+

तनावले शरीरका कुन–कुन अंगमा कसरी असर गर्छ ?

२०८३ जेठ  ११ गते १३:२६ २०८३ जेठ ११ गते १३:२६

लामो समयसम्म तनावमा रहेका व्यक्तिमा छिटोछिटो सास फेर्ने, हातखुट्टा झमझम गर्ने, चक्कर लाग्ने अवस्था पनि सिर्जना हुन्छ ।

तनावले शरीरका कुन–कुन अंगमा कसरी असर गर्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दीर्घकालीन तनावले कोर्टिसोल हार्मोनको असन्तुलन गरी मुटु, मस्तिष्क, फोक्सो, पाचन प्रणाली र हड्डीमा नकारात्मक असर पुर्‍याउँछ।
  • तनावले मुटुको धड्कन बढाएर रक्तनली साँघुरो बनाउँछ र हृदयघातको जोखिम बढाउँछ भने फोक्सोमा सास फेर्न गाह्रो हुने लक्षण देखिन्छ।
  • तनावले स्मरण शक्ति कमजोर पार्छ, हड्डीको घनत्व घटाउँछ र रोगसँग लड्ने क्षमता कमजोर बनाउँछ, जसले दीर्घरोग जोखिम बढाउँछ।

तनाव केवल मनको अवस्था होइन, यो शरीरभित्र चल्ने रासायनिक उथलपुथल पनि हो । जब तनाव बढ्छ, शरीरमा ‘स्ट्रेस हर्मोन’ कोर्टिसोलको मात्रा असन्तुलित हुन्छ र त्यसको असर मुटुदेखि मस्तिष्क, फोक्सो, पाचन प्रणाली र हड्डीसम्म पर्न थाल्छ । चिकित्सकहरूका अनुसार दीर्घकालीन तनावले शरीरको रोगसँग लड्ने क्षमता कमजोर बनाउनुका साथै हृदयघात, स्मरण शक्ति कमजोर हुने, सास फेर्न गाह्रो हुने र हड्डी खिइने जोखिम समेत बढाउँछ।

मनोचिकित्सक डा. सगुनबल्लभ पन्तका अनुसार जब हामी तनावमा हुन्छौँ, हाम्रो मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थीले ‘कोर्टिसोल’ रासायनिक पदार्थको उत्पादनलाई बढाउँछ । यसलाई ‘स्ट्रेस हार्मोन’ भन्ने गरिन्छ अर्थात् हाम्रो तनाव बढाउनुमा यही हार्मोनको भूमिका हुन्छ ।

पन्तका अनुसार कोर्टिसोल हार्मोन सम्पूर्ण रूपमै खराब भने होइन । यो शरीरका लागि जरुरी हार्मोन हो । मुटुको चाल, खाना पच्ने प्रक्रिया, शरीरमा चिनीको व्यवस्थापन, थाइराइडको व्यवस्थापनमा यही हार्मोनले काम गरिरहेको हुन्छ । तर जब यो धेरै वा थोरै उत्पादन हुन्छ, त्यसले समस्या निम्त्याउँछ ।

खासगरी तनाव प्रतिक्रियाका लागि यही हार्मोन जिम्मेवार मानिन्छ । यसरी हामी तनावको स्थितिमा हुँदा शरीरभित्रको रासायनिक प्रतिक्रिया नै खलबलिन पुग्छ । कोर्टिसोलको बढोत्तरीले गर्दा हाम्रो शरीरको रोगसँग लड्ने क्षमता कमजोर हुनपुग्छ । यसले भाइरल संक्रमणको जोखिम पनि बढाइदिन्छ । तनावले हाम्रो शरीरका हरेक अंगमा असर गर्ने डा. पन्त बताउँछन् ।

मुटुमा तनावको असर

डा. माधव विष्ट
मुटुरोग विशेषज्ञ

तनाव बढ्नेबित्तिकै शरीरमा तनाव हर्मोन कोर्टिसोल र एड्रेनालाइनको स्तर बढ्न थाल्छ । यी दुईको स्तर बढ्नु भनेको मुटुका लागि राम्रो संकेत होइन । नकारात्मक भावना बढ्दै जाँदा यी हर्मोनको चाप रगतको माध्यमबाट सम्पूर्ण शरीरमा सञ्चार गर्न थाल्छ । शरीरका अन्य अंगमा विशेषगरी मुटुलाई असर गर्छ ।

यी हर्मोन बढेपछि मुटुको धड्कन बढ्न थाल्छ र रक्तनली साँघुरो हुन थाल्छ । फलस्वरूप, रक्तप्रवाह प्रभावित हुन थाल्छ । यसबाहेक हर्मोनको प्रभावले रगतमा चिनीको मात्रा पनि बढाउँछ ।

तनाव दैनिक हुन्छ, हप्तौं, महिनौं र त्यस समयभन्दा बढी समयसम्म रहिरहन्छ भने त्यो दीर्घ तनाव हो । दीर्घ तनावले अप्रत्यक्ष रूपमा रक्तचाप बढाइराख्छ । मुटुका धमिनीहरु सुन्निन्छ । यसो हुँदा ती साँघुरो हुन्छन् र मुटुको चालमा अनियमितताको समस्या देखापर्छ । मुटुमा हुने विद्युतीय गतिविधिलाई खलबलाउँछ । जसले गर्दा मुटुमा रगत राम्रोसँग पम्प हुन पाउँदैन ।

तनावले दीर्घरोग नभएकाहरूको मुटुमा उत्तेजना ल्याएर मुटुको गति अनियमित बनाउँछ । अब कल्पना गर्न सकिन्छ, झन् पहिलेबाटै मुटुरोगको जोखिम मानिने दीर्घरोग मधुमेह, उच्च रक्तचाप र कोलेस्टेरोल छ भने अत्यधिक र लगातार तनावले कस्तो असर पार्ला ?

यी समस्याबाट गुज्रिरहेका व्यक्तिमा हृदयघातको जोखिम बढाउँछ । किनकि यही दीर्घरोगका कारण पहिले नै केही मात्रामा कोरोनरी धमनीमा मासुको केही डल्लो जमेर त्यो भाग साँघुरिएको हुन्छ । यस्तोमा बोसोको डल्लोले केही मात्रामा पहिले नै जमेको अवस्थामा छ भने त तनाव हर्मोन बढेर रगत सञ्चार हुने बाटो नै बन्द गरिदिएर अचानक हृदयघात हुनसक्छ ।

जसलाई उच्च रक्तचाप, मुटुरोग र मधुमेह छैन, उनीहरूमा पनि लगातार तनावले एड्रेनालाइन हर्मोनको प्रवाह अत्यधिक बढी हुन्छ । हर्मोनको गडबडले गर्दा मुटुको कार्य सन्तुलनमा राख्ने विद्युतीय तरङ्गमा गडबड र मुटुरोग ल्याउन सक्छ।

फोक्सोमा तनावको असर

डा.राजु पंगेनी

छातीरोग तथा सघन उपचार विशेषज्ञ

 

तनावले फोक्सोलाई प्रत्यक्ष रूपमा असर गर्दैन । फोक्सोको आफ्नै रोग, संक्रमण वा संरचनात्मक समस्या नहुँदा पनि तनावका कारण सास फेर्न गाह्रो हुने, उकुसमुकुस हुने, सास अड्किने वा छाती भारी हुने जस्ता लक्षणहरू भने देखिन सक्छन् ।

यो किनभने सासप्रश्वास प्रक्रियालाई नियन्त्रण गर्ने मुख्य केन्द्र मस्तिष्कमा रहेको श्वासकेन्द्र हो । यो केन्द्रले स्वतःसास फेर्ने काम गर्छ, जसले निद्राको बेलामा पनि निरन्तरता दिइरहन्छ । यसबाहेक हामीले चाहेर सास लामो वा छोटो बनाउन पनि सक्छौं । तनाव, चिन्ता वा एन्जाइटी डिसअर्डरले यो केन्द्रमा असर पारेर सासको गति र गहिराइमा परिवर्तन ल्याउँछ ।

फलस्वरूप फोक्सो पूर्ण रूपमा स्वस्थ हुँदा पनि व्यक्तिलाई सास नपुगेको, गुम्सिएको, छातीमा दबाब जस्तो अनुभव हुन्छ । विशेष गरी बन्द कोठामा, भीडभाडमा, उचाइमा वा निद्रा नलागेको बेला यो समस्या बढी देखिन्छ ।

लामो समयसम्म तनावमा रहेका व्यक्तिमा यो हाइपरभेन्टिलेसन सिन्ड्रोमसम्म पुग्न सक्छ, जसमा छिटोछिटो सास फेर्ने, हातखुट्टा झमझम गर्ने, चक्कर लाग्ने र कहिलेकाहीँ इमर्जेन्सीमा पुग्ने अवस्था पनि सिर्जना हुन्छ ।

‘लङ फङ्क्सन टेस्ट’ गर्दा फोक्सोको कार्यक्षमता पूर्णरूपमा नर्मल देखिन्छ, अक्सिजन लेभल पनि ठीक हुन्छ, तर मस्तिष्कबाट फोक्सोलाई जाने सन्देशमा तनावले गडबडी गरिदिन्छ ।

अप्रत्यक्ष प्रभाव

लामो समयको तनावले रोगप्रतिरोधि प्रणाली कमजोर बनाउँछ, जसले संक्रमणको जोखिम बढाउँछ । यसले दम, एलर्जी रिएक्सनलाई बढावा दिन्छ र मुटुसम्बन्धी समस्या भएकाहरूमा फोक्सोलाई थप प्रभावित पार्न सक्छ । तनावले निद्रा बिगार्छ, हर्मोन सन्तुलन बिगार्छ र यसले अप्रत्यक्ष रूपमा फोक्सोको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ ।

संक्षेपमा, तनावले फोक्सोलाई प्रत्यक्ष क्षति गर्दैन तर मस्तिष्कको श्वास नियन्त्रण प्रणालीमार्फत शारीरिक लक्षणहरू उत्पन्न गर्छ र विद्यमान फोक्सो सम्बन्धी समस्याहरूलाई झन् बढाउँछ । नियमित तनाव व्यवस्थापन, योग, ध्यान र आवश्यक परे मनोवैज्ञानिक सहयोगले यस्ता लक्षणहरूबाट राहत मिल्न सक्छ ।

पाचन प्रणालीमा तनावको असर

डा. खलील मिया

पेट तथा कलेजो रोग विशेषज्ञ

 

तनावले पेट र पाचन प्रणालीमा प्रत्यक्ष असर पार्छ । मस्तिष्कले खाना पचाउन पाचन प्रणालीलाई सक्रिय पार्ने भएकाले तनाव बढ्दा पेटमा एसिडको उत्पादन बढ्छ, जसले पेट दुख्ने, बान्ता हुने, झाडापखाला लाग्ने जस्ता समस्या निम्त्याउँछ ।

पेट र मस्तिष्कबीच न्युरो, इन्डोक्राइन र प्रतिरक्षा मार्गबाट निरन्तर सञ्चार हुने भएकाले एकमा समस्या भए अर्कोमा पनि प्रभाव पर्छ । लामो समयसम्म पाचनसम्बन्धी समस्या भएमा डिप्रेसन र एन्जाइटी जस्ता मानसिक रोगहरू देखा पर्न सक्छन् । तनावकै कारण इरिटेबल बोवेल सिन्ड्रोम जस्ता रोगहरू पनि हुन सक्छन् ।

यसबाट बच्न फाइबरयुक्त तथा प्रोबायोटिक खानेकुरा खाने, नियमित व्यायाम गर्ने, दैनिक दिनचर्या व्यवस्थित राख्ने, सकारात्मक सोच राख्ने र मनको कुरा अरूसँग सेयर गर्ने बानी बसाल्नुपर्छ ।

स्मरण शक्तिमा तनावको असर

डा. अनमोलबन्धु कार्की
टाउको नसा तथा मानसिक रोग विशेषज्ञ

गम्भीर तथा दीर्घकालीन तनावले स्मरण शक्तिलाई निकै हानि पुर्‍याउँछ । यसले एकाग्रता र ध्यान केन्द्रित गर्ने क्षमतालाई कमजोर बनाउँछ, जसकारण नयाँ जानकारी सम्झन र सिक्न गाह्रो हुन्छ ।

निरन्तर तनावले हिप्पोक्याम्पसलाई प्रभावित पार्छ, जहाँ कोर्टिसोल हर्मोनको उच्च स्तरले यसको आकार घटाउँदै लग्छ र नयाँ स्मृति बनाउने तथा पुराना सम्झनाहरू झिक्ने क्षमता घटाउँछ । यसबाहेक तनावले एमिग्डालालाई बढी सक्रिय बनाएर नकारात्मक घटनाहरूलाई बलियोसँग सम्झिराख्छ भने सकारात्मक अनुभवहरूलाई सजिलै बिर्सिन्छ ।

दीर्घकालीन तनावले न्युरोजेनेसिस ‘नयाँ न्युरोन जन्मिने प्रक्रिया’ लाई रोक्छ र सिनेप्टिक प्लास्टिसिटी ‘न्युरोन बीचको जडान’ लाई कमजोर बनाउँछ, जसले समग्र सिक्ने र स्मरण गर्ने क्षमतालाई नै घटाउँछ ।

हड्डीमा तनावको असर

डा. सरोज कुमार सुवाल

हाडजोर्नी तथा नसारोग विशेषज्ञ

दीर्घकालीन तनावले हड्डीमा प्रत्यक्ष र उल्लेखनीय असर पार्छ । तनाव बढ्दा शरीरमा कोर्टिसोल ‘स्ट्रेस हर्मोन’को स्तर निरन्तर उच्च रहन्छ, जसले हड्डी बनाउने कोषिकाहरू ‘अस्टियोब्लास्ट’को उत्पादन घटाउँछ र हड्डीको कोषिकाहरू ‘अस्टियोक्लास्ट’ लाई बढी सक्रिय बनाउँछ । फलस्वरूप हड्डीको घनत्व घट्ने, कमजोर हुने र अस्थिरता बढ्ने समस्या देखिन्छ ।

यसबाहेक दीर्घकालीन तनाव र डिप्रेसनले ‘एस्ट्रोजन र टेस्टोस्टेरोन’ को उत्पादन पनि कम गर्छ, जुन हड्डीको स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण हुन्छ । यी हर्मोनहरू कम हुँदा हड्डीको निर्माण प्रक्रिया कमजोर हुन्छ । तनावले मांसपेशीहरूलाई पनि कमजोर बनाउने भएकाले हड्डीमा थप चाप पर्छ ।

विशेष गरी वृद्धावस्थामा वा पहिले देखि नै हड्डी कमजोर भएका व्यक्तिहरूमा दीर्घकालीन तनावले अस्थियोपोरोसिस ‘हड्डी खिइने’ समस्याको जोखिमलाई निकै बढाउँछ ।

समग्र प्रभाव

डा. सुमन प्रसाद अधिकारी

वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ

तनावले मानसिक मात्र हैन शारीरिक स्वास्थ्य समस्या पनि निम्तिन्छ । तनाव लिंदा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा शरीरको हरेक अंगमा असर गर्छ । जब हामी तनावमा हुन्छौं, हाम्रो मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थीले स्ट्रेस हर्मोन ‘कोर्टिसोल’ रासायनिक पदार्थको उत्पादनलाई बढाउँछ ।

कोर्टिसोलले हाम्रो शरीरको सबै नियमित प्रक्रियामा प्रत्यक्ष भूमिका खेल्छ । यसले मुटुको चाल, खाना पच्ने प्रक्रिया, सुगरको व्यवस्थापन र थाइराइडको व्यवस्थापनमा असर गर्छ ।यसबाहेक दीर्घकालीन तनावले उच्च रक्तचाप, मुटुरोग, मधुमेह, मोटोपन, डिप्रेसन वा चिन्तासम्बन्धी विकार, छालासम्बन्धी समस्या र महिनावारीको समस्या पनि निम्त्याउन सक्छ ।

अंग तनाव शरीर
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

एक महिनासम्म नियमित ओखर खाँदा के-के फाइदा हुन्छ ?

एक महिनासम्म नियमित ओखर खाँदा के-के फाइदा हुन्छ ?

चिन्ता र डिप्रेसन : के छ यी दुईबीचको फरक ?

चिन्ता र डिप्रेसन : के छ यी दुईबीचको फरक ?

बढ्दो क्यान्सर, न्युन उपचार र नियन्त्रणमा बेवास्ता

बढ्दो क्यान्सर, न्युन उपचार र नियन्त्रणमा बेवास्ता

मानसिक स्वास्थ्यबारे युवाहरूको मौनता : समाजको एक चुनौती

मानसिक स्वास्थ्यबारे युवाहरूको मौनता : समाजको एक चुनौती