कपिलवस्तु नगरपालिका–८ निवासी विद्यावती कोरी २०८१ साल असार ११ गते बच्चा जन्माउन भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स (यूसीएमएस) पुग्छिन् । असार १२ गते उनको शल्यक्रिया भयो । परिवारका अनुसार बच्चाको अवस्था जन्मेदेखि नै जटिल रहेकाले तत्काल एनआईसीयूमा राखियो । उपचारकै क्रममा ३–४ दिनपछि शिशुको मृत्यु भयो ।
त्यसपछि असार १६ गते विद्यावतीलाई अस्पतालबाट डिस्चार्ज गरी घर लगियो । सुरुका केही महिनासम्म शल्यक्रियापछि हुने सामान्य दुखाइ र असहजता बाहेक ठूलो समस्या देखिएन । परिवारले पनि त्यसलाई सामान्य अवस्थाकै रूपमा लिएको थियो ।
तर समय बित्दै जाँदा उनको स्वास्थ्य अवस्था बिग्रन थाल्यो । बारम्बार पेट दुख्ने, बान्ता हुने, खाना नपच्ने, भोक नलाग्ने, पखाला लाग्ने र ज्वरो आउने समस्या देखिन थाले । आर्थिक अवस्था कमजोर भएका कारण परिवारले सुरुमा स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरायो । औषधि सेवन गर्दा केही समय सहज भए पनि समस्या पूर्ण रूपमा समाधान भएन ।
उपचारका लागि विभिन्न अस्पताल धाउनुपर्यो
समस्या बढ्दै गएपछि परिवारले तौलिहवा र बुटवलका अस्पतालहरूमा उपचार गरायो । तर पनि स्वास्थ्यमा सुधार आएन । बुटवलमा गरिएको इन्डोस्कोपी परीक्षणमा पेट तथा आन्द्रामा घाउ देखिएको बताइयो । चिकित्सकहरूले थप कारण पत्ता लगाउन सीटी स्क्यान गर्न सुझाव दिए ।
नेपालमा थप उपचार खर्चिलो हुने अनुमानपछि परिवारले भारतको गोरखपुर लैजाने निर्णय गर्यो । गोरखपुरको अस्पतालमा भर्ना गरी सीटी स्क्यान तथा अन्य परीक्षण गरियो ।
परिवारका अनुसार त्यहाँका चिकित्सकहरूले परीक्षण रिपोर्ट हेरेपछि पहिले गरिएको सिजेरियन शल्यक्रियासँग सम्बन्धित समस्या हुन सक्ने आशंका व्यक्त गरे । उनीहरूले अघिल्लो अप्रेसनका क्रममा पेटभित्र कुनै वस्तु छुटेको हुन सक्ने सम्भावना औंल्याउँदै पहिले शल्यक्रिया गरिएको अस्पतालमै गएर थप परामर्श लिन सुझाव दिए ।
पुनः भैरहवा मेडिकल कलेजमा भर्ना
गोरखपुरबाट प्राप्त रिपोर्टहरू लिएर परिवार पुनः युनिभर्सल कलेज अफ मेडिकल साइन्स पुग्यो । अस्पतालले ती रिपोर्ट अध्ययन गरी विद्यावतीलाई जेठ २७ गते भर्ना गरेको परिवारको भनाइ छ ।
परिवारका अनुसार अस्पतालले आफ्नै परीक्षण तथा स्क्यानहरू गरायो । तर ती परीक्षणको नतिजा स्पष्ट रूपमा परिवारलाई उपलब्ध गराइएन । त्यसपछि चिकित्सकहरूले बिरामीको अवस्था जटिल रहेको भन्दै शल्यक्रिया आवश्यक रहेको बताए ।
असार १ गते विद्यावतीको पुनः शल्यक्रिया गरियो । करिब ६–७ घण्टासम्म चलेको उक्त शल्यक्रियापछि उनको अवस्था अझ गम्भीर बनेको बताइयो । उनलाई भेन्टिलेटरमा राखेर सघन उपचार कक्षमा उपचार गराइयो ।
तर शल्यक्रियाको दुई दिनपछि, असार ३ गते बिहान अस्पतालले विद्यावतीको मृत्यु भएको जानकारी परिवारलाई दियो ।
परिवारको आरोप : ‘पेटबाट के निकालियो भन्ने जानकारी दिइएन’
विद्यावतीका जेठाजु पारसराम कोरीका अनुसार शल्यक्रियापछि परिवारले बारम्बार पेटबाट के निकालियो, वास्तविक समस्या के थियो र मृत्युको कारण के हो भनेर सोध्दा स्पष्ट जानकारी दिइएन ।
उनका अनुसार अस्पतालले परीक्षण रिपोर्टहरू समेत परिवारलाई उपलब्ध गराएन । भारतबाट ल्याइएका केही कागजातहरू पनि अस्पतालले फिर्ता नदिएको परिवारको आरोप छ ।
परिवारले अस्पताललाई गम्भीर आरोप लगाएको छ । सुत्केरी भएको बेला शल्यक्रिया गर्दा सर्जिकल स्पन्ज छुटेको र त्यो अहिले निकालिएको दावी परिवारको छ । उक्त स्पन्जका कारण लामो समयसम्म शरीरभित्र संक्रमण फैलिएको र त्यसले आन्द्रा, पेट तथा अन्य अंगहरूमा गम्भीर असर पारेको उनीहरूले बताएका छन् ।
मृत्युपछि परिवारले प्रहरीलाई खबर गरी घटनाको निष्पक्ष अनुसन्धानको माग गरेको थियो । न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएपछि शव बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगेर पोस्टमार्टम गरिएको थियो । परिवारका अनुसार अस्पताल व्यवस्थापनले उपचार खर्च तथा थप रकम दिने प्रस्ताव गरेको भए पनि उनीहरूले आर्थिक क्षतिपूर्तिभन्दा न्याय र दोषीमाथि कारबाहीको माग गरेका छन् ।
अस्पतालको भनाइ : छानबिनअघि निष्कर्षमा पुग्न मिल्दैन
युनिभर्सल कलेज अफ मेडिकल साइन्सका प्रवक्ता सुशील गुरुङले घटनालाई अस्पतालले गम्भीर रूपमा लिएको बताएका छन् ।
उनका अनुसार बिरामीको मृत्युबारे अस्पताल प्रशासनलाई औपचारिक जानकारी प्राप्त भएपछि तत्काल आन्तरिक छानबिन समिति गठन गरिएको छ । वरिष्ठ चिकित्सक तथा प्राध्यापक डा. मनोर जोशीको संयोजकत्वमा गठित समितिले घटनाको बारेमा अध्ययन गरिरहेको छ ।
उनले बिरामीको सम्पूर्ण उपचार इतिहास, शल्यक्रिया प्रक्रिया, परीक्षण प्रतिवेदन तथा पोस्टमार्टम रिपोर्ट अध्ययन नगरी चिकित्सकीय लापरबाही भएको वा नभएको निष्कर्ष निकाल्न नमिल्ने बताए ।
गुरुङका अनुसार पोस्टमार्टम प्रतिवेदन सम्बन्धित सरकारी निकाय र फरेन्सिक टोलीसँग रहने भएकाले उक्त प्रतिवेदन प्राप्त नभएसम्म मृत्युको वास्तविक कारणबारे अस्पतालले आधिकारिक धारणा सार्वजनिक गर्न सक्दैन ।
उनले अस्पतालले कानुनी प्रक्रिया तथा अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको र छानबिन प्रतिवेदन प्राप्त भएपछि आवश्यक निर्णय लिइने बताए ।
पोस्टमार्टम र छानबिन प्रतिवेदनको प्रतीक्षा
यो घटनालाई वर्षा भण्डारीले आफ्नो टिकटक अकाउन्ट मार्फत सार्वजनिक गरेपछि निष्पक्ष छानबिन र कारबाहीको माग गर्नेहरूको संख्या बढेको छ।
यो घटनाले नेपालमा चिकित्सकीय लापरबाही, बिरामीको सूचनाको अधिकार, अस्पतालको जवाफदेहिता र उपचार प्रक्रियाको पारदर्शितामाथि गम्भीर बहस सुरु गराएको वर्षा भण्डारीले बताइन् ।
हाल घटनाको वास्तविकता पोस्टमार्टम प्रतिवेदन, अस्पतालको आन्तरिक छानबिन तथा सम्भावित कानुनी अनुसन्धानबाट मात्र स्पष्ट हुने देखिन्छ । परिवारले दोषीमाथि कारबाही र न्यायको माग गरिरहेको छ भने अस्पतालले निष्पक्ष छानबिनपछि मात्र निष्कर्षमा पुग्न सकिने बताइरहेको छ ।
प्रतिक्रिया 4