+
+
Shares

बिरामी हेर्दै गरेका डाक्टर अब कानुन बनाउने थलोतिर

डा. ओजस्वी शेरचन र डा. अंकिता ठाकुरको जीवनमा पनि यस्तै मोड आयो, जसले उनीहरूलाई अचानक समाज र देशका मुद्दामा बोल्ने ठाउँमा पुर्‍यायो ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८२ चैत २ गते २०:४९
डा. ओजस्वी शेरचन र डा. अंकिता ठाकुर ।
Listen News
0:00
0:30
🔊

२ फागुन, काठमाडौं । मानिसको जीवनमा कहिलेकाहीँ अनपेक्षित मोड आउँछ । डा. ओजस्वी शेरचन र डा. अंकिता ठाकुरको जीवनमा पनि यस्तै मोड आयो, जसले उनीहरूलाई अचानक समाज र देशका मुद्दामा बोल्ने ठाउँमा पुर्‍यायो ।

डाक्टरद्वय अंकिता र ओजस्वीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेर प्रतिनिधिसभाको यात्रा तय गरे ।

अनुसन्धान र चिकित्सा सेवामा केन्द्रित रहेकी ओजस्वी अब नीति निर्माणको थलोमा पुगेकी छिन् । काठमाडौंमा जन्मिएकी डा. ओजस्वीको बाल्यकालदेखि नै अध्ययनप्रति गहिरो रुचि थियो । उनले भारतको कालिम्पोङस्थित सेन्ट जोसेफ कन्भेन्टबाट कक्षा १० सम्म गरेकी हुन् । त्यसपछि काठमाडौं फर्केर युनिभर्सल एकेडेमीबाट प्लस टु गरिन् ।

सन् २००८ मा नेपाल मेडिकल कलेज अत्तरखेलबाट एमबीबीएस सकेकी डा. ओजस्वीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सन् २०१४ मा बायोकेमेस्ट्रीमा विशेषज्ञता हासिल गरिन् ।

अध्ययन सकेपछि ओजस्वीले करिब एक दशकसम्म बीपी प्रतिष्ठानमा काम गरिन् । अनुसन्धान, अध्यापन र अस्पतालको वातावरणमा बिताएको समयले उनलाई चिकित्सा क्षेत्रको व्यावहारिक अनुभव दिलायो ।

पछि उनी काठमाडौं फर्किइन् । नेपाल मेडिकल कलेजमा अध्यापन तथा अनुसन्धानमा संलग्न भइन् । अहिले ओजस्वी मेडिकल कलेजको बायोकेमेस्ट्री विषयकी एसोसिएट प्रोफेसरका रूपमा कार्यरत छिन् ।

चिकित्सा शिक्षा, अनुसन्धान र प्रयोगशालामा केन्द्रित उनको करिअर दुई दशकभन्दा बढी समय निरन्तर अगाडि बढिरह्यो ।

समाजसेवामा पनि सक्रिय उनी ‘मिसेस नेपाल कल्चर २०२३’ विजेतासमेत हुन् ।

व्यक्तिगत जीवनमा पनि उनी चिकित्सा क्षेत्रमै आबद्ध परिवारकी सदस्य हुन् । उनका श्रीमान् डा. कुञ्जन शेर्पा नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष हुन् । उनका दुई छोरी छन् ।

राजनीतिमा प्रवेश गर्ने विषय भने सुरुमा योजना नभएको ओजस्वी बताउँछिन् ।

‘म सधैं आफ्नो मेडिकल लाइन, साइन्स र रिसर्चमै केन्द्रित भएर काम गर्ने मान्छे थिएँ । राजनीति गर्ने सोच पहिले थिएन,’ उनले अनलाइनखबरसँग भनिन् ।

तर, २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि उनको सोचमा परिवर्तन आयो । युवा आन्दोलनले राजनीतिकतर्फ सोच्न बाध्य बनाएको उनको भनाइ छ ।

देशको नीति निर्माणमा विभिन्न क्षेत्रका अनुभवी मानिसको सहभागिता आवश्यक भएको ओजस्वी बताउँछिन् ।

आफ्नो अनुभव, सिप र ज्ञानलाई देशका लागि प्रयोग गर्न सकिन्छ भन्ने विश्वासले उनले सक्रिय राजनीति रोजेको उनी बताउँछन् ।

अस्पतालमा ‘डाक्टर साहेब’ भनेर चिनिने ओजस्वी अब संसद्‌मा ‘माननीय’का रूपमा उपस्थित हुने छिन् । तर भूमिका फेरिए पनि प्राथमिकता भने स्वास्थ्य र शिक्षाको नीतिगत सुधारमा केन्द्रित हुने उनको भनाइ छ ।

‘स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउने, अस्पतालहरूको व्यवस्थापन सुधार गर्ने र महामारी जस्ता चुनौतीका लागि तयार बनाउने विषयमा काम गर्न चाहन्छु,’ उनी भन्छिन् ।

डा. ओजस्वीको अर्को चिन्ता महामारी व्यवस्थापन हो । नेपालमा समय–समयमा डेंगु, फ्लु, कोभिड जस्ता महामारी देखिने गरेको छ ।

महामारी फैलिँदा अस्पतालहरू भरिभराउ हुने र स्वास्थ्य प्रणालीमा दबाब बढ्ने अवस्था आउँछ । त्यस्तो अवस्थामा अन्य दीर्घरोगी बिरामीहरूको उपचार कसरी व्यवस्थित गर्ने भन्ने चुनौती देखिन्छ ।

‘महामारी आउँदा अस्पताल कसरी व्यवस्थापन गर्ने, सीमित जनशक्तिमा पनि सेवा कसरी प्रभावकारी बनाउने भन्ने विषयमा स्पष्ट नीति बनाउन केन्द्रित हुनेछु,’ डा. ओजस्वी भन्छिन् ।

डा. ओजस्वी शेरचन

५७ जना समानुपातिक सांसदमध्ये पाँच नर्स पनि छन् । नर्स प्रभा ढकाल कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा अप्रेसन थिएटर नर्सका रूपमा काम गर्छिन् ।

यसैगरी, नर्स खिमा विक, निशा मेहता, कामिनी चौधरी र समिना मियाँ पनि समानुपातिकतर्फबाट सांसद बनेका छन् ।

त्यसैगरी, सानैदेखि सार्वजनिक जीवनमा सक्रिय डा. अंकिता ठाकुर स्वास्थ्य क्षेत्रको अनुभवलाई नीति निर्माणको गर्ने जिम्मेवारी पुगेकी छिन् । उनी दन्त चिकित्सक हुन् ।

अंकिता ले ललितपुरस्थित ज्ञान सिखा बोर्डिङ हाई स्कुलबाट विद्यालय शिक्षा पूरा गरिन् । स्कुल जीवनमै उनी नेतृत्व र रचनात्मक गतिविधिमा सक्रिय थिइन् ।

स्कुलका विभिन्न गतिविधिमा अग्रपंक्तिमा रहने उनी ‘फ्रेन्ड्स अफ जू’ नामक समूहको अध्यक्ष भएर पनि करिब ६ वर्ष काम गरिन् ।

बाल्यकालदेखि नै टेलिभिजन, रेडियो र सार्वजनिक कार्यक्रमहरूमा उनको उपस्थिति देखिन्थ्यो ।

त्यही सक्रियताले उनलाई सञ्चार क्षेत्रतर्फ पनि तान्यो । स्कुल पढ्दापढ्दै उनले विभिन्न मिडिया कार्यक्रममा सहभागी हुने अवसर पाइन् ।

सेन्ट जेभियर्स कलेज प्लस टु अध्ययनका गरिन् । अंकिताको परिवारमा चिकित्सक र इन्जिनियर बन्ने परम्परा जस्तै थियो । परिवारको प्रेरणा र समाजसेवाको चाहनाले उनले चिकित्सा क्षेत्र रोजिन् ।

‘देश र समाजका लागि केही गर्ने चाहना मनैदेखि थियो,’ डा. अंकिता  भन्छिन्, ‘त्यही कारण मेडिकल क्षेत्रमा लागें ।’

उनले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (यूसीएमएस) भैरहवाबाट दन्त चिकित्सा (बीडीएस) गरेकी छिन् । भैरहवामा पढ्दाको समय उनले स्थानीय टेलिभिजन र एफएममा उद्घोषकका रूपमा समेत काम गरिन् ।

त्यस्तै, कलेजमा रहेको करुणा च्यारिटी हेल्थ सोसाइटीमा सक्रिय भएर उनले धेरै सामाजिक कार्यक्रम सञ्चालन गरिन् । उक्त संस्था गरिब तथा असहाय बिरामीको उपचारका लागि फन्ड संकलन गर्ने उद्देश्यले स्थापित भएको थियो । ‘हामीले चन्दा संकलन गरेर पैसा तिर्न नसक्ने बिरामीहरूको उपचार गराउँथ्यौँ,’ डा. अंकिता सम्झिन्छिन् ।

रक्तदान कार्यक्रम, सरसफाइ अभियान, वातावरण संरक्षण र विभिन्न सामाजिक गतिविधिमा पनि उनी निरन्तर सक्रिय रहिन् ।

डा. अंकिता ठाकुर

अध्ययन पूरा गरेपछि उनले दन्त चिकित्सकका रूपमा काम सुरु गरिन् । उनी ललितपुरको नोभा डेन्टल एन्ड एस्थेटिक क्लिनिककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।

चिकित्सा र सामाजिक सेवासँगै उनले सांस्कृतिक तथा व्यक्तित्व विकासका कार्यक्रमहरूमा पनि भाग लिइन् ।

सन् २०२३ मा आयोजित ‘मिसेस नेपाल कल्चर’ प्रतियोगितामा उनले सहभागिता जनाइन् । उक्त प्रतियोगितामा फर्स्ट रनर अप बन्न सफल भएकी थिइन् ।

उनको राजनीतिक यात्रा भने विवाहपछि सुरु भयो । उनका ससुरा लामो समयदेखि राजनीतिमा सक्रिय थिए । उनी जसपाका केन्द्रीय सदस्यसमेत थिए ।

घरको वातावरण र ससुराको मार्गदर्शनले राजनीतितर्फ आकर्षित गरेको उनी बताउँछिन् ।

‘राजनीति घरमै देखेर सिकेँ,’ उनी भन्छिन्, ‘अब नयाँ पुस्ताले जिम्मेवारी लिनुपर्छ भन्ने सन्देशबाट प्रेरित भएर राजनीतिमा आए ।’

अब उनी संसदमा पुगेर स्वास्थ्य नीति, सामाजिक न्याय र महिलाको अधिकारका विषयमा आवाज उठाउने तयारीमा छन् ।

मधेशका धेरै महिलाहरू अझै पनि अवसर र पहुँचबाट वञ्चित छन् ।

महिलालाई घरको चार पर्खालबाट बाहिर ल्याएर नेतृत्वमा पुर्‍याउने काम गर्नुपर्ने उनको भनाइ छ । विशेषतः मधेश क्षेत्रको प्रतिनिधित्व गर्ने उनी मधेशको स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार आवश्यक रहेको बताउँछिन् ।

‘म मधेशकी छोरी र बुहारीको हैसियतले मधेशको महिलाको आवाज उठाउँछु,’ डा. ठाकुर भन्छिन् ।

नेपालको संघीय संसद्को प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएर डा. लेखजंग थापा, डा. तोसिमा कार्की, जनस्वास्थ्यविज्ञ आनन्दबहादुर चन्द, दृष्टिरोग विशेषज्ञ दीपककुमार साह, डा. शम्भुकुमार यादव र स्वास्थ्य स्वयंसेविका आशा झा सांसदका रूपमा प्रवेश गरेका छन् ।

उनीहरू सबै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जित हासिल गरेका हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?