News Summary
Generated by OK AI. Editorially reviewed.- गायक तथा अभिनेता प्रशान्त तामाङको दिल्लीस्थित निवासमा कार्डियाक अरेस्टका कारण ४२ वर्षको उमेरमा निधन भएको छ।
- कार्डियाक अरेस्ट भनेको मुटुले अचानक काम गर्न छोड्नु हो जसले ३ देखि ५ मिनेटभित्र मृत्यु निम्त्याउन सक्छ।
- नेपालमा युवामा कार्डियाक अरेस्टको संख्या बढ्दो छ र आधुनिक जीवनशैली, तनाव, र निद्राको कमी मुख्य कारण हुन् ।
काठमाडौँ । सांगीतिक जगतमा एक समय अत्यन्तै लोकप्रिय नाम थियो — प्रशान्त तामाङ ।
दार्जीलिङ निवासी नेपाली मुलका तामाङ इन्डियन आइडल सिजन ३ का विजेता हुन् । सन् २००७ मा आफ्नो स्वर र व्यक्तित्वले नेपाली र भारतीय दर्शक–श्रोताको मन जिते ।
पछिल्ला वर्षमा उनी गायनभन्दा फिल्ममा बढी व्यस्त देखिन्थे । र, हालै बलिउडमा डेब्यू गरेका थिए । गायन र अभिनयसँगै उनको सरल जीवनशैलीले उनी धेरै युवाका लागि प्रेरणा बनेका थिए । तर त्यही प्रेरणादायी पात्र ४२ वर्षकै उमेरमा अचानक यो संसारबाट बिदा भए । कारण थियो, ‘कार्डियाक अरेस्ट’।
पछिल्लो केही वर्षमा नेपालमा मात्रै नभई विश्वभर नै ‘हिँड्दै गर्दा ढलेर मृत्यु भयो’, ‘सुतिरहेकै अवस्थामा बिते’, ‘जिम गइरहेका युवा अचानक बेहोस भए र बच्न सकेनन्’ जस्ता समाचार तीव्र गतिमा बढिरहेका छन् ।
यसरी अचानक हुने मृत्युलाई प्रायः हृदयघात भनेर बुझिन्छ, तर चिकित्सा विज्ञानले देखाएको यथार्थ फरक छ । धेरैजसो यस्ता घटनाको वास्तविक कारण ‘कार्डियाक अरेस्ट’का अर्थात् अचानक मुटु बन्द हुनु रहेको चिकित्सकहरू बताउँछन् ।
कार्डियाक अरेस्ट के हो ?
कार्डियाक अरेस्ट भनेको मुटुले अचानक काम गर्न छोड्नु हो । सिनियर कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. रञ्जितकुमार शर्माका अनुसार कार्डियाक शब्दले मुटुलाई जनाउँछ र अरेस्ट भनेको रोक्नु वा बन्द हुनु हो । जब मुटुको विद्युतीय प्रणाली बिग्रन्छ, मुटुको चाल अनियमित हुन्छ र मुटुले रगत पम्प गर्न सक्दैन, त्यही अवस्थालाई कार्डियाक अरेस्ट भनिन्छ। डा. शर्मा हाल मेडीसिटी अस्पतालको कार्डियोलोजी विभाग प्रमुख हुन् ।
यसले कसरी मृत्युको मुखमा पुर्याउन सक्छ त ? यसको जवाफमा डा. शर्मा भन्छन्, ‘मुटु हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण पम्प हो । यसले निरन्तर रगतलाई अक्सिजनसहित शरीरका सबै अंगसम्म पुर्याइरहेको हुन्छ । जब कार्डियाक अरेस्ट हुन्छ, मुटुले अचानक यो काम गर्न छोड्छ । त्यसको असर केही सेकेन्डमै मस्तिष्कमा देखिन थाल्छ । व्यक्ति अचानक बेहोस हुन्छ, श्वास रोकिन्छ र शरीरमा अक्सिजनको आपूर्ति बन्द हुन्छ । ३ देखि ५ मिनेटभित्र यदि मुटु फेरि सञ्चालनमा आएन मस्तिष्क स्थायी रूपमा क्षतिग्रस्त हुन्छ र मृत्यु हुन्छ ।’
कार्डियाक अरेस्टका किन हुन्छ ?
डा. शर्माका अनुसार धेरैजसो केसमा पहिले हृदयघात हुन्छ । हृदयघातले मुटुको मांसपेशीलाई क्षति पुर्याउँछ, जसका कारण मुटुको विद्युतीय प्रणाली बिग्रन्छ र त्यसबाट कार्डियाक एरेस्ट हुन्छ । हृदयघात हुँदा मुटुलाई रगत पुर्याउने धमनी (कोरोनरी आर्टरी) मा अचानक ब्लकेज (क्लट) बन्छ वा धमनी पूर्णरूपमा बन्द हुन्छ । यसले मुटुको मांसपेशीलाई पर्याप्त रगत र अक्सिजन नपुग्दा मुटुको विद्युतीय प्रणाली (रिदम) बिग्रिन्छ ।
रिदम बिग्रिएपछि मुटुको सामान्य चाल बिग्रिएर भेन्ट्रिकुलर फाइब्रिलेशन वा भेन्ट्रिकुलर ट्याकिकार्डिया जस्ता खतरनाक अवस्थामा पुग्छ । यस अवस्थामा मुटुले प्रभावकारी रूपमा रगत पम्प गर्न सक्दैन, मुटु ‘कम्पन’ मात्र गर्छ, पम्पिङ गर्दैन । यसरी कार्डियाक अरेस्ट हुने डा. शर्मा बताउँछन् ।
यसैले, हृदयघातको उपचार नगरी छोडियो भने त्यो कार्डियाक अरेस्टमा परिणत हुन सक्ने, मृत्युको कारण बन्न सक्ने उनको भनाइ छ ।
मुटुको चाल बिग्रनु कार्डियाक अरेस्ट निम्त्याउने अर्को कारण रहेको उनी बताउँछन् । ‘हृदयघात, इलेक्ट्रोलाइट असन्तुलन, तनाव, औषधि, वा जन्मजात कारणले मुटुको चाल अत्यन्तै छिटो वा अव्यवस्थित हुन सक्छ’ डा. शर्मा भन्छन्, ‘जब मुटुको तल्लो भाग अत्यन्तै छिटो वा अनियमित रूपमा काँप्न थाल्छ, मुटुले रगत पम्प गर्न सक्दैन । यो केही सेकेन्डमै मानिसलाई ढाल्न सक्छ ।’
कार्डियोमायोप्याथी (मुटुको मांसपेशी मोटो हुनु)
विराट मेडिकल कलेजका सिनियर कार्डियोलोजिस्ट डा. माधव बिष्टका अनुसार कार्डियोमायोप्याथी भनेको मुटुको भित्तो मोटो हुँदै जानु हो । यसले मुटुलाई कडा बनाउँछ र रगत भरिन दिँदैन । यो समस्या धेरैजसो जन्मजात हुन्छ र धेरैलाई थाहा हुँदैन । यसको पहिलो लक्षण नै अचानक मृत्यु हुन सक्ने उनी बताउँछन् ।
‘सबैभन्दा खतरनाक पक्ष भनेको धेरै युवामा जन्मजात मुटुरोग लुकेको हुन सक्छ’ डा.बिष्ट भन्छन्, ‘कार्डियोमायोप्याथी, विद्युतीय चालको समस्या, भल्भ रोग आदि हुँदा पनि उनीहरू फिट देखिन सक्छन् । यस्ता रोग भएका व्यक्ति बाहिरबाट पूर्णस्वस्थ देखिए पनि, अचानक अत्यधिक तनाव, मदिरा सेवन, अथवा शारीरिक थकानमा कार्डियाक अरेस्टको जोखिम बढ्छ ।’
त्यसैले युवाहरूले पनि बेलाबेलामा मुटुको स्वास्थ्य जाँच गराउनु पर्ने उनको सुझाव छ । एकै पटक अत्यधिक शारीरिक कसरत नगर्ने र रक्सीमा जोड नदिनु बुद्धिमानी हुने डा.विष्ट बताउँछन् ।
युवामा किन बढ्दैछ कार्डियाक अरेस्ट ?
पछिल्ला १०–१५ वर्षमा संसारभर युवाहरूमा अचानक मुटु बन्द हुने घटना तीव्र गतिमा बढिरहेको छ । नेपाल पनि यसबाट अछुतो छैन । नेपालमा कार्डियाक अरेस्टको समस्या चिन्ताजनक तरिकाले बढिरहेको डा. शर्मा बताउँछन् । ‘पहिले कार्डियाकअरेस्टलाई ६०–७० वर्षमा हुने रोग मानिन्थ्यो’ डा.शर्मा भन्छन्, ‘तर अहिले २५ देखि ४५ वर्ष उमेर समूहमा समेत यसको संख्या डरलाग्दो रूपमा बढ्दै गएको छ ।’
यसको सबैभन्दा ठूलो कारण आधुनिक जीवनशैली रहेको उनको भनाइ छ । लामो समय मोबाइल, ल्यापटप र स्क्रिन अगाडि बस्ने बानीले शरीरलाई निष्क्रिय बनाएको छ । शारीरिक गतिविधि घटेपछि तौल बढ्छ, कोलेस्टेरोल बढ्छ, रक्तचाप बढ्छ र मुटुको धमिनी साँघुरिन्छ । यही अवस्था पछि हृदयघात र कार्डियाकअरेस्टको कारण बन्ने उनी बताउँछन् ।
आजका युवामा हुने तनाव र निद्राको कमी कार्डियाक अरेस्ट निम्त्याउने अर्को मुख्य कारक बनिरहेको कार्डियोलोजिस्ट डा. बिष्ट बताउँछन् । ‘राति २–३ बजेसम्म मोबाइल चलाउने, सुताइ अनियमित हुने, कामको दबाब लिने बानीले मुटुको विद्युतीय प्रणाली नै असन्तुलित बनाउँछ’ डा.बिष्ट भन्छन्, ‘यसले कार्डियाक अरेस्ट, हृदयघात निम्त्याउछ ।’
धूम्रपान, मदिरा, एनर्जी ड्रिंक, जंक फुड र प्रशोधित खाना युवाको दैनिक जीवनको हिस्सा बनिसकेको छ । यिनले शरीरका अंग सुन्नाउने, रक्तचाप र धमिनीको क्षति बढाउने डा. विष्टको भनाइ छ ।
अत्याधिक मदिरा खाएर सुत्दा पनि यस्ता घट्ना हुनसक्ने अध्ययनहरूले पुष्टि गरेको छ । नेशनल लाइब्रेरी अफ मेडिशिनमा प्रकाशित एक अध्ययन अनुसार अत्यधिक रक्सीले हृदयको गति बिगार्न सक्छ, जसले मुटुको चाललाई अनियमित बनाउन सक्छ । मदिराले रक्तचाप घटाउँछ र इलेक्ट्रोलाइट असन्तुलन ल्याउँछ, जसले हृदयलाई अस्थिर बनाउँछ । नशामा सुत्दा उल्टी वा सास रोकिने जोखिम पनि बढ्छ । पुराना हृदय रोग वा अन्य स्वास्थ्य समस्या भएकालाई अझ बढी जोखिम हुन्छ ।
हृदयघात र कार्डियाक अरेस्टमा के फरक ?
हाम्रो समाजमा कार्डियाक अरेस्ट र हृदयघातलाई एउटै समस्याको रूपमा बुझिन्छ । तर चिकित्सा दृष्टिले यी दुई बिलकुल फरक समस्या रहेको डा. शर्मा बताउँछन् ।
‘हृदयघात भनेको मुटुमा जाने धमिनी (कोरोनरी आर्टरी) बन्द भएर मुटुको मांसपेशीमा अक्सिजन पुग्न बन्द हुनु हो । यसले मुटुको कुनै भागलाई क्षति पुर्याउँछ । तर हृदयघात भएको व्यक्ति बोल्न, हिँड्न, अस्पताल पुग्न सक्छ, ’उनी भन्छन्, ‘तर कार्डियाक अरेस्ट भनेको मुटुको चाल नै बन्द हुनु हो । यस अवस्थामा मुटुले कत्ति पनि रगत पम्प गर्न सक्दैन । व्यक्ति तुरुन्त ढल्छ, बेहोस् हुन्छ र केही मिनेटमै मृत्यु हुन सक्छ ।’
उनका अनुसार कार्डियाक अरेस्ट हृदयघातभन्दा पनि खतरनाक अवस्था हो किनभने यसमा छिट्टै ज्यान जाने खतरा हुन्छ । यदि तुरुन्त सीपीआर र डिफिब्रिलेटर प्रयोग गरिएन भने बच्ने सम्भावना अत्यन्तै कम हुन्छ । यही कारणले संसारभर खेल मैदान, जिम, एयरपोर्ट, ठूला डिपार्टमेन्टल स्टोर, मल, रेलवे स्टेसन, कार्यालय आदि ठाउँमा डिफिब्रिलेटर राख्ने गरिएको शर्मा बताउँछन् ।
‘यो यन्त्र सजिलै प्रयोग गर्न सकिने र बोलेरै निर्देशन दिने खालको हुन्छ’ शर्मा भन्छन्, ‘कसैलाई अचानक कार्डियाक अरेस्ट भयो भने जो कोहीले पनि यसलाई प्रयोग गरेर जीवन बचाउन सक्छ ।’
कार्डियाक अरेस्टका लक्षण के–के हुन् ?
कार्डियाक एरेस्ट धेरै पटक चेतावनी नदिई आउँछ, तर त्यसअघि शरीरले साना–साना संकेत दिन थालिसकेको हुन्छ । समस्या के हो भने, धेरै युवाले ती संकेतलाई थकान वा ग्यास्ट्रिक भन्दै बेवास्ता गर्छन् । डा.शर्माका अनुसार छाती दुख्नु, धड्कन अचानक बढ्नु, सास फेर्न गाह्रो हुनु, चक्कर लाग्नु यसका केही लक्षण हुन् । कहिलेकाहीँ छातीमा भारीपन, पोल्ने जस्तो महसुस हुने, ढाड, घाँटी वा बायाँ हात दुख्नु पनि हृदयघातको संकेत हुन सक्छ। हृदयघातपछि कार्डियाक अरेस्ट हुनसक्छ ।
यदि कुनै युवा बारम्बार बेहोस हुने, दौडिँदा वा सिँढी चढ्दा सास अड्किने, राति सुत्दा झस्किएर उठ्ने समस्या भोगिरहेको छ भने त्यसलाई पनि सामान्य रूपले लिन नहुने डा. माधव बिष्ट बताउँछन् । ‘त्यो सामान्य होइन, त्यो लुकेको मुटुरोगको संकेत हुन सक्छ’ उनी भन्छन् ।
अचानक ढल्नु, प्रतिक्रिया नदिनु, सास रोकिनु भनेको कार्डियाक एरेस्ट भइसकेको अवस्था हो । त्यतिबेला केही सेकेन्ड पनि महत्वपूर्ण हुन सक्ने डा. विष्ट बताउँछन् ।
कार्डियाक अरेस्ट भएका बिरामीको उपचार सम्भव छ ?
कार्डियाक अरेस्टको उपचार सम्भव छ, तर केवल पहिलो केही मिनेटभित्र अस्पताल पुर्याउन सक्नुपर्छ । डा. रञ्जित शर्माका अनुसार कार्डियाक अरेस्ट भयो भने औषधि होइन, पहिलो उपचार भनेको कार्डियो पल्मेनरी रिस्टीस्टयुसिएसन (सीपीआर) हो । सीपीआर दिंदै नजिकको अस्पताल लगेर बचाउन सकियो भने व्यक्ति सामान्य जीवनमा फर्किन सक्छ । त्यसैले यसलाई ‘बेसिक लाइफ सपोटर’ भनिन्छ ।
यदि कोही व्यक्ति अचानक ढलेको देखियो भने तुरुन्त छाती थिचेर सीपीआर सुरु गर्नुपर्छ । यदि ३–५ मिनेटभित्र मुटु चलाइएन भने मस्तिष्क स्थायी रूपमा नष्ट भई व्यक्तिको मृत्यु हुने उनी बताउँछन् ।
कार्डियाक अरेस्टबाट बच्ने मानिसलाई पछि मुटुमा भएको समस्याको कारण पत्ता लगाएर पेसमेकर, औषधि वा शल्यक्रिया गरी दीर्घकालीन उपचार गर्न सकिने डा.बिष्ट बताउँछन् । यस्तो उपचारपछि जीवनशैलीमा ध्यान दिए सामान्य जीवनमा फर्किने उनको भनाइ छ ।
प्रतिक्रिया 4