+
+
Shares

हिटलरसम्बन्धी १२ तथ्य, जुन खासै चर्चामा आउँदैनन्

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १३:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एडोल्फ हिटलर अस्ट्रियाको ब्राउनाउ एम इनमा जन्मिएका थिए र पछि १९३० को दशकमा जर्मनीको नागरिक बनेका थिए।
  • सन् १९२३ को असफल विद्रोहपछि हिटलरलाई देशद्रोहको आरोपमा जेल सजाय भयो र उनले \'मेन क्याम्फ\' लेख्न थाले।

इतिहासकै सबैभन्दा चर्चितमध्येका एक पात्र हुन्, एडोल्फ हिटलर । जर्मनको सर्वोच्च पदमा पुगेर दोस्रो विश्वयुद्धलाई निम्ता दिएका उनी एक क्रुर र तानाशाही शासकका रूपमा इतिहासमा दर्ज हुनु पुगेका छन् ।

हिटलरका बारेमा धेरै जानकारी बाहिर आएपनि उनी अझै धेरैका लागि जिज्ञासाको पात्र हुन् । उनी कस्तो थिए ? के गर्थे? कसरी बोल्थे ? उनी कसरी त्यति शक्तिशाली बन्न पुगे ? यी यावत् जिज्ञासा धेरैमा छन् ।

यो लेखमा हिटलर सम्बन्धीका १२ तथ्य चर्चा गरिएको छ ।

१. सुरुमा अस्ट्रियाली थिए

हिटलर जर्मन राष्ट्रवादसँग जोडिए पनि उनी अप्रिल १८८९ मा अस्ट्रियाको ब्राउनाउ एम इनमा जन्मिएका थिए । आफ्ना स्कूलका शिक्षक लियोपोल्ड पोएट्सको प्रभावमा परेर हिटलरले अस्ट्रिया-हंगेरी साम्राज्यलाई घृणा गर्न थाले । र, जर्मनीप्रति वफादारी हुन थाले । सन् १९१४ मा म्युनिखमा बस्दै गर्दा उनी बभेरियाली सेनामा भर्ना भए । पछि १९२५ मा उनले आफ्नो अस्ट्रियाली नागरिकता त्यागे । र, १९३० को दशकको सुरुमा आधिकारिक रूपमा जर्मनीको नागरिक बने । नाजी पार्टीमा लागेर राजनीति गरेका उनी १९३३ मा जर्मनको सत्तामा पुगेका थिए ।

२. असफल चित्रकार

हिटलरको चित्रकार बन्ने युवावस्थाको सपना पूरा भएको भए २०औं शताब्दी कस्तो हुन्थ्यो होला भनेर धेरैले अनुमान गर्ने गर्छन् । उनी भियनाको एकेडेमी अफ फाइन आर्ट्सको प्रवेश परीक्षामा दुई पटक (१९०७ र १९०८ मा) असफल भए । उनमा वास्तुकला सम्बन्धी रेखाचित्रमा केही प्रतिभा भए तापनि मानव आकृतिहरूमा सूक्ष्म विवरण र चरित्रको अभाव रहेको टिप्पणी गरिएको थियो ।

तर, कलामा उनको रुचि कायमै रह्यो । थर्ड रिचको समयमा आधुनिक र प्रभाववादी कलालाई ‘यहुदी र बोल्सेभिक कलाकारहरूको उपज’ भन्दै घृणा गरिएको थियो । नाजीहरूले बहुमूल्य कलाकृतिहरू प्रायः कला संरक्षणको नाममा जफत गरे । यसै बहानामा हिटलरको निजी संग्रहका लागि धेरै कृतिहरू संकलन गरिएको थियो ।

३. कुनै समय घरबारविहीन

चित्रकारका रूपमा सफल हुन नसकेपछि हिटलरले ठूलो आर्थिक संकट भोग्नुपर्यो । आफ्ना चित्र र पोष्टकार्डहरू बेच्न नसकेपछि सन् १९०९ मा उनी भियनाको एउटा घरबारविहीन आश्रयस्थलमा बस्न बाध्य भए । सन् १९१३ सम्म उनी सार्वजनिक छात्रावासमा बसे । पछि बुबाको पैतृक सम्पत्ति प्राप्त गरेपछि म्युनिख बसाइँ सरे ।

४. प्रथम विश्वयुद्धका घाइते

अस्ट्रियाली नागरिक भए तापनि उनी बभेरियाली सेनामा भर्ना भएका थिए । उनले सन् १९१६ मा ब्याटल अफ द सोममा भाग लिएका थिए । तर, त्यहाँ खुट्टामा चोट परेपछि उनी घाइते भए । त्यस्तै १९१८ मा मस्टर्ड ग्यासका कारण अस्थायी रूपमा अन्धो पनि भए । पछि अस्पतालमा उपचार गरिरहेकै बेला उनले जर्मनीले आत्मसमर्पण गरेको समाचार सुने । युद्धमा वीरताका लागि उनले ‘आइरन क्रस’ पदक पनि प्राप्त गरेका थिए ।

५. देशद्रोहको आरोपमा जेल सजाय

सन् १९२३ मा नाजी पार्टीले गरेको असफल विद्रोहपछि हिटलरलाई देशद्रोहको आरोपमा पक्राउ गरियो । उनलाई पाँच वर्षको जेल सजाय सुनाइएको थियो । तर, उनले एक वर्षभन्दा कम समय मात्र जेलमा बिताए । सोही समयमा उनले आफ्नो प्रसिद्ध पुस्तक ‘मेन क्याम्फ’ लेख्न सुरु गरेका थिए ।

६. कहिल्यै चुनाव जितेनन्

सन् १९३२ को राष्ट्रपति चुनावमा हिटलर पल भोन हिन्डनबर्गसँग पराजित भए । तर, सोही वर्षको संघीय चुनावमा नाजी पार्टीले ३७ प्रतिशत मत प्राप्त गर्दै सबैभन्दा ठूलो पार्टी बन्यो । सन् १९३३ मा हिन्डनबर्गले हिटलरलाई चान्सलर नियुक्त गरे । पछि हिन्डनबर्गको मृत्यु भएपछि हिटलरले राष्ट्रपति र चान्सलरको पदलाई गाभेर आफूलाई ‘फुहरर’ (सर्वोच्च नेता) घोषणा गरे।

७. टाइम म्यागजिनको ‘म्यान अफ द इयर’

दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा एक वर्षअघि सन् १९३८ मा टाइम म्यागजिनले हिटलरलाई यो उपाधि दिएको थियो । टाइमका अनुसार यो उपाधि समाचारको प्रभाव र चर्चाका आधारमा दिइएको थियो । पछि उनलाई नोबेल शान्ति पुरस्कारका लागि पनि मनोनयन गरिएको थियो । तर त्यो एक स्वीडिश राजनीतिज्ञले व्यङ्ग्यका लागि मात्र गरेका थिए ।

८. कन्सन्ट्रेशन क्याम्पमा कहिल्यै गएनन्

यहुदीहरूको सामूहिक नरसंहार हिटलरको शासनको सबैभन्दा भयानक कालो धब्बा हो । तर, हिटलरले कहिल्यै पनि आफैंले बनाएका कन्सन्ट्रेशन क्याम्प अर्थात् मृत्यु शिविरहरूमको भ्रमणमा गएनन् । उनले नरसंहारको योजना टाढैबाट चलाउन खोजेको देखिन्छ ।

९. जनावर प्रेमी

मान्छेहरूमाथि क्रूर अत्याचार गर्ने हिटलर जनावर प्रेमी थिए । भलै उनी शाकाहारी थिए कि थिएनन् भन्ने विषयमा अझै बहस हुने गर्छ । यद्यपि उनले जनावरहरूको संरक्षणका लागि कडा कानुनहरू बनाएका थिए । जनावरमाथि हुने वैज्ञानिक परीक्षणको विरुद्धमा थिए ।

१०. धेरै स्वास्थ्य समस्या

हिटलरको स्वास्थ्यका बारेमा धेरै अड्कलबाजीहरू छन् । केही इतिहासकारहरूका अनुसार उनलाई सिफिलिस, हन्टिङ्टन रोग र पार्किन्सन रोग थियो । उनको हात काँप्ने समस्यालाई कतिपयले पार्किन्सन वा लागुऔषधको प्रयोगसँग पनि जोडेर हेर्ने गर्छन् ।

११. धेरै हत्याका प्रयासहरूबाट बाँचेका

हिटलरमाथि कति पटक हत्याको प्रयास भयो भन्ने यकिन नभए पनि उनी २० भन्दा बढी प्रयासहरूबाट बचेको मानिन्छ । सन् १९३९ मा जर्ज एल्सरले गरेको बम आक्रमण र १९४४ मा क्लाउस भोन स्टाउफेनबर्गले गरेको प्रयास सबैभन्दा चर्चित छन् ।

१२. उनका भतिजा अमेरिकी सेनामा

हिटलरका भतिजा विलियम प्याट्रिक हिटलरको जन्म लिभरपुलमा भएको थियो । १९३० को दशकमा उनी जर्मनी गएका थिए । तर पछि उनी अमेरिकासँग मिलेर आफ्नै काकाको सेनाविरुद्ध लडे । उनले अमेरिकी नौसेनामा सेवा गरेबापत पर्पल हार्ट पदक समेत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?