+

एउटा पेन्गुइन किन भाइरल भइरहेको छ ?

अहिले इन्टरनेटमा एउटा पेन्गुइन भाइरल छ । उक्त पेन्गुइन प्रेरणादायी कन्टेन्ट र मिम कन्टेन्टहरूमा मज्जालै छाएको छ ।

यतिसम्म कि अमेरिकाको द ह्वाइट हाउसको आधिकारिक ह्यान्डलहरूमार्फत समेत उक्त पेन्गुइनलाई लिएर तयार पारिएका कन्टेन्ट शेयर भइरहेका छन् ।

Advertisement

आखिर एउटा पेन्गुइनमा त्यस्तो के छ ?

भाइरल पेन्गुइन ‘इन्काउन्टर्स एट द एन्ड अफ द वर्ल्ड’ नामक एउटा पूरानो वृत्तचित्रमार्फत आएको हो । जसलाई वर्नर हर्जोगले २००७ मा बनाएका थिए । अहिले त्यसैको क्लिप भाइरल भइरहेको हो ।

भिडियो क्लिपमा एडेली प्रजातिको एउटा पेन्गुइन आफ्नो समूह छाडेर विपरीत दिशाको हिमालतर्फ एक्लै यात्रा गरिरहेको देखिन्छ । वृत्तचित्रमा ७३औँ मिनेटतिर आउने उक्त दृश्यमा हर्जोगले ‘पेन्गुइनको पागलपन’ र त्यस दृश्यलाई मृत्युतर्फको यात्राका रूपमा वर्णन गरेका छन् ।

किनकि प्रायः एडेली पेन्गुइनहरू आफ्नो प्रजनन स्थल र समुद्रको नजिक बस्छन् । तर उक्त पेन्गुइन भने उल्टो बाटो हिँड्दै छ । त्यस्तो व्यवहार यस प्रजातिका लागि अत्यन्तै असामान्य हो । तर आजको समयमा एआईमार्फत बनाइएका सोही दृश्यहरू छ्यापछ्याप्ती छन् ।

इन्टरनेट दुनियाँले उक्त एक्लो पेन्गुइनलाई नाम समेत दिएको छ- निहिलिस्ट पेन्गुइन । अनि साराले त्यस क्लिपलाई वैचारिक द्वन्द्व, मौन विद्रोह र मानसिक थकानको रूपमा अर्थ्याइरहेको छन् ।

पेन्गुइनमा देखिएको शून्यता र उद्देश्यहीनताका कारण इन्टरनेटमा उसलाई ‘निहिलिज्म’सँग जोडेर हेर्न थालिएको हो । यद्यपि धेरै मिमहरू बने पनि, दार्शनिक दृष्टिकोणबाट हेरिए पनि पनि यसमा कुनै दार्शनिक कारण छैन ।

त्यस्तै, कतिपयलाई उक्त पेन्गुइनको घटना हालै भएको पनि लाग्ने गरेको छ । र, पेन्गुइन जीवित छ/छैन भन्ने प्रश्न पनि आउने गर्छ । यद्यपि, उक्त भिडियो धेरै अघिको भएकाले र वर्नर हर्जोग आफैंले त्यस पेन्गुइनको यात्रालाई मृत्युसँग जोडेकाले, सायद पेन्गुइन जीवित नरहेको सङ्केत गर्छ ।