+

सियोले घोचेर गरिने उपचार, अकुपन्चर के हो ?

अकुपन्चर थेरापी एक परम्परागत चिनियाँ उपचार पद्धति हो । अकुपन्चर दुई फरक शब्दबाट बनेको छ । अकु अर्थात् सुई र पन्चर अर्थात् घोच्ने । शरीरका विशेष बिन्दुहरुमा सियोले घोचेर गरिने उपचार पद्दति हो, अकुपन्चर ।

पाँच हजार वर्ष पहिला चिनियाँ परम्परागत उपचार पद्धतिको रुपमा अकुपन्चर विकसित भएको थियो । इतिहास लामो बोकेको यो उपचार पद्धति सन् १९७९ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मान्यता पछि विश्वका अधिकांश देशमा प्रयोग हुँदै आएको छ ।

Advertisement

यसले कसरी काम गर्छ ?

शरीरमा मुख्य गरी मेरिडियनमा अवस्थित ३६१ अकुपन्चर बिन्दु हुन्छन् । जुन समस्या अनुसारको छुट्टाछुट्टै रोगमा प्रयोग गरिन्छ । सो बिन्दु अकुपन्चरिस्ट पहिचान गर्न सक्छन् । यद्यपि तीमध्ये ९० वटा बिन्दु छानेर उपचार गर्ने अहिलेसम्मको अभ्यास छ ।

रोगको पहिचान गरेपछि ९० वटा बिन्दु छानेर त्यसमा ‘फिलिफर्म’ नामक सियोले घोचिन्छ । एउटा बिन्दुबाट अकुपन्चर बिन्दुहरूमा सुईले केन्द्रीय स्नायु प्रणाली र मांसपेशीलाई प्रभाव पार्नुका साथै शरीरका धेरै भागमा रगतको प्रवाह पनि बढाउने, इन्डोरफिन हार्मोन रिलिज गराई प्राकृतिक पेन किलरको काम गर्छ ।

अटोनामिक नर्भस सिस्टममार्फत शरीरको नसा, रक्तचाप, पारा सिम्पाथेटिकको आउट फ्लोलाई सन्तुलन गर्छ । रोगसँग लड्ने क्षमता बढाइदिन्छ । साइकोलोजिकल प्रभाव बढ्छ, जसले दिमागले निकाल्ने केमिकललाई सन्तुलन गर्छ ।

अकुपन्चर कति पटक गर्ने ?

अकुपन्चर १० दिनसम्म दैनिक गर्नुपर्छ । त्यसपछि केही दिनको फरकमा पुन: बिरामीको अवस्था हेरेर गरिन्छ । कति पटकसम्म अकुपन्चर गर्ने भन्ने कुरा व्यक्ति अनुसार र रोगअनुसार पनि फरक पर्न सक्छ । प्यारालाइसिस भएकालाई ९० दिनसम्म गरिन्छ । पुरानो र जीर्ण रोगमा धेरै समय लाग्छ ।

अकुपन्चरमा प्रयोग हुने सुईले दुख्छ ?

अकुपन्चरमा लगाइने सुई देख्दा धेरैलाई दुख्न सक्छ कि भन्ने लाग्न सक्छ । सामान्यतया अकुपन्चरको सई राख्दा केही घोचेको जस्तो अनुभव हुन्छ तर दुख्दैन । किनभने यसमा प्रयोग हुने सुई निकै मसिनो २.५ एमएम डायोमिटरको हुन्छ । कहिलकाहीं संवेदनशील बिन्दुमा राख्दा हल्का दुखाइ हुन्छ । जुन कमिलाले टोकेको वा चिमोटेको जस्तै हुन सक्छ ।

दीर्घरोगको औषधि लिइरहेकाले अकुपन्चर गर्न मिल्छ कि मिल्दैन ?

दीर्घरोग भएका व्यक्तिलाई यसले कुनै साइड इफेक्ट गर्दैन । अकुपन्चर यस्तो पद्दति हो, जुन सबै चिकित्सा पद्धतिसँग मिसाउन मिल्ने भएकाले दीर्घरोग भएकाले पनि गर्न सक्छन् ।