+
+
Shares
कविता :

डान्स, नेपाल, डान्स !

मीनबहादुर विस्ट मीनबहादुर विस्ट
२०८३ जेठ २३ गते १७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुलुकका पूर्वशासक र आफूलाई मुख्य शक्ति ठान्ने राजनीतिक नेताहरू यतिबेला न्यायिक प्रक्रियाको सामना गर्दै अस्तित्व जोगाउने सङ्घर्षमा रहेका छन् ।
  • परिवर्तन र नयाँ सपना बोकेर उदाएका नयाँ नेतृत्वका कारण आशा जागे पनि यसले निम्त्याउन सक्ने थप जोखिमप्रति चिन्ता बढेको छ ।
  • बारम्बार परिवर्तन हुने सत्ता समीकरण र अस्थिर लोकतन्त्रका बीच दूरदराजका आम नागरिक भने निरपेक्ष रूपमा आफ्नो कर्ममा व्यस्त देखिन्छन् ।

डान्स, नेपाल, डान्स-

अब त्यो मादलको पुरानो तालमा होइन,

हावाले बढार्दै ल्याउने हल्लाहरूका तालमा।

चोकभरि भाषणका जंगली झारहरू उम्रिएका छन्,

जहाँ कुनै बेला

देशको गौरव भनिने ‘सुनौला सिंहासन’

इतिहासको धुलोमा लडिरहेको छ।

काठमाडौँ आजकाल

जुवाको अन्तिम दाउ जितेको उन्मत्त खेलाडी जस्तो छ-

आँखामा रहस्यमय चमक,

ओठमा काँपिरहेको मुस्कान।

हिजोसम्म साइरनको हुरीभित्र निदाउने अनुहारहरू

आज आफ्नै ओछ्यानको छाया देखेर झस्किन्छन्।

भट्टीका चिया-कपहरूमा

देशको मधुरो भाग्य उम्लिरहेको छ।

कतै हजामको काँइयो

भोलिको नक्सा कोरिरहेको छ,

कतै पाङ्ग्राले डामेका सडकहरूमा

क्रान्तिका फिरन्ते ज्योतिषहरू

नयाँ ग्रहहरूको भविष्यवाणी गरिरहेका छन्।

चियाको बाफभित्र अनुहार लुकाएर कानेखुसी गर्दै

कोही भन्छ-

‘देशलाई परिवर्तनको ऐतिहासिक संघारमा पुर्‍याएका छौं।’

अर्कोले

थाम्न खोज्दा-खोज्दै फुस्किएको खित्का छोड्दै भन्छ-

‘यहाँ वकवासहरूको घरि-घरि भ्रूणहत्या हुन्छ।’

बिहानै ढोकामा बजारिन्छन् अखबारहरू-

निद्रा भङ्ग गर्न आएका छापामार बुटझैँ।

हिजो जो छाती पिटेर

देशको ‘मियो’ भएको घोषणा गर्थे,

आज उनीहरू अदालतका गल्लीहरूमा

आफ्नै नामको अर्थ खोजिरहेका छन्।

एउटा जीर्ण झ्यालको धमिलो बत्तीमुनि

एक्लै बसेको छ एउटा भूतपूर्व शासक।

उसले बल्ल बुझ्दैछ-

सत्ता त वैशाखको घाममा

ओइलाएर झर्ने फूलको माला पो रहेछ।

रङ्गीन फोनहरू मौन छन्,

दलबलका साइरनहरू थकित छन्,,

र अङ्गरक्षकहरू पनि

आफ्नै छायाबाट तर्सन थालेका छन्।

सडकहरूले ताली बजाइरहेका छन्,

र एउटा मक्किएको पिपल ढलिरहेको छ-

धुलोको बादल उठाउँदै,

हाँगामा झुन्डिएर बसेका गुँडहरू तर्साउँदै,

आकाशमा एउटा क्षणिक रिक्तता कोर्दै।

तर जराहरूलाई राम्रोसँग थाहा छ-

एउटा बूढो रुख ढल्दैमा

कहाँ सकिन्छ

जङ्गलको कथा!

मट्टितेलले भिजेको यो माटोमा

नयाँ नायकहरू मसाल बोकेर दौडिरहेका छन्।

उनीहरूका आँखामा

यो शहर सफा गर्ने सपना छ,

तर उनीहरू बिर्सन्छन्-

सपनाले पनि

कहिलेकाहीँ सिङ्गो शहर जलाउँछ।

आज न्याय र प्रतिशोध

एउटै ऐनाको सामुन्ने उभिएर

एकअर्काको अनुहार नियालिरहेका छन्।

टेलिभिजनका बहसहरूमा

रिस र आक्रोशको व्यापार भइरहेको छ,

र मानिसहरू जाडोमा कोट फेरेझैँ

आफ्नो आस्थाको रङ्ग फेरिरहेका छन्।

आज सिकार हुनेहरू हिजो स्वयम् शिकारी थिए।

के भर, भोलि फेरि

जङ्गलको नियम नै फेरिन सक्छ।

एउटा अनन्त स्क्रोलमा बगिरहेको छ देश-

हतकडी, भाषण, षड्यन्त्र, र उत्सव।

लोकतन्त्र आजभोलि

मोबाइलको स्क्रीनझैँ

घरि-घरि ‘स्लिप मोड’मा जान्छ।

जसलाई जीवित राख्न हरेक क्षण

कसैले न कसैले ‘रिफ्रेस’ गरिरहनुपर्छ।

धेरै टाढा पहाडको एकान्त आँगनमा

एउटा बुढो किसान

रेडियोको मधुरो आवाज सुन्दै

अँध्यारोमा हँसिया धार लगाइरहेको छ।

उसले मुकुटहरूको उदय र पतन देखेको छ,

रगतका नदीहरू बगेको देखेको छ,

सपनाका जङ्गलहरू डढेर खरानी भएको देखेको छ।

त्यसैले ऊ मुस्कुराउँछ-

शान्त, गम्भीर, र निरपेक्ष।

किनभने उसलाई थाहा छ-

यो देश कहिल्यै सीधा रेखामा हिँड्दैन।

यो त कहिले आँधीको छातीमा,

कहिले आगोको जिब्रोमा,

कहिले आफ्नै खरानीमाथि उभिएर,

फेरि जुरुक्क उठ्छ,

र नाच्न थाल्छ।

डान्स, नेपाल, डान्स !

नाच, नेपाल, नाच !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?