+
+
Shares

संसद्को विशेष दिनमा बालेनको बिझाउने दृश्य

आफ्नै नेतृत्वको सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रप्रमुखले पेश गर्दा प्रधानमन्त्री नै बैठक छोडेर हिँड्नु संसदीय अभ्यासलाई वर्षौदेखि नियालेकाहरूका आँखामा बिझाउने दृश्य पक्कै थियो ।

दुर्गा खनाल दुर्गा खनाल
२०८३ वैशाख २८ गते २१:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय संसद्को संयुक्त बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्दा बैठक छोडेर हिँडे।
  • राष्ट्रपति रामचन्द्र पौडेललाई विदाइ गर्दा प्रधानमन्त्रीको कुर्सी खाली थियो र उनले धन्यवाद प्रस्ताव पारित नहुँदै बैठक छोडे।
  • प्रधानमन्त्री शाहको यस्तो व्यवहारप्रति विपक्षी दलले आपत्ति जनाएका छन् र संसदीय मर्यादा उल्लंघन भएको बताएका छन्।

२८ वैशाख, काठमाडौं । संसदीय व्यवस्थामा सदन तीन तरिकाबाट चल्छ । पहिलो-विधि, दोस्रो- परम्परा र तेस्रो- मर्यादा ।

त्यसैले यस्तो संसद्मा प्रतिनिधित्व गर्ने जनताका प्रतिनिधिहरूलाई ‘माननीय’ सम्बोधन गरिन्छ । यही संसद्को बहुमतबाट जब कोही ‘माननीय’ लाई विश्वास प्राप्त हुन्छ त्यस्तो व्यक्ति प्रधानमन्त्री, राष्ट्रपति र सभामुख बन्छ । उसलाई यसर्थ ‘सम्माननीय’ शब्द प्रयोग गरिन्छ । संसद्लाई मर्यादित बनाउन सुरक्षाकर्मीहरूलाई समेत मर्यादापालकको रुपमा राखिएको हुन्छ ।

जुन ठाउँमा सबैभन्दा बढी मान र सम्मानका शब्द प्रयोग गरिन्छ, अनि मर्यादाको ख्याल गरिन्छ त्यही स्थान संसद्मा सोमबार उदेकलाग्दो दृश्य देखियो ।

संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले पेश गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाहले बीचैमा बैठक छोडेर हिँडे ।

आफ्नै नेतृत्वको सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रप्रमुखले पेश गर्दा प्रधानमन्त्री नै बैठक छोडेर हिँड्नु संसदीय अभ्यासलाई वर्षौदेखि नियालेकाहरूका आँखामा बिझाउने दृश्य पक्कै थियो ।

‘मैले झण्डै ४० वर्ष संसद्को सेवामा काम गरे । तर यस्तो खालको दृश्य चाहिँ देखेको थिइनँ’ संसद् सचिवालयका पूर्वमहासचि मनोहरप्रसाद भट्टराइले अनलाइनखबरसँग भने,’संसद् भनेको मर्यादा र शिष्टाचार पालन गर्ने ठाउँ पनि हो । त्यो ख्याल गरिएन भने संसद्को गरिमा रहन्न ।’

राष्ट्रपति संसद्को बैठकमा उपस्थित भएर सरकारको नीति तथा कार्यक्रम पेश गर्ने संविधानको व्यवस्था हो । प्रत्येक वर्षको नीति तथा कार्यक्रम संसद्मा आएर राष्ट्रपतिले वाचन गर्छन् ।

राष्ट्रपतिले वाचन गर्ने नीति तथा कार्यक्रम तयार गर्नेदेखि उनको सम्बोधनको समय तय समेत सरकारको निर्णयमा भर पर्छ । राष्ट्रपति संसद्मा आउने विशेष घडी नै प्रधानमन्त्रीले तय गर्ने गर्छन् ।

यही परम्परा अनुसार संयुक्त सदनमा सम्बोधन गर्न आएका राष्ट्रपतिलाई प्रधानमन्त्रीले मर्यादित व्यवहार गरेनन् ।

राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम पेश गर्न एक घण्टा १० मिनेट लागेको थियो । तर, त्यो अवधिसम्म प्रधानमन्त्री शाहले कुरेनन् । सकिनुभन्दा करिब १५ मिनेट अघि बैठक छोडेर हिँडे ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि सभामुख डीपी अर्यालले सम्मानका निम्ति सबै सांसदहरुलाई उभिइदिन निर्देशन दिएका थिए ।

सभामुखको निर्देशन बमोजिम संयुक्त संसदका सांसदहरुले उभिएर राष्ट्रपति पौडेललाई विदा गरे । सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बाहिरसम्मै निस्किएर राष्ट्रपति पौडेललाई विदाइ गरेका थिए । तर राष्ट्रपतिलाई हलले उभिएर विदाइ गरिरहँदा प्रधानमन्त्रीको कुर्सी खाली थियो ।

बीचैमा बाहिरिएका प्रधानमन्त्री राष्ट्रपतिको विदाइको केही समयपछि बसेको प्रतिनिधिसभाको बैठकमा फर्किएका थिए ।

राष्ट्रपति बाहिरिएपछि दुवै सदनका छुट्टाछुट्टै बैठक बसेर धन्यवाद प्रस्ताव पारित गरिन्छ । त्यही प्रयोजनका लागि बसेको बैठकमा प्रधानमन्त्री शाह आएका थिए । त्यो बैठकमा उनले राष्ट्रपतिले वाचन गरेको नीति तथा कार्यक्रम सदनमा टेबुल गरे ।

त्यसपछि उनी आफ्नो कुर्सीमा नबसी सिधै बैठक कक्षबाट बाहिरिए । राष्ट्रपतिलाई दिने धन्यवाद प्रस्ताव पारित गरुन्जेल पनि प्रधानमन्त्री बसेनन् । धन्यवाद प्रस्ताव पारित नहुँदै अस्वाभाविक रुपमा प्रधानमन्त्री सरासर बाहिरिएपछि सभामुख समेत केही छिन अलमलमा परेका थिए । रास्वपाका थुप्रै सांसदहरू त गलल्ल हाँसेका थिए ।

तर रास्वपाका केही सांसदहरुले भने प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेनको व्यवहार अनि त्यसलाई समर्थनको हुटिङ गर्ने कतिपय सांसदको तरिकामाथि आपत्ति जनाएका छन् । उनीहरुले पार्टीभित्र यो बहसको विषय बन्नेसमेत बताए । ‘हिजोमात्रै हामी जावलाखेलमा दुई दिने प्रशिक्षण लिएर झन् सुसंसस्कृत र परिपक्व बन्ने संकल्प गर्दै फर्केका थियौं, आजै यो देख्नुपर्यो,’ पार्टीका एक पदाधिकारीले भने, ‘पार्टी र संसदीय दल दुवैतिर यो विषयमा जमेर कुरा उठाउँछौं ।’

प्रधानमन्त्री शाहले संसद् भित्रका गतिविधिहरूलाई प्राथमिकता नदिएको गुनासो त अहिले पनि आइरहेकै छन् । उनी प्रधानमन्त्री भएपछि यो संसद्को दोस्रो अधिवेशन हो । उनले अहिलेसम्म संसद्मा बोलेका छैनन् ।

गत फागुनको चुनावबाट उनी करिब दुई तिहाइको समर्थनमा प्रधानमन्त्री बने पनि जनताको प्रतिनिधिमुलक थलोमा उनको उपस्थिति नै नियमित छैन । संसदीय समितिहरूमा त गएकै छैनन् । उनी नगएकैले राज्य व्यवस्था समितिको बैठक नै विपक्षी दलले बहिष्कार गरेको छ ।

अघिल्लो अधिवेशनमा पनि नबोलेका प्रधानमन्त्री बालेन आज नयाँ अधिवेशन सुरू हुँदा पहिलो बैठकमा त उपस्थित नै भएनन् । आज दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बसेको थियो । त्यहाँ प्रधानमन्त्री उपस्थित थिएनन् । उनको तर्फबाट कानुनमन्त्रीले अध्यादेशहरू पेश गरेकी थिइन् ।

संसद् मर्यादित रुपमा परम्परा अनुसार चल्ने ठाउँ भएकाले राष्ट्रप्रमुखलाई विशेष सम्मानका साथ बाहिरबाट संसद्को हलसम्म लगिन्छ । रोस्ट्रमलाई पनि सुसञ्जित बनाइन्छ । विगतकै जस्तो परम्परा अनुसार राष्ट्रपतिलाई आज पनि संसद्मा लगिएको थियो ।

संसदीय मामिला जानकारहरूका अनुसार यस्तो बैठकमा राष्ट्रपतिलाई सुरूमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले संसदमा स्वागत गर्छन् ।

तर, सरकारको कार्यक्रम पढेर राष्ट्रपति बाहिरिँदा प्रधानमन्त्रीसहितले विदाइ गर्ने चलन हो । यो चलन र परम्परा प्रधानमन्त्रीले बेवास्ता गरे ।

‘सबै कुरा नियमावलीमा लेखिएको हुँदैन । संसद्‌मा परम्परा र अभ्यासहरू पनि पालना गरिन्छ । त्यो पालना कसरी गर्ने भन्ने व्यक्तिमा भर पर्छ । सम्मानीत व्यक्तिहरू त्यो मामिलामा झन् सचेत हुनुपर्ने हो’ पूर्वमहासचिव भट्टराई भन्छन् ।

संघीय संसद्को संयुक्त बैठक अन्य औपचारिक कार्यक्रम जस्तो होइन । त्यो राज्यको संवैधानिक गरिमा, संसदीय संस्कार र लोकतान्त्रिक परम्परालाई सार्वजनिक रुपमा प्रदर्शन गर्ने थलो पनि हो । यो थलोमा प्रधानमन्त्री शाहले गरेको व्यवहारप्रति विपक्षीहरूले पनि आपत्ति जनाए ।

धन्यवाद प्रस्ताव पारित गर्नका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा विपक्षी दल एमालेका सांसद गुरु बरालले प्रधानमन्त्री शाहको अगाडि उनले राष्ट्रपतिलाई अपमानजनक व्यवहार गरेको भन्दै आपत्ति जनाए । उनले संसदीय मर्यादा ख्याल नगरिएको भन्दै प्रधानमन्त्रीको शैली, पहिरनको विषयमा समेत प्रश्न उठाए । उनले प्रधानमन्त्रीका अर्यादित गतिविधि संसदीय रेकर्डबाट हटाउन समेत माग गरे ।

नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले पनि प्रधानमन्त्रीले बैठक छोडेर हिँडेकोमा आपत्ति जनाए । उनले त व्यंग्य गर्दै प्रधानमन्त्रीलाई आफ्नै नीति तथा कार्यक्रम मन नपरेकाले बहिष्कार गरेर हिंडेको टिप्पणी समेत गरे ।

कतिपयलाई प्रधानमन्त्रीको यस्तो शैलीलाई नयाँपन भन्ने पनि लागेको होला । तर, यसले राज्य प्रणालीमा कस्तो थिति बस्छ भन्ने मुख्य प्रश्न हो । राज्यप्रणालीलाई प्रधानमन्त्रीले कति गम्भीरतापूर्वक लिन्छन् ? भन्ने सन्देश पनि यो घटनाले प्रवाह गरेको छ ।

संसदीय लोकतन्त्र चुनाव जितेर प्रधानमन्त्री बन्ने व्यवस्था मात्र होइन । यो व्यवस्थामा प्रधानमन्त्री आफैं संस्कार, अनुशासन, जिम्मेवारीबोध गर्ने र संसदीय परम्पराको प्रमुख संरक्षक पनि हुन्छन् ।

तर, आजको उनको व्यवहारले उनी आफ्नै पदसँग जोडिएको संवैधानिक संस्कार र परम्पराप्रति कति गम्भीर छन् ? लोकतन्त्रमा धेरै कुरा संविधानमा शब्दशः लेखिएका हुँदैनन् । ती परम्परा, अभ्यास र राजनीतिक संस्कारबाट जोगाइन्छन् ।

राष्ट्रपति पनि संसद्ले नै चयन गरेका व्यक्ति हुन् । राष्ट्रप्रमुख भएकाले उनको मर्यादाले राष्ट्रकै मर्यादाको प्रतिनिधित्व गर्छ । रामचन्द्र पौडेललाई एक व्यक्तिको रुपमा कसैले मन नपराउन सक्छ । तर, उनी अहिले राष्ट्रप्रमुखको सर्वोच्च पदमा छन् । त्यसैले त्यो पदको गरिमाको मान राख्दा नै लोकतान्त्रिक संस्कार मजबुत हुनसक्छ ।

राष्ट्रपतिले सरकारकै कार्यक्रम पेश गरिरहँदा प्रधानमन्त्रीको कुर्सी खाली हुनुले के अर्थ दियो ? सरकार प्रमुख नै संसद्को गरिमाप्रति उदासीन देखिन्छन् भने मन्त्री, सांसद र कर्मचारीतन्त्रले कुन संस्कार सिक्लान् ?

नेतृत्वको व्यवहारले नै प्रणालीको चरित्र निर्धारण गर्छ । प्रधानमन्त्रीले यदि संसदीय प्रक्रियालाई हल्का रूपमा लिन्छन् भने त्यसले राज्य संयन्त्रमै कस्तो सन्देश देला ?

अहिले जुनसुकै शैलीलाई नयाँ र पुराना परम्पराविरुद्धको विद्रोह भनेर व्याख्या गर्दै त्यसको समर्थन गर्ने प्रबृत्ति मौलाएको छ । यो प्रबृत्ति रूचाउनेहरूलाई आज प्रधानमन्त्रीले संसद्मा प्रदर्शन गरेको शैली रोचक लाग्न सक्छ ।

तर, लोकतान्त्रिक प्रणालीमा विगतका सबै परम्परा खराब हुँदैनन् । केही परम्पराले नै संस्थाको स्थायित्व र गरिमा जोगाएका हुन्छन् । त्यसैका लागि संसद्, राष्ट्रप्रमुख, प्रधानमन्त्री र सभामुखलाई विशेष सम्मान गरिन्छ ।

नेपालमा अहिले धेरै संस्थाहरू अविश्वास,अराजकता र अस्थिरताको संकटबाट गुज्रिरहेका छन् । यस्तो बेलामा नवनिर्वाचित युवा प्रधानमन्त्रीले परिपक्वता, धैर्य र पद्दतिको उदाहरणीय काम गर्नु सक्नुपर्ने हो ।

आज प्रधानमन्त्री बैठक छोडेर हिँडे, भोलि राष्ट्रप्रमुखकै सम्बोधनलाई कसैले अस्वीकार गर्न सक्छ, पर्सि संवैधानिक अरू प्रक्रियालाई नै कसैले उपेक्षा गर्न सक्छ । संस्था र विधिहरू कमजोर हुने यस्तै साना–साना संकेतबाट हो ।

प्रधानमन्त्री शाहले बुझ्नुपर्ने कुरा के हो भने, प्रणाली सुधार्ने नाममा आधारभूत संस्कार र मर्यादा भत्काउन थालियो भने अन्तत त्यसले उनैलाई कमजोर बनाउँछ । जनताले उनीप्रति गरेको भरोसा डगमगाउँछ ।

लेखक
दुर्गा खनाल

खनाल अनलाइनखबरका समाचार सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?