यो देश-
जीर्ण बन्दै गरेको एउटा फाइल हो
जसलाई धमिराले आफ्नो विश्रामस्थल बनाएका छन्
धुवाँले खाएको दराजको अँध्यारो कुनामा थन्किएको
बेवारिसे र विस्मृत
अब यसलाई भेटाउन कठिन भइसकेको छ ।
यसको इतिहास-
फाइलका पानामा कोरिएका ती वाचाहरू हुन्
जो घाम नझुल्किँदै पहेँला भएर झर्छन्
र यसको गातामा जमेको बाक्लो धुलोले
जनताको आँसुको हिसाब लुकाएको छ ।
फाइलभित्र आश्रम जमाएर बसेको छ
भ्रष्टाचार-
कार्बन पेपरजस्तो
जसका हजारौँ प्रतिलिपिहरू निकालिएका छन्
यहाँ माथिदेखि तलसम्म सबैका हातमा कार्बनका दाग छन् ।
सुशासन यहाँ एउटा यस्तो भूलभुलैया हो
जहाँ कुनै फाइल अगाडि बढ्छन्
कुनै हराउँछन्, कुनै भेटिन्छन्
बाँकी फाइल थन्किएर बस्छन्-
नगदमा हुन्छ कारोबार
जसका पाङ्ग्राहरूमा चढेर यात्रामा निस्कन्छन् फाइलहरू ।
नियमका अक्षरहरू यहाँ-
सिसाकलमले लेखिएका छन्
र ठेकेदारहरू खल्तीभरि रबर बोकेर हिँडिरहेका छन्
न्यायको घाँटी ‘गोप्य’ भनिएका राता फित्ताहरूले निकै कसिलो गरी
बाँधिएको छ ।
कुशासनले प्रत्येक फाइललाई एउटा चिहान बनाएको छ
इन्साफ खोज्दै भौँतारिइरहेको मान्छे भर्खरै ढलेको छ
गरिबका उजुरी र थिचिएकाका आवाजहरू जिउँदै पुरिएका छन् ।
मुन्सीहरू-
ढुकुटीमाथि चढेर स्रेस्ता मिलाउन व्यस्त छन् ।
यो देश-
मुखमा ‘अत्यन्त जरुरी’ छापिएको
तर ‘पेन्डिङ’को चाङमा अड्किएको एउटा फाइल हो ।
जहाँ नपढिएका फाइलहरूको पहाडमुनि
देशको तक्दिर थिचिएको छ ।
आज प्रतीक्षारत आँखाहरू सोधिरहेछन्
छ कोही यहाँ ?
जसले-
नत्थी गरिएका, ओस्सिएका, र च्यातिएका
फाइलहरूको यो अनन्त महासागरबाट
निकाल्न सकोस्-
निस्सासिँदै गरेको एउटा देश ।
प्रतिक्रिया 4