+

प्राकृतिक, कृत्रिम र मिश्रित कपडा : कुन कति राम्रो ?

प्राकृतिक कपडा

प्राकृतिक कपडाहरू पशु, बोटबिरुवा वा खनिजबाट प्राप्त हुन्छन् । यिनीहरू पर्यावरणमैत्री र जैविक रूपमा विघटनशील हुन्छन् ।

१. सुती

सुतीको कपडाको स्रोत कपासको बोटको फल हो । यो कपडा नरम, हावा पास हुने, हल्का र पसिना सोस्ने हुन्छ । यो छालामा आरामदायी हुन्छ । यो कपडाका कुर्ता, सारी, टिर्सट, तन्ना तौलिया आदि बजारमा पाइन्छ । यस्तो कपडा सस्तो, टिकाउ र हेरचाह गर्न सजिलो हुन्छ । तर, यस्ता कपडा सजिलै चाउरी पर्ने, रंग बिग्रने सम्भावना भने हुन्छ ।

Advertisement

२. रेशम

रेशम कपडाको स्रोत रेशमकीराको कोकुन हो । यो कपडाको विशेषता भनेको चम्किलो, नरम र विलासी हो, जसले हल्का र चिसो अनुभव गराउँछ । यो कपडाबाट सारी, ड्रेस, स्कार्फ र विशेष अवसरका लुगाहरू बनाइन्छ । तर, यो कपडा अली महँगो, हेरचाह गर्न गाह्रो र पानीले बिग्रन सक्ने हुन्छ ।

३. ऊन

ऊनको कपडाको स्रोत भेडा, बाख्रा वा अन्य जनावरको रौँ हो । यो कपडाको विशेषताको कुरा गर्दा यो न्यानो, टिकाउ र लचिलो हुन्छ । यसको प्रयोगबाट स्वेटर, कोट, टोपी र जाडोका लुगा बनाइन्छ । ऊनको कपडा न्यानो र प्राकृतिक रूपमा पानीले हत्तपत्त नबिग्रने हुन्छ ।

४. लिनेन

लिनेन कपडाको स्रोत फ्लेक्सको बोट हो । यो कपडा हल्का, हावा पास हुने र बलियो हुन्छ । पछिल्लो समय लिनेनको प्यान्ट एकदमै ट्रेन्डमा छ । साथै लिनेनको ड्रेस र सर्ट, टिर्सट पनि फेसनमा छ । यो कपडा पर्यावरणमैत्री, शितल र टिकाउ हुन्छ । तर, यो कपडा सजिलै चाउरी पर्ने र अलि महँगो हुन्छ ।

५. जुट

जुटको कपडाको स्रोत जुटको बोट हो । यो कपडाको विशेषताको कुरा गर्दा यो बलियो, कडा र पर्यावरणमैत्री हुन्छ । यसको प्रयोगबाट विशेषगरी बोरा, झोला र सजावटका सामान तयार गरिन्छ । यो सस्तो, जैविक रूपमा विघटनशील हुन्छ ।

कृत्रिम कपडा

कृत्रिम कपडाहरू रासायनिक प्रक्रियाद्वारा बनाइन्छन् । यिनीहरू प्रायः सस्ता र टिकाउ हुन्छन् ।

१. पोलिस्टर

पोलिस्टरका कपडाहरू बलियो, चाउरी नपर्ने र रङ टिक्ने हुन्छन् । यसको प्रयोग शरीरमा लगाउने कपडा, पर्दा र फर्निचरका कभर बनाउन हुन्छ । पोलिस्टर सस्तो, टिकाउ, र हेरचाह गर्न सजिलो कपडा हो । तर, यो कपडा हावा पास नहुने र छालामा असहज हुने हुन्छन् ।

२. नाइलन

नाइलनको कपडा हल्का, बलियो र लचिलो हुन्छन् । जसको प्रयोग मोजा, डोरी र खेलकुदका लुगा बनाउन प्रयोग हुन्छ । यस्ता कपडा पानी प्रतिरोधी र लामो समय टिक्ने हुन्छन् । तर, नाइलनको कपडा गर्मीमा असहज हुने, शरीर पोल्ने हुन सक्छ ।

३.रेयोन

रेयोनको कपडा रेशमजस्तो चमकिलो र नरम हुन्छ तर रेसमभन्दा सस्तो हुन्छ । यसको प्रयोगबाट विशेषगरी ड्रेस, कुर्ता र सजावटका सामाग्री तयार गरिन्छ । यो रेशमको सस्तो विकल्प हो । तर, यो टिकाउ हुँदैन र पानीले बिग्रन सक्छ ।

४. एक्रिलिक

एक्रिलिकको कपडा ऊनजस्तो नरम, हल्का र न्यानो हुन्छ । जसको प्रयोग स्वेटर, कार्पेट र जाडोको लुगा बनाउन हुन्छ । यो कपडा सस्तो हुन्छ र रङ पनि लामो समय टिक्ने हुन्छ ।

मिश्रित कपडा

मिश्रित कपडाहरू प्राकृतिक र कृत्रिम फाइबरको संयोजनबाट बन्छन् । यिनीहरूले दुवैको विशेषताहरू संयोजन गर्छन् , जसमा सुती–पोलिस्टर, ऊन–एक्रिलिक पर्छन । यी कपडाबाट बनेको लुगा ऊनको तुलनामा सस्तो हुन्छ तर कम टिकाउ हुन्छ ।

कुन कपडा सबैभन्दा राम्रो ?

कुन कपडा सबैभन्दा राम्रो भन्ने कुरा प्रयोगको उद्देश्य, मौसम, व्यक्तिगत प्राथमिकता र बजेटमा निर्भर गर्छ । तथापि, यदि सामान्य मापदण्ड जस्तै आराम, टिकाउपन, पर्यावरणमैत्री र बहुउपयोगीतालाई आधार मान्छौं भने सुती र लिनेनलाई प्रायः उत्कृष्ट मानिन्छ ।