+

दिनमा नीलो देखिने आकाश सूर्यास्तमा किन रातो हुन्छ ?

मौसम सफा रहेको दिनमा माथि हेर्दा आकाश चारैतिर नीलो देखिन्छ। तर बिहान सूर्योदय र साँझ सूर्यास्तको बेला यही आकाश सुन्तला, गुलाबी र रातो रङमा रङिएको जस्तो लाग्छ । के यो कुनै जादु वा चमत्कार हो ?

आकाशको आफ्नै रङ हुँदैन

वास्तवमा आकाशको आफ्नै रङ हुुँदैन । आकाशमा हामीले जुन थरीथरी रङ देख्छौँ त्यो त वास्तवमा सूर्यको प्रकाश वायुमण्डलमा छरिँदा बनेको हो ।

Advertisement

सूर्यको प्रकाश सेतो देखिए पनि यसमा विभिन्न ७ प्रकारका मुख्य रङका किरणहरू हुन्छन् । नीलो र बैजनी रङका किरण छोटा हुन्छन् भने रातो र सुन्तला रङका किरण तरङ्ग लामो हुन्छन् ।

जब सूर्यको प्रकाश वायुमण्डलमा पस्छ तब यो नाइट्रोजन र अक्सिजनजस्ता साना ग्यासका अणुसँग ठोक्किन्छ । यी अणुले छोटो तरङ्ग लम्बाइ भएका नीलो र बैजनी रङलाई बढी तितरवितर पारिदिन्छ। यो प्रक्रियालाई रेली स्क्याटरिङ भनिन्छ।

दिनमा आकाश नीलो देखिनुको कारण

दिनको समयमा सूर्य आकाशमै माथि हुन्छ । त्यसैले, सूर्यको प्रकाशले वायुमण्डलबाट कम दूरी तय गर्छ । छोटो तरङ्ग लम्बाइ भएको नीलो प्रकाश चारैतिर फैलिन्छ र हामी माथि हेर्दा यही छरिएको नीलो प्रकाश आँखामा पर्छ ।

यद्यपि, बैजनी प्रकाश अझ बढी छरिएको हुन्छ । तर मानव आँखाले नीलो रङलाई बढी स्पष्ट देख्छ र केही बैजनी प्रकाश माथिल्लो वायुमण्डलमै अवशोषित हुन्छ । त्यसैले, आकाश नीलो देखिन्छ ।

सूर्योदय/सूर्यास्तमा आकाश किन रातो र सुन्तला रङमा बदलिन्छ ?

बिहान र साँझ सूर्य क्षितिज नजिक हुन्छ । यस बेला सूर्यको प्रकाशले वायुमण्डलको बाक्लो तह पार गर्नुपर्छ र दूरी धेरै गुणा बढ्छ । यस लामो यात्रामा नीलो र बैजनी प्रकाश बाटोमै धेरै छरिएर हराउँछन् ।

बाँकी रहने भनेको लामो वेभलेन्थ भएका रातो, सुन्तला र पहेंलो रङ हुन्, जो सिधै हाम्रो आँखासम्म पुग्छन् । त्यसैले सूर्य र वरिपरिको आकाश रातो-सुन्तला देखिन्छ ।

धुलो, प्रदूषण, पानीका थोपा र पातला बादलले यी रङलाई अझ गाढा र आकर्षक बनाइदिन्छन् । यही कारण आँधीपछि वा धुलो बढी भएका क्षेत्रमा सूर्यास्त झन् मनमोहक देखिन्छ।

वैज्ञानिकहरूका अनुसार आकाशको बदलिँदो रङ भौतिक विज्ञान बुझ्ने सबैभन्दा सजिलो र सुन्दर उदाहरण हो । आकाशका रङ सूर्यका होइनन्, पृथ्वीको वायुमण्डलका उपहार हुन् जसले सूर्यको प्रकाशलाई ठूलो फिल्टरजस्तै छानेर हामीलाई देखाउँछ ।