+
+
Shares

अन्टार्कटिका सिलको जीवनचक्रले देखाउने जलवायु परिवर्तनको डरलाग्दो तस्वीर

खडेरी, बाढी र अनियमित मौसमका कारण बाली नष्ट हुने र कृषि उत्पादन घट्ने समस्या बढ्दो छ । यसले खाद्य असुरक्षा निम्त्याउँछ, जसका कारण पोषण कमी भई कुपोषण बढ्दै जान्छ ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८३ वैशाख १८ गते ८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्टार्कटिकामा जलवायु परिवर्तनले हिउँ छिटो पग्लिँदा सिलहरूको १० दिनको आमा–बच्चा सँगै बस्ने समय घटेको छ, जसले बच्चाहरूको मृत्यु जोखिम बढाएको छ।
  • नेपालमा जलवायु परिवर्तनले हिमालयका हिमनदी छिटो पग्लिँदा बाढी, पहिरो र खडेरी बढेको छ, जसले २०२४ मा २४९ जनाको मृत्यु र हजारौं विस्थापन गराएको छ।
  • जलवायु परिवर्तनले नेपालमा डेंगु, मलेरिया र पानीजन्य रोगहरू फैलिनुका साथै कृषि उत्पादन र पशुपालनमा गम्भीर असर पुर्‍याएको छ।

अन्टार्कटिकामा बस्ने सिलहरूको जीवनचक्र प्रकृतिको अत्यन्त संवेदनशील र कठोर उदाहरण हो । त्यहाँका धेरै प्रजातिका सिलहरूले हिउँमै बच्चा जन्माउँछन् । जन्मपछि आमा र बच्चाबीच केवल करिब १० दिनजति मात्र सँगै रहने समय हुन्छ ।

यही छोटो अवधिमा आमाले बच्चालाई दूध खुवाउने, तौल बढाउने, चिसो वातावरणमा बाँच्न सक्ने बनाउने र पानीमा पौडी खेल्न सिकाउने जस्ता अत्यावश्यक सीपहरू सिकाउनुपर्छ । त्यसपछि आमा फेरि समुद्रतिर फर्किन्छे र बच्चा आफैँ बाँच्न सक्ने अवस्थामा पुग्नुपर्छ ।

तर, अहिले जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण अन्टार्कटिकाको हिउँ पहिलेभन्दा छिटो पग्लिन थालेको छ, जसले गर्दा यो १० दिनको महत्वपूर्ण समय पनि छोटिँदै गएको छ । धेरै अवस्थामा आमा समयभन्दा चाँडै जान बाध्य हुन्छे र पूर्णरूपमा सक्षम नभएका बच्चाहरू हिउँ पग्लिएसँगै पानीमा खस्ने वा डुबेर मर्ने जोखिममा पर्छन् ।

यो समस्या केवल सिलहरूको जीवनसँग मात्र सम्बन्धित छैन, बरु सम्पूर्ण पृथ्वीको इकोसिस्टमसँग गाँसिएको गम्भीर संकेत हो । अन्टार्कटिकामा हुने साना परिवर्तनहरूले विश्वव्यापी मौसम प्रणालीमा प्रभाव पार्छन् जस्तै वर्षा चक्रको अनियमितता, असमयमा पानी, हिउँ पर्ने, खडेरी पर्ने आदि ।

बाढी, पहिरो, हिमताल फुट्ने जस्ता घटनाले चोटपटक र मृत्यु बढाउँछ । नेपालमा वार्षिक सयौं घटना यो कारणबाट हुने गर्छ । प्रकोपपछि डिप्रेसन, एन्जाइटी बढ्छ ।

आज हामीले अनुभव गरिरहेका मौसमका असन्तुलन जस्तै दशैं–तिहारको समयमा असामान्य वर्षा, हिउँ नपर्ने ठाउँमा हिउँ पर्नु वा सिजन नमिल्ने परिवर्तनहरू यिनै विश्वव्यापी परिवर्तनका उदाहरण हुन् ।

यसको मूल कारण मानव गतिविधि नै हो, जस्तै प्लास्टिक प्रदूषण, वन विनाश, अत्यधिक औद्योगिकीकरण, समुद्री प्रदूषण र प्राकृतिक स्रोतहरूको असन्तुलित प्रयोग ।

समुद्रमा फालिने फोहोर, तेल चुहावट र समुद्री जीवहरूको अवैध शिकारले समुद्री जीवनलाई गम्भीर असर पारिरहेको छ, जसको प्रभाव अन्ततः ध्रुवीय क्षेत्रसम्म पुग्छ ।

यसरी हेर्दा, अन्टार्कटिकामा रहेको समस्या टाढाको कुरा होइन यसको असर हाम्रो दैनिक जीवन, स्वास्थ्य, कृषि प्रणाली र भावी पुस्तासम्म पुगिरहेको छ।

त्यसैले मानिसहरूले गर्ने साना–साना लापरवाहीहरू जस्तै प्लास्टिकको प्रयोग, फोहोर व्यवस्थापनमा बेवास्ता र प्रकृतिप्रतिको उदासीनता भोलिका दिनमा ठूलो संकटको कारण बन्न सक्छन् ।

जलवायु परिवर्तनले नेपालमा देखा परेका समस्या

नेपाल विश्वका अति जलवायु–संवेदनशील देशहरू मध्ये एक हो । यसले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा अति न्युन उत्षर्जन मात्र गर्छ, तर प्रभाव भने अत्यधिक रहेको वातावरणविद् भुषण तुलाधर बताउँछन् । उनी भन्छन् ‘हिमालय क्षेत्रमा तापक्रम वृद्धि द्रुत गतिमा छ, जसले हिउँ पग्लिने, बाढी, पहिरो, खडेरी र स्वास्थ्य समस्या निम्त्याइरहेको छ ।’

२०१७ मा जल तथा मौसम विज्ञान विभागको प्रतिवेदनअनुसार, वार्षिक न्यूनतम औसत तापक्रम वृद्धि दर ०.००२ डिग्री सेल्सियस र अधिकतम वार्षिक औसत ०.०५६ डिग्री सेल्सियस रहेको छ ।

हिमालयका हिमनदी २०औं शताब्दीको अन्त्यभन्दा दोब्बर गतिमा पग्लिँदै छन् । ४७ वटा सम्भावित खतरनाक हिमतालहरू हिन्दुकुश–हिमालय क्षेत्रभरका हुन् । नेपालका लागि भने यो संख्या २१ भएको वातावरणविद् तुलाधर बताउँछन् ।

तुलाधरका अनुसार सन् १९७० यता नेपालमा दुई दर्जनभन्दा बढी हिमताल विस्फोट (गल्फ) घटनाहरू भएका छन् सन् २०२४ मा पनि हिमतालसँग सम्बन्धित केही घटनाहरूले बाढीको जोखिम बढाएको देखिन्छ । ‘हिउँ पग्लिँदा सुरुमा नदीहरूको बहाव बढ्ने भए पनि दीर्घकालमा घट्दै जान्छ, जसले जलविद्युत् उत्पादन र पानी आपूर्तिमा असर पार्छ,’ तुलाधर भन्छन् ।

नेपालमा प्रत्येक वर्ष उल्लेख्य संख्यामा बाढी तथा पहिरोका घटनाहरू हुने गरेका छन् । पछिल्ला वर्षमा जलवायु–सम्बन्धी प्रकोपका कारण हजारौँ मानिस प्रभावित भएका छन् । २०२४ सेप्टेम्बरमा आएको बाढी तथा पहिरोबाट करिब २४९ जनाको मृत्यु भएको र हजारौँ परिवार विस्थापित भएको तुलाधरले बताए ।

‘नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि पनि जलवायु परिवर्तनबाट प्रभावित भएको छ । पछिल्ला वर्षमा ठूलो क्षेत्रफलमा खेतीयोग्य जमिन क्षति भएको छ भने बाढी र खडेरीका कारण धान, मकै, तरकारी उत्पादनमा कमी आएको छ र पशुधनमा पनि क्षति पुगेको छ,’ उनले भने ।

जलवायु परिवर्तनका कारण पानीका स्रोतहरू घट्दै गएका छन् र केही सुक्ने अवस्थामा पुगेका छन् । मनसुनमा अत्यधिक वर्षा र जाडोमा खडेरी पर्ने प्रवृत्तिले पानीको गुणस्तर र जलविद्युत् उत्पादनमा समेत असर पारिरहेको तुलाधरले बताए ।

यी समस्याहरूले नेपालको कृषि, स्वास्थ्य, पानी, पूर्वाधार र जीविकोपार्जनलाई चुनौती दिइरहेका छन् । व्यक्तिगत स्तरमा प्लास्टिकको प्रयोग घटाउने, वन संरक्षण गर्ने र जलवायु–अनुकूल कृषि अपनाउने जस्ता उपायहरूले यस संकटलाई केही हदसम्म कम गर्न सकिने उनको सुझाव छ ।

जलवायु परिवर्तनको कारण स्वास्थ्यमा पर्ने असर

जलवायु परिवर्तनले मानव स्वास्थ्यमा प्रत्यक्ष र अप्रत्यक्ष दुवै प्रकारका असर पार्छ । यो विश्वव्यापी स्वास्थ्य संकट हो, जसले हरेक वर्ष लाखौंको ज्यान लिन्छ र स्वास्थ्य प्रणालीलाई दबाब दिन्छ । विश्व स्वास्थ्य संगठनको अनुसार, सन् २०३०–२०५० सम्म जलवायु परिवर्तनकै कारण थप २ लाख ५० हजार मृत्यु हुने गरेको छ ।

पोषणको कमी, मलेरिया, झाडापखाला जस्ता समस्या निम्त्याउँछ ।

नेपाल जस्ता विकासशील र हिमालयन देशमा असर अझ तीव्र छ, किनकि यहाँको तापक्रम वृद्धि दर विश्व औसतभन्दा उच्च छ र भौगोलिक विविधताले जोखिम बढाउँछ ।

तापक्रम वृद्धि र हिट स्ट्रोक

जलवायु परिवर्तनको कारण तापक्रम वृद्धि हुँदा विभिन्न स्वास्थ्य समस्या समेत बढिरहेका छन् । अत्यधिक गर्मीले हिट स्ट्रोक, मुटुसम्बन्धी तथा श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढाउनुका साथै मृत्यु दर पनि बढाउने छातीरोग विशेषज्ञ डा. राजु पंगेनी बताउँछन् ।

‘नेपालमा विशेषगरी तराई क्षेत्रमा लू को आवृत्ति र तीव्रता बढ्दै गएको छ’ उनी भन्छन्, ‘अत्यधिक गर्मीका कारण काम गर्ने क्षमता घट्ने समस्या पनि देखिएको छ, विशेषगरी बाहिरी श्रममा संलग्न व्यक्तिहरूमा यसको प्रभाव बढी हुन्छ ।’

सरुवा रोगको विस्तार

तापक्रम वृद्धि र वर्षाको ढाँचामा आएको परिवर्तनले लामखुट्टे र झिँगा जस्ता रोग सार्ने जीवहरूको प्रजनन दर बढाएको छ । नेपालमा डेंगु २००४ पछि देखिन थालेको र पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढ्दै गएको छ । सन् २०२२ मा मात्रै ५४ हजार ७८४ केस र ८८ जनाको मृत्यु भएको थियो ।

पहिले २–३ वर्षमा एक पटक देखिने डेंगु अहिले हरेक वर्ष फैलिन थालेको छ र पहाडी क्षेत्रसम्म विस्तार भएको छ । जलवायु परिवर्तनका कारण एडिस जातको लामखुट्टेको जीवनचक्र छोटिँदै गएको छ, जसले संक्रमणको जोखिम अझ बढाएको डा. पंगेनीले जानकारी दिए ।

यसैगरी मलेरिया, कालाजार, जापानी इन्सेफलाइटिस, स्क्रब टाइफस जस्ता रोगहरू पनि केही उच्च भू-भागतर्फ फैलिने प्रवृत्ति देखिँदै गएको उनी बताउँछन् ।

पानीजन्य र खाद्यजन्य रोग

बाढी, खडेरी र प्रदूषणले पानी दूषित हुन्छ । डायरिया, कोलेरा, अन्य ग्यास्ट्रोइन्टेस्टाइनल रोग बढ्छन् । नेपालमा बाढी÷पहिरोपछि पानीजन्य रोगको प्रकोप र खडेरीले पानीको गुणस्तर बिगार्ने डा. पंगेनीले बताए ।

कुपोषण र खाद्य असुरक्षा

खडेरी, बाढी र अनियमित मौसमका कारण बाली नष्ट हुने र कृषि उत्पादन घट्ने समस्या बढ्दो छ । यसले खाद्य असुरक्षा निम्त्याउँछ, जसका कारण पोषण कमी भई कुपोषण बढ्दै जान्छ । कुपोषणले मानव शरीरको रोगप्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ ।

डा.पंगेनीका अनुसार विश्वव्यापी रूपमा सन् २०२३ मा जलवायुजन्य घटनाहरू जस्तै अत्यधिक गर्मी र खडेरी जस्ता कारणले करिब १२४ मिलियन थप मानिसलाई खाद्य असुरक्षाको जोखिममा पार्न योगदान गरेका छन् ।’

श्वासप्रश्वास र नसर्ने रोग

वायु प्रदूषण विशेषगरी पिएम २.५, जलवायु परिवर्तनसँग अप्रत्यक्ष रूपमा सम्बन्धित हुन सक्ने छातीरोग तथा सघन उपचार विशेषज्ञ डा. राजु पंगेनी बताउँछन् । उनका अनुसार वायु प्रदूषणले औसत जीवन प्रत्याशा करिब ३.४ वर्ष घटाउन सक्छ । यसले दम, हृदय रोग, स्ट्रोक, फोक्सोको क्यान्सर लगायतका स्वास्थ्य समस्याहरूको जोखिम बढाउँछ ।

सीओपीडी

जलवायु परिवर्तनले सीओपीडी जस्ता दीर्घ जनस्वास्थ्य समस्याहरू निम्त्याउँछ । साथै मौसम परिवर्तन हुँदा अन्य श्वासप्रश्वासजन्य ब्याक्टेरिया तथा भाइरसहरू जस्तै: क्षयरोगको किटाणु, इन्फ्लुएन्जा आदि पनि बढी सक्रिय हुन थाल्छन्, जसका कारण दीर्घरोग हुनेहरु देखि लिएर बालबच्चा तथा वृद्ध वृद्धाहरुसमेत थप जोखिममा पर्ने डा. पंगेनीले बताए ।

चोटपटक, मृत्यु र मानसिक स्वास्थ्य

बाढी, पहिरो, हिमताल फुट्ने जस्ता घटनाले चोटपटक र मृत्यु बढाउँछ । नेपालमा वार्षिक सयौं घटना यो कारणबाट हुने गर्छ । प्रकोपपछि डिप्रेसन, एन्जाइटी बढ्छ । यो समस्याको जोखिममा महिला, बालबालिका र गरिबी रहेकाहरू बढी रहने डा. पंगेनी बताउँछन् ।

जलवायु परिवर्तनले कृषि, पशुपालन र वन्यजन्तुमा गम्भीर असर परिरहेको छ

डा. महेश्वर ढकाल

महाशाखा प्रमुख, जलवायु परिवर्तन व्यवस्थापन

जलवायु परिवर्तनले कृषि, पशुपन्छी र वन्यजन्तु क्षेत्रमा गम्भीर र बहुआयामिक असर पारिरहेको छ । पृथ्वीको सतहको तापक्रम वृद्धि र वर्षाको अनियमितताले धेरै समस्या निम्त्याइरहेको छ । विशेषगरी नेपालजस्तो पहाडी तथा हिमाली भू–भागमा पानीका स्रोत सुक्ने, खडेरी बढ्ने र बाढी–पहिरोको जोखिम तीव्र बनाएको छ । यसको प्रत्यक्ष असर कृषि उत्पादन, पशुपालन र समग्र खाद्य सुरक्षामा परेको छ ।

कृषि क्षेत्रमा तापक्रम वृद्धिसँगै माटोको आद्र्रता र पोषण तत्वमा परिवर्तन आएको छ, जसले बालीको वृद्धि चक्रमा असर पुर्‍याएको छ । मनसुन ढिलो आउने, कहिले अत्यधिक वर्षा त कहिले खडेरी हुने अवस्थाले धान, मकै र गहुँजस्ता मुख्य बालीको उत्पादन घटाएको छ । उदाहरणका रूपमा तराई क्षेत्रमा धान उत्पादन उल्लेखनीय रूपमा घटेको छ भने मध्य पहाडमा गहुँको वृद्धि अवधि छोटिँदै गएको छ । साथै, धेरै तापक्रमले कीरा तथा रोगको प्रकोप जस्तै आर्मी वर्म र ब्लास्ट रोग पनि बढाएको छ ।

पानीको अभावका कारण सिँचाइमा समस्या हुँदा किसानले समयमै खेती गर्न नसक्ने अवस्था सिर्जना भएको छ । यसले खाद्य उत्पादन घटाएर खाद्य असुरक्षा र कुपोषणको जोखिम बढाएको छ ।

पशुपालनमा पनि जलवायु परिवर्तनले गम्भीर चुनौती ल्याएको छ । चरन क्षेत्र सुक्दै जानु, घाँस र पानीको अभाव हुनु, तथा बाढी–पहिरोका कारण पशु चौपायामा ठूलो क्षति हुनु प्रमुख समस्या बनेका छन् । हिमाली क्षेत्रमा तापक्रम बढ्दा हिउँ पग्लिने र घाँसे मैदान घट्दै जाँदा चौरी, याक तथा अन्य पशुपालन प्रभावित भएको छ । साथै, पशुजन्य रोगहरूको जोखिम बढ्दै गएको देखिन्छ, जसले मानव स्वास्थ्यसँग समेत सम्बन्ध राख्ने भएकाले ‘वन हेल्थ’ अवधारणाको महत्व बढेको छ।

वन्यजन्तुमा जलवायु परिवर्तनको असर अझ जटिल रूपमा देखिएको छ । तापक्रम बढेसँगै धेरै प्रजाति उच्च उचाइतर्फ सर्न बाध्य भएका छन्, जसले बासस्थान साँघुरिने, खाद्य अभाव हुने र प्रजातिबीच प्रतिस्पर्धा बढ्ने समस्या ल्याएको छ ।

हिमाली क्षेत्रमा चरन क्षेत्र घट्दा वन्यजन्तु प्रभावित भएका छन् भने तराई क्षेत्रमा बाघ र हात्ती जस्ता जनावर मानव बस्ती नजिक आउँदा मानव–वन्यजन्तु द्वन्द्व बढेको छ । साथै, पानीका मुहान सुक्दै जानु र वन डढेलो बढ्नुले वन्यजन्तुको जीवनमा झन् जोखिमपूर्ण बनाएको छ ।

यी सबै प्रभावहरू आपसमा अन्तरसम्बन्धित छन् र अन्ततः मानव स्वास्थ्य, जीविकोपार्जन र राष्ट्रिय अर्थतन्त्रमा असर पुर्‍याउँछन् । त्यसैले जलवायु परिवर्तनलाई केवल वातावरणीय समस्या नभई कृषि, पशुपालन, जैविक विविधता र मानव स्वास्थ्यसँग जोडिएको समग्र मुद्दाका रूपमा बुझ्न आवश्यक छ ।

बदलिँदो तापक्रम र वर्षाको अवस्थाअनुसार पूर्वसूचना प्रणाली विकास गर्ने, नयाँ बाली तथा प्रजातिको अनुसन्धान गर्ने र दिगो व्यवस्थापन अपनाउने उपायहरू अब अत्यावश्यक भइसकेका छन् ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?