+

किन मनाइन्छ तिहार ? यस्तो छ तिहारको महत्व

तिहार पाँच दिनसम्म मनाइने पर्व (यमपञ्चक) हो, जसमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी/गोवर्धन र भाइटीका पूजा गरिन्छ । यो पर्व कात्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि शुरु हुन्छ ।

पौराणिक कथाअनुसार, यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी पाँच दिन रमाइलो मनाएको विश्वास छ। यमुनाले दाजुभाइको दीर्घायु, कीर्ति र प्रेम सधैं अटल रहोस् भन्ने वरदान मागिन्। यस पर्वले मानव–पशु सम्बन्ध र दिदी–भाइबीचको आत्मीयता झल्काउँछ ।

Advertisement

पहिलो दिन काग तिहार

कार्तिक कृष्ण त्रयोदशीका दिन कागको पूजा गरि काग तिहार मनाउने गरिन्छ । काग अत्यन्त चतुर र चलाख पन्छी हो । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा फट्याङग्राहरू खाइदिन्छ।

कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । त्यसैले, यसदिन कागको पूजा गरि कागतिहार मनाउने गरिएको धार्मिक विश्वास छ ।

दोस्रो दिन कुकुर तिहार

कुकुर तिहार, यमपञ्चकको दोस्रो दिन, कार्तिक कृष्ण चतुर्दशीमा मनाइन्छ । कुकुरलाई यमराजका दूत र निष्ठावान साथीका रूपमा सम्मान गरिन्छ। घरको सुरक्षा, अपराध पत्ता लगाउने र खतरा अगाडि नै चेतावनी दिने कुकुरप्रतिको कृतज्ञता प्रकट गर्न यो दिन पूजापाठ गरिन्छ।

तेस्रो दिन गाईतिहार र लक्ष्मीपूजा

गाईतिहार र लक्ष्मीपूजा तिहारको तेस्रो दिन मनाइन्छ । गाईलाई राष्ट्रिय जनावर, गौमाता र देवी लक्ष्मीको प्रतीक मानिन्छ । गाईको गोबर र गहुँत पवित्र मानिने भएकाले यस दिन गाईको पूजा गरी आशीर्वाद लिने चलन छ।

साँझपख घरघरमा दीप बाल्ने, भैलो खेल्ने र लक्ष्मीपूजा गर्ने परम्परा रहँदै आएको छ। यो रातलाई अन्धकारमाथि उज्यालोको प्रतीकका रूपमा मनाइन्छ।

चौथो दिन गोरु तिहार

पौराणिक कथानुसार, कृष्णले गोवर्धन पर्वतको पूजा गरेर गोकुलवासीलाई इन्द्रको प्रकोपबाट बचाए । यस दिन गोवर्धनको प्रतिमा बनाइ पूजा गरिन्छ र हल/गोरूको पूजा गरी अन्न उपज र कृषकको सहकार्यको कृतज्ञता व्यक्त गरिन्छ। साँझ घरघरमा देउसी–भैलो खेल्ने चलन पनि रहँदै आएको छ।

अन्तिम दिन भाइटीका तिहार

यस दिन दिदीहरूले भाइको निधारमा सप्तरङ्गी टीका लगाइ, तेल, दूबो, फूल र मखमली प्रयोग गरी दीर्घायु, सुख–समृद्धि र स्वास्थ्यको कामना गर्छिन् । भाइले दिदीलाई दान–वस्त्र र मिष्ठान्न दिन्छन् ।

यो पर्व सम्बन्ध मिलाउने, चिसोपन हटाउने र आपसी आत्मीयता बढाउने माध्यम पनि हो। सारांशमा, भाइटीका परिवार र सांस्कृतिक सम्बन्धको प्रतीक हो ।