सामान्यतया चिन्ता भन्नाले कुनै पनि विषय, घटना, परिस्थिति तथा अवस्थाप्रति लामो समयसम्म सोचमा रहिरहने डर मिश्रित आवस्था हो ।
चिन्ताको कारणले व्यवहारमा परिवर्तन त आउँछ नै, जसले गर्दा शारीरिक स्वास्थ्यमा पनि प्रभाव पर्न सक्छ। यस्तोमा चिन्ताले शरीरमा कस्तो प्रभाव पार्छ र यसले कस्ता–कस्ता समस्याहरू निम्त्याउन सक्छ ?
चिन्ताको शरीरमा प्रभाव
चिन्ताले शरीरमा प्रभाव पार्नुको कारण यो हाम्रो जीवनको हिस्सा बन्नु हो । उदाहरणका लागि, कुनै अन्तर्वार्ता वा प्रस्तुतिअघि चिन्ता महसुस हुन सक्छ । छोटो समयका लागि चिन्ताले मुटुको धड्कन र सास फेर्ने गति बढाउन सक्छ ।
रक्तप्रवाहलाई मस्तिष्कमा केन्द्रित गर्न सक्छ, जहाँ यसको आवश्यकता हुन्छ । यो कुनै परिस्थितिका लागि तयार गर्ने शारीरिक प्रतिक्रियाहरू हुन् । यदि यी धेरै तीव्र भए भने, टाउको हल्का हुने वा वान्ता हुने जस्ता लक्षणहरू पनि देखिन सक्छन् ।
चिन्ता धेरै बढ्दा र लामो समयसम्म रहँदा यसले मानसिक र शारीरिक स्वास्थ्यमा गहिरो असर गर्छ । चिन्ता विकार जीवनको कुनै पनि चरणमा हुन सक्छ, तर यो सामान्यतया मध्य उमेरमा सुरु हुन्छ । पुरुषको तुलनामा महिलाहरूमा चिन्ता विकार बढी पाइन्छ ।
केन्द्रीय स्नायु प्रणालीमा प्रभाव
चिन्ताले शरीरमा प्रभाव पार्दा सबैभन्दा पहिले स्नायु प्रणालीलाई कसरी प्रभावित गर्छ भन्ने जान्नु जरुरी छ । लामो समयसम्म रहने चिन्ता र आतंकको आक्रमणले मस्तिष्कलाई नियमित रूपमा तनाव हर्मोनहरू निष्कासन गर्न प्रेरित गर्छ । यसले टाउको दुख्ने, चक्कर लाग्ने र डिप्रेसन जस्ता लक्षणहरू छिटो र धेरै देखिन थाल्छन् ।
मुटुमा प्रभाव
चिन्ताको प्रभाव केवल केन्द्रीय स्नायु प्रणालीमा मात्र सीमित छैन, यसले मुटुलाई पनि प्रभावित गर्छ । चिन्ता विकारले मुटुको धड्कन बढाउँछ । यसले छातीमा दुखाइ, धड्कनको अनियमितता पनि निम्त्याउन सक्छ ।
उच्च रक्तचाप र मुटु रोगको जोखिम पनि बढ्छ । यदि कसैलाई पहिलेदेखि नै मुटु रोग छ भने, चिन्ता विकारले कोरोनरी हार्ट डिजिजको जोखिम बढाउन सक्छ ।
पाचन प्रणालीमा प्रभाव
चिन्ताले हाम्रो पाचन प्रणालीलाई पनि नराम्ररी प्रभावित गर्छ । यसले पेट दुख्ने, वान्ता हुने, झाडापखाला र पाचनसँग सम्बन्धित अन्य समस्याहरू निम्त्याउँछ । भोक कम हुने जस्ता समस्याहरू पनि हुन सक्छन् ।
रोग प्रतिरोधी प्रणालीमा प्रभाव
चिन्ताको प्रभावले रोग प्रतिरोधी प्रणाली कमजोर हुन सक्छ । छोटो अवधिमा, यसले मुटुको धड्कन र सास फेर्ने गति बढाउँछ, जसले मस्तिष्कमा धेरै अक्सिजन पुग्छ । यो तीव्र परिस्थितिका लागि उपयुक्त प्रतिक्रिया दिन तयार गर्छ ।