+

प्रेममा पुग्ने सात चरण

१. पहिलो भेट

पहिलो भेट सधैं सामान्य जस्तो लागे पनि भित्र कतै गहिरो तरंग चलिरहेको हुन्छ। नजर जुध्दा समय केही सेकेन्डका लागि रोकिन्छ जस्तो महसुस हुन्छ। नबोले पनि धेरै कुरा बोलिएजस्तो लाग्छ ।

सानो मुस्कानले मनमा अज्ञात उत्साह भरिन्छ। त्यो क्षणमा दुवैलाई थाहा हुन्छ, यो भेट अरू जस्तो साधारण होइन । यही भेटले भावनाको ढोका खोल्छ, जसले भविष्यमा नयाँ सम्बन्धको बीउ रोप्न सुरु गरिसकेको हुन्छ ।

Advertisement

२. मनमनमै लुकाछिपीको खेल

पहिलो भेटपछि मनमा अनौठो लुकाछिपी सुरु हुन्छ। ऊ पनि मलाई सम्झन्छ कि सम्झँदैन भन्ने जिज्ञासा बढ्दै जान्छ । राम्रो–नराम्रो सम्भावनाबारे मनले आफैं कथाहरू बुन्न थाल्छ।

कहिले आशा, कहिले डरले मन भरिन्छ। मोबाइलमा आएको सानो सन्देशले पनि मुटुको धड्कन बढाउँछ। सम्बन्ध सुरु हुने हो कि होइन भन्ने अनिश्चितताबीच मनले आफ्नै संसार बनाइरहेको हुन्छ।

३. शान्तिको खोजी

जब मनले कसैलाई विशेष मान्न थाल्छ, तब ऊसँग कुरा गर्दा अनौठो शान्ति मिल्छ । दिनभरको थकान उसको एक सन्देशले हट्छ । साथमा हुँदा समय छिटो बित्छ, टाढा हुँदा समय रोकिएजस्तो लाग्छ ।

एक्लै हुँदा आफूलाई केही कमी भएको जस्तो महसुस हुन्छ। मनले उसैलाई खोजिरहन्छ। यही भावनाले सम्बन्धलाई अझ गहिरो बनाउँदै लैजान्छ।

४. भरोसाको सुरुवात

समयसँगै मायामा भरोसाको सुरुवात हुन्छ । उसको शब्द र व्यवहारमा विश्वास गर्न थालिन्छ। मनले उसलाई सम्भावित जीवनसाथीको रूपमा देख्न थाल्छ । भविष्यका साना–साना योजना कल्पना गर्न थालिन्छ। ऊसँग सुरक्षित महसुस हुन्छ ।

अब सम्बन्ध केवल आकर्षणमा सीमित रहँदैन, विश्वासको जगमा उभिन थाल्छ । यही भरोसाले मायालाई स्थिर र बलियो बनाउने बाटो खोल्छ ।

५. नजिकिँदै जाने मन

भेटघाट बढ्दै जाँदा दुवैको दूरी घट्दै जान्छ। मनका कुरा खुल्दै जान्छन्। सानो कुरामा पनि एकअर्काको साथ खोजिन्छ । विश्वास बलियो बन्दै जान्छ र सम्बन्ध सहज महसुस हुन थाल्छ ।

अब कुनै बनावटी हुँदैन, दुवैले आफ्नै वास्तविक रूप देखाउन थाल्छन् । यही नजिकिँदो यात्राले सम्बन्धलाई गहिरो र दीर्घकालीन बनाउन सहयोग पुर्‍याउँछ।

६. भावना साटासाट

सम्बन्ध परिपक्व हुँदै जाँदा सुख–दुःख साटासाट गर्ने बानी बस्छ। खुशीका क्षण साझा गर्दा झन् खुशी बढ्छ, दुःखका बेला एकअर्काको साथले मन हल्का हुन्छ। दुवैले एकअर्काको भावना बुझ्ने प्रयास गर्छन् ।

सानो समस्या पनि मिलेर समाधान गर्ने चाहना हुन्छ । अब माया केवल शब्दमा सीमित हुँदैन, व्यवहारमा देखिन थाल्छ ।

७. पूर्ण मायाको फुल

जब सबै चरण पार हुन्छन्, तब प्रेम पूर्ण रूपमा फक्रन्छ। एकअर्काप्रति सम्मान, विश्वास र समझदारी गहिरो हुन्छ। सँगै बिताएको समय जीवनको सबैभन्दा सुन्दर हिस्सा बन्न थाल्छ ।

अब सम्बन्धमा डरभन्दा बढी भरोसा हुन्छ। माया केवल भावना होइन, जीवनको आधार बन्छ । यही अवस्थामा प्रेम फूलझैँ फक्रिन्छ र जीवनलाई अर्थपूर्ण बनाउँछ।