News Summary
Generated by OK AI. Editorially reviewed.- जलजला उपन्यास नेपालका ज्येष्ठ कम्युनिष्ट नेता मोहनविक्रम सिंहकी दिवङ्गत प्रेमिका विद्या ढकाल (जलजला) सँगको प्रेमकथामा आधारित छ ।
- १३२० पृष्ठको \'का. जलजला\' उपन्यासमा मोहनविक्रमकै जीवन, वैचारिक निष्ठा, मार्क्सवादी दर्शन र प्रेमको अमरतालाई मुख्य विषयवस्तु बनाइएको छ ।
- उपन्यासले पञ्चायतकालमा प्युठान र रोल्पाको थवाङमा भएको भूमिगत कम्युनिष्ट आन्दोलन, वर्गसङ्घर्ष र महिला स्वतन्त्रताको पक्षलाई पनि व्यापक रूपमा उठाएको छ ।
- मोहनविक्रमकी हालकी श्रीमती दुर्गा पौडेलद्वारा प्रकाशित उपन्यास हो यो ।
केही पृष्ठभूमि
१. हामीले नेकपा (माले) को राजनीति थालेर केही अधकल्चो रूपमा कम्युनिस्ट आन्दोलनबारे बुझ्दै गर्दा, ‘नेकपा माले’ उकालो लागिरहेको र ‘नेकपा मशाल’ शक्ति जोगाउन सङ्घर्ष गरिरहेको अवस्था थियो। यी दुई शक्तिशाली कम्युनिस्ट घटक थिए। उनीहरू बीच थुसिडाइड्स ट्र्यापमा परेका साम्राज्यको जस्तो शीतयुद्ध जारी थियो। एकअर्का बीच सहकार्यसँगै आलोचना, विरोध र कतै-कतै आक्रमण अनि झडपका घटना पनि हुन्थे। एकअर्काका कमजोरी खोज्ने र त्यसलाई प्रचार गरेर शक्ति कमजोर बनाउने होडबाजी चल्थ्यो।
त्यस्तैमा २०३९ सालतिर होला, एउटा चर्चा शिखरमा थियो- ‘कमरेड जलजला (विद्या ढकाल) र कमरेड मोहनविक्रम सिंहले प्रेम गरेको आरोपमा मशालले कारबाही गरेको छ। मोहनविक्रम सिंहलाई महामन्त्रीबाट हटाइएको थियो।’ त्यही बेला जलजलाको दिल्लीमा एक्सिडेन्टमा परेर मृत्यु भएको समाचार पनि आयो। जलजलालाई आफ्नै साथीहरूले जानाजान घचेटेर एक्सिडेन्ट गराएका हुन् भन्ने पनि मालेभित्र गाइँगुइँ चल्थ्यो।
मोहनविक्रमले घरमा बिहे गरेकी पत्नी र सन्तान हुँदाहुँदै आफूभन्दा २० वर्ष कम उमेरकी पार्टीकै होलटाइमर (पूर्णकालीन) कार्यकर्तासँग प्रेम गरेको कुरा भेटिएपछि त्यसलाई ठूलै नैतिकताको विषय बनाइएको थियो। मशालको विरोध गर्न यो एउटा गतिलो हतियार भेटिए जस्तो भएको थियो।
२. २०५८ सालतिर हुनुपर्छ। म ‘जनआस्था’ साप्ताहिकमा नियमित रूपमा साप्ताहिक ‘कोलम’ लेख्थें। त्यतिबेला भर्खर कमरेड मोहनविक्रम (जो कारबाही फुकुवा भएर पनि वर्षौंदेखि मशालका महामन्त्री रहिआएका थिए) ले कमरेड दुर्गा पौडेलसँग बिहे गरेका थिए। खगेन्द्र सङ्ग्रौलाले कतै लेख्नुभयो मोहनविक्रमको बिहेलाई अलि खिसीटिउरी गरेर। मैले जनआस्थामा खगेन्द्र सङ्ग्रौलाको तर्कको खण्डन गर्दै लेखें- ‘यो त आलोचना गर्नुपर्ने विषय होइन। कमसेकम अब उनी आफ्नी कान्छी पत्नीको सहयोगमा कुण्ठा र प्रेमको भोकबाट मुक्त भएर राजनीतिमा लागिरहनेछन्, उनको वृद्धावस्था पनि सुरक्षित रहला ।’
३. २०७० साल आसपास हुनुपर्छ, जनमोर्चाका एक जना नेता मनोज भट्टले निकैपटक फोन गरेर कमरेड मोहनविक्रम सिंहसँग भेट्न बोलाउनुभयो। कमरेड मोहनविक्रम कम्युनिस्ट आन्दोलनका सबैभन्दा ज्येष्ठ उमेर भएकामध्ये एक जना सिनियर नेता हुनुहुन्थ्यो। म र लक्ष्मीजी सँगै गयौं। बानेश्वरको स्ट्यान्डर्ड चार्टर्डको अफिसछेउको माथिल्लो तलामा रहेको एउटा रेस्टुरेन्टमा उहाँसँग भेट भयो। पछि नरेन्द्रजङ्ग पिटर पनि आउनुभयो। यसअगाडि कमरेड एम.बी.लाई कार्यक्रमहरूमा देखे-सुनेको भए पनि प्रत्यक्ष भेट भएर यसरी कुरा गर्ने अवसर मिलेको थिएन। त्यसै बेला उहाँले हामीलाई एकपटक प्युठानको ओखरकोट घुम्न जाने प्रस्ताव गर्नुभयो। म उहाँले भनेको समयमा जान सक्ने अनुकूलतामा थिइनँ। यी पुराना कम्युनिस्ट नेतासँगै प्युठान पुगेर त्यहाँ यो समूहले र खासगरी मोहनविक्रमले गरेको सङ्गठन र सङ्घर्षको इतिहास बुझ्ने अवसरबाट वञ्चित भइयो।
कमरेड महामन्त्रीको डेरा
केही वर्षयता मैले पुराना कम्युनिस्ट नेताहरूसँग भेट्ने, संवाद गर्ने र सकेसम्म त्यसको भिडियो/अडियो अभिलेख पनि राख्ने प्रयास गर्दै आएको छु। यस क्रममा कमरेड मोहन वैद्य ‘किरण’ लाई गत कात्तिकमा उहाँको डेरामा पुगेर भेटेको थिएँ। कमरेड चित्रबहादुर केसीलाई जनमोर्चाको केन्द्रीय कार्यालयमा, जहाँ उहाँको बसाइ पनि थियो। र, नेपालको बौद्धिक विमर्शमा मार्क्सवादको प्रभावबारे मेरो पछिल्लो अध्ययनको सिलसिलामा गएको पुस महिनाको पहिलो हप्ता कमरेड मोहनविक्रम सिंहको डेरा वनस्थली (ढुङ्गेधारा) पुगेको थिएँ। मलाई बाटोसम्म लिन कलेज पढ्दै गरेका उहाँका छोरा आइपुगे। गल्लीभित्र केही घुम्ती पार गरेपछि उहाँको डेरामा पुगियो।

कमरेड दुर्गा पौडेल प्युठानतिर जानुभएको रहेछ। कमरेड मोहनविक्रम (कमरेड अजित, कमरेड आनन्द, आनन्दबहादुर, एम.बी.) लेन्सको सहायतामा केही पढ्दै हुनुहुन्थ्यो। उहाँको कोठाको झ्यालबाहिर एउटा ठूलो टिनको छाना भएको टहरो जस्तो थियो, जसमा एउटा चर्च थियो र प्रार्थनाका समयमा हल्ला आउँथ्यो। कोठा चिसै थियो। एउटा अलि ठूलो कोठा पुस्तकहरू र डकुमेन्टले भरिएको थियो।
उहाँ बस्ने कोठामा एउटा धेरै पुरानो भएकोले पातलो भइसकेको र खुइलिएको सोफा थियो। आगन्तुकहरूसँग भेट्ने त्यही कोठामा हामी विद्यार्थी हुँदा र पछि परिवार बनेपछिका सङ्घर्षका दिनहरूमा हुने जस्तै ओछ्यान थियो। भित्तामा रहेको काठका फलेकवाला र्याकमा केही पुस्तकहरू थिए।
कुनै समयका प्युठानकै धनी जमिनदारका छोरा, काठमाडौंको पकनाजोलमा जन्मेका र यतै अध्ययन गरेका, आरम्भमा गान्धीवादी र हिन्दुवादी सङ्गठनमा लागेर २०१४ सालयता लगातार कम्युनिस्ट पार्टीको केन्द्रीय तहमा रहेर काम गरेका ९१ वर्षीय कमरेडको दैनिक जीवनको अवस्था काठमाडौंको निम्नमध्यम वर्गीय श्रमिक परिवारको जस्तो देखिन्थ्यो। पछिल्लो समय भेटेका किरण, चित्रबहादुर र मोहनविक्रमलाई देख्दा उनीहरूको सादगीपूर्ण जीवन र कम्युनिस्ट आदर्शप्रतिको विश्वासले उहाँहरूप्रति मनमा श्रद्धा जाग्थ्यो। भौतिक संसारप्रतिको मोह उच्च भएको उपभोक्तावादको समयमा, कम्युनिस्ट नेताहरूको हाइफाइ देखेर दुनियाँले जिब्रो काढ्ने गरेको यो जमानामा उहाँहरूको सादगी सम्मानयोग्य र अनुकरणीय छ। मनमनमा कमरेडले आफ्नो बाँकी जीवन कसरी न्यानो र तातो पाएर बिताउन सक्लान् भन्ने एकप्रकारको चिन्ता पनि भयो।
आँखा कमजोर भएका कमरेड एम.बी. कहिले छोरालाई पढ्न लगाएर सुन्ने र कहिले आफूले लेन्स कागजमा डुलाउँदै पढ्ने गर्दा रहेछन्। लेख्नुपर्दा अरू कसैलाई डिक्टेट गराएर लेख्नुपर्ने। तर निरन्तर अपडेट ! थाकेको, बुढो भएको र ‘अब म सुस्ताउने बेला भयो’ भन्ने भाव यिनमा देखिंदैनथ्यो। म त्यहीं छँदा आएका कैयौं फोनमा उनी आउने दिनहरूका लागि भेटघाट र बैठकका योजनाहरू बनाइरहेका थिए। हिंड्ने बेलामा उनले बडो आदरपूर्वक आफ्नो कृति ‘जलजला’ उपन्यास र एउटा समीक्षाको पुस्तक पनि दिइपठाए।
‘का. जलजला‘ उपन्यासमा के छ ?
१. कथा सङ्क्षेप: ‘का. जलजला’ १३२० पेजको विशालकाय उपन्यास हो। जनशिक्षा गृहका नाममा दुर्गा पौडेलले प्रकाशन गरेको यो उपन्यास मोहनविक्रम सिंहको जीवन र जीवनदृष्टिको समग्रता हो। उनले किन संस्मरणका रूपमा नलेखेर यसलाई उपन्यासको रूप दिने झन्झट उठाएका होलान् भन्ने पनि उनलाई चिनेजानेका पाठकहरूलाई पर्न सक्छ भन्ने कुरा पनि लेखकले पहिले नै ठम्याएका छन् र स्पष्टीकरण दिंदै लेखेका पनि छन्- ‘आत्मकथा, जीवनी वा इतिहासमा जुन सत्यले प्रवेश गर्न सक्दैन, त्यसको प्रवेश उपन्यासमा हुन्छ (पेज ६)।’
उपन्यासका अधिकांश पात्र यथार्थ जीवनका, उनकै साथीहरू र कमरेडहरूबाट राखिएका छन्। धेरैजसो सार्वजनिक जीवनमा परिचित नाम नै यसमा पात्रका रूपमा परेका छन्- निर्मल लामा, बर्मन बुढा, खगुलाल गुरुङ, प्रतिमान बोहरा, चित्रबहादुर केसी, हर्के, दुर्गा पौडेल, रश्मि नेपाली, जीवन शर्मा आदि। यसो गरेर उनले आफ्ना कमरेडहरूको सम्मान पनि गरेका छन्।
कथामा जे छ, त्यो चाहिं तत्कालीन नेकपाको चौथो महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित कमरेड मोहनविक्रम सिंह (उर्फ आनन्द वा अजित) र २०३४ सालबाट पार्टीमा पूर्णकालीन कार्यकर्ता बनेर थवाङमा १० महिना भूमिगत रूपमा सङ्गठन बनाउन पुगेकी काठमाडौं र चितवनमा हुर्केकी, वीरगन्जमा क्याम्पस पढेकी क्रान्तिकारी महिला नेतृ विद्या ढकाल (उर्फ कमरेड जलजला) बीचको प्रेमकथा हो। (हामी मालेवालाहरू आपसमा ‘कमरेड‘ प्रयोग गर्थ्यौं, मशालवालाहरू ‘कामरेड‘ भन्थे।) आफूले भूमिगत बनाएर रोल्पाको जलजला हिमालमुनि रहेको थवाङ पठाउनुअघि कमरेड अजित (एम.बी.) ले विद्याको नाम ‘जलजला’ राखेका हुन्छन्।
आफ्नी पहिलो पत्नीसँग दूरी बढ्दै गएको र आपसमा प्रेमको भावना सकिएका कारण एक्लो बनेका अजित जलजलाको लडाकुपना, उनको रूप र ज्ञान दुवैप्रति आकर्षित हुन्छन् र प्रेम गर्न थाल्छन्। जलजला पनि उनलाई प्रेम गर्छिन्। जलजला भूमिगत रूपमा पार्टीको काममा सक्रिय रहेर पहाड-तराई, गाउँतिर सङ्गठन गर्दै, सङ्घर्षमा खारिंदै जान्छिन्। उनको क्रान्तिप्रतिको समर्पण र पार्टीप्रतिको निष्ठा बढ्दै जान्छ।
त्यही बेला जलजला र अजितका बीच भएको प्रेमका कारण उनीहरूलाई केही समय कारबाही गरिएको हुन्छ। कारबाहीका समयमा अजित (एम.बी.) दक्षिण भारतमा यायावरीको दिन बिताउँछन्, मजदूरी, चौकीदारी र अध्ययन गर्छन्। जलजलासँग भेट्न पाउँदैनन्। उनी बनारस बसेकी छिन्। पार्टीले तोकेको भूमिकामा छन्। आपसमा पत्राचार गरिरहन्छन् र कठिन अवस्थामा पनि प्रेम र क्रान्तिप्रतिको निष्ठा र विश्वास जगाइरहेकी छन्।
उनीहरू फेरि पार्टीको भूमिकामा फर्कन्छन्। उनीहरू बीच प्रेम झाँगिंदै गएको छ। जलजलालाई दिल्लीमा बसेर अध्ययन पनि गर्ने र पार्टीको वैदेशिक सम्बन्ध विस्तार गर्न काम गर्ने योजना अनुसार जलजला (विद्या ढकाल) दिल्ली गएकी हुन्छिन्। (संयोग के भने, उनका भाइ योगेन्द्र ढकाल, जो अहिले एमालेमा छन्, केही वर्ष पहिले माओवादीका तर्फबाट अस्ट्रेलियाका लागि राजदूत भएका थिए; उपन्यासमा विद्याका भाइहरूको नाममा योगेन्द्र ढकाल पनि आउँछन्।) त्यहीं एउटा बसमा चढेर जेएनयूतिर गइरहेको बेला बसबाट ओर्लंदै गर्दा भएको दुर्घटनामा का. जलजलाको निधन हुन्छ। जलजलाको निधन त हुन्छ तर का. अजित अर्थात् मोहनविक्रम सिंह उनलाई बिर्सन सक्दैनन्।

उपन्यास पढ्दा यस्तो लाग्छ- त्यतिबेला ५० वर्ष पुग्दै गरेका कमरेड एम.बी.ले त्यसयताका चालीस वर्षभन्दा बढीको उमेर विद्या ढकाल अर्थात् ‘कामरेड जलजला’ का नाममा बाँचेका छन्। उनको बिहे त दुर्गासँग भयो (११ वर्ष हुँदाकी दुर्गालाई जलजलाले भेटेको र दुर्गा जलजलाबाट प्रभावित भएको बनाएका छन् उपन्यासमा, जोसँग पछि एम.बी.ले बिहे गरे), सन्तानहरू पनि भए। उनी पार्टीको काममा सक्रिय पनि रहे, महामन्त्री भइरहेका छन्।
लेख, रचना, अन्तर्वार्ताहरू र विभिन्न फोरममा गरेका भाषण मार्फत उनले आफ्नो विश्वास अनुसार मार्क्सवाद, लेनिनवाद, माओ विचारधाराका पक्षमा र समाजवादी क्रान्तिका पक्षमा आफूलाई व्यक्त गरिरहेका छन्। तर यस्तो लाग्छ- बाहिर जे-जस्तो देखिन्छन्, त्यो मोहनविक्रमको काया मात्र हो; भित्रबाट उनी जे हुन्, त्यो जलजलाको प्रेमी ‘अजित’ को प्रतिच्छायाँ मात्र हुन्।
उपन्यासमा अरू कुरा पनि छन्, जसको चर्चा पछि गरौंला, तर यसको मूल कथावस्तु प्रेमको उच्चताको बयान गर्नु हो। यस्तो लाग्छ, जलजला र अजितका बीचको प्रेमलाई संसारका अरू प्रेमी-प्रेमिकाका कथा झैं अमर बनाउन यो उपन्यासको सहारा लिइएको हो। उपन्यासमा उनी आफूले अर्की पत्नी हुँदाहुँदै जलजलासँग गरेको प्रेम सही थियो, यसबारे उठाइएको नैतिकता सम्बन्धी प्रश्न गलत हुन् भनेर स्थापित गर्न धेरै समय खर्च गर्छन्।
उनले आफ्नो कथा भन्नैका लागि केही पात्रहरू उभ्याएका छन्। दृश्यमा सुनन्दा यो कथाकी मूल पात्र हुन्, जो उत्तराखण्डको पिथौरागढस्थित नन्दादेवी हिमालको काखमा धार्चुला जिल्लामा हुर्के-बढेकी हुन्। कथा अघि बढाउन उनले यी गढवालीलाई पर्वतारोही, लखनऊका कुनै गान्धीवादी परिवारको सहयोगमा पढिरहेकी, आफू सानो हुँदा परम्परा अनुसार गाउँको हरिसिंहसित मगनी गरिएकी, तर हुर्केपछि उससँग बिहे गर्नुपर्ला भनेर आफ्ना काकाको सहयोगमा भागेकी, जेएनयूबाट विद्यावारिधि गर्दै गरेकी एक जना गान्धीवादी बनाएका छन्। सुनन्दालाई हुर्काउँदा नै लेखकले नन्दादेवी पहाडको विस्तारमा चर्चा गरेर जलजला पहाडप्रति आकर्षित गर्ने धागो बनाएका छन्।
रोल्पाको थवाङमा बसिरहेको बेला प्रहरीबाट पक्राउ पर्ने खतरा भएपछि का. जलजला सेल्टर लिएर बसेको घरकी किशोरी विद्या रोकामगरलाई साथमा लिएर लखनऊ पुगेकी हुन्छिन्; जहाँ विद्याका बाबु एउटा चिया पसल गरेर बसेका छन्। सुनन्दा बस्ने गरेको घर या उनकी फुपू बनेकी सरस्वती मार्फत विद्या र सुनन्दाको लक्ष्मी आश्रममा भेट हुन्छ। विद्याले जलजलाको कुरा गर्छिन्, कमरेड अजितका लेख सुनन्दालाई दिन्छिन्। यी दुवैप्रति (लेखहरू र विद्याका मार्फत) सुनन्दामा आकर्षण पैदा भएको छ। विद्या मार्क्सवाद-लेनिनवाद र माओ विचारधाराबाट प्रभावित छिन् भने सुनन्दा गान्धीवादी। दुवैका बीच मित्रता बढाउँदै लगेका छन्।
यही सङ्गतले सुनन्दा विद्यालाई लिएर नेपाल आउँछिन्। प्रहरीले शङ्का गरेर गिरफ्तार गर्छ र सुनन्दाले केही समय कपिलवस्तु र पछि काठमाडौंको सेन्ट्रल जेल बस्नुपर्छ। यो उपकथा मार्फत सुनन्दालाई मार्क्सवादी बनाउन लेखकले भूमिका बनाएका छन्। त्यसपछि सुनन्दा मार्फत लेखकले काठमाडौंको समाज, इतिहास, कला, संस्कृति, देवीदेवता र अष्टमातृकाका कुरा भनेका छन्। सत्यमोहन जोशी, लैनसिंह वाङ्देल, बालकृष्ण पोखरेलहरूसँग भेटाएर नेपालको विविध पक्षबारे आफ्नो ज्ञान पाठकलाई पेलेका-ठेलेका छन्। नेपालका थारू, मगर र खसहरूको इतिहास खोतलेका छन्।
उनले सुनन्दामा क्रमशः जलजलाको आत्मा छिराएका छन्, जसलाई जलजलाको मृत्युपछि भेट्छन् र प्रेम गर्छन्। त्यसअगाडि सुनन्दा मार्फत पेरिस र बर्लिन, मस्को र स्तालिनग्राद, लेनिनग्राद र ग्रिसको भ्रमण गराएर विश्व सभ्यताको कुरा भन्न लगाएका छन्। समाजवादको जित र पूँजीवादको विनाशको अनिवार्यताको बारेमा बहस गरेका छन्।
सुनन्दालाई प्युठान, रोल्पा घुमाएर उनले २०१० सालतिर आफूले प्युठानमा उठाएको वर्गसङ्घर्ष, त्यहाँ कम्युनिस्ट विचार र सङ्गठन विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्तित्वहरूसँग परिचित गराएका छन्। जलजलाधुरी र थवाङको महत्त्वको गीत गाएका छन्। अनि सुनन्दालाई जलजलामा रहेको एउटा गुफा ‘भामा’ को नाम सापट लिएर आफ्नो पार्टीकी सदस्य ‘कमरेड भामा’ बनाएका छन्। उनलाई कमरेड भामा बनाउँदै एक जना मार्क्सवादप्रति प्रतिबद्ध युवती बनेपछि उनीसँग आफूले बिहे गरेका छन्। बिहे बनारसमा पुगेर गङ्गा नदीमा एउटा डुङ्गामा तैरँदै अतिथिहरू सहित गरेका छन्, जसले उनको सौन्दर्य चेतलाई देखाउँछ। सुनन्दालाई कम्युनिस्ट विचारप्रति प्रतिबद्ध बनाएको पुष्टि गर्न पहिलेको कम्युनिस्ट ‘डा. जगदीश’ लाई संशोधनवादी अवसरवादीमा पतन गराएका छन्।

कथाको सार यही हो। यो कथा भन्न उनले आफू कम्युनिस्ट पार्टीमा लागेपछि प्युठानमा गरेका काम, सरकारको दमन, भूमिगत पार्टीको कार्यशैली, पञ्चायतकालमा नेपालमा भएका सङ्घर्ष र तिनका रूपहरूका बारेमा बताएका छन्। त्यहाँसम्म त ठिकै पनि हो। तर उनले कुमाउँ, गढवाल र नन्दादेवी पहाड वरपरको चिपको आन्दोलन, त्यहाँको संस्कृति र दर्शनका बारेमा, युरोप घुम्दाका अनुभवहरू, यो ब्रह्माण्डका बारेमा, सृष्टिका बारेमा, अनेकौं शहरका बारेमा जे-जति कुरा गरेका छन्, तिनले उपन्यासलाई बोझिलो बनाएको छ। पञ्चायतकालमा कम्युनिस्ट पार्टीले गरेको भूमिगत सङ्गठन र सङ्घर्षमा मानिसहरूले गरेका त्याग र उत्सर्गका कथा छन्। क्रान्तिप्रति धोका दिएर वैयक्तिक लाभका लागि लाग्ने अवसरवादीका कथा छन्। र यसो भन्न सकिन्छ- ‘यो उपन्यासमा के छ होइन, के छैन ?’ भन्ने प्रश्न गर्नु उचित हो।
उपन्यासले भन्न खोजेका कुरा: उपन्यास मार्फत उनले भन्न चाहेका मुख्य तीनवटा पक्ष छन्:
पहिलो हो, प्रेमको अमरता: उनले यसका लागि अत्यधिक समय र शक्ति खर्च गरेका छन् उपन्यासमा। उनले पादरी अवेलार्ड र उनकी १५ वर्षीया प्रेमिका होलेसीको प्रेमकथाका लागि केही पाना खर्च गरेका छन्। त्यसको दुःखान्तलाई मार्मिक ढङ्गले पेश गरेका छन्। यो उनको प्रेमगीत हो- जलजलासँगको प्रेम र त्यसको अमरता। ‘प्रेम नभएको वैवाहिक सम्बन्ध रहनुहुन्न’ भन्ने तर्क सहित उनले स्त्री-पुरुष सम्बन्धका विषयमा हाम्रो समाजको प्रचलित नैतिक तथा विवाहसंस्था सम्बन्धी मूल्यप्रणालीलाई चुनौती पनि दिएका छन्। यस मार्फत आफूले पहिलो पत्नीसँग विधिवत् सम्बन्धविच्छेद नगरीकनै अर्को महिलासँग गरेको प्रेम र विवाहका विषयमा उठेका प्रश्नको वैचारिक-दार्शनिक उत्तर दिने प्रयास गरेका छन्। यस्तो लाग्छ, उनी पनि सामन्तवादी समाजका नैतिक मूल्यहरूबाट पीडित थिए र त्यसको भुक्तमान सहँदै अघि बढेका थिए।
दोस्रो हो, मार्क्सवादी दर्शन र सामाजिक क्रान्तिप्रतिको अटुट विश्वास र समर्पण, अनि पार्टीप्रतिको निष्ठा: दास र सामन्तवादी युगका विद्रोहहरू, पूँजीवादी युगका मजदुर आन्दोलनहरूमा भएका सफलता-असफलताका कथा पढेपछि कुनै क्रान्तिकारीका मनमा निराशाको भावना आउन नदिन उनले भनेका छन्… ‘जलजला केहीबेर रोकिइन्। वर्गसङ्घर्ष हुन्छ, क्रान्ति सफल हुन्छ। तर शोषित जनता पुनः नयाँ प्रकारको बन्धनमा बाँधिन्छन्। इतिहासमा बारम्बार त्यस्तै हुँदै आएको छ। कति क्रूर थियो इतिहासको त्यो नियम ! तर यो सम्झेर उनलाई खुसी लाग्यो कि त्यसपछि पनि वर्गसङ्घर्ष रोकिन्न, क्रान्ति रोकिन्न। नयाँ परिस्थितिमा पुनः नयाँ प्रकारले वर्गसङ्घर्ष अगाडि बढ्दै जान्छ। शायद त्यो बेलासम्म, जबसम्म संसारमा शोषण सम्पूर्ण रूपले समाप्त हुनेछैन वा वर्गविहीन समाजको स्थापना हुनेछैन।’ आदर्श जीवनका पक्षमा उभिन प्रेरित गर्दै उनले एकठाउँ भनेका छन्, ‘मैले तँलाई एउटा सल्लाह वा चेतावनी दिन्छु- जीवनमा सिद्धान्त वा आदर्श सबैभन्दा ठूलो कुरा हो। एकपल्ट आफ्नो सिद्धान्त वा विचारबाट पतित भइस् भने तँ पूरै धराशायी हुनेछस्। त्यस्तो भयो भने ज्वाइँसितको तेरो सम्बन्ध पनि सिसा टुटेजस्तो टुक्राटुक्रा हुनेछ।’ विवाहमा अभिभावकले वधुलाई दिएको यो शुभकामनाको अंशले विचारप्रतिको निष्ठाको मूल्यबोध गराउँछ।
तेस्रो, उनले सम्पूर्ण उपन्यासलाई नारीकेन्द्रित बनाएका छन्: नारी पात्रहरू मार्फत नै कथा भनेका छन्। नारीहरूकै कथा र इतिहासका पात्र खोजेका छन्। उनीहरूको साहस, धैर्य, वीरताको गीत गाएका छन्। आफ्ना नारी पात्रहरूलाई क्रान्तिकारी बनाएका छन्। साहसी र लडाकु बन्न लगाएका छन्, जस्तोसुकै कठिनभन्दा कठिन कामका लागि पनि तयार पारेका छन्। हिमालमा चढाउने, कराँते सिकाउने, भूमिगत कठोर जीवनको परीक्षा दिन लगाउने, जेल पठाउने, एक्लै प्रहरी र जङ्गली जन्तुको बीचबाट भाग्न लगाउने गरेका छन्। त्यसका लागि आदिम समाजले सिर्जना गरेका अष्टमातृका लगायतका देवीहरूको बखान गरेका छन्।
महिलाहरूले स्वतन्त्र रूपमा आफ्नो जीवनसाथी रोज्न पाउने अधिकारलाई सम्मान गर्दै उनले तीनवटा चरणमा सुनन्दाले गरेको निर्णयलाई देखाएका छन्। पहिलो, उसले सानोमा परम्परा अनुसार बाजेले रोजेको केटोसँग हुर्केपछि बिहे गर्न अस्वीकार गरिन्; दोस्रो, मस्कोमा पढाउने डा. जगदीशको विवाह प्रस्ताव स्वीकार गरेर मस्को पुगेपछि पनि उनले मार्क्सवादी विचार त्यागेकोले उनीसँग जीवन बिताउन असम्भव हुने भन्दै विवाह रद्द गरिन्; तेस्रो पटक विचार पनि मिल्ने र आफूले प्रेम गर्ने भएकोले आफूभन्दा २० वर्ष बढी उमेरको, आफू भारतीय भएर पनि एक जना नेपाली भूमिगत क्रान्तिकारीसँग बिहे गर्ने निर्णय गरिन्। यस मार्फत उनले सर्वहारा अन्तर्राष्ट्रवादको वकालत गरेको पनि देखिन्छ।
तर यहाँ उनले एउटा गल्ती पनि गरेका छन्- बिहेपछिको महिलाको अस्तित्वलाई पुरुषको सहयोगीको भूमिकामा खुम्च्याएका छन्। सुनन्दा विवाह कार्यक्रममा भन्छिन्, ‘उहाँप्रतिको मेरो दायित्व व्यक्तिगत रूपमा उहाँलाई मद्दत पुर्याउनका लागि मात्र नभएर, उहाँको क्रान्तिकारी जीवनमा सहयोग पुर्याउनका लागि पनि आवश्यक छ भन्ने मैले सोचें।’ (पेज १३१९)
यसरी उनले नारीलाई साहस र वीरताको प्रतिमूर्ति बनाउन खोज्दाखोज्दै, जलजलाको ‘रणचण्डी’ अवतारको कुरा गर्दागर्दै पनि महिलालाई पुरुषको सहयोगीकै तहमा राखेका छन्। त्यस्तै, ‘झिम्रुक नदी र चिबेचराको गीत’ भन्ने आफ्नो कृति पनि उपन्यासमा उद्धृत गरेका छन्, जहाँ क्रान्तिका लागि बलिदान हुन तयार हुनेले ‘बाउको लाडप्यार, छोराको ओठको हाँसो, आमाको प्रेम, बहिनीको ममता र पत्नीका आँखाका आँसु’ भेटी चढाउनुपर्ने कुरा गर्छन्। यसले ‘क्रान्तिको कार्यभार पुरुषको हो’ भन्ने अर्थ लाग्छ। यो कविता पढेपछि पनि यस्तो प्रश्न नगरेर सुनन्दाले पनि यसलाई स्वीकार गरेको सन्देश गएको छ।
महिलाका बारेमा हेर्ने दृष्टि र स्त्री-पुरुष सम्बन्धका विषयमा उपन्यास निकोलाई चेर्निसेव्स्कीको उपन्यास ‘के गर्ने ?’ बाट प्रभावित देखिन्छ। तर उनी आफ्नो प्रेम प्रसङ्गबाट थिचिएका छन्।
के छैन ?
औपन्यासिकताका दृष्टिले मात्र हेर्दा उपन्यासमा हामीले जेलाई ‘उपन्यास’ मान्छौं त्यो बाहेक सबै थोक छ। अनि उपन्यास पनि छ। वास्तविक घटना, पात्र र सन्दर्भहरू छन्, वास्तविक पात्रलाई अवास्तविक घटनामा जोडिएको पनि छ। यो शैलीलाई हेर्दा उपन्यासले ‘उत्तरआधुनिक’ शैली पछ्याएको छ। एम.बी.ले मार्क्सवादप्रति आकर्षित भएर, अनेक अध्ययन गरेर प्राप्त गरेको आफ्नो ज्ञानको विशाल भण्डारलाई प्रशोधन नगरेरै पाठकहरूलाई थोपरेका छन्।
नेपाली साहित्यको, खासगरी लक्ष्मीप्रसाद देवकोटाको साहित्यको समीक्षा गरेका छन्। सुनन्दालाई उनको वास्तविक जीवनकथा र चरित्र निर्माणको समय र सत्यभन्दा अत्यधिक ज्ञानको भार बोकाएका छन्। एउटै पात्रमाथि यस्तो अत्यधिक बोझ थोपरेर उनले स्वयम् पात्रलाई अन्याय गरेका छन्।
आफ्नो इतिहासको एउटा कालखण्डमा त्यतिबेला समाजमा स्थापित नैतिकताको मापदण्ड, पार्टीले बनाएको नैतिकताको मापदण्डका कारण पाउनुपरेको सजाय बारे स्पष्टीकरण दिन उनले लक्ष्मीप्रसाद देवकोटाका रचनादेखि अनेक सन्दर्भको सहारा लिएर दुरुपयोग गरेजस्तो पनि लाग्छ। दर्शन, मार्क्सवाद, क्रान्ति, जिओलोजी, प्राणीशास्त्र, खगोलशास्त्र, ऐतिहासिक भौतिकवाद, समाजवाद, धर्म, मानवशास्त्र, समाजशास्त्र, सोभियत र चिनियाँ समाजवादको पतन, सांस्कृतिक क्रान्तिको समर्थन, कलाको व्याख्या, हिमालको सौन्दर्य चिन्तन… अहो !
के छैन उनको उपन्यासमा ? उनले कमसेकम आफ्नो सक्रिय जीवन शुरु भएपछिको ७० वर्षका अनुभव यसमा समेटेका छन्। यसरी सबै कुरा एउटै पुस्तकमा जबर्जस्ती घुसाउँदा यो बोझिलो र अनावश्यक रूपमा ठूलो पनि भएको छ। कतिपय ठाउँमा मितिहरू नमिलेका, समय-सन्दर्भ नमिलेको भेटिन्छ। सुनन्दालाई विश्वका सबै ज्ञानका शाखाबारे जानकार व्यक्ति बनाएर आफ्नै पात्रको हुर्मत लिएका छन्।
बिट मार्ने
म नेपाली समाज र यसको खासगरी अर्थ–राजनीतिक इतिहासमा रुचि राख्ने औसत ज्ञान भएको पाठक हुँ। कम्युनिस्ट आन्दोलनमा बिताएको समयका कारण मेरो रुचि त्यसको इतिहासप्रति पनि उत्तिकै छ। यसरी हेर्दा यो उपन्यास मेरा लागि एउटा गतिलो रिफ्रेन्स बुक हो।
मोहनविक्रम बाहिरबाट हेर्दा रुखा र अनेक शास्त्रीय शब्दहरूको प्रयोग गरिरहने कारणले ‘कठमुल्लावादी’ कम्युनिस्ट लाग्छन्। २०१० सालमा कम्युनिस्ट पार्टीमा लागेर २०१४ सालदेखि आजपर्यन्त कम्युनिस्ट पार्टीको केन्द्रमा रहेका उनले शक्ति हत्याउन या क्रान्तिको नेतृत्व गर्न त सकेनन्, तर उनी आफू विचारप्रति निरन्तर निष्ठावान् रहे।
पुस्तक पढ्दा उनमा रहेको गहिरो मानवतावाद भेटिन्छ। गान्धीको दर्शनबाट पनि उनी प्रभावित देखिन्छन्। एउटा कमलो र प्रेमी मन भएको ‘कमरेड अजित’ का रूपमा उनले का. जलजलासँग गरेको प्रेम र त्यसका कारणले भएको कारबाही प्रकरणले अहिले पनि यिनलाई निदाउन दिएको छैन। उनले जे लेखे, त्यसका मार्फत उनले नेपाली समाजलाई केही गुन लगाएका छन्। कम्युनिस्टहरूका लागि इतिहासका अनुभवबाट सिक्न सामग्री दिएका छन्। त्यसका लागि हामी कृतज्ञ हुनुपर्छ।
पुस्तक बोझिलो र गह्रौं भए पनि पढ्न धेरै सरल छ, छिट्टै पढ्न सकिने। म नेपाली समाजलाई बुझ्न चाहनेहरू, खासगरी महिला स्वतन्त्रताका पक्षधरहरूले यसलाई पढून् भन्ने चाहन्छु। कमरेड अजितलाई यो पुस्तक लेखिदिएर लगाएको गुनका लागि धन्यवाद। उहाँको सृजनशीलता कायम रहोस्, शुभकामना !
प्रतिक्रिया 4