+
+
Shares

पद खोज्ने सांसदलाई रविले सम्झाए- नेताका टाउकोको मूल्य तोकिएको इतिहास

कैयौँ नेताहरूको टाउकोको मूल्य तोकिएको थियो । परिवर्तन कहिले आउँछ भन्ने उनीहरूलाई कुनै हेक्का थिएन, तर आफ्नो आस्था र विचारका लागि उनीहरू लडिरहे । अहिले हामीले कतै लुक्दै-भाग्दै हिँड्नुपरेको छैन। डाइनिङ टेबलमा तातो खाना तयार हुन्छ, बाहिर निस्कँदा सबैले ‘नमस्कार’ गर्छन् । वरिपरि क्यामेरा छन्, जताततै वाहवाही छ, र अन्तर्वार्ता दिन स्टुडियोहरूमा पुग्न भ्याइनभ्याइ छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २७ गते २१:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाले शनिबार र आइतबार पार्टी सरकार र सांसदहरूको भूमिकाबारे दोस्रो प्रशिक्षण जवालाखेलस्थित स्टाफ कलेजमा दिएको छ।
  • पार्टी सभापति रवि लामिछानेले सांसदहरूलाई \'सरकारी गाडी चढेर झण्डा हल्लाउनु सफलता होइन\' भन्दै \'यू-टर्न\' लिन आग्रह गरेका छन्।
  • रविले पुराना दलका नेताहरूको संघर्ष र त्याग सम्झाउँदै सांसदहरूलाई विधेयक र कानुन निर्माणमा ध्यान दिन सुझाव दिए।

२७ वैशाख, काठमाडौं । सत्तारुढ दल रास्वपाले शनिबार र आइतबार पार्टी सरकार र सांसदहरूको भूमिकाबारे प्रशिक्षण दियो । निर्वाचन लगत्तै पाँचतारे रोयल टुलिप होटलमा पहिलो प्रशिक्षण दिएको रास्वपाको दोस्रो प्रशिक्षण भने जवालाखेलस्थित स्टाफ कलेजमा राखिएको थियो ।

पहिलो प्रशिक्षणमै नगएका बालेन्द्र शाह प्र यो दोस्रो श्रृंखलामा पनि उपस्थित भएनन् । संसदीय दलका नेता भएपनि सांसदहरूको प्रशिक्षणमा उनी उपस्थित भएनन् ।

अघिल्लो प्रशिक्षणमा जस्तै यसपटक पनि पार्टी सभापति रवि लामिछानेले सांसदहरूलाई मूल गन्तव्य के हो  सम्झाउन खोजे ।

सांसदहरूलाई विधि प्रक्रिया संसदीय राजनीति,रस्वपाको उदयदेखि गतव्यसम्म के हो भन्ने सम्झाउनका लागि रविले जेजस्ता कुराहरू गरे त्यसले रास्वपा दलभित्र के कस्तो मनोविज्ञानहरू बढ्दै गएका छन् भन्ने इंगित गरेको छ ।

किनकी जे कुरा भइरहेको छ वा जे हुन लागेको छ त्यो दिशामा जान नदिन उनले प्रशिक्षण मार्फत् कोसिस गरेका छन् ।

चुनाव लगत्तै सरकार बन्ने क्रममा धेरै नेताहरू मन्त्री बन्ने कोसिसमा लागेका थिए । विशेष गरी पूर्वसांसदहरूमा अनुभवका हिसाबले पनि आफूहरू दाबेदार हो भन्ने थियो । तर सरकार बन्दा पूर्वसांसदहरू प्राथमिकतामा परेनन् । यो कुरालाई लिएर रास्वपा सांसदहरूमा फरक खालेको मनोविज्ञान विकास भइरहेको छ । यो कुरालाई रविले आइतबार स्पष्ट जवाफ दिए ।

उनले भने,’सरकारी गाडी चढेर झण्डा हल्लाउँदै हिँड्नु र त्यसैलाई सफलताको मानक ठान्नु नै हाम्रो सबैभन्दा ठूलो भूल हो । यदि तपाईंले यिनै कुरालाई मात्र सफलताको सूचक मान्नुभएको छ भने, विश्वास गर्नुस्—हामी ‘रङ डिरेक्सन’ (गलत दिशा) मा छौँ । गलत बाटोमा हिँडेर गन्तव्यमा कहिल्यै पुगिँदैन। त्यसैले, कृपया ‘यू-टर्न’ लिनुहोस् ।’

उनले सांसद भइरहेका व्यक्तिहरूले पार्टीका अन्य पद वा संसदभित्रका अन्य पदमा पनि आकांक्षा राखेका थिए । यही कारण रास्वपामा गुनासो गर्ने समूह पनि छ । उनले आफूकहाँ पद माग्न आउनेहरू धेरै रहेको  खुलाएका पनि छन् ।

‘कहिलेकाहीँ साथीहरू मलाई भन्नुहुन्छ—’सभापतिज्यू, म त सुरुवातदेखि लागेको मान्छे, मेरो योगदान यति छ’ भन्दै योगदानको मूल्य माग्न ढोका ढक्ढक्याउनुहुन्छ । यस्तो सुन्दा मलाई दुःख लाग्छ। साथीहरू, यो पार्टीमा योगदानको मूल्य माग्ने बेला मेरो त भएको छैन भने तपाईंहरूको कसरी भयो ? मैले पनि त योगदान दिएको छु, तर अहिले मूल्य माग्ने होइन, बरु अझ धेरै योगदान दिने बेला हो ‘ रविले भनेका छन् ।

रविले विगतका आफ्ना धेरै अभिव्यक्तिहरूमा पुराना दल र नेताहरूका विषयमा आलोचनान्त्मक टिप्पणी गर्नेगर्थे । तर छोटो समयमा ठूलो योगदान गरेको छु भन्दै आफूसँग पद माग्न आउनेहरू बढेपछि रविले आइतबार आफ्नो भाषणमा पुराना दलका नेताहरूले क्रान्तिका लागि गरेको त्याग भूमिकाबारे आफ्ना सांसदलाई पढाए र इतिहासका घटनाहरू सम्झाए ।

‘हामीले पुराना राजनीतिक दलहरूको संघर्षलाई कहिलेकाहीँ कटाक्ष त गर्छौँ, चाहे त्यो नेपाली कांग्रेस होस्, नेकपा एमाले होस् वा अन्य कम्युनिस्ट घटकहरू। तर उहाँहरूले ३०औँ वर्षसम्म जुन अनवरत संघर्ष गर्नुभयो, त्यसलाई भुल्नु हुँदैन’ रविले भने ।

त्यतिबेलाका नेताहरूलाई यो परिवर्तन कहिले आउँछ वा आउँछ कि आउँदैन भन्ने कुराको कुनै हेक्का थिएन नरहेको, यो संघर्ष कति लामो हुन्छ भन्ने कुनै अन्दाज पनि नगरेको अवस्थामा त्याग गर्दै हिँडेको रविले सम्झाए ।

‘कतिले निर्वासित हुनुपर्‍यो, कतिले आफ्ना कलिला बालबालिकालाई छोडेर लुक्दै-भाग्दै हिँड्नुपर्‍यो। न पढाइको ठेगान थियो, न परिवारलाई के खुवाउने भन्ने टुङ्गो। जीवन सधैँ जोखिममा थियो। उहाँहरू ३० वर्ष लाग्छ भनेर यो लडाइँमा होमिनुभएको होइन। सफलता मिल्छ कि मिल्दैन भन्ने थाहा नहुँदा नहुँदै पनि, त्यो निरङ्कुश एकदलीय शासन व्यवस्थाका विरुद्ध उहाँहरू निरन्तर लडिरहनुभयो। आजको हाम्रो यात्रालाई सफल बनाउन उहाँहरूको त्यो त्याग र धैर्यलाई बुझ्न जरुरी छ’ रविले भने ।

कठोर व्यवस्थालाई पनि चुनौती दिएर उनीहरूले संघर्षमा होमिएको स्मरण गर्दै रविले यो कुरा बुझ्न अनुरोध गरे ।

‘यो देशमा परिवर्तन गर्छु भनेर माओवादी पार्टीका नेता-कार्यकर्ताहरू युद्धमा होमिए। उनीहरूलाई यो लडाइँ १० वर्ष चल्छ कि २० वर्ष, वा नतिजा के हुन्छ—केही पनि थाहा थिएन । तर, अनवरत रूपमा ज्यान जोखिममा राखेर उनीहरू हिँडिरहे’, रविले भने,’कैयौँ नेताहरूको टाउकोको मूल्य तोकिएको थियो। परिवर्तन कहिले आउँछ भन्ने उनीहरूलाई कुनै हेक्का थिएन, तर आफ्नो आस्था र विचारका लागि उनीहरू लडिरहे ।’

राजनीतिमा त्याग र योगदानको अर्थ सम्झाउन उनले आफ्ना सांसदहरूलाई इतिहासको उदाहरण दिएका थिए ।

‘यो संघर्ष र यो क्रान्तिलाई हेर्नुस् त—इतिहासकै सबैभन्दा सजिलो क्रान्ति हो यो। तपाईं घरमा तातो खाजा खाएर निस्कनुहुन्छ, तपाईंका बालबच्चा र परिवार सकुशल छन्, कसैले लखेटेको छैन’ उनले भने,’यस्तो सुरक्षित र सहज वातावरणमा बसेर गरिने राजनीतिलाई हामीले कठिन संघर्ष भन्न मिल्दैन। अब त यो प्राप्त अवसरलाई जनताको सेवामा बदल्ने बेला हो। अहिले हामीले कतै लुक्दै-भाग्दै हिँड्नुपरेको छैन। डाइनिङ टेबलमा तातो खाना तयार हुन्छ, बाहिर निस्कँदा सबैले ‘नमस्कार’ गर्छन् । वरिपरि क्यामेरा छन्, जताततै वाहवाही छ, र अन्तर्वार्ता दिन स्टुडियोहरूमा पुग्न भ्याइनभ्याइ छ। साथीहरू, इतिहासकै यति सजिलो क्रान्तिबाट आएर पनि यदि हामीले परिणाम दिन सकेनौँ भने, हामी जत्तिको ‘नालायक’ कोही ठहरिने छैन।’
रविले हिजोका नेताहरूले जसले परिणाम आउँछ कि आउँदैन भन्ने थाहा नपाई भोक-प्यासको परवाह नगरी संघर्ष गरेको बताए ।

‘इतिहासले मान्छेलाई बदनाम हुने वा सफल हुने अवसर जहिले पनि दिन्छ। हामी यहाँ कुनै ‘लोकसेवा’ पास गरेर जागिर खान आएका मान्छे होइनौँ । हामी त जनतामाझ एजेन्डा लिएर गएका हौँ। हामीले भन्यौँ—’हामी देश बदल्छौँ,’ र त्यही विश्वासका आधारमा आज हामी यहाँसम्म पुगेका हौँ। अब त्यो वाचा पूरा गर्ने बेला आएको छ। म के भन्न चाहन्छु भने—हामीले गरेका वाचाहरू पूरा गर्ने एउटै बलियो माध्यम भनेकै ‘विधेयक’ र कानुन निर्माण हो। म तपाईं माननीयज्यूहरूलाई देख्नेबित्तिकै एउटा छुट्टै जोश र ऊर्जा महसुस गर्छु ।’

निर्वाचन आयोगले राजनीतिज्ञ भनेर दिने प्रमाणपत्रले मात्र पूर्णज्ञान प्राप्त नहुने भन्दै सांसदहरूलाई मूल काममा लाग्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?