जाडो मौसममा काठमाडौं जस्ता ठाउँमा राति तापक्रम निकै घट्छ । चिसोले सुत्न, काम गर्न र दैनिकी चलाउन गाह्रो हुन्छ। यसबाट बच्न हिटर राम्रो विकल्प बन्छ ।
बजारमा फ्यान हिटर, ह्यालोजन, क्वार्ज, टाइमर र ग्यास प्लस इलेक्ट्रिक हिटरहरू पाइन्छन् । यी प्रत्येकको फाइदा, बेफाइदा, सुरक्षा जोखिम र मूल्य फरक-फरक हुन्छ । त्यसैले, हिटर किन्न अघि आफु अनुकुल कुन हुन्छ, जानेर किन्नु बुद्धिमानि हुन्छ ।
फ्यान हिटर
यो हिटरले जाडो र गर्मी दुवै मौसममा काम गर्छ । यसले पंखाजस्तै हावा फ्याँक्छ र आवश्यकताअनुसार चिसो वा तातो हावा दिन्छ । सानो कोठालाई छिट्टै तातो बनाउन सक्छ, तर ठूलो कोठामा भने यो खासै प्रभावकारी हुँदैन र धेरै ताप पनि दिन सक्दैन ।
यसको विद्युत खपत बढी हुन सक्छ तथा हावा फ्याँक्दा कोठाको धुलो उडाउने जोखिम पनि रहन्छ । बजारमा यसको मूल्य सामान्यतया १२ देखि २ हजारसम्म पर्छ। यो विशेष गरी सानो कोठा भएकाहरूका लागि उपयुक्त विकल्प हो ।
ह्यालोजन हिटर
छिट्टै तात्ने र छिट्टै सेलाउने प्रकारको हिटर हो, ह्यालोजन हिटर । यो सामान्यतया २ वा ३ रडहरू भएको हुन्छ, जसले आवश्यकताअनुसार ताप नियन्त्रण गर्न सकिन्छ । यसले छिट्टै ताप दिन्छ र सेलाएपछि थन्क्याउन पनि सजिलो हुन्छ ।
यसमा आफु अनुकुल घुमाउने सुविधा पनि हुन्छ, जसले ठूलो कोठालाई समेत प्रभावकारी रूपमा तताउन सक्छ । विशेष कुरा के छ भने, अगाडिको भाग तातो भए पनि छोएमा पोल्ने जोखिम कम हुन्छ, त्यसैले अलि परै बसेर पनि ताप्न सकिन्छ ।
सुरक्षा हिसाबले, अगाडिको भाग तातो हुने भएकाले बालबच्चाको पहुँचबाट टाढा राख्नुपर्छ । यदि हिटर पल्टियो भने आगलागीको सानो जोखिम रहन्छ। साथै, रडहरू समयसँगै फुट्ने सम्भावना पनि हुन्छ । तर, धेरै समयसम्म चलाउँदा कोठा सुख्खा बनाउन सक्छ । यसको कम्पनी अनुसार मूल्य १७ देखि ४ हजारसम्म पर्न जान्छ ।
क्वार्ज हिटर
क्वार्ज हिटर ह्यालोजन हिटरजस्तै देखिने तर ढिलो तात्ने प्रकारको हिटर हो । यो इन्फ्रारेड ताप दिने प्रविधिमा आधारित हुन्छ र सामान्यतया क्वार्ज ट्युबहरूबाट ताप निकाल्छ ।
ढिलो सेलाउने भएकाले एकपटक तातिसकेपछि लामो समयसम्म ताप दिन्छ, जसले ऊर्जा बचत पनि गर्छ । मध्यम आकारको कोठामा राम्रोसँग काम गर्छ र ताप एकदमै प्राकृतिक र आरामदायी महसुस हुन्छ।
सेलाउन पनि ढिलो हुने भएकाले थन्क्याउन समय लाग्छ । तातो ट्युबहरूमा छोएमा हल्का पोल्न सक्छ, त्यसैले सावधानी अपनाउनुपर्छ । यसको मूल्य एक हजारदेखि ११ सयसम्म पर्छ।
टाइमर हिटर
यो स्ट्यान्ड पंखाजस्तै देखिने, टाइमर सुविधा भएको आधुनिक हिटर हो । यसले कोठालाई प्रभावकारी रूपमा तताउँछ । यसमा तापक्रम नियन्त्रण गर्ने र घुमाउने सुविधा हुन्छ ।
टाइमर सेट गरेर १ घन्टासम्म स्वतः बन्द हुन्छ, जसले विद्युत बचत गर्छ । ठूलो स्पेस वा कोठा तताउन यो धेरै उपयोगी हुन्छ । यसलाई तापेर नजिकै बस्न मिल्दैन, मुख्य रूपमा कोठा तताउने काम गर्छ।
यदि टाइमर फेल भयो भने ओभरहिटिंग भई आगलागीको जोखिम बढ्छ । विद्युत खपत बढी हुने भएकाले बिजुलीको बिल प्रभावित हुन सक्छ। यसको मूल्य ३ हजारदेखि ३२ सयसम्म पर्छ ।
ग्यास प्लस इलेक्ट्रिक हिटर
यो ग्यास र विद्युतबाट चल्ने, शक्तिशाली राप दिने हिटर हो । ग्यासबाट निकै राम्रो र तीव्र ताप आउँछ, जसले ठूलो कोठालाई छिट्टै तताउँछ । विद्युत वा ग्यास छनोट गर्न मिल्छ।
अत्यधिक चिसो मौसममा पनि प्रभावकारी काम गर्छ । तर, ग्यास प्रयोग गर्दा राम्रोसँग हावा बहने ठाउँ चाहिन्छ, नत्र अक्सिजन कम हुन सक्छ । अगाडिको भाग निकै तातो हुन्छ, हात पोल्ने वा चोट लाग्ने खतरा हुन्छ ।