+

के मधुमेहले आँखालाई असर गर्छ ?

मधुमेह उच्च भएकोलाई रेटिनोप्याथी हुने जोखिम हुन्छ । रेटिनोप्याथी आँखा समबन्धि समस्या हो ।

कुनै पनि वस्तुको प्रकाश पारदर्शी लेन्सबाट रेटिनामा जान्छ । एकपटक प्रकाश रेटिनामा पुगेपछि स्नायु मार्फत संकेतहरू मस्तिष्कमा पुग्छन् ।

Advertisement

अनि मस्तिष्कले उक्त वस्तु चिनेर आँखामार्फत हामीलाई त्यो वस्तुबारे बताउँछ । मधुमेहका कारण सो रेटिनामा क्षति हुनुलाई मधुमेह रेटिनोपेथी भनिन्छ ।

यसको जोखिम कसरी हुन्छ ?

इन्सुलिनले शरीरमा भएको सुगरको स्तरलाई नियन्त्रण गर्छ । इन्सुलिनको सही ढंगले उपस्थिति नहुँदा मधुमेह भएकालाई रेटिनोपेथीको जोखिम हुनसक्छ ।

किनकि टाइप-१ मा इन्सुलिन बन्दैन भने टाइप-२ मा बनेको इन्सुलिनले पनि शरीरमा काम नगर्ने हुन्छ ।

यस्तोमा जति लामो समयसम्म मधुमेह हुन्छ, त्यति नै मधुमेह रेटिनापेथी हुने जोखिम बढी हुन्छ । रगतमा उच्च मात्रामा ग्लुकोज भएमा यसले रेटिनालाई पोषण दिने रक्तनलीमा बिस्तारै क्षति पार्न सक्छ ।

आँखामा नयाँ रक्तनली विकास हुनसक्छ । जुन राम्रोसँग विकास हुँदैन र सजिलै फुटेर रेटिनोपेथी गराउँछ । मधुमेह बाहेक खराब जीवनशैली मोटोपन र उच्च रक्तचाप पनि रेटिनोपेथीका लागि जोखिम कारक हुनसक्छ ।

रेटिनोपेथी भएको कसरी थाहा पाउने ?

मधुमेह रेटिनोपेथीमा सुरुवातमा कुनै चेतावनी चिन्ह वा लक्षणहरू हुँदैनन् । यसको असरबारे जान्न वर्षमा एक पटक आँखाको परीक्षण गराउनुपर्छ । परीक्षणले मात्र रेटिनोपेथी भएको नभएको पत्ता लाग्न सक्छ ।

रेटिनामा असर गर्दा त्यसमा भएका स-साना रक्तनलीहरु फुट्ने वा बन्द हुने सम्भावना हुन्छ । जसकारण आँखाले देख्ने दृश्य धमिलो हुँदै जान्छ । जब आँखाले धमिलो रुप देख्न थाल्छ तब मात्र आँखामा समस्या भएको थाहा हुन्छ ।

उपचार सम्भव छ ?

यसको पहिचानका लागि डाइलेटेड आँखा परीक्षण हुन्छ । मधुमेह रेटिनोपेथी भइसकेको पत्ता लागेपछि सबैभन्दा पहिला मधुमेह, उच्च रक्तचाप र कोलस्टेरोलको मात्रा बढेको छ भने नियन्त्रण गर्नुपर्छ ।

मधुमेह रेटिनोपेथीले धेरै नै असर पारेको खण्डमा आँखामा लगाउने रेजरहरु प्रयोग गर्नुपर्ने हुन्छ । त्यस्तै, आँखाको अवस्था हेरेर इन्ट्राओकुलर सुई लगाउनुपर्छ । आँखाको अवस्था जटिल भएको अवस्थामा भने शल्यक्रिया नै गर्नुपर्छ ।

उल्लेखित जानकारी नेत्र रोग विशेषज्ञ डा. बेन लिम्बुले बताएका हुन् । कन्टेन्ट विस्तृतमा हेर्नको लागि यो लिंक क्लिक गर्न सकिनेछ ।