+
+
Shares

९ वर्षपछि चीन भ्रमणमा निस्कँदै ट्रम्प, के छन् एजेन्डाहरू ? 

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १२:२१

२८ वैशाख, काठमाडौं । करिब नौ वर्षपछि कुनै अमेरिकी राष्ट्रपति आधिकारिक राजकीय भ्रमणका लागि चीन जाँदैछन्। चिनियाँ विदेश मन्त्रालयले पुष्टि गरेअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मे १३ देखि १५ सम्म चीनको भ्रमणमा रहनेछन्।

अमेरिका, इजरायल र इरानबीच चलिरहेको युद्ध, होर्मुज जलसन्धिमाथिको सङ्कट र विश्वव्यापी ऊर्जा आपूर्तिको चिन्ताका बीच हुन लागेको यो भ्रमणलाई निकै महत्त्वपूर्ण मानिएको छ। यसअघि मार्च महिनामै तय भएको यो भ्रमण मध्यपूर्वको तनावका कारण स्थगित गरिएको थियो।

ट्रम्पको भ्रमणको कार्यतालिका

ह्वाइट हाउसकी प्रिन्सिपल डेपुटी प्रेस सेक्रेटरी अन्ना केलीका अनुसार ट्रम्प बुधबार (१३ मे) मा साँझ बेइजिङ पुग्नेछन् । उनको स्वागतमा विहीबार भव्य स्वागत समारोह आयोजना हुनेछ । त्यसलगत्तै राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय वार्ता हुनेछ। सोही दिन ट्रम्पले ‘टेम्पल अफ हेभन’ को भ्रमण गर्नेछन् र राजकीय भोजमा सहभागी हुनेछन्।

शुक्रबार दुवै नेताहरूबीच चियापानसहितको छलफल र ‘वर्किङ लन्च’ हुनेछ। यस वर्षको अन्त्यतिर चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि अमेरिकाको भ्रमण गर्न सक्ने सङ्केत अमेरिकाले दिएको छ।

के छन् छलफलका मुख्य एजेन्डाहरू ?

ट्रम्पको यस भ्रमणमा कुनै महत्वपूर्ण चिनियाँ लगानीको घोषणा हुने आशालाई अमेरिकी अधिकारीहरूले कम गरेका छन्। यद्यपि, एयरोस्पेस, कृषि र ऊर्जा क्षेत्रमा केही सम्झौताहरू हुन सक्नेछन्।

भ्रमणमा ब्ल्याकस्टोनका स्टिफन स्वार्जम्यान र सिटी ग्रुपकी जेन फ्रेजरलगायतका शीर्ष अमेरिकी सीईओहरू पनि ट्रम्पको साथमा रहनेछन्। भ्रमणअघि व्यापारिक तनाव कम गर्न चिनियाँ उपप्रधानमन्त्री हे लिफेङ र अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसन्टबीच मे १२ र १३ मा दक्षिण कोरियामा अन्तिम चरणको वार्ता हुँदैछ।

व्यापार र अर्थतन्त्रसँगै इरान युद्ध पनि यो भ्रमणको अर्को एजेन्डा हुनेछ । किनकि इरानसँगको सङ्घर्ष यस भ्रमणको प्रमुख पृष्ठभूमिमा रहनेछ। चीनले यसअघि नै होर्मुज जलसन्धि विश्वको अत्यन्तै महत्त्वपूर्ण व्यापारिक मार्ग भएको र यसमा नाकाबन्दी गर्नु सही निर्णय नभएको बताइसकेको छ।

यसका साथै, ताइवान मामिला र हतियार बिक्री पनि भ्रमणको एजेन्डा बन्ने बताइएको छ । ट्रम्प र सी बीच ताइवानको मुद्दा केन्द्रबिन्दुमा रहनेछ। अमेरिकी अधिकारीहरूले ताइवानप्रतिको अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको स्पष्ट पारेका छन्।

ट्रम्प प्रशासनले ताइवानलाई हतियार बिक्री जारी राखेर चीनको दबाबका बाबजुद पछि नहट्ने सन्देश दिइसकेको छ।

त्यस्तै, एआई प्रविधिको विषयमा दुई देशबीच प्रारम्भिक छलफल हुनेछ। यस क्षेत्रमा दुई देशबीच सञ्चारको माध्यम स्थापित गर्न सकिन्छ कि भनेर सम्भावना खोजी गरिनेछ।

कूटनीतिक चुनौती र बुझाइको अभाव

विश्लेषकहरूका अनुसार अमेरिका र चीन दुवै देश एक-अर्कालाई पूर्ण रूपमा नबुझीकन यस शिखर सम्मेलनमा सहभागी हुँदैछन्। चीन अमेरिकाको पतन हुँदैछ भन्ने अति-आत्मविश्वासमा रहेको विज्ञहरू बताउँछन्।

अर्कोतर्फ, अमेरिकी अधिकारीहरूले चीनको दबाब झेल्ने क्षमतालाई गलत रूपमा बुझिरहेका छन् र ‘उच्च-स्तरीय वार्ता हुँदैमा चीनले सम्झौता गर्छ’ भन्ने भ्रममा छन्। अमेरिकामा चीन विशेषज्ञहरूको घट्दो सङ्ख्याले पनि वासिङ्टनको कूटनीतिक तयारीलाई कमजोर बनाएको विश्लेषकहरूको भनाइ छ।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?