
धेरै काम वा कसरत गरेपछि कहिलेकाहीं कम्मर दुख्नु सामान्य हो । तर कतिपय अवस्थामा रातभरको सुताइपछि बिहान उठ्दा कम्मर दुखिरहेको हुनसक्छ ।

सुताइ नमिल्नु
एकै आसनमा र घोप्टो परेर सुत्नेहरुमा बिहान उठ्दा कम्मर दुख्ने सम्भावना बढी हुन्छ । किनकि यसरी सुत्दा कम्मर तथा मेरुदण्डमा बढी भार पर्छ । जसकारण बिहान उठ्दा दुख्नसक्छ ।

डस्नाको समस्या
कम्मर दुखाइको समस्याको अर्को कारण कस्तो डस्नाको प्रयोग भइरहेको छ । त्यसमा भर पर्छ । धेरै कडा, धेरै लचकदार तथा अत्यधिक पुरानो भएर बिग्रेको डस्नामा सुत्दा बिहान कम्मर दुख्न सक्छ ।

त्यस्ता डस्नामा सधैं सुत्दा ढाड तथा कम्मरको पोइस्चरको सन्तुलन बिग्रिन्छ । जसकारण बिहान उठ्दा कम्मर दुखिरहेको अनुभव हुनसक्छ ।

गर्भवती महिला
गर्भवती महिलाको शरीरमा त्यसै पनि हर्मोनको परिवर्तनले गर्दा शरीर अन्य बेलाभन्दा नरम भएको हुन्छ । त्यसमाथि पेटको आकार बढ्नु, पेटको गोलाइको तालमेल नमिल्दा यसको असर ढाड तथा मेरुदण्डमा असर पर्छ र कम्मर दुख्न सक्छ ।

निद्रामा समस्या
शरीरलाई आराम चाहिन्छ । त्यसका लागि निद्रा आवश्यक छ । यदि राम्रोसँग निद्रा नपुग्ने, बेलाबेलामा ब्युँझिने र निद्रा नै नलाग्ने समस्या छ भने शरीरले पूर्ण रुपमा आराम पाउँदैन ।

मांसपेसीको समस्या
हामीमध्ये धेरैलाई लाग्न सक्छ- हड्डीको समस्याले मात्र ढाड र कम्मर दुख्छ । तर त्यस्तो पक्कै होइन । मांसपेशीमा समस्या हुँदा पनि ढाड दुखाइ हुनसक्छ । यस्तो दुखाइलाई ‘फाइब्रोमाल्जिया मायोफेसिएल पेन सिन्ड्रोम’ भनिन्छ ।

मांसपेशी लचिलो हुनुपर्छ । यदि मांसपेशी कडा हुँदै जानु वा कमजोर भयो भने सुतेको बेलामा र बिहान उठ्दा कम्मर दुख्न सक्छ ।

एकै स्थानमा बढी बस्नु
लामो समयसम्म एकै स्थानमा बस्नु, बसेर घण्टौंसम्म कार्यालयमा काम गर्नु, बाइक स्कुटर चलाउनु, शारीरिक व्यायाम पटक्कै नगर्नेहरुमा गर्नेमा मांसपेशी कडा हुनसक्छ । जसकारण पनि बिहान उठ्दा कम्मर दुखाई अनुभव हुनसक्छ ।

मेरुदण्डको बाथ
विशेषगरी मेरुदण्डको बाथ (स्पाइनल अर्थरिटीस), स्याक्रोइलिटिस) को कारण पनि बिहानपख कम्मर दुख्न सक्छ । यस्तोमा मेरुदण्डको भाग सुन्निन्छ । जसको प्रभाव कम्मरमा पनि पर्ने हुँदा रातभरको एकै प्रकृतिले सुत्दा शरीरको तल्लो भाग दुख्न सक्छ ।

भिटामिन डीको कमी
भिटामिन डीले नै हड्डीलाई बलियो पारेर राख्छ । यसको शरीरमा कमी हुँदा अस्टियोमालसिया हुनसक्छ । अस्टियोमालसिया हुनु भनेको हड्डीको कडापन हराउँदै गई कमजोर हुँदै जानु हो । यो समस्या भएमा बिहान उठ्दा कम्मर दुखिरहेको अनुभव हुनसक्छ ।

सुताइको पोजिसन नमिलेर पनि कम्मर दुख्न सक्ने हुँदा पोजिसन बदलेर सुत्ने, घोप्टो परेर नसुत्ने, कोल्टे सुत्दा दुईवटा घुँडाको बीचमा तकिया राख्ने, उत्तानो सुत्दा घुँडा खुम्च्याएर घुँडाको तल तकिया राखेर सुत्न सकिन्छ ।

डस्ना धेरै कडा वा धेरै लचकदार र धेरै पुरानो डस्ना प्रयोग गर्नुहुँदैन । भिटामिन डीको जाँच गराउनुपर्छ ।

माथि उल्लेखित जानकारी अकुं. सुदर्शन बस्नेतले बताएका हुन् । कन्टेन्ट विस्तृतमा हेर्न यहाँ किल्क गर्न सकिनेछ ।