+
+
Shares
अनुभूति :

कालो सुँगुर र गोदान कर्म

मानिसलाई जस्तै पशुलाई पनि हाम्रो समाजले जातमा बाँडेको छ। गाईले छोएको भए पुण्य मिल्ने, तर सुँगुरले छोयो भने ‘शूद्र पशु’ भनेर गोदान नै गर्नुपर्ने !  

प्रकाश तिवारी प्रकाश तिवारी
२०८३ असार ६ गते १८:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मर्निङ वाकका क्रममा एक पुरोहितले सुँगुरले छुँदा धर्म नष्ट भएको बताएपछि लेखकलाई आफ्नो बाल्यकालको गोदान घटना स्मरण भएको छ ।
  • बाल्यकालमा कुकुरले मारेको सुँगुर फाल्दा छोइएपछि लेखकले घरबाहिर रात बिताएर १०० रुपैयाँको गोदान गरी शुद्धीकरण गर्नुभएको थियो ।
  • मुलुकमा कानूनी रूपमा जातीय विभेद अन्त्य भए पनि समाजमा अझै धार्मिक रूढिवादी र विभेद कायमै रहेको लेखकले उल्लेख गर्नुभएको छ ।

केही दिनअघिको कुरा हो। म मर्निङ वाक्‌मा थिएँ। एउटा कालो सुँगुर ‘च्वाँ–च्वाँ’ गर्दै दगुर्दै आइपुग्यो। सुँगुर पीत बस्त्रधारी ब्राह्मण बाजेको टाङमुनिबाट छिरेर गयो। बाजेले त्यसलाई ‘धर्म नष्ट’ को रूपमा बुझे।

‘सत्यानास ! सत्यानास !’ उनी कराए। ‘पशु हो, के गर्ने त बाजे ?’ मैले भनें। ‘गाईले छोएको भए पुण्य मिल्थ्यो। पशुमध्येको शूद्र पशु हो सुँगुर ! अब गोदान नगरी हुँदैन !’ बाजे च्याँठ्ठिए।

बाजेको मुखबाट निस्केको ‘गोदान नगरी हुन्न’ शब्दले मेरो स्मृतिको पानालाई हाइपरसोनिक गतिमा पल्टाउन शुरु गर्‍यो। म एकै पलकमा नौ–दश वर्ष छँदाको बाल्य जीवनमा अवतरण गरें।

भनिन्छ, मानिस वर्तमानमा सास फेर्छ तर अक्सिजन भने विगतबाट लिइरहेको हुन्छ। स्मृति भन्ने चिज विचित्रको छ। कुनै विषयले दिमागमा हल्का स्पर्श गरिदिनु मात्र पर्छ, नानीदेखिको कहानी याद आउन थाल्छ।

स्मृति चलायमान छ, स्मृति गतिमान छ। जहाँ चाह्यो त्यहीं निमेषभरमा अवतरण गर्न सक्छ स्मृति। हामी स्मृतिको पखेटा भएको घोडामा उड्दै पलभरमा बाल्यकालमा पुग्न सक्छौं। क ख ग घ, ए बी सी डी पढ्दै गरेको उमेरमा फर्कन सक्छौं।

अब नानी छँदाको कहानीतिर जोडिऔं।

मध्याह्नको समय थियो। हाम्रो घरमा दलितले पालेको सुँगुर खोरबाट फुत्केर आइपुग्यो। घरमा ‘तार्के’ (गुरुङ भाषामा सेते) नाम गरेको बडेमाको भोटे कुकुर थियो। धेरैपटक चितुवाले लैजान खोज्दा पनि नसकेको त्यो तार्केले सुँगुरलाई एकै झम्टामा ठहरै बनाइदियो।

घरमा मबाहेक कोही थिएन। कुकुरले सुँगुर मारिदिएपछि म डराएँ। ‘यो घटना चानचुने होइन। दलितले हामीलाई त्यत्तिकै छोड्ने छैन।’ यसै सोचाइका साथ मैले मरेको कालो सुँगुरलाई झ्याइँकुटी पार्दै घरभन्दा परको भीरबाट तल हुर्‍याइदिएँ, ताकि कुकुरले सुँगुर मारेको कसैलाई थाहा नहोस्। सुँगुर गुडुल्किंदै खरबारीको झाडीमा कतै हरायो।

त्यसको केही समयपछि बुबाआमा आइपुग्नुभयो। मैले सुँगुर फाल्न लगेको पल्लाघरे दाइले देखेका रहेछन्। दाइ आइपुगे। दाइले ‘प्रकाशले सुँगुर छोयो। सुँगुरलाई झ्याइँकुटी पारेर खरबारीमा फालिदियो’ भनेर बुबाआमालाई भनिदिए !

यो कुरा सम्बन्धित दलितले पनि थाहा पाउने नै भयो। ऊ सुँगुर खोज्न हाम्रो घरको बाटो भएर आयो। म भने अब के हुने हो भनेर निकै डराएँ। तर घटनाले चर्को रूप लिएन। ‘यसमा गल्ती हाम्रै छ। बाहुनको घरमा सुँगुर आयो, कुकुरले भेट्यो मार्‍यो’ दलितले सामान्य प्रतिक्रिया दियो। उसको प्रतिक्रियामा न कुनै आवेग थियो, न आक्रोश। त्यसको केही समयपछि ऊ सुँगुर खोज्न खरबारीतिर लाग्यो !

म चाहिं बुबाआमाको खप्की खानुपर्ने कुराले आतङ्कित भइरहेको थिएँ। तर उहाँहरूले पनि मलाई नराम्रो केही भन्नुभएन। तर सानोतिनो दण्ड चाहिं दिनुहुने भयो। अर्थात्, त्यस दिन मैले घरबाहिरै रात बिताउनुपर्ने भयो। ‘तैंले भोलि पुरेतसँग बसेर गोदान गर्नुपर्छ। गोदानपछि मात्र घरभित्र पस्न र खान मिल्छ’, बुबाले भन्नुभयो।

मलाई गोदानको वास्तविक अर्थ थाहा थिएन। ‘गोदान भनेको के हो ?’ मैले बुबासँग सोधें।

‘गोदान भनेको गाई दान हो’, बुबाले सम्झाउनुभयो।

गाई दान गर्नुपर्ने सुनेर म पश्चात्तापले ग्रस्त हुन पुगें। सोचें, ‘मैले ब्राह्मणले गर्न नहुने कर्म गर्न पुगेछु। गाई भन्नेबित्तिकै किन्न कहाँ पाइन्छ र ? पाइहाले पनि दश–बीस रुपैयाँमा पाइने वस्तु होइन। मेरा कारणले बुबाले ठूलै खर्च व्यहोर्नुपर्ने भयो। बुबासँग गाई किन्न पुग्ने पैसा छ कि छैन ?’ म भित्रभित्रै चिथोरिएँ, निचोरिएँ। मलाई बुबासँग क्षमा माग्न मन लाग्यो।

‘बुबा ! आज मैले ठूलो गल्ती गरें। मेरा कारणले हजुरले गाई दान गर्नुपर्ने भयो’, म यही फलाक्दै रुन लागें।

म रोएको देख्दा बुबामा दया पलायो। ‘धत्तेरी, यो त रुन पो लाग्यो ! पहिलापहिला गोदान गर्ने भनेपछि गाई नै दान गर्नुपर्दथ्यो। तर हिजोआज गाईको सट्टामा रुपैयाँ राखेर दान गरे पनि हुने चलन चलेको छ। त्यसैले रुपैयाँ राखी गोदान गरौंला, सक्किगो’, सहज भाषामा बुबाले भन्नुभयो। उहाँको भनाइ सुनेपछि म सम्हालिन थालें। मैले आँखाको आँसु पुछें अनि सोधें, ‘उसो भए कति रुपैयाँ राखेर गोदान गर्दा हुन्छ त बुबा ?’

परन्तु स्मृति स्मृति नै हो। मान्छे रहेसम्म स्मृति रहन्छ। स्मृति मर्नलाई मान्छे खुद मर्नुपर्छ। र त बुबाले धोतीमा गाँठो पारेर राखेको सय रुपैयाँ निकालेर गोदान गर्नुपर्दाको परिघटना मेरो स्मृतिको पानामा आजपर्यन्त जीवित छ।

‘त्यस्तै दश–बीस रुपैयाँ, जति सकिन्छ’, बुबाले भन्नुभयो।

दश–बीस रुपैयाँले हुने बुझेपछि मनभित्रको उकुसमुकुसको बादल फाट्दै गयो। तब मैले घरबाहिर रात बिताउने मानसिक तयारी शुरु गरें। मलाई साँझ खानाको रूपमा मिस्रीको काँडापानी मात्र दिइयो। त्यस रात म घरबाहिरै रहें।

कथित ब्राह्मण धर्म उल्लङ्घनको प्रायश्चित्त गर्दै चार प्रहर रात बिताएँ। ‘कालो सुँगुर अछूतले पाल्ने, अछूतले खाने, अछूत जातकै पशु रहेछ’ त्यस रात मैले त्यस्तै सोचें। त्यो उमेरमा त्योभन्दा बढी सोच्न पनि के सक्थें र म !

कालो रात ढल्यो। घामको लालिमा किरणले पूर्वी दिशा रङ्गिन थाल्यो। बुबाले बिहान पुरोहित बोलाएर ल्याउनुभयो। म नुहाइधुवाइ गरी जनै फेरेर गोदानका निम्ति तयार भएँ। केही बेरमा गोदानको समय आयो। बुबाले गोदानका लागि बोहोतामा बीस रुपैयाँ दाम राख्नुभएको के थियो, ‘यो बीस रुपैयाँमा मोचन हुने पाप होइन, सय रुपैयाँ राख्नुस्। नत्र म गोदान गराउन सक्दिनँ’ भन्दै पुरोहित निमोठिन लागे।

बुबामाथि फसाद आइलाग्यो। पुरानो उखान छ- ‘स्याल मार्न जाँदा बाघको खजाना बोक्नू।’ बुबा त्यसरी नै पूर्वतयारीका साथ बस्नुभएको रहेछ। उहाँले आफूले लगाएको सेतो धोतीमा नजर लगाउनुभयो। अनि धोतीमा गाँठो पारेर राखेको सय रुपैयाँको नोट निकालेर बोहोतामा राख्नुभयो। उस्तै परे सय रुपैयाँमा गाई नै किन्न सकिन्थ्यो उतिबेला।

सय रुपैयाँको नोट देखेपछि पुरोहित शरद ऋतुको पूर्णचन्द्र झैं उज्याला भए। अनि प्रसन्नतापूर्वक गोदान कर्ममा लागे। गोदानपछि पवित्र भएर मैले बिहानको खाना खाएँ। यस प्रकार मैले सुँगुर छोएको घटनाले कर्मकाण्डीय अवतरण पायो।

परन्तु स्मृति स्मृति नै हो। मान्छे रहेसम्म स्मृति रहन्छ। स्मृति मर्नलाई मान्छे खुद मर्नुपर्छ। र त बुबाले धोतीमा गाँठो पारेर राखेको सय रुपैयाँ निकालेर गोदान गर्नुपर्दाको परिघटना मेरो स्मृतिको पानामा आजपर्यन्त जीवित छ।

केही घटना यस्ता हुन्छन् जो पानीको फोका झैं फुट्छन्, बिलाउँछन्। तर केही घटना यस्ता पनि हुन्छन् जो सदासर्वदा अजर–अमर रहन्छन्। ‘सुँगुर छोएकोमा घरबाहिर रात बिताउनुपरेको अनि गोदान गरेर शुद्ध भएको’ उक्त घटना आधा शताब्दीभन्दा बढीको भइसक्यो। यस बीचमा पचासौं हिउँद बितिसके। पचासौं ऋतु फेरिइसके। मुलुक राणातन्त्र, पञ्चायततन्त्र, प्रजातन्त्र हुँदै गणतन्त्रमा आइपुग्यो। संविधानले जातीय विभेदलाई दण्डनीय बनायो। मुलुकले जेठ २१ गते ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’ मनाउन थालेको पनि थुप्रै वर्ष भइसक्यो।

परन्तु संविधानमा लेखिंदैमा विभेद हटेर समानता आउने रहेनछ। फलतः मानिस आज पनि छुत छ, अछूत छ। मानिसहरू जस्तै पशुहरू पनि छुत छन्, अछूत छन्।

अथवा यसो भनौं, मानिस जस्तै पशु पनि ब्राह्मण, क्षेत्री, वैश्य, शूद्रमा विभक्त छन् ! त्योभन्दा पनि रोचक कुरा- धर्मका ठेकेदार बाहुन बाजेहरू ‘शूद्र पशु कालो सुँगुर’ सँग छोइएकोमा गोदान कर्म चलाइरहेकै छन् !

लेखक
प्रकाश तिवारी

उपन्यास, समालोचनाका साथै प्रशस्तै कथा, लेख, निबन्ध, कविता प्रकाशित रहेका लेखक समसामयिक विषयमा कलम चलाउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?