मुटुमा असर
तनाव बढ्दा शरीरमा 'कोर्टिसोल' र 'एड्रेनालाइन' हर्मोन बढ्छन् । यसले मुटुको धड्कन तीव्र बनाउने, रक्तनली साँघुरो पार्ने र रक्तचाप बढाउने काम गर्छ । लामो समय तनावमा रहँदा मुटुको चाल अनियमित हुन सक्छ र हृदयघातको जोखिमसमेत बढ्छ । विशेषगरी मधुमेह वा उच्च रक्तचाप भएकाहरूमा यसको असर झन् बढी देखिन्छ ।
मस्तिष्कमा असर
दीर्घकालीन तनावले स्मरण शक्ति कमजोर बनाउँछ । कोर्टिसोल हर्मोन बढ्दा मस्तिष्कको हिप्पोक्याम्पस प्रभावित हुन्छ, जसले नयाँ कुरा सम्झिन र ध्यान केन्द्रित गर्न कठिन बनाउँछ । तनावले डर, चिन्ता र नकारात्मक सोच बढाउँछ ।
फोक्सोमा असर
तनावले सासप्रश्वास प्रणालीमा असर पार्छ । तनाव हुँदा मानिसलाई सास फेर्न गाह्रो हुने, छाती भारी हुने वा उकुसमुकुस भएको महसुस हुन सक्छ । केही व्यक्तिमा छिटोछिटो सास फेर्ने, चक्कर लाग्ने र हातखुट्टा झमझम गर्ने समस्या पनि देखिन्छ । तनावले दम र एलर्जीको जोखिमसमेत बढाउन सक्छ ।
पाचन प्रणालीमा असर
तनावले पेटमा एसिडको मात्रा बढाउँछ । यसले पेट पोल्ने, दुख्ने, वान्ता हुने, कब्जियत वा झाडापखाला जस्ता समस्या निम्त्याउँछ । लामो समय तनावमा रहँदा इरिटेबल बोवेल सिन्ड्रोमको जोखिम बढ्न सक्छ । तनावका कारण खान मन नलाग्ने वा अत्यधिक खाने बानी पनि विकसित हुन सक्छ ।
हड्डीमा असर
दीर्घकालीन तनावले हड्डी कमजोर बनाउँछ । कोर्टिसोल हर्मोन धेरै हुँदा हड्डी बनाउने प्रक्रिया कमजोर हुन्छ र हड्डीको घनत्व घट्छ । यसले अस्थियोपोरोसिस अर्थात् हड्डी खिइने जोखिम बढाउँछ । मांसपेशी कमजोर हुँदा सामान्य चोटपटकमै हड्डी भाँचिने सम्भावना पनि बढ्न सक्छ ।