+
+
Shares
यात्रा संस्मरण :

गोसाईकुण्ड यात्रा : गन्तव्य राम्रो, यात्रा झन् रमाइलो

बिहान साढे चार बजे नै उठेर टर्चको सहारामा उकालो लाग्यौं । उज्यालो नहुँदै हिँड्दा आकाशमा टल्किएका ताराहरू पनि यात्राका साथी बनेका थिए ।

जीवन लामा जीवन लामा
२०८३ वैशाख १९ गते ७:४९

१९ वैशाख, काठमाडौं । घुम्नै पर्ने ठाउँहरूको सूचीमा सधैं अग्रस्थानमा थियो गोसाईकुण्ड । धेरै सुनेको, तस्बिर र भिडियोमा देखेको – तर पटक–पटकको प्रयासका बाबजुद पुग्न नसकेको गन्तव्य ।

घुम्न पैसा र समय मात्र पर्याप्त हुँदैन; इच्छाशक्ति, संयोग र साथ पनि उत्तिकै महत्वपूर्ण हुनेरहेछन् ।

घुम्न असाध्यै रुचाउने व्यक्तिमध्येका एक हुन्- ध्रुव आचार्य । उनले नेपालको ७६ जिल्ला घुमिसकेका छन् । हाम्रो स्वभाव मिल्ने एउटा प्रमुख आधार नै घुमाइ हो । भेट हुनेबित्तिकै हाम्रो कुराकानी नयाँ गन्तव्यतर्फ मोडिन्छ । यसपटक पनि त्यही भयो र गोसाईकुण्ड यात्रा तय भयो ।

रसुवाको धुन्चेमा उनका सामुदायिक वनसम्बन्धी कार्यक्रम रहेछ । दोलखाबाट उनी र फेकोफनका अध्यक्ष जगनाथ बस्नेत सहभागी हुँदै थिए । मलाई कार्यक्रमको अन्तिम दिन धुन्चे आइपुग्न आग्रह भयो र म पनि चरिकोटबाट यात्रामा निस्किएँ ।

धुन्चेबाट बिहान साढे चार बजे नै हामी तीनजनाको यात्रा सुरु भयो । नयाँ बाटो र नयाँ गन्तव्यले मनमा उत्सुकता थप्दै थियो । ७–८ किलोको ब्याग बोकेर उकालो लाग्दा थकानभन्दा पनि रोमाञ्च बढी महसुस हुन्थ्यो ।

ध्रुवजी दुई दशकअघि नै यहाँ पुगिसक्नुभएको रहेछ, तर अहिलेको परिवर्तन देखेर उहाँ स्वयं चकित हुनुहुन्थ्यो । बाटोघाटो, होटल, बिजुली, फोन र इन्टरनेट – सबैले विकासको फड्को मारेका थिए ।

देउरालीमा खाजा खाँदा एउटा रोचक अनुभूति भयो- नेपालीहरू खानुअघि मेनु हेर्नेभन्दा खाने बानी बढी राख्छन्, जबकि विदेशीहरू पहिले मेनु पढेर मात्रै निर्णय गर्छन् । रोल्वालिङ क्षेत्रको तुलनामा यहाँको खानाको मूल्य केही महँगो लाग्यो ।

चन्दनबारी पुग्दा पानीले स्वागत गर्‍यो । भोक र पानीको संयोगले त्यहाँको शेर्पा होटलमा उवाको ढिडोको स्वादले झनै मिठो बनायो । संयोगले हामी तीनैजना ढिडोका पारखी रहेछौं- थप्दै, हाँस्दै, रमाउँदै खायौं ।

वरिपरि लालीगुराँसले गाउँ नै राताम्य बनाएको थियो । होटलका टेबलदेखि बाटोसम्म लालीगुराँसले सजिएका दृश्यले मन लोभ्याइरहेका थिए ।

चोलाङपाटी पुग्दा ध्रुवजीको स्वास्थ्यमा समस्या देखियो । केही घण्टा विश्रामपछि उहाँ फर्किने निर्णयमा पुग्नुभयो । त्यसपछि जगनाथ र म मात्रै अघि बढ्यौं । यहाँबाट हिँड्न नसक्नेका लागि घोडाको व्यवस्था रहेछ । लौरीबिनासम्म २ हजार र कुण्डसम्म ७ हजार रुपैयाँ । केही यात्रुहरू घोडामै अघि बढिरहेका थिए ।

लौरीबिना पुग्दा साँझ पर्न थालिसकेको थियो । समुद्र सतहदेखि करिब ३९५० मिटर उचाइमा रहेको यो ठाउँ चिसो र शान्त थियो । हामी ‘मायाको होटल’ मा बस्यौं । प्याकेज प्रणालीमा चल्ने उक्त होटलमा एक जनाको १४५० रुपैयाँमा खाना, बसोबास र तातो पानीको व्यवस्था थियो ।

उचाइसँगै चिसो पनि बढ्दै थियो, तर मनमा गोसाईकुण्ड पुग्ने उत्साहले सबै थकान हराइरहेको थियो ।

बिहान साढे चार बजे नै उठेर टर्चको सहारामा उकालो लाग्यौं । उज्यालो नहुँदै हिँड्दा आकाशमा टल्किएका ताराहरू पनि यात्राका साथी बनेका थिए । नजिकै लाङटाङ हिमशृङ्खला, चिसो हावा र ठाडो उकालो – यी सबैले यात्रा चुनौतीपूर्ण बनाए पनि दृश्यले मन प्रफुल्लित पार्थ्यो । लौरो बिना हिँड्न गाह्रो हुने भएकाले नै सायद यस ठाउँको नाम ‘लौरीबिना’ रहन गएको हो ।

करीब साढे दुई घण्टाको कठिन उकालो, तेस्रोपछि अन्ततः गोसाईकुण्ड क्षेत्र पुग्यौं । नागकुण्ड, भैरवकुण्ड हुँदै मुख्य गोसाईकुण्ड—४३८० मिटर उचाइमा अवस्थित यी कुण्डहरू लस्करै सजिएका थिए ।

कुण्ड वरिपरि एक फन्को लगाउँदा प्रकृतिको अनुपम सौन्दर्यसँग प्रत्यक्ष साक्षात्कार भयो । त्यहाँ पुगेपछि भोक, प्यास र थकान सबै हराएजस्तो लाग्यो ।

कुण्डको नीलो पानी, वरिपरिका हिमाल, साना–साना घरहरू र ढुंगाका आकृतिहरूले दृश्यलाई चित्रझैं बनाइदिएका थिए । धेरैजना यात्रु कुण्डमा स्नान गरिरहेका थिए, तर मैले भने मुख पखालेर क्यामेरामा ती क्षणहरू कैद गर्न रोजेँ । डेढ घण्टाको बसाइ छोटो लागे पनि अत्यन्तै उपलब्धिमूलक रह्यो ।

गोसाईकुण्ड केवल धार्मिक आस्था होइन, सांस्कृतिक र प्राकृतिक सौन्दर्यको अद्वितीय संगम पनि रहेछ । यहाँ नेपालीभन्दा विदेशी पर्यटकको उपस्थिति बढी देखिन्थ्यो । उनीहरू घण्टौंसम्म कुण्डलाई नियाल्दै, ध्यानमा मग्न भएर प्रकृतिसँग संवाद गरिरहेका हुन्थे । त्यो दृश्यले मलाई पनि केही क्षण मौन बनायो – जहाँ शब्दभन्दा अनुभूति बलियो हुन्छ ।

यो यात्रा गन्तव्यमा पुग्ने संघर्ष मात्र रहेन, बाटोभरि भेटिएका दृश्य, अनुभूति र साथीहरूको साथले बनेको एउटा जीवन्त संस्मरण बन्यो । कहिलेकाहीँ गन्तव्यभन्दा यात्रा आफैं सुन्दर हुन्छ भन्ने कुरा गोसाईकुण्डले फेरि एकपटक सम्झाइदियो ।

 

लेखक
जीवन लामा

जीवन लामा दोलखामा कार्यरत सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?