+

संगीत मनको औषधि

उमेर बढ्दै जाँदा शरीरमा अनेकन् समस्या देखिन्छन् । विभिन्न रोग लाग्न थाल्छ । एक्लोपनदेखि नसोचेको रोग बुढ्यौलीमा लाग्नु सामान्य जस्तै हुन्छ । तर, यी सबलाई भुलाउने, मन शान्न पार्ने एउटा कुरा छ- संगीत ।

संगीत सधैं मनोरञ्जनका लागि मात्र हुँदैन । होहल्ला र नाचगान गर्नका लागि मात्र हुँदैन । यसले तन रमनका लागि एउटा औपधिका रूपमा पनि काम गर्छ । ओरेगन विश्वविद्यालयका प्रोफेसर र एभ्री ब्रेन निड्स म्युजिकका लेखक ल्यारी शर्मनका अनुसार जीवनभर संगीत सिक्ने वा गाउने गर्दा हाम्रो दिमागका कोषिकाहरू बलियो हुन्छन् ।

Advertisement

संगीतले हाम्रो दिमागलाई कसरी मद्दत गर्छ ?

संगीतले कसरी काम गर्छ भन्ने कुरा सबैमा एउटै नहुन सक्छ । डिमेन्सिया भएकाहरूका लागि संगीतले सोच्ने र सम्झने शक्ति बढाउँछ । हाम्रो दिमागमा संगीत सम्झिने भाग यति बलियो हुन्छ कि अल्जाइमर जस्तो कडा रोगले पनि त्यसलाई सजिलै मेटाउन सक्दैन ।

पार्किन्सनमा संगीतले शरीरको चाल र स्वर सुधार्न मद्दत गर्छ । तर दिमागको अवस्था धेरै बिग्रनुअघि नै यस्तो उपचार सुरु गर्नु राम्रो हुन्छ । कुनै रोग नलागेका स्वस्थ मानिसहरूका लागि पनि संगीत बरदान साबित भएको छ ।

लामो समयसम्म संगीत सिक्ने वा गाउने गर्दा दिमागका नसाहरू बीचको सम्बन्ध बलियो हुन्छ । हामी बुढो हुँदै जाँदा यसले हाम्रो दिमागलाई बुढो हुन दिँदैन ।

जीवनमा संगीतलाई कसरी उपयोग गर्ने ?

संगीतको फाइदा युवाहरूलाई पनि उत्तिकै हुन्छ । डेनमार्ककी प्रोफेसर अन्ना जामोरानाले गरेको एक अनुसन्धानका अनुसार संगीत सिक्ने मानिसहरूले शारीरिक पीडा कम महसुस गर्छन् ।

उदाहरणका लागि संगीतकारहरूले अप्ठ्यारा धुन सिक्नका लागि दुख गर्दा उनीहरूलाई शारीरिक थकान/पीडाको त्यति महसुस हुँदैन । किनकि उनीहरूको दिमागले एक किसिमको सफलता र आनन्दको महसुस गरिरहेको हुन्छ ।

सामूहिक गायन अझ राम्रो

एक्लै संगीत सुन्नु भन्दा अरूसँग मिलेर गाउनु अझ लाभदायक हुन्छ । समूहमा गाउँदा हाम्रो दिमागमा डोपामाइन र इन्डोर्फिन जस्ता रसायनहरू निस्किरहेका हुन्छन् । यसले हामीलाई समूहमा सुरक्षित र सम्मानित गराइरहन्छ ।