं महाधिवेशन २०७२ फागुन २० देखि २३ सम्म काठमाडौंमा भएको थियो । त्यसमा पहिलो पटक शेरबहादुर देउवा सभापतिमा निर्वाचित भए ।

Sher Bahadur Deuba

शेरबहादुर देउवा ।

तर, देउवा, पौडेल र सिटौला गुटका कारण पार्टी अनिर्णयको बन्दी जस्तो भयो । सम्पूर्ण सांगठनिक संरचना गतिहीन भयो । फलस्वरूप देउवा नेतृत्वकै सरकारले २०७४ साल मंसिरमा गराएको संसद्‌को निर्वाचनमा कांग्रेसले स्थानीय, प्रदेश र संघमा नराम्ररी हार बेहोर्नुपरेको थियो ।

१४

चौधौं महाधिवेशन

‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका साथ काठमाडौंमै कांग्रेसको १४औं महाधिवेसन भएको थियो । यो महाधिवेशनबाट शेखर कोइरालालाई पराजित गरी दोस्रो पटक सभापति शेरबहादुर देउवा सभापति भए ।

Sher Bahadur Deuba 2

जेनजी विद्रोहमा घाइते भएको एक महिनापछि सार्वजनिक हुँदै शेरबहादुर देउवा ।

तर, गत भदौ २३ र २४ मा भएको जेनजी विद्रोहका क्रममा देउवामाथि भौतिक आक्रमण भयो । सक्त घाइते भएका देउवा करिब एक महिना जति भूमिगत बसे । एकै चोटी २८ असोजमा सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेका देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए ।

दोस्रो विशेष महाधिवेशन

पार्टी भित्रको आन्तरिक विवाद, नेतृत्व हस्तान्तरणको माग र १५औं महाधिवेशन नियमित समयमै नहुने अवस्था भएपछि काठमाडौंको भृकुटीमण्डपमा पुस २७ यता महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशन गरे ।

Special Convention

गगन-विश्वको आह्वानमा भइरहेको दोस्रो विशेष महाधिवेशन ।

पार्टी विधानको धारा १७(२) अनुसार ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरेका थिए । तर, उक्त विशेष महाधिवेशन चलिरहँदा पार्टी संस्थापन समूहले गगन-विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गर्यो । यससँगै नेपाली कांग्रेस तेस्रो पटक विभाजित भएको छ । ।