मानवको स्वाभाविक भावनात्मक प्रतिक्रिया । यसरी झनक्क रिस उठ्दा शरीरमा पनि आंशिक रूपमा परिवर्तन देखिन थाल्छ, जो स्वास्थ्यको हिसाबले त्यति राम्रो मानिँदैन ।
यसरी रिसाउँदा शरीरमा कस्तो परिवर्तन हुन्छन्, त ?
जब हामी रिसाउँछौं, हाम्रो शरीर तुरुन्तै ‘फाइट अर फ्लाइट रेस्पोन्स’ (लड्ने वा भाग्ने तयारी) का लागि सक्रिय रहन्छ, जसले खतरा वा चुनौती सामना गर्न शरीरलाई तयार बनाउँछ ।
रिस उठ्ने बित्तिकै मस्तिष्कको एमिग्डाला (भावना नियन्त्रण गर्ने केन्द्र) सक्रिय हुन्छ र सिम्प्याथेटिक नर्भस सिस्टमलाई ट्रिगर गर्छ ।
यसले एड्रेनालिन (एपिनेफ्रिन) र नोरएड्रेनालिन जस्ता हर्मोनहरू रिलिज गराउँछ, साथै कोर्टिसोल (तनाव हर्मोन) को स्तर बढाउँछ । यी हर्मोनहरूले शरीरलाई तत्काल ऊर्जा दिन्छन् र तीव्र प्रतिक्रिया गर्न सक्षम बनाउँछन् ।
प्राचीन समयमा यो प्रक्रिया जंगली जनावर वा शत्रुबाट जोगिन अत्यन्तै उपयोगी थियो । तर आधुनिक जीवनमा स-साना कुरामा बारम्बार रिस उठ्दा, यसले मुटु, रक्तचाप, प्रतिरक्षा प्रणाली र मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्छ ।
मुटु र रक्तसञ्चार प्रणालीमा प्रभाव
रिसको सबैभन्दा खतरनाक प्रभाव मुटुमा पर्छ । रिस उठ्दा मुटुको धड्कन दर र रक्तचाप तीव्र रूपमा बढ्छ । रगत मांसपेशीतर्फ निर्देशित हुन्छ, जसले मुटुलाई बढी मेहनत गर्न बाध्य बनाउँछ ।
कोलम्बिया विश्वविद्यालयमा गरिएका अध्ययनहरूले देखाएअनुसार, छोटो समयको रिसले पनि रक्तनलीको फैलने क्षमता ४० मिनेटसम्म घटाउँछ, जसले एथेरोस्क्लेरोसिस (धमनी कडा हुने) को जोखिम बढाउँछ ।
उच्च रक्तचाप वा कोलेस्टेरोल भएका व्यक्तिमा तीव्र रिसले हार्ट अट्याकको जोखिम ५ गुणा बढाउँछ । अनुहार रातो हुन्छ, पसिना बढी आउँछ र शरीरको तापक्रम बढ्छ । दीर्घकालीन रूपमा, बारम्बार रिसले उच्च रक्तचाप, हृदय रोग र स्ट्रोकको खतरा बढाउँछ ।
श्वासप्रश्वास र मांसपेशीमा परिवर्तन
रिसले श्वास छिटो र गहिरो हुन्छ, जसले अक्सिजन आपूर्ति बढाउँछ । मांसपेशीहरू तनावपूर्ण अवस्थामा हुन्छन्– बङ्गारा कसिन्छ, मुठ्ठी बन्द हुन्छ र नाकको प्वाल फुल्छ । यो ‘फाइट’ तयारी हो ।