बेसारमा मुख्य सक्रिय तत्व करक्युमिन हुन्छ, जसले शक्तिशाली एन्टी-अक्सिडेन्ट र एन्टी-इन्फ्लेमेटरी गुण प्रदान गर्छ। यो शरीरको रोग प्रतिरोधी क्षमता (इम्युनिटी) बढाउँछ, त्यसैले यसलाई प्राकितिक बुस्टर भन्ने गरिन्छ ।
फ्री र्याडिकल्सलाई निष्क्रिय गरेर कोशिकाहरूको सुरक्षा गर्छ र सूजन कम गर्छ। करक्युमिनले टी-सेल्स, बी-सेल्स र नेचुरल किलर सेल्स जस्ता इम्युन सेलहरूलाई सक्रिय बनाएर संक्रमणबाट बचाउँछ।
करक्युमिनले प्राइमरी स्क्लेरोसिङ सिरोसिस र प्राइमरी बिलियरी सिरोसिस जस्ता कलेजोका रोगहरूमा सुधार ल्याउन सक्छ । कलेजो सुनिन्ने समस्या र क्षतिलाई कम गर्न मद्दत गर्छ ।
पाचनमा प्रभाव
बेसारले पाचन प्रक्रियालाई सहज बनाउँछ र प्रदूषणका कारण शरीरमा उत्पन्न हुने हानिकारक प्रभावहरूसँग लड्न मद्दत गर्छ । पेट सुन्निएको र अपचलाई कम गर्ने र आन्द्राको स्वस्थ माइक्रोबायोमलाई सहायता गर्छ ।
छालाको लागि
बेसारको एन्टिब्याक्टेरियल र एन्टी–इन्फ्लेमेटरी गुणहरूले छालाको संक्रमण, डण्डीफोरलाई कम गर्न मद्दत गर्छ ।बेसारको प्रयोगले छालाको घाउ निको पार्ने प्रक्रियालाई तीव्र बनाउन सक्ने देखाएको छ । यही कारण बेसार धेरै सौन्दर्य उत्पादनहरूमा प्रयोग गरिन्छ ।
कसरी प्रयोग गर्ने ?
सामान्यतया खानामा बेसारको प्रयोग रङ र स्वादका बढाउन प्रयोग गरिन्छ । विश्व स्वास्थ्य संगठनले व्यक्तिको तौलअनुसार प्रतिकिलो ग्राम ०.१–३ मिलीग्राम बेसार शरीरका लागि सुरक्षित मानेको छ ।
ट्याबलेट वा पूरक
विश्वका कतिपय देशहरूमा बेसारको ट्याबलेट वा पूरक को रूपमा पनि प्रयोग गरिन्छ, विशेष गरी जहाँ खानामा बेसारको नियमित प्रयोग हुँदैन । यस्ता पूरकहरूमा करक्युमिनको मात्रा उच्च हुन्छ, जसले फाइदाहरूलाई बढाउन सक्छ ।
बेसारका सम्भावित हानि
सामान्य मात्रामा र परम्परागत रूपमा बेसारको प्रयोग सुरक्षित मानिन्छ । तर, अत्यधिक मात्रामा वा अनुचित प्रयोगले केही स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ ।
पाचन सम्बन्धी समस्या
अत्यधिक बेसारको सेवनले पेटमा गडबडी, वाकवाकी, बान्ता, एसिड रिफ्लक्स, पखाला वा कब्जियत जस्ता समस्याहरू निम्त्याउन सक्छ ।