आजभोलि मानिसहरू अस्थायी होइन, दीर्घकालीन समाधान खोज्न थालेका छन् । वाक्सिङ र शेभिङ बारम्बार गर्नुपर्ने भएकाले धेरैले लेजर रोजिरहेका छन् । विशेषगरी महिलाहरूमा अनुहारको अनावश्यक रौं, हर्मोनल समस्याका कारण बढेको कपाल तथा पुरुषहरूमा दाह्रीका कारण हुने संक्रमण कम गर्न लेजर लोकप्रिय बन्दै गएको छ ।
लेजर हेयर रिमुभल वास्तवमा कसरी काम गर्छ ?
लेजर एक प्रकारको शक्तिशाली प्रकाश हो, जसले कपालमा रहेको ‘मेलानिन’ नामक रङ दिने तत्वलाई लक्षित गर्छ । प्रकाशले मेलानिनलाई तताउँदा कपालको जरामा असर पुग्छ र त्यसको वृद्धि क्रमशः कमजोर हुँदै जान्छ ।
यस प्रक्रियालाई वैज्ञानिक रूपमा ‘फोटोथर्मोलाइसिस’ भनिन्छ । लेजरले मुख्य रूपमा बढिरहेको कपालमा काम गर्ने भएकाले एकैपटक सबै रौं हट्दैनन्, त्यसका लागि धेरै सेसन आवश्यक पर्छ ।
के लेजरले स्थायी रूपमा रौं हटाउँछ ?
धेरैको प्रश्न हुन्छ, 'एकपटक गरेपछि रौं फेरि आउँदैन ?' वास्तविकता के हो भने लेजरले रौंलाई पूर्ण रूपमा स्थायी हटाउँदैन, तर यसको वृद्धि निकै कम गरिदिन्छ । सामान्यतया ५ देखि १० सेसनपछि ७०–९० प्रतिशतसम्म रौं घट्न सक्छ ।
बाँकी रौं पातलो र ढिलो बढ्ने हुन्छ । त्यसैले, दीर्घकालीन समाधानका रूपमा यो प्रभावकारी मानिए पनि कहिलेकाहीँ ‘मेन्टेनेन्स सेसन’ आवश्यक पर्न सक्छ ।
लेजर गर्नुअघि के–कस्ता सावधानी अपनाउनुपर्छ ?
लेजर गर्नुभन्दा केही दिनअघि रौं खौरिनुपर्छ, तर वाक्सिङ वा रौं तान्ने काम गर्नु हुँदैन । यदि छालामा घामले डढेको अवस्था, एलर्जी, संक्रमण वा घाउ छ भने लेजर स्थगित गर्नुपर्छ ।
संवेदनशील छालामा गलत सेटिङ प्रयोग भयो भने छाला पोल्ने, रातो हुने वा कालोपन बढ्ने जोखिम हुन्छ । त्यसैले, लेजर सधैं अनुभवी चिकित्सक वा प्रशिक्षित व्यक्तिबाट मात्र गराउनु सुरक्षित मानिन्छ ।
सबैले लेजर हेयर रिमुभल गर्न मिल्छ ?
लेजर धेरैका लागि सुरक्षित भए पनि सबैलाई उपयुक्त हुँदैन । कालो वा गाढा कपालमा राम्रो काम गर्ने यो प्रविधि सेतो वा हल्का कपालमा प्रभावकारी हुँदैन ।
गर्भावस्था, स्तनपान, सक्रिय छाला संक्रमण, एलर्जी वा केही दीर्घ छाला रोग भएका व्यक्तिले सावधानी अपनाउनुपर्छ । चिकित्सकहरू गर्भावस्थामा पर्याप्त अनुसन्धान नभएकाले सामान्यतया लेजर नगर्न सल्लाह दिन्छन् ।
के धेरै लेजर गर्दा क्यान्सर हुन्छ ?
धेरै मानिसमा लेजरले क्यान्सर गराउँछ भन्ने डर छ । तर हालसम्मको वैज्ञानिक अनुसन्धानले लेजर हेयर रिमुभलले क्यान्सर गराउँछ भन्ने कुनै प्रमाण फेला पारेको छैन । यसमा प्रयोग हुने प्रकाश छालाको सतहसम्म सीमित हुन्छ र शरीरभित्र गहिरो असर गर्दैन ।