हरेक वर्ष जाडो मौसम सुरु भएसँगै विशेषगरी काठमाडौं उपत्यकामा वायु प्रदूषणको समस्या बढ्छ । काठमाडौंको कचौरा आकारको भूगोल र तापमान इन्भर्सन (चिसो हावा तल र तातो माथि) का कारण प्रदूषकहरू फस्छन्, जसले धुवाँ र धुलोको तह बनाउँछ ।
जाडोमा प्रदूषण किन बढ्छ?
चिसो हावाको घनत्व बढी हुने भएकाले तातो हावा जस्तो सहजै माथि उड्दैन । चिसो हावा तल र तातो हावा माथि रहने इन्भर्सन लेयरले प्रदूषकहरूलाई फसाउँछ। वर्षा कम हुने भएकाले प्रदूषण पखालिँदैन ।
सवारी साधनको धुवाँ, दाउरा बाल्ने, फोहोर जलाउने, भोजभतेर र निर्माण कार्यले थप योगदान गर्छ । भारतबाट आउने ट्रान्सबाउन्ड्री प्रदूषण पनि प्रभावित गर्छ ।
प्रदूषित हावामा के-के हुन्छ?
प्रदूषित हावामा कार्बन मोनोअक्साइड, ओजोन, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड र पीएम२.५ जस्ता सूक्ष्म कणहरू हुन्छन्। यी कणहरू फोक्सो हुँदै रक्तसञ्चारमा पुगेर शरीरका सबै अंगमा असर गर्छन् ।
स्वास्थ्यमा पर्ने असरहरू
श्वासप्रश्वास प्रणालीमा असर गरी नाक बन्द, घाँटी खसखस, खोकी, आँखा पोल्ने, निमोनिया, दम हुनसक्छ । धुलोका कण फोक्सोको भित्री तहसम्म पुग्छन्।
मुटु र मस्तिष्कमा असर
प्रदूषित हावाले रक्तनली साँघुरो बनाएर रक्तचाप बढाउँछ, हृदयघातको जोखिम बढ्छ। त्यस्तै, प्रदूषणले धमनीहरूलाई कडा बनाउँछ, जसले रगत जम्ने हुन्छ । रगत राम्रोसँग मस्तिष्कमा सञ्चालन हुन नपाउँदा मस्तिष्कघात हुने सम्भावना हुन्छ ।
गर्भवती र शिशुमा असर
समयपूर्व जन्म, कम तौल, फोक्सो/मस्तिष्क विकासमा बाधा, अटिज्मजस्ता समस्या हुनसक्छ ।