+

बोनम्यारो प्रत्यारोपणका ५ वर्ष

२०८३ साउन  ७ गते १४:५२ २०८३ साउन ७ गते १४:५२

धेरैलाई क्यान्सर लागेपछि बाँचिँदैन भन्ने भ्रम जीवित छ। समाजले नै त्यसरी बुझेको छ। क्यान्सरबारे समाजको भ्रम चिर्न जरुरी छ।

बोनम्यारो प्रत्यारोपणका ५ वर्ष

मेरो परिवार मेरो लागि स्वर्ग थियो। म सबैको कान्छो। चार भाइको कान्छो भाइ। सबैको प्यारो नहुने कुरै भएन । मेरा दाइहरू र मेरोबीच उमेरमा धेरै अन्तर थियो। ममाथिको साइँलो दाइसँगै पनि उमेर १० वर्ष फरक थियो। त्यसो भएर म सानैदेखि पुल्पुलिएरै हुर्किएँ, माया पाएरै हुर्किएँ।

मैले कहिल्यै हलो जोत्नुपरेन, आली लाउनुपरेन । मेरो सानो संसार थियो। माया गर्ने श्रीमती थिइन्। छोरामा छोरा थिए, छोरीमा छोरी। हामी चार दाजुभाइका ८ भाइ छोरा, मेरी मात्र एउटी छोरी, आठ भाइकी एउटी बहिनी- कान्छो छोरो १४ वर्ष भएपछि जन्मिएकी। को खुसी थिएन र घरमा लक्ष्मीको आगमनमा !

छोरी जन्मँदा कति खुसी थिएँ, म ! तिनै छोरी जब तोते बोल्दै थिइन्, टुकुटुकु हिँड्दै थिइन्, लुकामारी खेल्दै थिइन्, ‘बाबा… कुकु…’ भन्दै थिइन्, अकस्मात् रोगले आक्रमण गरेको पत्तै भएन । रोग पनि लरतरो कहाँ थियो र प्राणघातक ब्लड क्यान्सर। अहिले सपनाजस्तै लाग्छ।

सेतो रगत बढेछ

२०७६ साल माघ ९ गते, म केही कामका लागि विराटनगरबाट धरान गएको थिएँ। बिहानैदेखि टाउको भारी भएको थियो। दिनभरि बेसरी टाउको दुख्यो, फुट्लाजस्तो गरी।

साँझतिर घर फर्किएँ। राति कामज्वरो आयो। दुईवटा सिरक खापेर सुत्दा पनि कम्पन रोकिएन। दुई जनाले थिच्दा पनि अहँ ! भएन। कहिल्यै त्यस्तो भएको थिएन। सिटामोलले पनि ज्वरो घटेन। छटपटाएरै रात कट्यो।

बिहान ज्वरो केही कम भयो। नजिकैको लाइफ गार्ड अस्पताल गएँ। वरिष्ठ फिजिसियन डा. अरविन्द देवले रगतको जाँचका लागि पठाए । बेलुका रिपोर्ट आयो। रगतमा खराबी देखियो। सेतो रक्तकोष (डब्लुबीसी) बढेछ। सेतो रगत ११ हजारसम्म हुनुपर्नेमा १९ हजार पुगेछ। त्यही पनि सामान्य इन्फेक्सन होला भनियो।

एन्टिबायोटिकले काम गरेन

डाक्टरले एन्टिबायोटिक लेखिदिए, एक हप्ताका लागि खान सुरु गरियो । ज्वरो घटे पनि कमजोरी बाँकी नै थियो। शरीर थकित थियो।

जोस थिएन, जाँगर थिएन, आलस्य मात्रै । अलिक जोडले हिँड्यो, सास बढ्थ्यो। क्याम्पसमा बिदा लिएको थिएँ, तर टेलिभिजन भने जान छोडेको थिइनँ।

एन्टिबायोटिक सकियो, ज्वरो रोकिएन। मुखभरि घाउ आयो। गिजा सुन्निए। दाँतको डाक्टरलाई देखाएँ। दाँतमा फोहोर जमेर इन्फेक्सन भयो भनियो। भर्खरै स्केलिङ गरेको थिएँ, फोहोर थिएन। दाँतको डाक्टरकहाँबाट फर्किएँ।

फेरि उही अस्पताल गइयो। रगतको जाँच भयो। डब्लुबिसी २४ हजार पुगेछ। तैपनि डाक्टरले शङ्का गरेनन्। एन्टिबायोटिक परिवर्तन भयो। फेरि उही ताल। १८ दिन यत्तिकैमा बित्यो। फेरि अस्पताल गएँ। उनै डाक्टरलाई भेटेँ। फेरि रगतको जाँच गरियो।

म डा. कैलाश श्रेष्ठको कार्यकक्षमा रगतको रिपोर्ट कुर्दै थिएँ। ल्याबबाटै फोन आयो। म ल्याब गएँ। प्याथोलोजिस्ट डा. नीता काफ्लेले सोध्नुभो, ‘के के हुन्छ ?’

मैले भनेँ, ‘ज्वरो आउँछ।’

उहाँले ‘मुखमा घाउ पनि आएको छ ?’ भनेर सोध्नुभो, मैले ‘छ’ भनेँ।

त्यसपछि उहाँ केही बोल्नुभएन। कम्प्युटरतिर हेर्दै के के लेख्न थाल्नुभयो।

ढिलो नगरी भरतपुर जान सल्लाह

उहाँले लेखेको मैले बुझ्ने कुरै भएन। ‘ल, यो लिएर डाक्टरलाई भेट्नुहोस्।’ म रिपोर्ट लिएर सिधै डाक्टरलाई भेट्न गएँ। ५ बजिसकेको थियो। डा. अरविन्द देव मेरै रिपोर्ट हेर्नलाई कुरिरहनुभएको थियो। डा. कैलाशकै कार्यकक्षमा दुवै डाक्टर हुनुहुन्थ्यो। दुवै जनाले रिपोर्ट हेर्नुभो। केही प्रतिक्रिया आउँदैन। दुवै डाक्टर मौन। उहाँहरू मुखामुख गर्दै एकअर्कालाई हेर्दै मलाई हेर्नुहुन्छ।

‘के भयो भन्नु न !’ मौनता चिर्दै मैले भनेँ।

एक्कासि डा. कैलाश श्रेष्ठले भनेको कुरा कानमा गुन्जियो, ‘तपाईं ढिलो नगरी भरतपुर जानुहोस्।’

भरतपुर ! सुनेर म खङ्ग्रङ्ग भएँ।

भरतपुरमा क्यान्सर अस्पताल छ भन्ने मलाई थाहा थियो। मैले भनेँ, ‘के मलाई क्यान्सर भएको हो ?’

डा. श्रेष्ठले भन्नुभो, ‘लक्षण त्यस्तै छ।’

‘ब्लड क्यान्सर ?’

‘हजुर, हो। बरु भन्नु के सहयोग चाहिन्छ ? मैले चिनेका डाक्टरहरू छन्, म कुरा गर्दिन्छु।’

उहाँको कुरा सुनेर म अवाक् भएँ। बोली बन्द भो। आँखा धमिला भए। माघकै महिना भए पनि पसिनाले म निथ्रुक्क भिजेँ। सोफामा थचक्क बसेँ। डा. श्रेष्ठले ‘घर पुर्‍याइदिनुपर्छ ?’ भनेको सुनेँ। मैले भनेँ, ‘पर्दैन, छोरो छ बाहिर। म जान्छु,’ भन्दै बाहिर निस्किएँ। खुट्टा टेकिँदैनन्। छोरालाई केही सुनाइनँ। बाइकमा छोराको पछाडि बसेर जसोतसो घर पुगियो ।

नराम्रो खबरले घरमा रुवाबासी

घरमा गएर के भन्नु ? मलाई क्यान्सर लागेछ भनेर कसरी भन्नु ? नभनेर पनि सुख थिएन। श्रीमतीलाई सुनाउन आँटै आएन। कान्छो छोरो रिपोर्ट हेरेर गुगल सर्च गर्न लाग्यो- एक्युट ल्युकेमिया।

‘बाबा, ल्युकेमिया भनेको ब्लड क्यान्सर रहेछ, तर निको हुने रहेछ।’ ढाडस दिँदै थियो कान्छो छोरो।

श्रीमती क्यान्सर शब्द सुन्नेबित्तिकै रुन लागिन्। आमाले पनि थाहा पाउनुभो, आमा रुन लाग्नुभो। जेठो चुपचाप थियो। मैले ‘केही हुँदैन, उपचार गर्नुपर्छ, ठीक हुन्छ’ भनेर आमालाई सम्झाएँ। जेठो दाइ पुराण भन्न मोरङको सिजुवामा हुनुहुन्थ्यो। फोन गर्न आँट आएन।

मोरङकै केराबारीमा हुने माइलो दाइलाई फोन गरेर ‘भाउजूलाई भोलि नै पठाउनू आमाको साथी’ भनेर फोन गरेँ। कीर्तिपुरमा हुने साइँलो दाइलाई फोन गरेँ। उहाँ बोल्नै सक्नुभएन।

मोरङको लेटाङस्थित ससुराली घरमा पुराणको तयारी भव्य थियो, साथै जेठानको छोराको व्रतबन्ध पनि।

बिथोलियो ससुराली घरको सप्ताह

फागुन १२ गतेदेखि सप्ताह लगाउन अमेरिकामा रहनुभएका आफन्तहरू पनि आइसक्नुभएको थियो। ससुराली घरमा सप्ताहको रौनक सुरु भइसकेको थियो। खाद्यान्न, लत्ताकपडाहरू किनिसकिएका थिए।

पुराणस्थलमा मण्डप सजाउन कालिगढहरू खटिएका थिए। त्यस दिन बुबाआमा (सासूससुरा) सबै पुराणको किनमेल सकाएर सामानसहित जोगबनीबाट भर्खरै घर (लेटाङ) पुग्नुभएको थियो। खबर सुनेर ससुरालीमा पनि हल्लीखल्ली भयो।

डेढ वर्षकी छोरी हजुरआमाको जिम्मा

श्रीमतीले फोन गरेर छोरीको जिम्मा लिन आमालाई बोलाइन्। भर्खरै घर पुग्नुभएका बुबा र दाजु रातविरात हस्याङफस्याङ गर्दै विराटनगर आइपुग्नुभयो। एक्कासि आएको विपत्तिले कसैका आँखा ओभाना छैनन्।

पूरै ब्रह्माण्डले थिचेजस्तो भयो। मन अत्तालियो। दिन सकिएछन् जस्तो लाग्यो। २० महिनाकी छोरी र उनको भविष्य सम्झिएँ। अनि मैले छोरीका लागि जसरी पनि बाँच्नुपर्छ भन्ने लाग्यो। छोराहरू त ठूलै भएका छन्, जसोतसो गरिखालान्। अब कहाँ जाने, के गर्ने ? दिमागले केही सोच्नै सकेको थिएन। म पनि रुने हो भने सम्हाल्ने कसले ? म सामान्य हुन खोजिरहे पनि सकिरहेको थिइनँ।

भरतपुरमा कोही चिनजानका मान्छे थिएनन्, त्यता जाने कुरै भएन। आफैँले काठमाडौँ जाने निधो गरेँ। काठमाडौँमा भएको भतिज सुमनलाई फोन गरेर बिहानका लागि ३ वटा टिकट बुक गर्न लगाएँ। त्यो रात झिपिक्क नगरी बित्यो। हल्का ज्वरो छँदै थियो। बिहान भयो।

सानी छोरी विराटनगरमै रहेकी सालीको जिम्मा लगाएर हामी हतार-हतार गर्दै विमानस्थल पुग्यौँ। मन भारी थियो, दिमागले केही सोच्नै सकेको थिएन। १ घण्टाको डिलेपछि म, श्रीमती र जेठो छोरो काठमाडौँ उड्यौँ।

झिनो आशा निराशामा बदलियो

काठमाडौँमा भाउजू अनमी हुनुहुन्थ्यो- जुनारमैया भट्टराई। उहाँसँग कहाँ जाने भनेर फोनमा कुराकानी भो। उहाँले नै निजामती (सिभिल) अस्पतालमा रक्तक्यान्सर रोग विशेषज्ञ प्रोफेसर डा. विशेष पौडेल भएको पत्ता लगाउनुभयो। तर त्यस दिन निजामती अस्पतालमा उहाँसँग भेट भएन।

उहाँ अल्का अस्पतालमा भएको थाहा पाउनेबित्तिकै हतास एवं उदास मन लिएर उहाँलाई भेट्न अल्का पुग्यौँ। झिनो आशा त बाँकी नै थियो- तै उहाँले क्यान्सर होइन भनिदिनुहोला, डराउनु पर्दैन भनिदिनुहोला !

पालो आयो, हामी भित्र छिर्‍यौँ। उहाँले विराटनगरको रिपोर्ट हेर्नुभयो र सोध्नुभयो, ‘तपाईंलाई यो रोगबारे थाहा छ ?’

मैले भनेँ, ‘थाहा छ।’

‘विराटनगरको रिपोर्ट शतप्रतिशत सही छ।’

उहाँको कुरा सुनेर धिपिक-धिपिक बलिरहेको बत्ती पनि निभ्यो । झिनो आस पनि अब निराशामा बदलियो।

बाहिर उज्यालो भए पनि त्यसको केही अर्थ थिएन, मेरो लागि चरम अँध्यारो छायो। अझ उहाँले त्यसपछि ‘तपाईंलाई १ महिनामा जे पनि हुन सक्छ’ भनेपछि चरम निराशा र डरले एकैपटक छोप्यो। मन आत्तियो।

तर उहाँले फेरि भन्नुभयो, ‘उपचार हुँदै नहुनेचाहिँ होइन, तर ठीक नै हुन्छ भनेर भन्नचाहिँ सकिँदैन।’

उपचार खर्च सुनेर होस उड्यो !

मैले सोधेँ, ‘के कारणले मलाई यस्तो रोग लाग्यो डा. साब ?’

उहाँले ‘कारण अरू केही होइन, तपाईंको दुर्भाग्य हो। त्यति बुझ्नुहोस्’ भन्नुभयो।

उहाँले थप्नुभयो, ‘यसको उपचार असाध्यै महँगो छ। निजी अस्पतालमा ६०-७० लाख, सरकारीमा गराउनु ३०-३५ लाख। कहाँ गराउने हो, तपाईंको खुसी । ४-५ महिना अस्पताल बस्नुपर्छ।’

एकातिर मरिन्छ कि बाँचिन्छ टुङ्गो छैन, अर्कोतिर पैसा सुनेर ढल्न मात्रै सकिएन। ‘म सिभिलमा पनि काम गर्छु, त्यहाँ उपचार गर्ने हो भने भोलि नै भर्ना हुनू।’

जागिरको चिन्ता !

उहाँको कुरा सुनेपछि सिभिलमै उपचार गर्ने कुरा भो। डाक्टरसँग बिदा भएर बाहिर निस्केपछि खुट्टा राम्ररी टेकिँदैनन्। ओहो मेरो जागिर ! दुईवटा कलेज अनि टेलिभिजन, जागिर जाने भो। भोलि मरिन्छ कि बाँचिन्छ टुङ्गो छैन, जागिरको चिन्ता छ। जीवनको चिन्ता छैन !

अहिले सम्झँदा आफैँदेखि हाँसो लाग्छ। तारा भाउजू, सुशीला, रोहित दाइ, छोरो र श्रीमती अस्पतालबाट बाहिरियौँ। रोहित दाइले आफ्नै गाडीमा हामीलाई कीर्तिपुर पुर्‍याइदिनुभयो। त्यो रातभरि ज्वरो आयो।

ट्रामाडोल खान सुरु गरियो। दिमागले राम्ररी काम गर्न सकेको छैन। के होला, कसो होला, ओहो ५ महिना अस्पताल बस्नुपर्ने ! त्यसै मन आत्तिन्छ। आत्तिएर, डराएर पनि गर्नु के ? भोलिपल्ट प्रो. डा. पौडेललाई भेट्न सिभिल पुग्यौँ।

डे केयरमा ढल्दाको पल !

सबै बेड भरिभराउ। कुनै खाली छैन। दाइहरू बेड मिलाउन दौडधुप गरिरहनुभएको छ। दिनभरि डे केयरमा बसेको छु। मनले के के सोच्छ- मरिहालियो भने ? छोराहरूलाई कसले हेर्छ ? कसले पढाउँछ ? सानी छोरी छे, पछि ‘बाबा खोइ ?’ भन्ली, उफ ! दिमागले के के सोच्छ ? हेमाटो वार्डको डे केयरमा मान्छे आउँछन्, जान्छन्। कोही ब्लड चढाउन आउँछन्, कोही सुई हान्न।

कहिल्यै अस्पताल नबसेको म हेरेको हेर्‍यै भएछु। एकैछिनमा बेडमा बसिरहेकै ठाउँमा बेहोस भएर ढलेछु। केही बेरपछि होसमा आउँदा आफन्तहरू वरिपरि थिए। कोही हम्कने, कोही पानी छ्याप्ने। ओहो कति अत्यासलाग्दो !

बल्लतल्ल बेलुकातिर एउटा बेड खाली भयो। त्यसका लागि धेरै पापड बेल्नुपर्‍यो। भाउजू जुनारमैयाको विद्यार्थी देविका त्यहीँकी नर्सिङ हेड भएको भएर पनि घर फर्किनुपरेन। एक जना अस्पताल सहयोगी दिदी आउनुभयो। ‘ल, यो ह्विलचेयरमा बस्नुहोस्। अब बेडमा जाने।’ म हिँड्न सक्छु, पर्दैन ह्विलचेयर भनेँ। हेमाटोलोजी वार्डको रुम नं. १३८ तर्फ हिँडेर पुगेँ।

ती दिदीले मलाई समाउनुभयो। आफन्तहरू पछिपछि आउनुभयो। कोठाभित्र बसेको केही समयपछि नर्सहरू आए, हात समाए, क्यानुला घुसारे। साह्रै दुख्यो। जीवनमा पहिलोपटक ४७ वर्षको उमेरमा क्यानुला घुसाउँदै छन्।

आफूजस्तै भाइ भेट्दा

त्यो कोठामा जम्मा दुईवटा बेड। एउटामा मजस्तै समस्या भएका भाइ रहेछन्- आशिष पोखरेल। सुनसरी इनरुवाका, लगभग ४ महिना बिताइसकेका। चिनजान भो। गफगाफ सुरु भयो। ती भाइबाट बाँच्न सकिन्छ कि भन्ने आस जागिरह्यो।

म बाँच्नुमा ती भाइको पनि ठूलो भूमिका छ। उनका बुबाआमा पनि साह्रै मिलनसार। बीचरा, छोराको उपचार गर्दागर्दै भएभरको जायजेथा सबै सकियो, उपाय केही छैन। भएको एउटा सानो कटेरो र घर पनि उपचारकै लागि बेच्नुपर्‍यो। उहाँहरूका कुरा सुनेर मलाई पनि नराम्रो लाग्यो। आफू पनि उस्तै।

त्यसपछि अब औषधीका झोलाका झोला, सुई, अरू के के हो के के, एकपछि अर्को गर्दै आउन थाले। कुनै औषधी मुखबाट, कुनै सुईबाट सुरु भयो। दुवै हातमा क्यानुला, एउटा पिक्लाइन हातबाट ठेल्दै-ठेल्दै मुटुको छेउमा पुर्‍याइयो। त्यो ठीक ठाउँमा गयो कि गएन भनेर हेर्न ट्रली ठेल्दै आइपुगिन् दिदी। इको, इसिजी, सिटिस्क्यान, एमआरआई एकपछि अर्को सुरु भयो।

समय चक्र

समय सधैँ एउटै चक्रमा घुम्दैन। उतारचढाव नझेलेको जीवन जीवन हुँदैन। दुःख थाहा नहुनेले सुखको अनुभूति पनि गर्न सक्दैन।

२०७८ साल साउन ७ गते मेरो बोनम्यारो प्रत्यारोपण भएको थियो। त्यो हिसाबले मैले पुनर्जीवन पाएको ५ वर्ष पूरा भएर ६ वर्ष लागेको छ । अहिले मेरो दिनचर्या क्यान्सर हुनुअघिकै जस्तो छ।

अहिले मेरो जागिरको प्रकृति फेरिएको छ। अहिले म आफूजस्तै क्यान्सरका बिरामीको सेवामा समर्पित छु। म उनीहरूलाई ‘क्यान्सर जीवनको अन्त्य होइन, क्यान्सरपछि पनि जीवन छ’ भनेर सम्झाउँछु। बाँच्न प्रेरित गर्छु। नआत्तिन र रोगलाई स्वीकार्न आग्रह गर्छु। उहाँहरू ‘मेरो विगत यस्तो थियो’ भन्दा सितिमिति पत्याउनुहुन्न।

धेरैलाई क्यान्सर लागेपछि बाँचिँदैन भन्ने भ्रम जीवित छ। समाजले नै त्यसरी बुझेको छ। क्यान्सरबारे समाजको भ्रम चिर्न जरुरी छ। सम्पूर्ण सहयोगी र शुभेच्छुकहरूप्रति सदैव ऋणी रहनेछु। मलाई यो जिन्दगी तपाईंहरूले दिनुभएको हो।

तपाईंहरू जसरी मेरो आवाज बन्नुभयो, हौसला दिनुभयो, बाँच्न प्रेरित गर्नुभयो, म अहिले तिनै क्यान्सर भोग्दै गरेका योद्धाहरूको आवाज बन्ने प्रयास गरिरहेको छु।

(लेखक पौडेल विराट क्यान्सर इन्स्टिच्युटमा क्यान्सर सर्भाइभर कोअर्डिनेटरका रूपमा कार्यरत छन्।)

क्यान्सर बोनम्यारो
लेखक
कमल पौडेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय