एडीएचडी के हो?
एडीएचडी (Attention Deficit Hyperactivity Disorder) स्नायुसम्बन्धी समस्या हो, जसले ध्यान केन्द्रित गर्न गाह्रो बनाउँछ र व्यवहारमा आवेग बढाउँछ । यस्तो अवस्थामा व्यक्तिले साना कुरामा पनि छिटो प्रतिक्रिया दिन सक्छ, रिस उठ्न सक्छ र काममा निरन्तरता राख्न सक्दैन । यो समस्या केवल बालबालिकामा मात्र होइन, वयस्कमा पनि देखिन्छ ।
जैविक र वातावरणीय कारण
एडीएचडीको मुख्य कारण दुई प्रकारका हुन्छन्—जैविक र वातावरणीय । करिब ८० प्रतिशत केसमा मस्तिष्कको अगाडिको भाग (फ्रन्टल लोब) राम्रोसँग विकास नभएको हुन्छ, जसले ध्यान, भावना र निर्णय क्षमतामा असर गर्छ । बाँकी २० प्रतिशत वातावरणीय कारण हुन्छ, जस्तै गर्भावस्थामा धूम्रपान, मदिरा सेवन, समयअघि जन्मिनु वा घरको तनावपूर्ण वातावरण ।
सामान्य लक्षणहरू
एडीएचडी भएका व्यक्तिमा केही स्पष्ट लक्षण देखिन्छन् । अरूको कुरा नसुनी बोल्ने, हतारमा प्रतिक्रिया दिने, एकै ठाउँमा ध्यान टिकाउन नसक्ने । उनीहरू काम सुरु गर्छन् तर पूरा गर्न गाह्रो हुन्छ । दिमागमा धेरै कुरा एकैपटक घुम्ने भएकाले निर्णय लिन पनि कठिन हुन्छ । यी लक्षणले दैनिक जीवनमा असहजता ल्याउँछ र कामको गुणस्तरमा पनि असर पार्छ ।
दिनचर्यामा असर
एडीएचडी भएका व्यक्तिलाई समय व्यवस्थापन गर्न निकै गाह्रो हुन्छ । उनीहरू प्रायः ढिलो पुग्छन्, काम अधुरै छोड्छन् र दैनिक काम पूरा गर्न संघर्ष गर्छन् । सानो काम गर्न पनि धेरै समय लाग्न सक्छ । ध्यान केन्द्रित गर्न अतिरिक्त प्रयास गर्नुपर्ने भएकाले उनीहरू छिट्टै थाक्छन् । यसले काम, पढाइ र व्यक्तिगत लक्ष्यमा नकारात्मक प्रभाव पार्छ ।
सम्बन्धमा असर
एडीएचडीले सम्बन्धमा पनि असर पार्छ । साना कुरामा रिसाउने, अरूको कुरा नसुन्ने वा गलत प्रतिक्रिया दिने बानीले परिवार र साथीहरूसँग झगडा हुन सक्छ । कहिलेकाहीँ उनीहरू आफैंलाई बुझाउन नसक्दा मानसिक रूपमा अलग भएको महसुस गर्छन्। यसले आत्मविश्वास घटाउँछ र सामाजिक सम्बन्ध कमजोर बनाउँछ ।
उपचार र व्यवस्थापन
एडीएचडीको उपचार सम्भव छ। चिकित्सकको सल्लाहमा औषधि प्रयोग गर्न सकिन्छ। साथै, काउन्सिलिङ र व्यवहार सुधार थेरापीले पनि धेरै मद्दत गर्छ । परिवार र साथीको सहयोगले व्यक्तिको आत्मविश्वास बढ्छ ।
समयमै चिनौं, समस्या घटाऔं
यदि एडीएचडी समयमै उपचार गरिएन भने डिप्रेसन, ओसीडी, बाइपोलर जस्ता मानसिक समस्या देखिन सक्छ । त्यसैले लक्षण देखिएपछि बेवास्ता गर्नु हुँदैन। यो कमजोरी होइन, स्वास्थ्य समस्या हो । समयमै चिन्ने, बुझ्ने र उपचार गर्ने हो भने जीवन सहज र सफल बनाउन सकिन्छ। सचेतना नै यसको पहिलो समाधान हो ।