पिसाब परीक्षण किन गर्ने ?
पिसाब परीक्षण एक सरल, सस्तो र छिटो स्वास्थ्य जाँच हो, जसले शरीरभित्र लुकेका धेरै रोगहरूको संकेत दिन सक्छ । मिर्गौलाले रगतबाट फोहोर पदार्थ छानेर पिसाब बनाउँछ, त्यसैले यसको रङ, गन्ध वा संरचनामा आएको सानो परिवर्तनले पनि स्वास्थ्य अवस्थाबारे जानकारी दिन्छ ।
यो परीक्षण भौतिक, रासायनिक र माइक्रोस्कोपिक गरी तीन तरिकाले गरिन्छ । नियमित पिसाब परीक्षणले रोगहरू प्रारम्भिक अवस्थामै पत्ता लगाउन मद्दत गर्छ ।
मिर्गौला सम्बन्धी रोगहरू
पिसाब परीक्षणले मिर्गौलाको अवस्थाबारे महत्वपूर्ण संकेत दिन्छ । पिसाबमा प्रोटिन देखिनु ‘प्रोटिनुरिया’ हो, जसले मिर्गौलाको कमजोरी जनाउँछ । पिसाबमा रगत देखिएमा पत्थरी, संक्रमण वा गम्भीर रोगको संकेत हुन सक्छ ।
क्याल्सियम वा युरिक एसिडका क्रिस्टलले पत्थरीको जोखिम देखाउँछन् । धेरैजसो मिर्गौला रोग सुरुमा लक्षण नदेखिने भएकाले नियमित परीक्षणले समस्या चाँडै पत्ता लगाउन सहयोग पुर्याउँछ ।
मधुमेहको संकेत
पिसाबमा ग्लुकोज भेटिएमा रगतमा चिनीको मात्रा बढी भएको संकेत हुन्छ, जुन मधुमेहसँग सम्बन्धित हुन्छ । लामो समयसम्म सुगर नियन्त्रण नभएमा मिर्गौलामा असर पुग्न सक्छ । पिसाबमा केटोन्स देखिएमा ‘डायबिटिक किटोएसिडोसिस’ जस्तो गम्भीर अवस्था हुन सक्छ ।
त्यसैले मधुमेह भएका व्यक्तिले नियमित पिसाब परीक्षण गरेर स्वास्थ्य अवस्था निगरानी गर्नु आवश्यक हुन्छ, जसले जटिलता रोक्न मद्दत गर्छ ।
मूत्र नलीमा संक्रमण
पिसाब परीक्षणले मूत्र मार्ग संक्रमण सजिलै पत्ता लगाउन मद्दत गर्छ । पिसाबमा सेता रक्तकोशिका, ब्याक्टेरिया वा नाइट्राइट भेटिएमा संक्रमण भएको संकेत हुन्छ । पिसाब गर्दा पोल्ने, बारम्बार पिसाब लाग्ने, पेट दुख्ने जस्ता लक्षण देखिन्छन् ।
यो समस्या महिलामा बढी देखिन्छ। समयमै उपचार नगरेमा संक्रमण मिर्गौलासम्म पुगेर गम्भीर हुन सक्छ, त्यसैले लक्षण देखिएपछि परीक्षण गर्नु जरुरी हुन्छ ।
कलेजो र अन्य समस्या
पिसाब परीक्षणले कलेजोको अवस्थाबारे पनि जानकारी दिन्छ । बिलिरुबिन वा युरोबिलिनोजेन बढी भएमा हेपाटाइटिस वा कलेजोसम्बन्धी समस्या हुन सक्छ । पिसाबमा रगत वा असामान्य कोशिका देखिएमा क्यान्सरको संकेत पनि हुन सक्छ ।