News Summary
Generated by OK AI. Editorially reviewed.- लेखक, सम्पादक तथा अनुवादक वसन्त थापाको संस्मरणात्मक निबन्धहरूको सङ्ग्रह ‘औसत एउटा जिन्दगी’ फाइनप्रिन्टद्वारा प्रकाशन भएको छ ।
- उहाँले पुस्तकमा आफ्नो जन्मथलो धनकुटा र हुर्किएको शहर धरानदेखि काठमाडौंसम्मको सङ्घर्षमय जीवनयात्रा र भोगाइहरूलाई इमानदारीपूर्वक लिपिबद्ध गरेका छन् ।
प्रिय मित्र !
म तपाईंलाई मित्र नै भन्छु । यद्यपि हामीबीच निजी चिनजान नभएको हुन सक्छ, यसअघि हाम्रो भेट नभएको हुन सक्छ । तर पढ्ने मनसुबाले यस किताबको पाना पल्टाउने जोकोहीलाई म मित्र मान्छु र मित्र भन्छु । शायद तपाईंले यस अकिञ्चनले लेखेको कुनै रचना यसअघि पढ्नुभएको थियो होला वा कसैले यो पढ्न भनेर सिफारिस गर्यो होला वा अनायाश जिज्ञासावश यो किताब पल्टाउने र पढ्ने विचार तपाईंको मनमा जाग्यो होला ।
जुनसुकै कारणले होस्, यति बेला औसत एउटा जिन्दगी तपाईंको हातमा छ र पढ्ने इरादा लिएर यसका पाना पल्टाउनुभएको छ । यति दुःख गर्ने तपाईंलाई म मित्र किन नमानूँ ?
आफूले लेखेका कुरा कसैले पढिदिँदा लेख्ने मानिसलाई लाग्ने खुसीको मात्रा भनिसाध्य र नापिसाध्य हुँदैन । त्यसैले तपाईंले यस किताबका पाना पल्टाउँदा यस पङ्क्तिकारलाई पनि औधी खुसी लागेको छ । सुरुमै भनिहालूँ, तपाईं एउटा गैरलेखकले लेखनी पढ्न खोज्दै हुनुहुन्छ । मेरो आफ्नै दृष्टि र मान्यतामा म लेखक होइन । यो कुरा म पटक–पटक दोहोर्याउँदै आएको छु ।
मैले मान्दै आएको परिभाषामा लेखक त्यो हो जो गल्प साहित्यको निर्माण गर्छ । गल्प अर्थात् आख्यान अर्थात् किस्सा–कहानी, कथा, उपन्यास आदि । लियो तोल्सतोयको वार एन्ड पिस, विक्रम सेठको अ सुटेबल ब्याय या ग्रेगोरी डेभिड रोबर्टसको सान्ताराम जस्तो एक हजार पृष्ठउपरको नहोला । तर लघु कायाकै भए पनि उपन्यास त लेखेकै हुनुपर्छ लेखक कहलाउनलाई ।
पारिजातको शिरीषको फूल र हर्मन हेसको सिद्धार्थ उपन्यासको भौतिक काया कति नै पो मोटो छ र ! तर हुन् त ती उपन्यास र नेपाली पाठकद्वारा एकदमै मन पराइएका कृति ।
सिद्धार्थ त विश्वविख्यात नै छ । यो मेरो निजी मान्यता हो र यसबारे सविस्तार लेखेको छु यसै किताबमा समेटिएको एउटा प्रबन्धमा । लेखन कर्मलाई मैले जहिले पनि गहन जिम्मेवारीसहितको महत्तम कर्म ठान्दै आएको छु, जुन कर्मलाई मनसा, वाचा, कर्मणा पूरा गर्न आफूलाई असमर्थ पाएको छु ।
एउटा गतिलो गल्पकृति रचना गर्न एउटा असली लेखकले एक वर्ष, दुई वर्ष, तीन वर्ष र कतिपय अवस्थामा त्यसभन्दा लामो समय पनि खर्चेको हुन सक्छ । दीर्घकालको साधना र सङ्कल्पपछि बल्ल निस्कन्छ एउटा उम्दा र पठनीय कृति ।
तर यस किताबमा संकलित रचना लामो समय लगाएर लेखिएका होइनन्, न त एकै सासमा रचिएका नै हुन् । यी त विभिन्न कालखण्डमा लेखिएका रचना हुन्, त्यसमाथि पनि कसै न कसैको आग्रहमा । त्यसरी अनुरोध गर्नेमा थिए पत्रिकाका केही सम्पादक, विशेष परिशिष्टाङ्कका संयोजक र शुभेच्छुकहरू, जसको घचघच्याइले गर्दा म यी रचना कोर्न बाध्य भएँ ।
प्रायः त्यस्ता अनुरोध दसैंको अवसरमा निस्कने विशेषाङ्कका लागि आउने र मैले पनि अनुरोध स्विकार्दै लेख्ने गरेकाले मेरो शिरमा ‘दसैं लेखक’ भन्ने पगरी पनि गुथिदिए केही हितैषी पाठकले । अनि लेखक कुमार नगरकोटीको भाषामा म ‘फर्माइसी लेखक’ ठहरिएँ, कसैको फर्माइसमा लेखिदिने । उनले दिएको त्यस विशेषणलाई म गलत हो पनि भन्दिनँ ।
लेखनका कच्चा पदार्थ वस्तुतः आफ्नै जीवनका अनुभव र अनुभूति हुन् । एक सिद्धहस्त एवम् सिर्जनशील लेखक तिनमा कल्पनाशीलताको मुलम्मा चढाएर कलात्मक शिल्प र सौन्दर्य भर्दै गल्प वा आख्यान प्रस्तुत गर्दछ । आफूमा त्यस्तो सिर्जनात्मक कल्पनाशीलताको सामर्थ्य र हैसियत नभएकाले लेखनको मैले सजिलो बाटो रोजें । त्यो हो आफ्नै अतीततर्फ फर्केर विगतका तीता–मीठा घटना वा प्रसङ्बारे लेख्ने, जसलाई चलनचल्तीमा संस्मरण भन्ने गरिन्छ । यहाँ सङ्कलित संस्मरणहरू मेरा निजी भोगाइका किस्सा–कहानी हुन्, जसलाई मैले जस्ताको तस्तै व्यक्त गर्ने प्रयास गरेको छु मरमसाला वा कुनै प्रकारको रङ नमिसाई ।
०० ०० ००
प्रचलित लोक मान्यताबमोजिम हेर्ने हो भने सफलताको कुनै शिखर छोएको व्यक्ति होइन म । सफलताको मापन व्यक्तिले आफ्नो जीवनकालमा आर्जन गरेको विपुल धनराशी वा हाम्रा पालामा भन्ने गरिएको ‘राजाको सिन्दूर पहिरेर’ हासिल गरेको राज्यको उच्च ओहोदाका आधारमा गरिने आजको बेलाकालमा मैले बाँचेको मेरो निजी जिन्दगीलाई सफल मान्न सकिँदैन ।
एउटा पछौटे मुलुकको शक्तिविहीन एक अदना नागरिक जसरी बाँच्छ त्यसरी नै म बाँचे कुनै यत्नले । अरूले झैं सपना त मैले पनि साँचें, तर सप्तरङ्गी नभई सपाट र औसत प्रकृतिका ‘ब्ल्याक एन्ड ह्वाइट’ सपना । रंगीन सपना देख्ने न त औकात भयो न आँट नै आयो । त्यस्ता रंगीन सपना मनको कुनै कुनामा पलाइहाले पनि तिनलाई झटपट सुधारेर आफ्नै हैसियतबमोजिमको तहमा राखिराख्ने प्रयत्नमै बित्यो यतिन्जेलको जिन्दगी । भग्न सपनाका चोइटाहरू सँगाली राख्नुभन्दा सपना नदेख्नु नै श्रेयस्कर ठानें मैले ।
गरिबीले स्थायी बास गरेको र एक गाग्रो खानेपानी ल्याउन पनि एक घण्टा ओरालो–उकालो हिँड्नुपर्ने एउटा दुखिया गाउँमा पछौटे मानिएको समुदायमा जन्मेको म जस्ता अदनाले ठूला–ठूला सपना देख्नु आफैंमा एउटा विरोधाभास ठहरिने थियो । म जन्मेको ठाउँ धनकुटा बजारनजिकैको डाँडागाउँ थियो । आफू जन्मेको गाउँ मलाई प्रिय र सुन्दर लाग्थ्यो, त्यो बेग्लै कुरा हो (यसबारे मैले एउटा लामो लेख नै लेखेको छु, जो यसै सँगालोमा छ) । म जन्मेको त्यो मगर बस्ती थियो हरेक दृष्टिले पिछडिएको गैबार गाउँ— कोदो, मकै र हिउँदे बालीबाहेक अरु अन्न नफल्ने र हुरहुरे बतासले सदैव बढारिरहने रुखो ठाउँ । चरम गरिबीलाई कायम राखिराख्ने यावत् अवयवबाट युक्त थियो मेरा बाजे–बराजुले खनी–खोस्री जीवन धानेको त्यो गाउँ ।
जतिखेर म जन्मिएँ त्यस बेला राणा शासनले अन्तिम सास फेर्दै थियो र प्रजातन्त्रको भुकभुके उज्यालो ब्याउन लागेको थियो । मुलुकको आबादी त्यस बखत ८० लाख हुँदो हो । कवि भूपी शेरचनले भने झैं अंशबन्डा गर्ने हो भने पनि यो देशको ८० लाख (यो सङ्ख्या मैले राखेको हो) टुक्राहरूमध्ये एउटा टुक्रामाथि मेरो पनि छाप्रो हुनेछ भन्ने अधिकार बोकेर म जन्मिएको थिएँ ।
सिद्धान्तमा ८० लाख टुक्रामध्ये एक टुक्रामाथिको हक बोकेर जन्मिएको भए पनि धनकुटाबाट धरानमा बसाइँ सर्दा त्यहाँ मेरो एक्लो होइन, हाम्रो परिवारको साझा छाप्रो खडा हुनलाई पनि वर्षौं लाग्यो । किनभने धनुकटाबाट दारिद्र्यको कुस्त बोझा बोकेरै धरान झरेको थियो हाम्रो परिवार । आधा बाहुलाको कमिज, हाफ कट्टु र खाली गोडामा नै बित्यो मेरो बाल्यकाल । मासु–भात टन्न खानलाई दसैं आउनुपर्ने र घरमै पारेको कुखुराको डिम्मा खानलाई पनि रक्तअल्पताको रोगी हुनुपर्ने अनि डाक्टरको सिफारिस चाहिने ! विपन्नताको गहिरो भासमा जीवन आकण्ठ डुबेको त्यस समयमा आज खाइयो तर भोलिको बेठेगान हुन्थ्यो । कुनै अन्धकारमय सुरुङ जस्तो भान हुन्थ्यो भविष्य । एक मन चामलको बोरा घरमा भित्रिएका बेला लाग्थ्यो कुनै खजाना भित्रिए झैं ।
जन्मिएको र प्रारम्भिक शैशवकाल बितेको ठाउँ धनकुटा भए पनि धरान हो त्यो ठाउँ जहाँ म हुर्कें, बढें, किशोरवय पार गरेर बालिग भएँ । धुले स्कुलदेखि चुहिने छाना भएको कलेजसम्म पढें, अनेक अभाव र प्रतिकूलताका बाबजुद । धरानको महेन्द्र कलेजबाट बिए उत्तीर्ण भएपछि जीवनको अन्जान चौबाटोअघिल्तिर उभिएको पाएँ आफूलाई । परिवारबाट खर्च पिटाएर विश्वविद्यालयमा पढ्ने आर्थिक हैसियत त थिएन नै, उच्च शिक्षा हासिल गर्ने अदम्य इच्छा पनि थिएन ममा । त्यसो त एसएलसी परीक्षा दिँदादेखि नै परिवारको जीविकोपार्जनमा सघाउन केही न केही टुक्रे काम गर्दै आएको थिएँ । अब स्नातक भइसकेपछि भने कुनै गतिलो नोकरी फेला पार्नु नितान्त जरुरी थियो, आफ्ना लागि मात्र नभई आपूmमुनिका पाँच भाइबहिनीका लागि समेत । तर कस्तो नोकरी खोज्ने र नोकरी कसरी पाउने त्यसबारे बिलकुल अनभिज्ञ । एक मनले भन्थ्यो— “मास्टर हुन आठराई जाऊँ ।” नजिकका केही साथी थिए मलाई त्यस निम्ति हौस्याइरहने । पढाइ र उमेरमा एक–दुई खुड्किलो जेठो साथी नरेश शाक्य त पहिल्यै गइसकेको थियो आठराई ।
०० ०० ००
मलाई काठमाडौं खाल्डोमा आएर भासिनु र टाँसिनु रहेछ । एक जना थिए सप्तरीनिवासी कहलिएका कम्युनिस्ट नेता कृष्णराज बर्मा, मेरा बाका मिल्ने राजनीतिक मित्र र अगुवा । मेरो किंकर्तव्यविमूढताको आभास बालाई भयो क्यार ! केही गरी म आठराई हान्निएको खण्डमा आइपर्ने सम्भावित सङ्कटको पूर्वानुमान पनि लगाएको हुनुपर्छ बाले । बाकै आग्रहमा हुनुपर्छ बर्माजी धरान आएर आकाश–पाताल देखाउँदै मलाई पढ्नुपर्छ, अघि बढ्नुपर्छ, काठमाडौंमा हातमुख जोर्न हामी उपाय लगाऔंला भनेर हौस्याए । वाचाल बर्माजीको अघिल्तिर म निरस्त्र भएँ र राजी भएँ काठमाडौं आउनलाई ।
त्यसअघि संवत् २०२६ फागुनमा घुम्नकै लागि भनेर काठमाडौं आएको थिएँ र युवराज वीरेन्द्रको त्यस बेला सम्पन्न ठाँटिलो विवाहको धुमधाम हेरिसकेको थिएँ । काठमाडौं जान पाए हुन्थ्यो भन्ने मधुरो चाहना पनि थियो मेरो अभ्यन्तरमा ।
यस्तै एकाधिक संयोगहरूको योगका कारण म काठमाडौंमा अवतरित हुन पुगें संवत् २०२७ को शरद् ऋतुको एक दिन । त्यस समयदेखि मैले यहाँ बिताएका वर्षहरूमा अनेक पापड बेलें र अनेक झापड व्यहोरें । चलनचल्तीको भाषामा ‘बाउन्न लात र त्रिपन्न घुस्सा’ सहँदै यहीँ टाँस्सिइरहें, धरान फर्केर गइनँ त्यस ठाउँको माया मनको अन्तरमा बोकी राखेको भए पनि ।

मधेसमा कामत भए वा जमेको कारोबार भए वा कुनै गतिलो नोकरी मिल्ने सम्भावना भए पो फर्केर जानु ! आमाको बुहार्तन र खिज्रिङमिज्रिङ टुमौटे दोकान त्यही थियो । कम्युनिस्ट विचारधाराको आदर्श बोकेकाले दायाँ–बायाँ केही गर्न नजान्ने मेरा बाको एउटा बस कम्पनीमा तुरतुरे तलबको नोकरी त्यही थियो । आमाले बेलाबखत दोहोर्याउने एउटा कहावत थियो— “कहाँ जान्छस् हराउने, बिलाउनेको देशमा ?” काठमाडौंमा पढाइ सकिएपछि धरान फर्केर जानु भनेको मेरा लागि बिलाउनेको देशमा जानुजत्तिकै हुने थियो ।
मैले अहिलेसम्म बाँचेको जीवनको तीनचौथाइ हिस्सा यसै खाल्डोमा बिताएको छु । घरजम यतै गरेको छु, यतैको रैथाने हुने प्रयत्न गरेको छु (नियमबमोजिम बसाइँसराइ गरेर अनि यतैको मतदाता भएर) । तथापि कहाँ बस्नुहुन्छ भन्ने प्रश्नको उत्तरमा जब म सामाखुसी भन्छु तब अर्को पूरक प्रश्न आउनु अवश्यम्भावी हुन्छ । त्यो हो, पहिले घर कहाँ हो ? अर्थात् म यहाँको रैथाने किमार्थ होइन र हुन सक्दिनँ । यद्यपि सामाखुसीमा मैले बासस्थान बनाएर यहाँ बस्न थालेको जमाना भइसक्यो । मूल घर कहाँ हो भन्ने प्रश्नको उत्तरमा म कहिले धनकुटा भनिदिन्छु, कहिले धरान ।
अलि–अलि म धनकुटाको हुँ (जन्मेको ठाउँमा एक टुक्रो भूखण्ड अद्यापि जोगाएको छु) र अलि–अलि धरानको (जहाँ पैतृक सम्पत्तिका रुपमा प्राप्त घडेरी नबेची राखेको छु) । म अधिकार राख्छु दुवै ठाउँको हुँ भन्ने । तर शायद धनुकटाको थोरै र धरानको बढ्ता हुँ म । किनभने मेरो पढाइ, हुर्काइ, बढाइ र ती सबै गर्दाको लडाइँ धरानमै भयो । मलाई लाग्छ आज म जे छु र छैन, म जे हुँ र होइन, म जे सोच्छु र सोच्दिनँ त्यसको प्रारुप एवम् खाकाको निर्माण धरानले नै गरिदिएको थियो मैले थाहा नपाइकन ।
दसै दिशाबाट ओइरिएका दस थरीका बासिन्दा र तिनको समागमबाट उत्पन्न बहुरङ्गी संस्कृति, त्यहाँको वन, जङ्गल, झाडी, खोला खहरे, डाँडाकाँडायुक्त भूगोल, त्यहाँको राजनीतिक सञ्चेतना, बौद्धिक जागरुकता, कला प्रदर्शनी, नाटक, साहित्यिक र सांस्कृतिक अनुष्ठान, त्यहाँका लाइब्रेरी (संवत् २००४ मै खुलेको सार्वजनिक विद्याभवन, संवत् २०१६ मा घरछेउ महाकवि देवकोटाको स्मृतिमा खुलेको लक्ष्मी वाचनालय, ब्रिटिस लाइब्रेरी र नेपाल–सोभियत मैत्री पुस्तकालयका शाखा) ले मेरा वैचारिक दृष्टिकोण र रुचि निर्माणको स्वरुप निर्धारित गरिदिएका थिए ।
त्यसै गरी हिन्दी–अङ्ग्रेजीका अखबार, म्यागेजिन, पुस्तक, विशेष गरी हिन्दी, उर्दूका उपन्यास र अङ्ग्रेजी कार्टुन कमिक्समा पहुँच, दुई–दुई ओटा सिनेमाहलमा हेर्न पाइने हिन्दी सिनेमाको स्वर्णिमकालमा निर्मित चलचित्र, ब्रिटिस घोपा क्याम्पमा हेरेका ब्रिटिस तथा हलिउड सिनेमा, त्यहीँ बस्ने दार्जीलिङे र ब्रिटिस लाहुरेहरूको चालचलनसितको हिमचिम, लन टेनिस र गल्फ खेल्ने, स्विमिङ पुलमा पौडिने, पाइप तान्ने गोरा साहेब र मेमहरूको जीवनशैलीसितको साक्षात्कार, तराई तथा इन्डियन सिमानासितको सन्निकटता यी सबै धरानका यस्ता पक्ष थिए, जसले वैचारिक दृष्टिकोण र रुचि निर्माणको स्वरुप सम्भवतः निर्धारित गरिदिएका थिए मेरो अर्धचेतनमा बसेर । जीवन र विश्वप्रतिको उन्मुक्त र उदात्त दृष्टिकोण प्रदान गरेका थिए ती समग्र कुराको सम्मिश्रित प्रभावले । त्यसैले घरीघरी म फर्किरहन्छु धरानतिर र धरान गाँसिएको आफ्नो अतीततिर । त्यही कारण यसमा परेका प्रबन्धहरूमा धरानको प्रसङ्ग छ्यासछ्यास्ती पाउनुहुनेछ तपाईंले ।
०० ०० ००
धनकुटादेखि काठमाडौंसम्मको दूरी त्यति लामो होइन अचेलभरिको विकसित यातायात र सडक सञ्जालको सन्दर्भमा हेर्दा । यद्यपि म हुर्कंदै गर्दा धनकुटा त परकै कुरा भयो धरानबाटै सतहमार्गबाट काठमाडौं आइपुग्न पनि घटीमा तीन दिन लाग्थ्यो, त्यो पनि भारतीय भूमि हुँदै त्यहाँको रेलमा अनेक कुइच खाएर । भौतिक दूरी छोटै भए पनि म जन्मे–हुर्केको ठाउँदेखि अहिलेसम्म तय गरेको यात्रा मेरा लागि म्याराथन दौड पूरा गर्नुभन्दा कम कठिन र कष्टसाध्य रहेन । सरल रेखामा कहिल्यै चलेन मेरो जीवनको यात्रा, जस्तो सीधा तानिएको लिकमा रेल चल्छ । यो एउटा वक्ररेखासमान थियो, अनेक घुम्ती र मोडहरूले भरिएको । थोरै काम छन् मैले नगरेका र थोरै पेसा छन् मैले नअँगालेका । यसैलाई भन्छन् क्यार नियति ! मेरो नियति यही थियो र हो भने मलाई त्यसउपर कुनै बिस्मात छैन ।
म आफूलाई भाग्यमानी मान्छु यस अर्थमा कि मैले इस्वी संवतको दुई शताब्दीमा टेक्न पाएँ । २०औं शताब्दीको मध्यतिर जन्मेर २१औं शताब्दीको चौथाइ भागमा अहिले हिँड्न पाइरहेछु । यस दौरानमा विज्ञानको कल्पनातीत प्रगति र प्रविधिको बेजोड विकासले निम्त्याएको द्रुत परिवर्तन देखेको छु । त्यसबाट लाभान्वित पनि भएको छु । तर त्यसका साथै मानवीय नैतिक मूल्यको तीव्रतर क्षयीकरण पनि देखिरहेको छु । अहिलेको समयलाई रुढिगत मान्यताअनुसार कलियुग शिरमा चढेको बेला मानिन्छ । हुन पनि सत्य, इमान, न्याय परास्त हुँदै गएको अहिलेको समयमा बाँचिरहेछौं हामी ।
यस्तो विद्रुप समयले जन्माएको घात–प्रतिघात र ऊहापोहको विषमतामाझ शिर नझुकाई जिउन सक्नु अनि टेक्ने वा समाउने कुनै आलम्ब नभएको काठमाडौं खाल्डोमा आफैंद्वारा सिर्जित परिवारको नौकालाई अनेक तुफान र भुमरीका बाबजुद डुब्न नदिई तैराइराख्नु नै मेरो जिन्दगीको सबभन्दा ठूलो उपलब्धि रह्यो । धरानकै कवि टिआर विश्वकर्माद्वारा लेखिएको बाँच्ने ठूलो कविता पढेको थिएँ किशोरवयमा । यस्तै कतै पढेको थिएँ अहिलेको विषमतायुक्त र अन्यायपूर्ण परिवेशमा बाँच्नु आफैंमा सफलता हो भनेर । नबाँच्नु पर्थ्यो , तर बाँचे म । त्यस मानेमा बाँचेर सफलता पाएको छु । अनि बाँच्न सकेको हुनाले मैले आफूलाई ठूलो ठानेको छु ।
अङ्ग्रेजीका ख्यातनामा भारतीय लेखक (जसले पछि ब्रिटिस नागरिकता लिए) नीरद चौधरीले एन अटोबायोग्राफी अफ एन अननोन इन्डियन शीर्षकमा आत्मजीवनी लेखेका थिए । आफ्नो समयमा नाम चलिसकेका लेखक थिए उनी । तैपनि उनले आफूलाई अन्जान र अज्ञात भन्न रुचाए आत्मजीवनी लेख्दा । उनी अज्ञात नभए पनि उनले त्यस बिम्बलाई प्रयोग गर्न रुचाए आफ्नो परिचयका रूपमा । यो पुस्तक भने साँच्ची नै एक अज्ञात र अन्जान नेपालीको जीवनबारेको किस्सा–कहानी हो । तर श्रृंङ्खलाविहीन टुक्रा–टुक्रामा विभक्त । त्यसैले यस कहानीले आत्मकथाको हैसियत राख्दैन, यो केवल विशृङ्खलित संस्मरणहरूको पुलिन्दा हो ।
यस पुलिन्दामा सहृदयी पाठकले प्रेरणादायी प्रसङ्ग कति फेला पार्नुहुनेछ त्यो त म भन्न सक्दिनँ । तर औसत नेपाली जिन्दगीको प्रतिबिम्ब र वास्तविकताको प्रतिच्छाया भने अवश्य फेला पार्नुहुनेछ भन्ने मेरो विश्वास छ । त्यसो हुन सक्यो भने त्यो मेरा लागि सबभन्दा ठूलो सन्तोषको विषय हुनेछ । किनभने आफ्नो लेखनको उपादेयता र ग्रहणशीलताबारे मेरो मनमा जहिले पनि संशय रहने गरेको छ ।
(वसन्त थापा नेपालका चिनिएका लेखक, सम्पादक तथा अनुवादक हुन् । फाइनप्रिन्टबाट प्रकाशन भएको पुस्तक ‘औसत एउटा जिन्दगी’ पुस्तकमा प्रस्तुत रचना ‘गैरलेखकको लेखनी’ शीर्षकमा छापिएको छ । यो त्यसैको उदृतांश हो ।)
प्रतिक्रिया 4