News Summary
Generated by OK AI. Editorially reviewed.- उत्तर प्रदेशका २३ वर्षीय सुरज भास्करले सरकारी मेडिकल कलेजमा एमबीबीएस पढ्न पाउने आशाले आफ्नो खुट्टा काटेका छन्।
डाक्टरलाई समाजमा प्रतिष्ठित पेशा मानिन्छ । त्यसैले आफ्ना सन्तानलाई डाक्टर बनाउने सपना धेरै अभिभावकको हुन्छ । धेरै विद्यार्थीहरूले सानै उमेरदेखि डाक्टर बन्ने सपना बुनिरहेका हुन्छन् ।
सपना देख्न जति सजिलो छ, डाक्टरी पढ्न त्यत्तिकै मुस्किल छ । पढाइमा अब्बल हुनु त पर्छ नै तर यसका लागि लाग्ने मोटो रकम डाक्टर बन्ने सपना पालेका हरकोहीका लागि सबैभन्दा ठूलो चुनौती हो । सरकारी छात्रवृत्तिमा नाम निकालेर निःशुल्क पढ्न प्रतिस्पर्धा धेरै हुन्छ ।
डाक्टर बन्न संघर्षरत भारतका एक युवकले सरकारी मेडिकल कलेजमा पढ्न अनौठो हर्कत गरेका छन् ।
उत्तर प्रदेशका ती युवकले एमबीबीएस अध्ययनका लागि आफूलाई अपांगताको पार्न आफ्नै खुट्टा काटेको विषयले भारतमा निकै चर्चा पाएको छ ।
जैनपुर जिल्लाको खलीलपुर गाउँ निवासी २३ वर्षीय सुरज भास्करले सरकारी मेडिकल कलेजमा एमबीबीएस पढ्न पाउने आशाले आफ्नो खुट्टा काटेका हुन् ।
प्रहरीले २१ जनवरीमा यो घटना सार्वजनिक गरेको थियो ।
इन्डियन एक्सप्रेसका प्रकाशित खबरअनुसार सुरजका दाइ आकाश भास्कर १८ जनवरी आइतबारको दिन प्रहरीकहाँ उजुरी गर्न पुगे । उनले प्रहरीलाई भने, ‘मेरो भाइ सुरजमाथि अज्ञात समूहले आक्रमण गरी बेहास् बनायो र खुट्टा समेत काटिदियो ।’
उनको बयानअनुसार बिहान ५ बजेतिर एक समूहले घरमै छिरेर सुरजमाथि आक्रमण गरेको थियो । खुट्टा समेत काटिदियो । बेहास् अवस्थामा रहेका भाइलाई तुरुन्त अस्पताल पुर्याएर आफू प्रहरीमा उजुरी गर्ने आएको उनले प्रहरीसमक्ष बताए ।
आकाशको भनाइका आधारमा प्रहरीले रिपोर्ट दर्ता गर्यो । अनि घटनामाथि अनुसन्धान सुरु भयो । अनुसन्धानको क्रममा प्रहरीले खुट्टा काटिएका सुरजको बयान लियो । उसको बयानमाथि प्रहरीलाई शंका लाग्यो ।
घटना घटेको भनेको घरमा गएर प्रहरीले निरीक्षण गर्यो । उनको घरमा जबरजस्ती कोही भित्र छिरेको कुनै प्रमाण प्रहरीले फेला पारेन ।
त्यत्रो चोट लाग्दा धेरै रगत बगेको हुनुपर्ने त्यो खालको कुनै चिह्न पनि भेटिएन ।
प्रहरीले उनको फोन जाँच गर्यो । उनीसँग धेरै सम्पर्क भइरहने एक युवतीसँग प्रहरीले बयान लियो । यसपछि प्रहरीलाई झन शंका बढ्यो ।
प्रहरीले उनको डायरीको फेला पार्यो जसमा उनले लेखेका थिए, ‘म २०२६ मा एमबीबीएस डाक्टर बन्नेछु।’
एमबीबीएस अध्ययनका लागि लिइने प्रवेश परीक्षा(निट) दिँदा यसअघि उनले दुई पटकसम्म सरकारी कलेजमा नाम निकाल्न सकेनन् । यो कुराले उनी निकै मानसिक तनावमा थिए ।
पहिलेदेखि नै सुरजको हातमा थोरै समस्या थियो । यही देखाएर उनले आफूलाई अपांगताको प्रमाणपत्र दिन माग गरेका थिए । उनको समस्या अपांगताको प्रमाणपत्र दिनुपर्नेसम्मको नभएका भनी पाउन सकेका थिएनन् ।
यी सबै प्रमाण भेला पारेपछि प्रहरीले उनको घरमा थप खानतलासी गर्दा बेहोस् बनाउने सुई फेला पार्यो । बेहोस् गराउने सुई लगाएर घर बनाउँदा प्रयोग गरिने ग्राण्डर मेसिनले बायाँ खुट्टाको बीच भागमा काटेको कुरा प्रहरीले अनुसन्धानबाट पत्ता लगायो ।
हाल उनी एक निजी मेडिकल कलेजमा उपचार गराइरहेका छन् । उनलाई कुन अपराधको कसुरमा सजाय दिन भनेर प्रहरीले परामर्श गरिरहेको छ ।
प्रतिक्रिया 4