नयाँ नाम किन ?
विश्वभर महिलामा देखिने ‘पीसीओएस’ अब ‘पीएमओएस’ नामले चिनिन थालेको छ । विशेषज्ञहरूका अनुसार पुरानो नामले रोगको वास्तविक असर देखाउन सकेको थिएन । नयाँ नामले हर्मोन, मेटाबोलिज्म र प्रजनन स्वास्थ्यसँग जोडिएको जटिल अवस्थालाई स्पष्ट रूपमा बुझाउन मद्दत गर्ने विश्वास गरिएको छ ।
पीएमओएस के हो ?
पीएमओएस महिलामा देखिने जटिल हर्मोनल र मेटाबोलिक समस्या हो । यसले महिनावारी अनियमित बनाउने, तौल बढाउने, अनुहारमा रौं आउने, डन्डीफोर बढाउने र गर्भधारणमा समस्या ल्याउन सक्छ । यसको असर केवल अण्डाशयमा मात्र नभई सम्पूर्ण शरीरमा पर्ने विशेषज्ञहरूको भनाइ छ ।
किन हुन्छ ढिलो पहिचान ?
धेरै महिलाले महिनावारी गडबडी, तौल बढ्नु वा अनुहारमा रौं आउनुलाई सामान्य परिवर्तन ठानेर बेवास्ता गर्छन् । कतिपयलाई विवाहपछि गर्भ रहन कठिन भएपछि मात्रै समस्या पत्ता लाग्छ । यही कारण विश्वभर धेरै महिलामा पीएमओएस पहिचान नै हुन नसकेको विज्ञहरू बताउँछन् ।
मानसिक स्वास्थ्यमा असर
पीएमओएसले केवल शारीरिक होइन, मानसिक स्वास्थ्यमा पनि असर पार्न सक्छ । अनुहारमा रौं आउनु, कपाल झर्नु, तौल बढ्नु वा गर्भधारणमा समस्या हुँदा महिलामा आत्मविश्वास कम हुने, तनाव, चिन्ता र डिप्रेसनका लक्षण देखिन सक्छन् । परिवारको साथ र भावनात्मक सहयोग अत्यन्त आवश्यक मानिन्छ ।
उपचार र बुझाइमा परिवर्तन
विशेषज्ञहरूका अनुसार नयाँ नामले रोगलाई केवल ‘ओभरीको सिस्ट’ भनेर बुझ्ने सोच बदल्न मद्दत गर्छ । यसले समयमै निदान, सही उपचार र महिलाको सम्पूर्ण स्वास्थ्यमा ध्यान दिन प्रेरित गर्ने अपेक्षा गरिएको छ । अब पीएमओएसलाई सम्पूर्ण शरीरसँग जोडिएको अवस्था मानिन्छ ।