
आजभोलि अनलाइन र अफलाईन दुवैतर्फबाट स्क्याम बढीरहेको छ। यीबाट बच्न स्क्यामरहरुको ठग्ने तरिकाबारे सजग हुन जरुरी छ ।

फिसिंग
स्क्यामरले तपाईको बैंक, सरकारी संस्था वा कुनै चर्चित कम्पनीको नामबाट इमेल, म्यासेज वा कल गरेर व्यक्तिगत जानकारी जस्तै, खाता नम्बर, पासवर्ड, क्रेडिट कार्ड विवरण माग्न सक्छन् । यसलाई फिसिंग स्क्याम भन्ने गरिन्छ ।

लोटरी र नगद पुरस्कार
यो स्क्याममा स्कुक्नैयामरले व्हाट्स एप वा कल मार्फत ठुलो नगद राशि जितेको बताउछ । अनि त्यो नगद पुरस्कारको लागि ट्याक्स र प्रक्रियाको लागि भनेर केहि शुल्क मागिन्छ । धेरैजसो सोझो व्यक्ति यसरी ठगीमा परेको कयौं उदाहरण छन् ।

रोजगार दिने
अर्को स्क्याम हो, 'जब स्क्याम' । तपाईसँग रजिस्ट्रेसन शुल्क, तालिम शुल्क वा सेक्युरिटी डिपोजिट भन्दै पैसा असुल्ने गर्छन् । तर, पैसा लिए पछि झुलाउने काम हुन्छ । रोजगारी दिइदैन ।

सट्टेबाजी
बेलाबखतमा फुटबल, क्रिकेट जस्ता गेममा सट्टेबाजी गराउने भन्दै स्क्यामरले बेट गराउन लगाएर पैसाको प्रलोभन देखाउँछ । एक हजार रुपैयाँ लगानी गरे दुई हजार रुपैयाँ ग्यारेन्टी पाइन्छ भन्दै मानिसलाई 'बेटिङ' गराई पैसा ठगी गरिन्छ ।

सम्बन्धको जाल
अनलाइन डेटिङ साइट्स वा सामाजिक संजालमा मित्रता कसेर नजिकिएर भरोसा जित्ने अनि पछि विभिन्न बहाना बनाएर पैसा ठग्ने फन्दा अहिले विकविकी छ ।