पायल्स मलद्वारमा हुने समस्या हो । जब मलद्वारमा दबाब पर्छ, यो समस्या आउन सक्छ । पायल्स भएपछि दिसा गर्न गाह्रो हुन्छ । मलद्वारबाट रगत बग्छ । मलद्वारमा घाउ हुन्छ । मासु पलाउँछ ।
यो समस्यालाई खानपानमा ध्यान दिएर पनि कम गर्न सकिन्छ । पाइल्सको व्यवस्थापनमा फाइबरयुक्त खाना र पर्याप्त पानीको सेवन अत्यन्त महत्त्वपूर्ण हुन्छ । फाइबरको सन्तुलित मिश्रणले दिसालाई नरम बनाउँछ र कब्जियत कम गर्छ, जसले पाइल्सको लक्षणलाई कम गर्न मद्दत गर्छ ।
के खाने ?
फाइबर युक्त खानेकुरा जस्तो ओट्स, मुङ्ग, मुसुरोको दाल, स्याउ, केरा, आलुबखडा जस्ता मौसमी फलहरू खाँदा पायल्स भएका व्यक्तिलाई फाइदा गर्छ । आलु र सखरखण्डमा पनि सोल्युबल फाइबर प्रशस्त हुन्छ।
अन्नहरू खैरो चामल, कोदो, जौ, फापर । बदाम, चिया सिड्स जस्ता नट्स र सिड्स । साथै सागपात, ब्रोकाउली, बन्दागोभी, गाजर, काँक्रो जस्ता तरकारी । खानामा फाइबरको मात्रा बिस्तारै बढाउनुपर्छ । एकैचोटि धेरै फाइबर खाँदा ब्लोटिङ र ग्यासको समस्या हुन सक्छ ।
हाइड्रेशन
पायल्सको समस्या भएका व्यक्तिले दिनमा कम्तीमा २–३ लिटर पानी पिउनुपर्छ । फाइबरले राम्रोसँग काम गर्न पानीको मात्रा पर्याप्त हुनुपर्छ । साथै नरिवल पानी र मोही पनि पायल्समा लाभदायक हुन्छ । राति सुत्नुअघि एक चम्चा घिउ मिसाएर मनतातो पानी पिउनाले दिसा नरम हुन्छ ।
डिप फ्राइड र तारेको खाना
तेलमा तारेको खाना जस्तैः पकौडा, फ्रेन्च फ्राइजले पाचन प्रक्रियालाई गाह्रो बनाउँछ ।
क्याफिनयुक्त र सफ्ट ड्रिंक्स
कफी, चिया, कोल्ड ड्रिंक्स आदिले डिहाइड्रेशन गराउँछ, जसले कब्जियतको जोखिम बढाउँछ ।
प्रशोधित खाना
चिप्स, बिस्कुट, चाउचाउ जस्ता खानामा फाइबर कम हुन्छ । सोडियम तथा ट्रान्स फ्याट धेरै हुन्छ, जसले कब्जियतलाई बढाउँछ ।
रातो मासु
खसी, राँगा, सुँगुर आदिको मासु अर्थात रातो मासुलाई पचाउन गाह्रो हुन्छ । गम्भीर पाइल्सको अवस्थामा मासुको सेवन कम गर्नुपर्छ ।
दुग्ध उत्पादन
केही व्यक्तिहरूलाई दूध र दूधजन्य पदार्थले कब्जियत बढाउँछ । यदि यस्तो समस्या छ भने डेरी प्रोडक्ट कम गर्नुपर्छ वा पातलो खालको मोही सेवन गर्न सकिन्छ ।
नुनिलो खाना
धेरै नुन भएको खानाले पानीको अवशोषण बढाउँछ र ब्लोटिङको जोखिम हुन्छ, जसले पाइल्समा दबाब बढाउँछ ।
कम फाइबरयुक्त खाना, रक्सी
मैदा, सेतो पाउरोटी र अन्य प्रशोधित अनाजले कब्जियतलाई बढावा दिन्छ । रक्सीले पाचन प्रणालीलाई असर गर्छ र डिहाइड्रेशन गराउँछ ।