+

१०० वर्षीया डाक्टर, जसले दिइन् घर बेचेर अस्पताललाई ३ करोड ४० लाख दान

२०८२ पुष  २३ गते १४:३२ २०८२ पुष २३ गते १४:३२
१०० वर्षीया डाक्टर, जसले दिइन् घर बेचेर अस्पताललाई ३ करोड ४० लाख दान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतकी गाइनोकोलोजिस्ट डा. के. लक्ष्मी बाईले आफ्नो १००औं जन्मदिनमा एम्स भुवनेश्वरलाई ३ करोड ४० लाख रूपैयाँ दान दिएकी छिन्।

एक वयोवृद्ध डाक्टरले आफनो घर बेचेर अस्पताललाई ठूलो रकम दान गरेकी छिन् । आफ्नो १००औं जन्मिदिनको अवसरमा भारतकी चर्चित गाइनोकोलोजिस्ट डा. के. लक्ष्मी बाईले अस्पताललाई ३ करोड ४० लाख भारतीय रूपैयाँ दान दिएको हुन् ।

गतशुक्रबार उनले ओडिशा बर्हमपुरको भावा नगरस्थित आफ्नो घरमा  शुभचिन्तकहरूका साथमा आफ्नो १००औं जन्मदिन मनाइन् । त्यो भन्दाअघि नै उनले भुवनेश्वरस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लाई रकम दान गर्ने घोषणा गरिसकेकी थिइन् ।

भारतीय मिडियामा आएका खबर अनुसार अस्पतालमा गाइनोकोलोजिकल अंन्कोलोजी कार्यक्रम सुरु गर्नका लागि उनले दान दिएकी हुन् । अस्पतालमा यो कार्यक्रम सुरु भएपछि क्यान्सर भएका महिलाले उपचारमा सहुलीयत पाउनेछन् ।

ओडिशामा क्यान्सरपीडित महिला धेरै रहेको र उनीहरू मध्ये कयौंमा उपचार गर्ने क्षमता नभएकाले यसमा मद्दत पुगोस् भनेर दान गर्ने मनसाय बनाएको उनले बताएकी छिन् । उनको यो कार्यको व्यापक प्रशंसा भइरहेको छ ।

इन्डियन एक्सप्रेसमा प्रकाशित खबरअनुसार भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले समेत डा. बाईलाई धन्यवाद व्यक्त गरेकी छिन् ।

डा. बाईको जन्म १९२६ मा भएको हो । उनी हुर्कँदै गरेको समयमा छोरीलाई पढ्न पठाउने चलन खासै थिएन । तर उनले स्कुल पढ्न पाइन् । १९५० मा ओडिशाकै कटकमा रहेको एससीबी मेडिकल कलेजबाट एमबीबीएस पास गरेकी थिइन् । यसपछि मद्रास मेडिकल कलेजबाट सन् १९५८ मा प्रसूति तथा स्त्री रोगमा विशेषज्ञता हासिल गरिन् ।

भारतको सरकारी सेवामा प्रवेश गरी लामो समयसम्म ग्रामीण क्षेत्रमा बसेर बिरामीको सेवा गरिन् ।  पछि उनले बर्हमपुरस्थित एमकेसीजी मेडिकल कलेज अस्पतालमा प्रोफेसरका रूपमा काम गरिन् ।  सेवाबाट विश्राम लिनुअघि सम्म यहीं रहिन् ।

एम्स भुवनेश्वरका कार्यकारी निर्देशक डा. आशुतोष विश्वासले डा. बाईको यस योगदानप्रति कृतज्ञता व्यक्त गरे । ‘उहाँको यो असाधारण सहयोग एक आशीर्वाद मात्रै होइन’ डा. आशुतोषले भने, ‘एम्सको गुणस्तरयुक्त स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र उन्नत अनुसन्धानमा गरेको निरन्तर प्रयासप्रतिको उच्च स्वीकृति हो ।’

दानको रकमबाट एक कोष बनाउने उनले जानकारी गराएका छन् । त्यसबाट गरिब क्यान्सर पीडित महिलाको उपचार र महिलालाई हुने क्यान्सरको रोकथाम, नियन्त्रणमा खर्च गर्ने डा. आशुतोषले बताएका छन् । कोषको उचित उपयोग गर्न र पारदर्शी बनाउन पर्यवेक्षक विशेषज्ञ समिति गठन गरिएको जानकारी समेत उनले दिएका छन् ।

एम्स भुवनेश्वरका मेडिकल सुपरिटेन्डेन्टसहित व्यवस्थापक र चिकित्सकहरूको टोलीले डा. बाईको निवासमा पुगेर उनलाई अभिनन्दन गरेको थियो ।

आफ्नो जीवनभरको कमाइ कुनै उचित कार्यमा दान गर्ने विषयमा डा. बाईले निकै अघिदेखि सोचेकी थिइन् । उनका पति प्रकाश राव पनि चिकित्सक नै थिए । ३० वर्ष पहिले नै उनको मृत्यु भइसकेको छ । डा. बाई घरमा एक्लै बस्दै आएकी थिइन् । अरू आफन्तहरू देशबाहिर बस्छन् ।

उनलाई भेट्न कहिलेकाहीं मात्रै घरमा आउने गर्छन् । बरू हरेक दिन जस्तो डा. बाईका पहिलेका विद्यार्थीहरू उनको निवासमा भेट्न आउने गर्छन् । अन्य सामाजिक व्यक्तित्वहरू पनि उनलाई भेट्न जाने गर्छन् ।

आफ्नो पति र आफू समेत स्वास्थ्य सेवा क्षेत्रकै व्यक्ति भएकाले उनले आफ्नो जीवनभरको कमाइ स्वास्थ्य क्षेत्रमै दान गर्ने निधो गरी एम्सलाई दिएको बताएकी छिन् ।

१०० वर्षको उमेरमा पनि उनी हिँडडुल-घुमफिर गर्न सक्छिन् । केही सामाजिक संघ, संस्थाहरूमा समेत जोडिएको उनी पुस्तक पढ्ने, पूजापाठ गर्ने तथा भेट्न आएका व्यक्तिहरूसँग भलाकुसारी गर्दै दिन बिताउँछिन् ।

डा. के. लक्ष्मी बाई दान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय