News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा अंगको अभावका कारण धेरै बिरामीले प्रत्यारोपणको पर्खाइमा ज्यान गुमाउनुपरेको अवस्थामा मृत्युपश्चात् अंगदान सबैभन्दा प्रभावकारी समाधानका रूपमा देखिएको छ।
- ब्रेन डेथ भएपछि शरीरका अंग दान गर्दा एक जना व्यक्तिले धेरै बिरामीलाई नयाँ जीवन दिन सक्ने भएकाले यो मानवताको उत्कृष्ट उदाहरण बनेको छ।
प्रत्येक वर्ष हजारौँ मानिस मिर्गौला, कलेजो, मुटु, फोक्सो लगायतका अंगहरूको अन्तिम चरणको रोगबाट पीडित हुन्छन् । यीमध्ये धेरैका लागि अंग प्रत्यारोपण नै दीर्घकालीन र प्रभावकारी उपचार हो । तर अंगको अभावका कारण धेरै बिरामी प्रत्यारोपणको पर्खाईमै जीवन गुमाउन बाध्य छन् । यो स्वास्थ्य सेवाको ठूलो चुनौती हो । यस समस्याको सबैभन्दा प्रभावकारी समाधान मृत्युपश्चात् (ब्रेन डेथ) अंगदान हो।
विकसित मुलुकहरूमा अधिकांश अंग प्रत्यारोपण मृत्युपश्चात् दान गरिएका अंगबाट हुने गरेको छ । नेपालमा पनि यस सम्बन्धी कानुनी व्यवस्था, दक्ष जनशक्ति छ । तर, जनचेतनाको अभाव, सामाजिक भ्रम तथा कमजोर समन्वयका कारण यो अभियानले अपेक्षित गति लिन सकेको छैन।
ब्रेन डेथ भनेको के हो ?
‘ब्रेन डेथ’ अर्थात् मस्तिष्क मृत्यु भनेको मस्तिष्कका सबै भागहरूले स्थायी रूपमा काम गर्न छोडेको अवस्था हो । यस्तो अवस्थामा व्यक्तिले चेतना गुमाइसकेको हुन्छ, आफैँ सास फेर्न सक्दैन र मस्तिष्कका कुनै पनि कार्यहरू पुनः सञ्चालन हुने सम्भावना हुँदैन । कृत्रिम भेन्टिलेटरको सहायताले केही समयसम्म मुटुको धड्कन कायम रहन सक्छ, तर चिकित्सकीय तथा कानुनी रूपमा त्यस्तो व्यक्ति मृत्यु भइसकेको मानिन्छ ।
यो अवस्था कोमा वा भेजिटेटिभ स्टेट भन्दा पूर्णरूपमा फरक हो । कोमामा रहेका केही बिरामी समयसँगै निको हुन सक्छन्, तर ब्रेन डेथ अपरिवर्तनीय अवस्था हो । विश्वभर अहिलेसम्म ब्रेन डेथ घोषणा गरिएका कुनै पनि व्यक्ति पुनः होस फर्किएको प्रमाणित घटना छैन् । नेपालमा पनि कानुनले तोकेको मापदण्डअनुसार अनुभवी चिकित्सकहरूको टोलीले विस्तृत परीक्षण गरेपछि मात्र ब्रेन डेथ घोषणा गरिन्छ । त्यसैले यसको निदान अत्यन्त वैज्ञानिक, सुरक्षित र विश्वसनीय प्रक्रिया हो।
मृत्युपश्चात् अंगदानको किन आवश्यक ??
ब्रेन डेथ भएको एक जना व्यक्तिले आफ्नो दुवै मिर्गौला, कलेजो, मुटु, फोक्सो, प्याङ्क्रियाज दान गरेर धेरै बिरामीलाई नयाँ जीवन दिन सक्छन् । साथै आँखाको कोर्निया, नसा र छाला दान गर्न मिल्छ ।
अर्थात्, एक जना दाताले मृत्युपश्चात् पनि धेरै व्यक्तिको जीवन बचाउन वा उनीहरूको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउन सक्छन् । संसारमा यस्तो अर्को दान विरलै पाइन्छ, जसले एउटै निर्णयबाट यति धेरै जीवनमा परिवर्तन ल्याउन सक्छ।
नेपालमा किन प्रगति हुन सकेको छैन ?
नेपालमा जीवित व्यक्तिबाट हुने मिर्गौला प्रत्यारोपणमा उल्लेखनीय सफलता हासिल भएको छ । तर मृत्युपश्चात् अंगदान अझै प्रारम्भिक चरणमै सीमित छ ।
यसका प्रमुख कारणहरू निम्न छन्:
–ब्रेन डेथबारे आम जनमानसमा पर्याप्त जानकारीको अभाव ।
–परिवारलाई समयमै उचित परामर्श नपुग्नु ।
–अस्पतालहरूमा सम्भावित दाता पहिचान तथा समन्वय प्रणाली अझ प्रभावकारी हुन नसक्नु।
–धार्मिक तथा सांस्कृतिक मान्यताबारे गलत बुझाइ ।
–अंगदानबारे परिवारभित्र पूर्वछलफल नहुनु ।
–कोमा र ब्रेन डेथबीचको भ्रम ।
यी सबै कारण समाधान गर्न सकिने प्रकृतिका हुन् । त्यसका लागि सरकार, स्वास्थ्य संस्था, सञ्चारमाध्यम, नागरिक समाज र आम नागरिक सबैको संयुक्त प्रयास आवश्यक छ ।
अंगदानबारे प्रचलित भ्रम र यथार्थ
भ्रम : ब्रेन डेथ भएका व्यक्ति फेरि बाँच्न सक्छन् ।
यथार्थ : ब्रेन डेथ स्थायी मृत्यु हो । यो कोमा होइन र यसबाट फर्किने सम्भावना हुँदैन।
भ्रम : अंगदानपछि शव विकृत हुन्छ ।
यथार्थ : अंग निकाल्ने प्रक्रिया पूर्ण सम्मानका साथ, शल्यचिकित्सकीय मापदण्डअनुसार गरिन्छ । त्यसपछि परिवारले आफ्ना धार्मिक र सांस्कृतिक परम्पराअनुसार अन्त्येष्टि गर्न सक्छ ।
भ्रम : यदि मैले अंगदान गर्ने इच्छा व्यक्त गरें भने चिकित्सकले मेरो उपचार राम्रोसँग गर्दैनन् ।
यथार्थ : चिकित्सकको पहिलो दायित्व बिरामीको ज्यान बचाउनु हो । सबै उपचारका प्रयास असफल भएपछि मात्र कानुनी प्रक्रियाअनुसार ब्रेन डेथको मूल्याङ्कन गरिन्छ । अंगदानको विषय त्यसपछि मात्र उठाइन्छ ।
परिवारसँग संवाद किन आवश्यक छ ?
अंगदानको निर्णय केवल व्यक्तिगत इच्छा मात्र होइन, पारिवारिक सहमतिको विषय पनि हो । धेरै अवस्थामा परिवारलाई मृतकको इच्छा थाहा नहुँदा अंगदान हुन सक्दैन । त्यसैले प्रत्येक नागरिकले आफ्नो जीवनकालमै परिवारसँग अंगदानबारे खुला रूपमा छलफल गर्नु अत्यन्त आवश्यक छ । यस्तो संवादले कठिन परिस्थितिमा परिवारलाई निर्णय लिन सहज बनाउँछ ।
अबको चुनैति के ?
नेपालमा मृत्युपश्चात् अंगदानलाई प्रभावकारी बनाउन केही महत्वपूर्ण कदम आवश्यक छन् ।
–विद्यालय र विश्वविद्यालयदेखि समुदायसम्म अंगदानबारे जनचेतनामूलक शिक्षा विस्तार गर्ने ।
–सञ्चारमाध्यममार्फत नियमित सचेतनामूलक अभियान सञ्चालन गर्ने ।
–सबै ठूला अस्पतालमा सम्भावित ब्रेन डेथ दाता पहिचान गर्ने प्रणाली सुदृढ गर्ने ।
–स्वास्थ्यकर्मीहरूलाई ब्रेन डेथ पहिचान, परिवारसँग संवाद र अंगदान समन्वयसम्बन्धी नियमित तालिम प्रदान गर्ने ।
–धार्मिक अगुवा, सामाजिक अभियन्ता र नागरिक समाजलाई अंगदान प्रवर्द्धन अभियानमा सहभागी गराउने ।
–राष्ट्रिय स्तरमा मृत्युपश्चात् अंगदानलाई सामाजिक आन्दोलनका रूपमा विकास गर्ने ।
कुनै पनि व्यक्तिको मृत्यु एउटा परिवारका लागि अपूरणीय क्षति हो । तर त्यही दुःखद् क्षणमा गरिएको एउटा महान निर्णयले धेरै परिवारमा आशा, खुसी र नयाँ जीवनको उज्यालो ल्याउन सक्छ । साथै सबै धर्मले दान, परोपकार र मानव सेवालाई सर्वोच्च पुण्य कार्य मानेका छन् । मृत्युपछि शरीरका अंगहरू अन्ततः नष्ट हुन्छन् । ती अंगले अरू कसैलाई जीवन दिन सक्ने अवस्थामा दान गर्नु मानवताको उत्कृष्ट उदाहरण हो ।
मृत्युपश्चात् अंगदान केवल चिकित्सा विज्ञानको उपलब्धि होइन, यो मानवता, करुणा, र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण हो । आज हामीले यसबारे सही जानकारी प्राप्त गर्यौं, परिवारसँग खुला संवाद गर्यौं र समाजमा रहेका भ्रमहरू हटायौं भने भोलिका दिनमा धेरै नेपालीले समयमै नयाँ जीवन पाउनेछन् ।
जीवन सीमित हुन्छ, तर जीवन बचाउने निर्णय अमर हुन्छ ।
प्रतिक्रिया 4