+

कति उपयोगी, सुन्तालाको बोक्रा ?

जाडो मौसम सुरु भएसँगै घर–घरमा सुन्तालाको बास्ना फैलिन्छ । सुन्तालाको स्वाद र गुणबारे त भन्नै पर्दैन । धेरैलाई थाहा नहुनसक्छ, यसको बोक्रा पनि निकै गुणकारी हुन्छ । यसको बोक्रा औषधी देखि सौन्दर्यसम्म उपयोगी हुन्छ ।

सुन्तालाको बोक्रामा के पाइन्छ ?

सुन्तालाको बोक्रामा प्रचुर मात्रामा भिटामिन सी हुन्छ, जसले कोलाजेन उत्पादन बढाएर छालालाई चम्किलो र कसिलो बनाउँछ । साथै, फ्लाभोनोइड्स र एन्टिअक्सिडेन्ट पाइन्छन्, जसले फ्री–रेडिकलको असर कम गरी समयअगावै हुने बुढ्यौली रोक्न सहयोग गर्छ ।

Advertisement

बोक्रामा रहेको सिट्रिक एसिडले मृत कोष हटाउन मद्दत गर्छ । एन्टी–ब्याक्टेरियल र एन्टी–इन्फ्लेमेटरी गुणले एक्ने र पिम्पल्स कम गर्छ।

बोक्राबाट बनाउनुहोस् स्वादिलो चिया

जाडोमा तातो चिया पिउँदा मज्जा आउँछ । सुन्तालाको बोक्रा सुकाएर वा ताजा उमालेर चिया बनाउनुहोस् । अदुवा र मह मिसाएर झन् स्वादिष्ट हुन्छ । यो चियाले रोग प्रतिरोधी क्षमता बढाउँछ, रुघाखोकीबाट बचाउँछ ।

पाचन सुधार्छ, तौल नियन्त्रण गर्छ र मुटु स्वस्थ राख्छ । एन्टिअक्सिडेन्टले छाला चम्किलो बनाउँछ र जाडोको सुक्खापन हटाउँछ । भाइरल संक्रमणलाई रोक्ने काम गर्छ ।

बोक्राको चुर्ण: घरेलु औषधी

सुकेको बोक्रा पिसेर चुर्ण बनाउनुहोस् र दैनिक खानामा मिसाएर खानुहोस् । यो चुर्णले रक्तचाप नियन्त्रण गर्छ, कोलेस्ट्रोल घटाउँछ । पेटको समस्या जस्तै कब्जियत र अम्लपित्त हटाउँछ । एन्टिअक्सिडेन्टले शरीर डिटक्स गर्छ र रोगबाट बचाउँछ।

भान्छामा सुगन्ध फैलाउन

सुकेको बोक्रालाई सजाएर भान्छामा राख्न सकिन्छ । यसमा हुने 'सिट्रसी' तत्वले बास्ना फैलाउँछ। त्यसको लागि सिसाको आकर्षक सिसाको बट्टामा बोक्रा राख्न सकिन्छ । यसले सुगन्ध पनि फैलाउँछ, हेर्दा आकर्षक देखिन्छ ।

सौन्दर्यका लागि प्राकृतिक प्याक

बोक्रा पिसेर पाउडर बनाई दही वा महसँग मिसाएर फेस प्याक लगाउन सकिन्छ । यसको प्याक बनाएर लगाउँदा मृत कोषिका हटाएर छाला सफा बनाउँछ । बोक्रामा हुने भिटामिन सीले छाला कसिलो बनाउँछ, प्राकृतिक चमक ल्याउँछ ।