News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कवितामा न्याउलीले विरहको गीत गाएको बेला मनमा घना–घनश्याम छाएको वर्णन गरिएको छ।
- कवितामा प्रेम र बिछोडका भावनालाई प्रकृतिसँग जोड्दै यात्राको चित्रण गरिएको छ।
- घरेलु र प्राकृतिक दृश्यहरू मार्फत भावनात्मक स्मृतिहरू र जीवनका चुनौतीहरू प्रस्तुत गरिएको छ।
वनमा न्याउलीले विरहको गीत गाएको बेला
मनमा घना–घनश्याम छाएको बेला
निधारमा मैले भर्खर लगाइदिएका
साइतका अक्षताहरू बोकी
सखारै बेँसी झर्ने गरी जाऊ।
गाउँलेहरूको प्रश्नका प्रहारहरूलाई छल्दैछल्दै
सूर्योदयअगावै दरौँदी तर्ने गरी जाऊ।
मौसम बदलिएको आकाश
आर्द्र–आर्द्र रहेको बेला,
भर्खर गुँड छाडेर हिँडेको मन
द्रवित–द्रवित बनेको बेला,
जाँदाजाँदै, डाँडाको चौतारीमा,
वरपिपलको जोडीले जिस्कायो भने
घरभित्र मझेरीमा रहेको
गग्रेटोमाथि माकुरमाकुर गर्दै गरेका
परेवा–परेवीको जोडी सम्झायो भने,
आँखाबाट बग्ने पिरहरू पुछ्न
प्रेमको चिनोस्वरूप बुहारीले फूलबुट्टा भरेकी
घरबुनाको रुमाल लिएर जाऊ।
उसैले बाटोखाजाका लागि पोको पारेकी
दुई पाथी सातुसामल लिएर जाऊ।
बाटो हिँड्दै गर्दा
पिँढीको बलोमा झुन्ड्याइएको
हल्लिँदै गरेको झोलुङ्गोले झस्कायो भने,
थाङ्नोमा मुस्कुराउँदै गरेकी
खुर्पेचन्द्रको आभाले बोलायो भने,
उसैको पूर्णिमारूपी यात्राको पथिक सम्झी
जङ्घार, खोलाहरू तर्दैतर्दै जाऊ,
पहाड उकालीहरू चढ्दैचढ्दै जाऊ।
काँडाघारीले जेलिएको बाटोमा
बर्दीधारीहरू देखिएमा
लुक्दै–दौडिँदै, दौडिँदै–लुक्दै जाऊ।
नदीतालहरू भेटिएमा
पौडिँदै–पौडिँदै जाऊ।
नदेखेको संसारलाई तिम्रा नयनले देख्दै गर्दा
नबुझेको व्यवहारलाई तिम्रो मनले बुझ्दै गर्दा,
गुँड कुरेर बसेकी म
आँगनमा लेउ नलागेसम्म दिन गनौँला,
पिँढीमा सिस्नु नउम्रेसम्म बाटो कुरौँला।
वर्षाले भित्ताहरू गाल्नुअगाडि
यो घरले कमेरो पायो भने,
ढोकामा ताल्चा लाग्नुअगाडि
यो मनमा खुसी छायो भने,
भुइँचालोले धुरी–खाँबो ढाल्नुअगाडि
घरभित्र दसैँ आयो भने,
फेरि पनि तिमी निधारमा टीका थापौला।
मैले आशीर्वाद दिएपछि
म, तल्लो बाटोका ढुङ्गाहरूका कथा सुनुँला,
तिमी, नुनिलो पानीका डुङ्गाहरूका व्यथा भनौला।
नदेखेको बाटोको पथिक बन्दा
विपनाहरूलाई पर्खालले छेके भने,
बाटोहरूलाई समुद्रले रोके भने,
हामी आआफ्ना सपनाहरूमा भेटौँला,
रात छिप्पिएपछि एकअर्कालाई
ताराहरूमा खोजौँला।
अहिले तिमी
पिठ्युँमा बोकेको झोलालाई
सम्हाल्दैछम्हाल्दै जाऊ,
‘रातो बाक्सा’ समेत नफर्कने ठाउँको यात्रामा
खुकुरीको धारमा पाइला चाल्दै गरेको सम्झिँदै
जोगिँदै–जोगिँदै जाऊ।
झिसमिसेमै बेँसी झर्ने गरी जाऊ,
चराहरूको चिरबिर सुरु हुनुअगावै
मिरमिरेमै झोलुङ्गे पुल तर्ने गरी जाऊ।
प्रतिक्रिया 4