News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ तर नर्सहरूलाई दुई दिन बिदा व्यवहारमा लागु भएको छैन।
- अस्पतालमा नर्सहरूको संख्या कम भएकाले सेवा निरन्तरता गर्नुपर्ने र बिदा दिन नसकिने अस्पताल प्रशासनले बताएको छ।
- नर्सहरूले बिदा नपाउँदा मानसिक दबाब र पारिवारिक जीवनमा असर परेको भन्दै सेवा–सुविधा सुधार र अतिरिक्त भत्ता माग गरेका छन्।
१७ वैशाख, काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । स्वास्थ्य क्षेत्रमा पनि चिकित्सक र प्रशासनिक कर्मचारीका लागि शनिबार र आइतबार बिदा लागु भएको छ ।
यो निर्णय सुनेर अस्पतालमा काम गर्ने नर्सहरू पनि खुसी भएका थिए । उनीहरूलाई लागेको थियो– अब केही समय परिवारसँग पनि बिताउन पाइन्छ । थकान घटाउने मौका मिल्नेछ ।
तर, नर्सहरूको त्यो आशा पूरा भएन । वार्डमा काम गर्ने नर्सका लागि दुई दिन बिदाको निर्णय व्यवहारमा लागु भएको छैन । अस्पताल प्रशासनले नर्सको संख्या कम भएकाले बिदा दिन नसकिने बताउँदै आएको छ ।
वीर अस्पतालमा कार्यरत एक नर्सका अनुसार अस्पतालमा बिरामीको निरन्तर सेवा गर्नुपर्ने भएकाले नर्सहरूले शनिबार र आइतबार बिदा पाउने अवस्था छैन ।
सरकारले दुई दिन बिदा घोषणा गरे पनि आफूहरूलाई ‘सट्टा बिदा’को नाममा नियमित ड्युटीमै खटाउँदै आएको ती नर्स बताउँछिन् ।
‘दुई दिन बिदाको कुरा सुन्दा खुसी भएका थियौँ । तर वार्डमा त कुनै फरक परेन,’ ती नर्स भन्छिन्, ‘अरू कर्मचारी बिदा मनाइरहेका बेला हामी भने ड्युटीमै हुन्छौँ ।’

अस्पतालमा चिकित्सकको नियमित ओपीडी र शल्यक्रिया सेवा शनिबार र आइतबार बन्द हुने भएकाले उनीहरूलाई बिदा लिन सहज हुन्छ । तर भर्ना भएका बिरामीको हेरचाह निरन्तर गर्नुपर्ने भएकाले नर्सलाई भने बिदा लिन कठिन हुन्छ ।
उपचारका क्रममा नर्सहरू नै बिरामीको सबैभन्दा नजिक हुन्छन् । भर्ना भएका बिरामीको हेरचाह, आकस्मिक अवस्थाका बिरामीलाई तुरुन्त सम्हाल्ने, डाक्टरलाई रिपोर्ट बुझाउने लगायतका नर्सकै जिम्मामा हुन्छन् ।
एक नर्सले वार्डमा ४० जना र आईसीयूमा काम गर्ने एक नर्सले ३ देखि ५ जना बिरामी हेर्नुपर्ने बाध्यता छ । जबकि, आईसीयू राखिएका एक बिरामी बराबर एक नर्स हुनुपर्ने मापदण्ड छ ।
वीरमा आठ–आठ घण्टाको सिफ्ट प्रणाली लागु छ । बिहान ८ बजेदेखि ४ बजेसम्म, दिउँसो १२ बजेदेखि ७ बजेसम्म र राति ७ बजेदेखि बिहान ८ बजेसम्म ड्युटी गर्नुपर्छ ।
‘सरकारले दुई दिन बिदा भन्यो, तर हामीले त्यो बिदा ठ्याक्कै शनिबार–आइतबार पाउँदैनौं,’ वीर अस्पतलको ग्यास्ट्रो विभागकी एक नर्स भन्छिन्, ‘हामी २४ घण्टा सेवा चल्ने विभागमा काम गर्छौं । स्टाफ नै कम भएकाले बिदा लिन सक्ने अवस्था नै छैन ।’
ती नर्सका अनुसार अघिल्लो वर्ष सार्वजनिक बिदाको समेत काम गरेको ‘सट्टा बिदा’ लिन बाँकी छ ।
‘दशैं–तिहार जस्ता सार्वजनिक बिदामा पनि ड्युटी हुन्छ । त्यसको सट्टा बिदा पाइन्छ भनिन्छ,’ ती नर्सले गुनासो पोखिन्, ‘अघिल्लो वर्षकै १० दिन सट्टा बिदा बाँकी छ । सरकारको दुई दिन बिदाले हामीलाई कुनै राहत भएको छैन ।’
अधिंकाश सरकारी अस्पतालका नर्स जनशक्ति कम भएको भन्दै दुई दिनको बिदा उपभोग गर्न नसकेको बताउँछन् ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत एक नर्स बिदाको सुविधा कागजमै सीमित भएको बताउँछिन् ।
‘पहिले जसरी काम गरेका थियौं, अहिले पनि त्यही अवस्था छ । हामी सातामा करिब ४५ घण्टा काम गर्छौं,’ ती नर्स भन्छिन्, ‘चिकित्सकहरूले भने पाँच दिनमै काम सक्ने गरी कार्यघण्टा मिलाएर दुई दिन बिदा पाउनुभएको छ ।’
गंगालालमा आइतबार पनि ओपीडी सेवा सञ्चालन हुन्छ । अस्पतालमा चिकित्सक र प्रशासनिक कर्मचारीको दैनिक काम गर्ने समय एक घण्टा बढाएर सातामा दुई दिन बिदा दिने व्यवस्था गरिएको छ ।
नर्सको संख्या सीमित भएकाले दुई दिन बिदा लागु गर्न व्यवस्थापनले कठिनाइ देखाउने गरेको छ । ‘एकैपटक दुई–तीन सय नर्सलाई दुई दिन बिदा दिनुपर्यो भने वार्डमा जनशक्ति अभाव हुन्छ भन्ने भनाइ व्यवस्थापनको छ,’ ती नर्सले भनिन् ।
तर, नर्स भने यसलाई व्यवस्थापनको कमजोरीको रूपमा हेर्छन् । उनीहरूका अनुसार एउटै अस्पतालमा काम गर्ने कर्मचारीबीच यस्तो विभेदपूर्ण व्यवस्था हुनु अन्यायपूर्ण हो ।
‘अस्पतालको सेवा रोकिएको छैन । ओपीडी चलिरहेको छ । इन्डोर सेवा पनि पहिले जस्तै चलेको छ । तर सुविधा भने सबैले बराबरी पाएका छैनन्,’ ती नर्सले गुनासो गरिन् ।
अस्पतालले दुई दिन बिदा व्यवस्थापन गर्न नसकिएको भन्दै पुरानै तालिका राखिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी एक नर्स बताउँछिन् ।

‘पहिले जस्तै सिफ्ट ड्युटी नै चलिरहेको छ । धेरै स्टाफ नभएकाले दुई दिन बिदा व्यवस्थापन गर्न नसकिएको भन्दै पुरानै तालिका राखिएको छ,’ ती नर्सले समस्या पोखिन्, ‘दुई दिन बिदाको माग गरेका हौं । तर अस्पतालले स्टाफ अभाव देखाउँदै मिलाउन सकेको छैन ।’
उनी पोस्ट–अपरेटिभ वार्डमा कार्यरत छिन् । ९ वेडको वार्डमा गम्भीर प्रकृतिका बिरामीको उपचार हुन्छ ।
‘कहिलेकाहीँ नर्स दुई जना मात्रै हुन्छौँ । कहिले त एक जनाले नै ९ वटा बेडका बिरामी हेर्नुपर्ने हुन्छ,’ ती नर्स भन्छिन्, ‘धेरै बोझ लिएर काम गर्नुपर्ने बाध्यता छ ।’
अत्यधिक कार्यबोझले नर्सलाई मानसिक दबाब धेरै हुन्छ । बिरामीको जीवनसँग प्रत्यक्ष जोडिएको काम भएकाले सानो गल्तीले पनि ठूलो असर पार्न सक्छ । त्यसैले उनीहरू सधैं सतर्क रहनुपर्छ । आकस्मिक अवस्थामा बिरामीको अवस्था बिग्रँदा सबैभन्दा पहिले दौडिने पनि नर्स नै हुन्छन् ।
कामको चाप र थकानका कारण उनीहरूको व्यक्तिगत जीवनमा पनि असर परेको छ । परिवारसँग समय बिताउन नपाउनु, पर्व–उत्सवमा पनि ड्युटीमा रहनु, अनियमित सिफ्टका कारण दैनिकीलाई कठिन बनाएको छ । हप्तामा दुई दिन बिदा पाए मानसिक तनाव पनि कम हुने उनीहरूको आश छ ।
नर्सका अनुसार दुई दिन बिदा नहुँदा पारिवारिक जीवनमा पनि असर परेको छ । ‘घरमा बच्चाबच्ची हुन्छन् । परिवारलाई समय दिन पाउँदैनौँ । अरू सबै दुई दिन बिदामा बस्दा हामी भने अस्पतालमै हुन्छौँ,’ कान्ति बाल अस्पतालकी एक नर्सले गुनासो गरिन् ।
नर्सहरूलाई ड्युटीको चाप त छँदैछ, कामअनुसार तलब र सेवासुविधा पनि सन्तोषजनक छैन । कतिपय अस्पतालमा ओभरटाइमको स्पष्ट व्यवस्था छैन । अतिरिक्त काम गरे पनि त्यसको उचित पारिश्रमिक नपाउने गुनासो नर्सहरूको छ ।
त्यसैले दुई दिन बिदा दिन नसक्ने हो भने कम्तीमा अतिरिक्त सेवा-सुविधा दिनुपर्ने उनीहरूको माग छ ।

‘हामीलाई पनि दुई दिन बिदा मिल्ने गरी जनशक्ति व्यवस्थापन गर्नुपर्छ,’ भक्तपुर अस्पतालकी एक नर्स भन्छिन्, ‘स्वास्थ्यकर्मी सबैलाई समान रूपमा लागु हुने नीति भए मात्रै न्याय हुन्छ ।’
जनशक्ति अभावका कारण कामको चाप बढेको नर्सहरू बताउँछन् । कहिलेकाहीँ लगातार रातको सिफ्टपछि पनि आराम पाउँदैनन् । लामो समय उभिएर काम गर्नुपर्ने भएकाले थकान धेरै हुन्छ ।
‘यदि अस्पतालले बिदा दिन सक्दैन भने एक दिन बराबरको अतिरिक्त सेवा-सुविधा वा भत्ता दिनुपर्छ,’ वीर अस्पतालको न्युरो वार्डकी एक नर्स भन्छिन्, ‘नत्र यो निर्णयले हामीलाई अन्य कर्मचारीभन्दा फरक व्यवहार गरेको महसुस हुन्छ ।’
सरकारी नर्सिङ संघ (गोनान) की अध्यक्ष कल्पना श्रेष्ठ नर्सलाई सेवा–सुविधामा भेदभाव भएको बताउँछिन् । ‘चिकित्सकले शनिबार–आइतबार बिदा पाउँछन्, तर नर्सले पाएका छैनन् । यसरी हेर्दा निर्णय एकतर्फी जस्तो देखिन्छ,’ कल्पनाले भनिन् ।
नर्सहरूले बिदाको दिन काम गर्दा अतिरिक्त भत्ता वा प्रोत्साहन सुविधा दिनुपर्ने माग गर्दै आएका छन् ।
‘सार्वजनिक बिदामा काम गर्दा अतिरिक्त पारिश्रमिक वा प्रोत्साहन भत्ताको व्यवस्था हुनुपर्छ,’ उनी भन्छिन्, ‘बिदामा काम गरेको उचित भत्ता हुनुपर्छ । नत्र यो श्रमको शोषण नै हो ।’
नर्स अभियन्ता ज्योति रानाभाट नर्सिङ पेसालाई हेपेर व्यवहार गरिएको तर्क गर्छिन् । ‘नर्सिङ पेसालाई सधैं हेप्ने, च्याप्ने गरिन्छ,’ ज्योति भन्छिन्, ‘स्वास्थ्य सेवा चलाउन नर्स चाहिन्छ । तर सुविधा भने कटौती गरिन्छ । दुई दिन बिदाको निर्णय पनि त्यही विभेदको उदाहरण हो ।’

सरकारी अस्पताल र प्रतिष्ठानमा कार्यरत नर्सहरूले आफूलाई फोन र सन्देशमार्फत गुनासो राखिरहेका उनले बताइन् । उनका अनुसार अधिंकाश अस्पतालमा सिनियर नर्सले बिदा पाइरहेका छन् । तर फ्रन्टलाइनमा खटिने नर्सलाई बिदा दिइएको छैन ।
अस्पतालमा पहिले नै जनशक्ति अभाव छ । एक नर्सले एकै पटक ५० जना बिरामी हेर्नुपर्ने अवस्था छ ।
‘एक दिन बिदा दिँदा नै वार्ड चलाउन गाह्रो हुन्छ,’ ज्योति भन्छिन्, ‘दुई दिन बिदा दिँदा अझै धेरै जनशक्ति चाहिन्छ । सरकारसँग पर्याप्त नर्स छैनन् । यही अवस्थामा बिदा घटाएर बोझ नर्समाथि थोपर्ने काम भइरहेको छ ।’
अहिलेको अवस्थामा सरकारले दुई विकल्पमा काम गर्नुपर्ने उनी औंल्याउँछिन् । पहिलो- पर्याप्त जनशक्ति थपेर दुई दिन बिदा लागु गर्ने ।
दोस्रो- बिदामा काम गर्ने नर्सलाई अतिरिक्त भत्ता दिने ।
‘कसैले दुई दिन बिदा पाउने, कसैले नपाउने व्यवस्था स्वीकार्य हुँदैन,’ ज्योति भन्छिन्, ‘फ्रन्टलाइनमा काम गर्ने नर्सलाई भेदभाव गर्न पाइँदैन ।’
नर्सिङ संघ संगठन कमजोर भएकाले सरकारले यस्ता समस्यालाई समाधान गर्न नसकेको उनको आरोप छ ।
अनलाइनखबरले संवाद गरेका सरकारी अस्पतालका एक दर्जन नर्सले आफ्नो परिचय खुलाउन चाहेनन् । अस्पताल प्रशासन र इन्चार्जले स्पष्टीकरण सोध्ने भएकाले नाम खुलाउन नचाहेको उनीहरूको भनाइ थियो ।
अधिकांश नर्सको भनाइ उस्तै थियो– अन्याय भए पनि चुपचाप काम गरिरहेका छौं । नर्सिङ संघले हाम्रो समस्या उठाउन सकेको छैन । सरकारले पनि अन्यायपूर्ण व्यवहार गरेको छ ।’

नर्सिङ संघ भन्छ– बिदा नदिँदा थप पारिश्रमिक दिनुपर्छ
नेपाल नर्सिङ संघ (नान) की अध्यक्ष चन्द्रकला शर्मा नर्सलाई शारीरिक र मानसिक हिसाबले पनि सातामा दुई दिन बिदा दिनुपर्ने बताउँछिन् । तर अधिंकाश अस्पतालका नर्सले थप अतिरिक्त बिदा नपाएको गुनासो गरेको उनले बताइन् ।
‘बिरामी र नर्सको अनुपात मिलाइएको छैन । उसै पनि नर्स श्रम शोषणमा परिरहेका छन्,’ शर्मा भन्छिन्, ‘अन्य कर्मचारीले पाउने, नर्सले नपाउने भन्ने हुँदैन ।’
स्वास्थ्य मन्त्री निशा मेहतालाई नर्सिङ जनशक्ति थप गरेर भए पनि बिदा मिलाउन पटक–पटक आग्रह गरिएको उनले बताइन् । ‘सरकारले तत्कालै जनशक्ति थप्न सक्दैन भने थप सेवा-सुविधा दिनुपर्छ । नर्सलाई सधैं विभेद गर्न पाइँदैन,’ उनले भनिन् ।

स्वास्थ्य मन्त्रालय भने यस विषयमा ठोस जवाफ दिन सकेको छैन । किन नर्सलाई दुई दिन बिदा दिन सकिएन भन्ने प्रश्नमा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी भन्छन्, ‘जनशक्ति कम हुँदा नर्सले एक दिनकै बिदा प्रयोग गर्न पाएका छैनन् । दुई दिनको बिदा पाउन गाह्रै छ ।’
नर्सलाई मात्रै किन भेदभाव भन्ने थप प्रश्नमा डा. बुढाथोकीले जनशक्ति कम भएकाले र थप अतिरिक्त सेवा-सुविधा दिन नसक्दा यस्तो अवस्था आएको स्वीकारे ।
‘यो विषय स्वास्थ्य मन्त्रालयले समाधान गर्न क्षमता छैन । यसका लागि प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयसँग समवन्य गरिहेका छौं,’ डा. बुढाथोकीले भने ।
प्रतिक्रिया 4