+

के हुन्छ, जब हामी मस्त निदाउछौँ ?

मस्त निद्राको समयमा शरीरले विभिन्न शारीरिक प्रक्रियाहरू सञ्चालन गर्छ, जसले स्वास्थ्य र कार्यक्षमता कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ ।

कोषिका मर्मत र वृद्धि

मस्त निद्राको समयमा शरीरले कोषिका मर्मत र नयाँ स्वस्थ कोष बनाउँछ । ग्रोथ हर्मोनको उत्पादन भई बच्चा र किशोरवर्गमा मांसपेशी, हड्डी र अन्य कोषिकाको वृद्धि र मर्मतमा सहयोग गर्छ ।

Advertisement

रोग प्रतिरोधी क्षमता बढ्छ

मस्त निद्राले रोग प्रतिरोधक प्रणालीलाई बलियो बनाउँछ । यो समयमा शरीरले साइटोकाइन जस्ता प्रोटिनहरू उत्पादन गर्छ, जुन संक्रमणविरुद्ध लड्न आवश्यक हुन्छ । मस्त निद्राको कमीले रोगप्रतिरोधात्मक प्रणाली कमजोर हुन्छ ।

मस्त निद्राले टी–कोषिका अन्य प्रतिरक्षा कोषिकाहरूको गतिविधिलाई बढावा दिन्छ । यी कोषिकाले शरीरमा प्रवेश गर्ने भाइरस र ब्याक्टेरियालाई नष्ट गर्छन् ।

मस्तिष्कको विषाक्त पदार्थ सफाइ

मस्त निद्राको समयमा मस्तिष्कले आफूलाई सफा गरी स्मरण शक्तिलाई बलियो बनाउँछ । यो प्रक्रियामा मस्तिष्कबाट विषाक्त पदार्थहरू र फोहोरहरू हटाउँछ । मस्त निद्राले स्मरण क्षमता पनि बढाउन सहयोग गर्छ । दिनभर सिकेका कुराहरू मस्तिष्कमा व्यवस्थित हुन्छन् र दीर्घकालीन स्मृतिमा रूपान्तरण हुन्छन् ।

ऊर्जा संचय

निद्राको समयमा शरीरको पचाउने दर कम हुन्छ, जसले ऊर्जा संरक्षण गर्छ । मुटुको गति, श्वासप्रश्वास र शरीरको तापक्रम घटेर शरीरलाई विश्राम दिन्छ । यो अवधिमा शरीरले ग्लुकोजको प्रयोगलाई नियन्त्रण गरी इन्सुलिन संवेदनशीलता सुधार्छ, जसले मधुमेहको जोखिम कम गर्छ ।

मुटुको स्वास्थ्य

यो समयमा रक्तचाप र हृदयको गति कम हुन्छ, जसले हृदयलाई आराम दिन्छ । नियमित मस्त निद्रा लिने व्यक्तिहरूमा उच्च रक्तचाप, हृदयघात र स्ट्रोकको जोखिम कम हुन्छ । शरीरले रक्त नलीहरूको मर्मत गर्छ ।

अनिद्राको प्रभाव

निद्राको कमीले स्मरण शक्ति कमजोर हुन्छ, रोगप्रतिरोधात्मक क्षमता घट्छ, तनाव बढ्छ र पचाउने क्षमतामा असन्तुलन आउँछ । दीर्घकालीन रूपमा, मस्त निद्राको कमीले मधुमेह, मोटोपन, हृदयरोग, डिप्रेसन र अल्जाइमर जस्ता रोगहरूको जोखिम बढाउँछ ।