२०२६ को विश्वकपमा एउटा ट्रेन्डले सबैको ध्यान खिचेको छ, चम्किलो गुलाबी बुट्स । मैदानमा स्टार खेलाडीहरूदेखि युवा प्रतिभासम्मले ‘इलेक्ट्रिक फ्युसिया’ रंगका बुट लगाइरहेका छन् ।
किन यति लोकप्रिय ?
हरियो मैदानमा चम्किलो गुलाबी रंग टाढाबाटै स्पष्ट देखिन्छ । टेलिभिजन, मोबाइल स्क्रिन र स्टेडियमका दर्शकका लागि पनि यो सजिलै छुट्टिने रङ हो । यही कारण खेलाडी र ब्रान्ड दुवैका लागि यो आकर्षक विकल्प बनेको मानिन्छ ।
नाइकीको ‘मर्सुरियल’ प्रभाव
नाइकीले आफ्नो चर्चित मेरिक्युरिल श्रृंखलामा इलेक्ट्रिक फ्युसिया रंग ल्याएपछि यसको चर्चा झन् बढ्यो । तीव्र गतिका खेलाडीहरूलाई लक्षित गरेर बनाइएका यी बुट्सलाई धेरै स्टार फरवार्ड र विङ्गरहरूले प्रयोग गरिरहेका छन् । मैदानमा यसको चमकले तुरुन्तै ध्यान तान्छ ।
एडिडास र पुमाको प्रतिस्पर्धा
नाइकी मात्र होइन, एडिडास र पुमाले पनि गुलाबी रंगलाई प्रमुख डिजाइनका रूपमा अघि सारे। एडिडासको एफ५० र पुमाकोअल्ट्रा श्रृंखलामा देखिएको फ्युसिया डिजाइनले खेलाडीहरूलाई आकर्षित गर्यो । तीन ठूला ब्रान्डबीचको प्रतिस्पर्धाले यो ट्रेन्डलाई अझ बलियो बनायो ।
बुट्स मात्र होइन, पहिचान पनि
विश्वकप जस्तो ठूलो मञ्चमा खेलाडीहरूले लगाएको हरेक वस्तु चर्चाको विषय बन्छ । फुटबलमा बुट्स खेल सामग्रीभन्दा धेरै बढी भइसकेका छन्। खेलाडीहरूले आफ्नो शैली, आत्मविश्वास र पहिचान देखाउन पनि विशेष डिजाइन रोज्ने गर्छन् । सामाजिक सञ्जालमा फोटो र भिडियो भाइरल हुँदा यस्ता आकर्षक रंगका बुट्स झन् छिटो चर्चामा आउँछन् ।