+

रोगबाट बच्न भान्सालाई स्वस्थ राख्ने १० सजिलो तरिका

२०८३ साउन  ६ गते १५:०७ २०८३ साउन ६ गते १५:०७
रोगबाट बच्न भान्सालाई स्वस्थ राख्ने १० सजिलो तरिका

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दैनिक भान्सामा प्रयोग गरिने सामग्री र खानपानमा साना परिवर्तन गर्दा भविष्यमा दीर्घकालीन रोगहरूको जोखिम कम गर्न सकिन्छ।
  • एल्युमिनियमको साटो स्टेनलेस स्टिल वा फलामका भाँडा र रिफाइन्डको साटो कोल्ड-प्रेस्ड तेलको प्रयोग स्वास्थ्यका लागि लाभदायक मानिन्छ।
  • बजारमा पाइने प्रशोधित खाद्य पदार्थ तथा प्लास्टिकका बोतलको विकल्पमा प्राकृतिक र ताजा सामग्री रोज्नुपर्ने विज्ञहरूको सुझाव छ।

हामी सबैले घरमै बनेको स्वस्थ खाना खाने प्रयास गर्छौं, किनकि बाहिरको खानाभन्दा घरको खाना बढी सुरक्षित र पौष्टिक मानिन्छ । तर, धेरैजसो अवस्थामा हामीले थाहै नपाई भान्साघर र दैनिक खानपानमा यस्ता वस्तु प्रयोग गरिरहेका हुन्छौं, जुन सामान्य देखिए पनि लामो समयसम्म प्रयोग गर्दा स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छन् ।

त्यसैले हाम्रो भान्सामा दैनिक प्रयोग हुने केही वस्तुहरूलाई सकेसम्म छिटो प्रतिस्थापन गर्नु आवश्यक छ । खानपानदेखि लिएर भान्सामा प्रयोग हुने धेरै सामग्रीको अत्यधिक वा गलत प्रयोगले क्यान्सरसहित अन्य दीर्घकालीन रोगहरूको जोखिम बढाउन सक्ने विभिन्न अध्ययनहरूले देखाएका छन् । चिन्ताको विषय के हो भने यस्ता धेरै वस्तुहरू प्रायः नेपाली भान्साको हिस्सा बनेका छन् ।

केचप, प्रशोधित खाद्य पदार्थ, प्लास्टिकका बोतल लगायतका दैनिक प्रयोग हुने वस्तुको सट्टा स्वस्थ विकल्प रोज्दा दीर्घकालीन रूपमा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्छ ।

१० महत्त्वपूर्ण ‘किचन टिप्स’

भान्सा र दैनिक खानपानमा गरिने साना–साना परिवर्तनले भविष्यमा स्वास्थ्यमा ठूलो सकारात्मक असर पार्न सक्छ । आउनुहोस्, आजैदेखि परिवर्तन गर्न सकिने ती १० बानीबारे जानौं ।

१. एल्युमिनियमका भाँडाको सट्टा स्टेनलेस स्टिल वा कास्ट आइरनको भाँडा प्रयोग गर्ने

अहिलेसम्म पनि धेरै घरमा खाना पकाउन एल्युमिनियमका भाँडा प्रयोग गरिन्छ । तर यसको सट्टा स्टेनलेस स्टिल वा फलामका भाँडा प्रयोग गर्नु राम्रो विकल्प हुन सक्छ ।

टमाटर, कागती, इमली, जस्ता अमिलो पदार्थ एल्युमिनियमको भाँडामा पकाउँदा थोरै मात्रामा एल्युमिनियम खानामा मिसिन सक्छ । त्यसैले दैनिक प्रयोगका लागि स्टेनलेस स्टिल वा कास्ट आइरनका भाँडालाई प्राथमिकता दिनु उपयुक्त मानिन्छ ।

२. केचपको सट्टा धनियाँको ताजा चटनी खाने

केचप, चिली सस तथा बजारमा पाइने अन्य प्याकेटबन्द डिपहरू बच्चादेखि वयस्कसम्म सबैको रोजाइमा पर्छन् । तर यस्ता उत्पादनको नियमित सेवन स्वास्थ्यका लागि राम्रो मानिँदैन ।

बजारमा पाइने अधिकांश केचपमा अतिरिक्त चिनी, नुन र प्रिजर्भेटिभ मिसाइएको हुन्छ, जसले विशेषगरी पेटको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । यसको सट्टा घरमै बनाइएको ताजा धनियाँको चटनी राम्रो विकल्प हुन सक्छ । यसले स्वाद मात्र बढाउँदैन, शरीरलाई आवश्यक भिटामिन, खनिज तथा वनस्पतिजन्य पोषक तत्व पनि उपलब्ध गराउँछ ।

३. मैदाको परिकारको सट्टा होल ह्विट वा मल्टिग्रेन ब्रेड रोज्ने

ब्रेडलगायत बेकरीजन्य परिकार धेरै खानु स्वास्थ्यका लागि राम्रो मानिँदैन । विशेषगरी मैदाबाट बनेको ब्रेड नियमित खानु उपयुक्त हुँदैन । मैदाको ग्लाइसेमिक इन्डेक्स उच्च हुने भएकाले यसले रगतमा चिनीको मात्रा छिट्टै बढाउन सक्छ । साथै, यसमा फाइबर निकै कम हुने भएकाले पाचन प्रक्रिया कमजोर हुने र कब्जियतको समस्या बढ्न सक्छ । लगातार धेरै मात्रामा मैदाजन्य खाना खाँदा तौल बढ्ने जोखिम पनि रहन्छ ।

यदि तपाईं दैनिक ब्रेड खानुहुन्छ भने मैदाको ब्रेडको सट्टा होल ह्विट वा मल्टिग्रेन ब्रेड रोज्नु राम्रो हुन्छ । मल्टिग्रेन ब्रेडमा कोदो, फापर, गहुँ जस्ता अन्न मिसाइएका हुन सक्छन्, जसमा प्रशस्त फाइबर र अन्य आवश्यक पोषक तत्व पाइन्छ ।

४. फलको जुसभन्दा सिंगो फल खाने

बजारमा पाइने प्याकेटबन्द फलफूलको जुस स्वास्थ्यका लागि त्यति लाभदायक मानिँदैन । यस्ता जुसमा धेरैजसो अतिरिक्त चिनी, कृत्रिम स्वाद र प्रिजर्भेटिभ मिसाइएका हुन्छन् । नियमित सेवनले तौल बढ्ने र टाइप–२ मधुमेहको जोखिम बढ्न सक्छ ।

यदि जुस पिउन मन पर्छ भने प्याकेटबन्द जुसको सट्टा ताजा मौसमी फल खानु नै उत्तम हुन्छ । तर, सिंगो फलमा भिटामिन, खनिज, एन्टिअक्सिडेन्ट तथा प्रशस्त फाइबर हुन्छ । फाइबरले रगतमा चिनीको मात्रा एक्कासि बढ्न नदिने, पाचन सुधार गर्ने तथा लामो समयसम्म पेट भरिएको महसुस गराउने काम गर्छ । त्यसैले जुस भन्दा पनि सिंगो फल खानु अझै लाभदायक हुन सक्छ ।

५. बजारका मिठाईको सट्टा घरमै स्वस्थ मिठाई बनाउने

धेरै मानिसलाई पटक–पटक गुलियो खाने इच्छा हुन्छ । यस्तो अवस्थामा बजारका मिठाई नियमित खानुको सट्टा घरमै कम चिनी, खजुर वा सीमित मात्रामा ब्राउन सुगर प्रयोग गरेर मिठाई बनाउनु राम्रो हुन्छ ।

उदाहरणका लागि, कम फ्याट भएको दूधबाट बनाइएको कम चिनीको खीर स्वादिष्ट र अपेक्षाकृत स्वस्थ विकल्प हुन सक्छ । यद्यपि, गुड र चिनीको क्यालोरीमा धेरै ठूलो अन्तर नहुने भएकाले गुड पनि सीमित मात्रामा मात्र सेवन गर्नुपर्छ ।

६. प्लास्टिकका बोतलको सट्टा सिसा वा स्टेनलेस स्टिलका बोतल प्रयोग गर्ने

धेरै अनुसन्धानले प्लास्टिकको अत्यधिक प्रयोग स्वास्थ्यका लागि उपयुक्त नहुने देखाएका छन् । अझै पनि धेरै घरमा पानी राख्न र पिउन प्लास्टिकका बोतल प्रयोग गरिन्छ ।

यसको सट्टा सिसा वा स्टेनलेस स्टिलका बोतल प्रयोग गर्नु राम्रो हुन्छ । विशेषगरी घाम वा तातो वातावरणमा प्लास्टिकका बोतल प्रयोग गर्न सकेसम्म बच्नुपर्छ । किनभने बारम्बार प्रयोग गर्दा वा गर्मीको सम्पर्कमा आउँदा केही प्रकारका प्लास्टिकबाट रसायन निस्किएर पानी वा खानामा मिसिन सक्छ ।

७. बिस्कुट र अन्य प्याकेट बन्द खानाको सट्टा स्वस्थ स्न्याक्स रोज्ने

प्याकेटबन्द बिस्कुट र अन्य प्याकेट बन्द स्न्याक्स स्वादिष्ट लागे पनि दैनिक सेवन गर्नु राम्रो विकल्प होइन । यस्ता खाद्य पदार्थमा प्रायः मैदा, रिफाइन्ड तेल, धेरै नुन तथा प्रिजर्भेटिभ प्रयोग गरिएको हुन्छ । यदि स्न्याक्स खाने बानी छ भने पनिर सलाद, अंकुरित गेडागुडी, भुटेको बदाम, ओखर तथा भुटेका नट्स र सीड्स जस्ता विकल्प रोज्नु राम्रो हुन्छ । यस्ता खानाले शरीरलाई प्रोटिनसँगै स्वस्थ बोसो पनि प्रदान गर्छ।

८. रिफाइन्ड तेलको सट्टा कोल्ड–प्रेस्ड तेल प्रयोग गर्ने

खाना पकाउन प्रयोग हुने तेलले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । यसको सम्बन्ध तौल, मधुमेह, मुटुको स्वास्थ्य तथा मेटाबोलिक स्वास्थ्यसँग पनि जोडिएको हुन्छ ।

त्यसैले रिफाइन्ड तेलको सट्टा कोल्ड–प्रेस्ड तोरीको तेल, नरिवलको तेल वा ओलिभ तेल प्रयोग गर्नु राम्रो विकल्प हुन सक्छ । यद्यपि, जुनसुकै तेल भए पनि सीमित मात्रामा मात्र प्रयोग गर्नुपर्छ ।

९. नन–स्टिक भाँडा धेरै खुइलिएको छ भने नयाँ भाँडा ल्याउने

यदि नन–स्टिक प्यान वा कराहीको कोटिङ धेरै खुइलिएको छ भने त्यसलाई प्रयोग गरिरहनु उचित हुँदैन । खाना पकाउँदा कोटिङ छुट्टिने जोखिम हुन सक्छ । त्यसैले धेरै खुइलिएको नन–स्टिक भाँडाको सट्टा स्टेनलेस स्टिल, कास्ट आइरन वा नयाँ, राम्रो गुणस्तरको नन–स्टिक भाँडा प्रयोग गर्नु राम्रो हुन्छ ।

१०. एयर फ्रेशनरको सट्टा प्राकृतिक विकल्प प्रयोग गर्नुहोस्

घर वा कोठालाई सुगन्धित बनाउन धेरैजसो मानिसले बजारमा पाइने रासायनिक एयर फ्रेशनर प्रयोग गर्छन् । यसको सट्टा आवश्यक परेमा अरोमा आयल वा सिट्रोनेला आयल जस्ता प्राकृतिक विकल्प प्रयोग गर्न सकिन्छ । यद्यपि, एसेन्सियल आयलहरू पनि सधैं सीमित मात्रामा र सावधानीपूर्वक प्रयोग गर्नुपर्छ ।

खानेकुरा भान्सा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

रोगबाट बच्न भान्सालाई स्वस्थ राख्ने १० सजिलो तरिका

रोगबाट बच्न भान्सालाई स्वस्थ राख्ने १० सजिलो तरिका

प्रत्यारोपण गर्ने अस्पतालमा किन आवश्यक छ रक्त बैंक र ट्रान्सफ्युजन मेडिसिन सेवा ?

प्रत्यारोपण गर्ने अस्पतालमा किन आवश्यक छ रक्त बैंक र ट्रान्सफ्युजन मेडिसिन सेवा ?

कुन भिटामिनको कमी हुँदा हाम्रो शरीरले कस्तो संकेत देखाउँछ ?

कुन भिटामिनको कमी हुँदा हाम्रो शरीरले कस्तो संकेत देखाउँछ ?

गोरो बनाउने क्रिमको अँध्यारो पाटो : करोडौंको स्वास्थ्य जोखिम

गोरो बनाउने क्रिमको अँध्यारो पाटो : करोडौंको स्वास्थ्य जोखिम

भारतमा पहिलो पटक डेंगु विरुद्धको खोपले पायो अनुमति

भारतमा पहिलो पटक डेंगु विरुद्धको खोपले पायो अनुमति

यो वर्ष डेंगु संक्रमण कम तर मनसुनसँगै बढ्न सक्छ जोखिम

यो वर्ष डेंगु संक्रमण कम तर मनसुनसँगै बढ्न सक्छ जोखिम