गर्मीमा तापक्रम बढ्दा टायरभित्रको हावा फैलिन्छ र प्रेसर स्वतः बढ्छ । बिहान ठीक देखिएको टायर दिउँसो कडा हुन्छ । गलत प्रेसरले दुर्घटना निम्त्याउन सक्छ । यात्रा गर्नुअघि टायरको पीसीआई जाँच गर्नु सुरक्षा र राम्रो परफर्मेन्सका लागि अनिवार्य हो ।
बढी चापको खतरा
गर्मीमा टायरमा बढी हावा भए रोड ग्रिप कमजोर हुन्छ । मोड काट्दा चिप्लिने, ब्रेकिङ दूरी बढ्ने र मोटरसाइकल असन्तुलित हुने जोखिम बढ्छ । तातो सडकमा टायरको बीच भाग मात्र छुन्छ । अत्यधिक प्रेसरले टायर चाँडै घिसिन्छ र फाट्ने खतरा पनि हुन्छ ।
कति पीसीआई राख्ने?
सामान्य मोटरसाइकलमा अगाडिको टायर २५–३० पीसीआई र पछाडिको ३०–३५ पीसीआई उपयुक्त हुन्छ । मोडेल र यात्रु संख्याअनुसार फरक पर्न सक्छ । कम्पनीको स्टिकर वा म्यानुअल हेर्नुहोस् ।
कहिले र कसरी जाँच गर्ने ?
गर्मीमा हप्तामा एक पटक टायर प्रेसर जाँच गर्नु राम्रो बानी हो । बिहान टायर चिसो अवस्थामा जाँच गर्नु सबैभन्दा सही हो । प्रेसर गेज वा पेट्रोल पम्पको डिजिटल मेसिन प्रयोग गर्नुहोस् । लामो यात्राअघि अनिवार्य जाँच गर्नुहोस् । आँखाले हेरेर प्रेसर थाहा हुँदैन ।