+

जाडो मौसममा किन बढ्छ महिनावारी पीडा ?

प्रतिरक्षा प्रणाली कमजोर हुनु

जाडो मौसममा हाम्रो प्रतिरक्षा प्रणाली कमजोर हुन्छ। किनकी यो समयमा बाह्य भाइरस र किटाणु बढी सक्रिय हुन्छन्। यी तत्वको सम्पर्कमा आएमा शरीर विभिन्न संक्रमण, रुघा–खोकी र भाइरसको शिकार बन्न सक्छ। जसले प्रतिरक्षा प्रणाली कमजोर बन्न सक्छ।

यसको प्रत्यक्ष असर महिनावारी चक्रमा पनि पर्न सक्छ। जसले महिनावारी हुँदा शरीर गल्ने, जोर्नीहरु दुख्ने र कमजोर अनुभव हुने जस्ता समस्या बढ्न सक्छ।

Advertisement

रक्त सञ्चार कम हुनु

वास्तवमा, चिसो मौसमले रक्तनलीहरूलाई साँघुरो बनाउन सक्छ। यसरी रक्तनली साँघुरिदा शरीरमा दुखाइको अनुभव गराउने प्रोस्टाग्ल्यान्डिन हर्मोनको स्तर बढ्न सक्छ। जसले पेट दुखाउने, तल्लो कम्मर दुखाउने र मुड नै खराब पार्न सक्छ।

चिसोले शरीरमा तापक्रम कम भई रक्तनलीहरू साँघुरो हुँदा पाठेघरमा रक्तसञ्चारको प्रवाह राम्रोसँग हुन पाउँदैन। जसले पनि दुखाइलाई बढावा दिन्छ। रक्तस्राव पनि बढाउनसक्छ।

घाम कम लाग्नु

चिसो मौसममा कम घाम लाग्ने हुँदा भिटामिन डीको मात्रा शरीरमा कम हुन सक्छ। भिटामिन डीको कमीले शरीरमा क्याल्सियमको स्तर घटाउन सक्छ, जसले महिनावारीलाई झन् खराब बनाउँछ। सूर्यको प्रकाशको कम मात्रा हुँदा हाम्रो थाइरोइड ग्रन्थीलाई प्रभावित गर्नसक्छ।

महिनावारी हुँदा सबै महिलाले पीडा भोग्छन् ?

महिनावारीमा सबैलाई पीडा हुँदैन। जो शारीरिक रुपमा कम सक्रिय छन्, जसको प्रतिरोधात्मक क्षमता कम छ, प्रशोधित खानेकुरा बढी खान्छन् र पीसिओएस र एन्ड्रोमेट्रिओसिस जस्ता पाठेघरको समस्या छ उनीहरुलाई जुनसुकै मौसममा महिनावारीमा पीडा हुनसक्छ।